असार १, २०८३ सोमबार June 15, 2026

जी–७ मा इरान सम्झौताको छाया

विश्वका प्रमुख शक्तिका नेताहरूको ध्यान अब सम्झौताको कार्यान्वयन र त्यसका दीर्घकालीन प्रभावतर्फ केन्द्रित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इभियन–लेस–बेन्स (फ्रान्स), १ असार (रासस/एएफपी): फ्रान्समा सोमबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा विश्व अर्थतन्त्र, कृत्रिम बौद्धिकता (एआई) र युक्रेन युद्धका मुद्दाभन्दा पनि अमेरिका–इरान शान्ति सम्झौता मुख्य एजेन्डाका रूपमा उभिएको छ । हर्मुज जलघाँटी पुनः खोल्ने र मध्यपूर्वमा युद्ध अन्त्य गर्ने प्रयाससँगै विश्वका प्रमुख शक्तिका नेताहरूको ध्यान अब सम्झौताको कार्यान्वयन र त्यसका दीर्घकालीन प्रभावतर्फ केन्द्रित भएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको आतिथ्यमा जेनेभा ताल किनारको इभियन–लेस–बेन्समा आयोजित तीनदिने शिखर सम्मेलनमा अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका नेताहरू सहभागी भइरहेका छन् । फ्रान्सले यसपटक जी–७ को परम्परागत दायराभन्दा बाहिर पुगेर अन्य प्रभावशाली मुलुकहरूलाई पनि सहभागी गराएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की मङ्गलबार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ भने इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसहित अरब राष्ट्रका नेताहरू पनि इरानसम्बन्धी छलफलका लागि उपस्थित रहनेछन् । ब्राजिल, भारत, केन्या र दक्षिण कोरियाका नेताहरूले पनि सम्मेलनमा सहभागिता जनाइरहेका छन् ।

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता सम्मेलन सुरु हुनुअघि नै घोषणा भएपछि शिखर बैठकको दिशा नै बदलिएको छ । राष्ट्रपति म्याक्रोनले जी–७ नेताहरूले हर्मुज जलघाँटीको दीर्घकालीन पुनः सञ्चालन, लेबनानको स्थायित्व र इरानको आणविक तथा ब्यालिस्टिक कार्यक्रमसम्बन्धी विषयमा गम्भीर छलफल गर्ने बताउनुभएको छ ।

उहाँका अनुसार यस क्षेत्रका ऊर्जा मार्गहरूलाई विविधीकरण गरेर कुनै एक क्षेत्रमा अत्यधिक निर्भरता घटाउने उपायहरूबारे पनि छलफल हुनेछ । मध्यपूर्वको तनावले विश्व ऊर्जा बजारमा पारेको प्रभावलाई ध्यानमा राख्दै जी–७ राष्ट्रहरू स्थायी समाधानको खोजीमा केन्द्रित देखिएका छन् ।

राजनीतिक एजेन्डासँगै डिजिटल सुरक्षा र कृत्रिम बौद्धिकता (एआई) को नियमन पनि सम्मेलनको प्रमुख विषय बनेको छ । ओपनएआईका प्रमुख स्याम अल्टम्यान, एन्थ्रोपिकका डारियो अमोडेई तथा युरोपेली कम्पनी मिस्ट्रल एआईका आर्थर मेन्श बुधबार हुने विशेष कार्यक्रममा सहभागी हुनुहुनेछ । विशेषगरी डिजिटल क्षेत्रमा बालबालिकाको सुरक्षाबारे छलफल गरिने जनाइएको छ ।

सम्मेलनलाई लक्षित गर्दै फ्रान्सले अभूतपूर्व सुरक्षा व्यवस्था लागू गरेको छ । हजारौँ प्रहरी र सैनिक परिचालन गरिएको छ भने सुरक्षा घेरा छिमेकी स्विट्जरल्यान्डसम्म विस्तार गरिएको छ । सम्मेलनको विरोधमा जेनेभामा प्रदर्शन हुँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीहरूले ढुङ्गा, बोतल र पटाका प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ८०औँ जन्मदिन मनाएलगत्तै सम्मेलनमा सहभागी हुन फ्रान्स पुग्नुभएको छ । ह्वाइट हाउसमा आयोजित जन्मोत्सवमा मिश्रित मार्सल आर्ट प्रतियोगिता समेत समावेश गरिएकाले सम्मेलनको समय तालिका नै समायोजन गर्नुपरेको बताइएको छ ।

जेनेभा तालको शान्त वातावरणमा आयोजित सम्मेलनमा अन्य पश्चिमी नेताहरूले ट्रम्पसँग साझा धारणा निर्माण गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ । विशेषगरी हर्मुज जलघाँटी पुनः सञ्चालन र ऊर्जा मूल्य स्थिरतामा सबै पक्षको चासो देखिएको छ ।

युरोपेली नेताहरू र क्यानाडाले युक्रेन युद्धको विषयमा पनि अमेरिकी समर्थन कायम राख्न ट्रम्पलाई आग्रह गर्ने तयारी गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँग शान्ति प्रवद्र्धन र जनजीवन जोगाउने उपायबारे छलफल गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

ट्रम्पको भ्रमण सोमबार राष्ट्रपति म्याक्रोनसँग द्विपक्षीय वार्ताबाट सुरु हुनेछ । त्यसपछि सहभागी राष्ट्र प्रमुखहरूसँग संयुक्त कार्यभोज आयोजना गरिनेछ । सम्मेलन समाप्त भएपछि पनि ट्रम्पले आफ्नो फ्रान्स बसाइ लम्ब्याएर भर्साइल्स दरबारमा म्याक्रोनसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति म्याक्रोनका लागि यो सम्मेलन आफ्नो कार्यकाल समाप्त हुनुअघि युरोपेली रणनीतिक स्वायत्तताको अवधारणालाई थप बलियो बनाउने महत्त्वपूर्ण अवसर मानिएको छ । उता बेलायती प्रधानमन्त्री किर स्टार्मर भने घरेलु राजनीतिक दबाबबीच सम्मेलनमा सहभागी हुनुभएको छ ।

सम्मेलनमा चीन सहभागी नभए पनि उसका आर्थिक प्रभाव, विशेषगरी दुर्लभ पृथ्वी खनिज र उच्च प्रविधि क्षेत्रमा बढ्दो प्रभावबारे नेताहरूले विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ । त्यसैले इभियनमा सुरु भएको जी–७ सम्मेलन केवल आर्थिक मञ्च नभई बदलिँदो विश्व शक्ति सन्तुलन र मध्यपूर्वको भविष्य निर्धारण गर्ने कूटनीतिक केन्द्रका रूपमा उभिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया