वैशाख १२, २०८१ बुधबार April 24, 2024

नेपाली मतदाताको राजनीतिक चेत : डा. शान्तिकृष्ण अधिकारी

दलले विगतमा गरेका गल्तीका कारण नै यो उपनिर्वाचनमा यस प्रकारको परिणाम आएको हो भन्ने निष्कर्ष निकाल्न कुनै द्विविधा छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसका मै हूँ भन्ने नेताहरूले गरेको गल्तीको दण्ड राजनीतिमा कहिल्यै बाटो नबिराएका गोविन्द भट्टराईले भोग्न बाध्य भए । नेतृत्वमा रहेर सत्तालाई नै अभीष्ट ठान्ने कांग्रेसी नेताहरूको क्रियाकलापका कारण चितवनका जीतनारायण श्रेष्ठ ठूलो मतान्तरका साथ पराजित बनेर गर्वका साथ विजयी उम्मेदवारलाई बधाई ज्ञापन गर्न विवश बने । केपी ओलीलगायतका नेताहरूको दम्भ र विगतमा सत्तामा रहँदा जथाभावी गरेका नेताहरूका कारण ओज हराउँदै गरेको एमालेको उम्मेदवार भएका रामप्रसाद न्यौपाने बिनासित्तीमा पराजितका बिल्ला भिरेर समाजमा उभिने हैसियतमा पुगे ।

नौ महिनाअघि खुलेको राजनीतिक दलले भोलि नेपाली राजनीतिमा निरन्तरता दिन्छ कि दिँदैन भन्ने अहिल्यै निश्चित गर्न अप्ठ्येरो छ र पनि उपनिर्वाचन भएका क्षेत्रहरूमा जनताले त्यही दललाई रोजे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खरिद प्रक्रिया नै मिचेर निजी कम्पनीलाई राष्ट्रिय परिचयपत्र जस्तो सम्वेदनशील कुरालाई सुम्पिएको कुरालाई मतदाताले नजरअन्दाज गरे तर पुराना दलका भ्रष्टाचारविरोधी नेताहरूलाई जनताले विश्वास गर्न सकेनन् । नेपालको कानुनलाई मिचेर पनि अघि बढ्न सकिन्छ भन्ने प्रमाणित गर्न प्रयास गरेका रवि र रविको दललाई जनताले यसरी रुचाउनु र पटक-पटक संघर्षबाट खारिएका दलहरूको अस्तित्वमाथि प्रश्नचिहृन खडा हुँदै जानुको उत्तर अब अरु कसैले होइन तिनै दलहरूले खोज्नुपर्ने भएको छ ।

रामचन्द्र पौडेलले कहिले क्षेत्र छोड्लान् र मेरो पालो आउला भनेर राजनीति र समाजसेवामा ४० वर्षदेखि निरन्तर सक्रिय गोविन्द राजनीतिमा भर्खरै प्रवेश गरेका स्वर्णिम वाग्लेबाट किन पराजित हुनु पर्‍यो ? बाल्यकालदेखि नै राजनीतिमा होमिएर चितवनको कांग्रेस सभापति समेत भइसकेका जीतनारायण छ महिनाअघि राजनीतिमा आएका रवि लामिछानेसँग पाँच गुणा मतान्तरका साथ किन हार व्यहोर्न बाध्य भए ? यस्ता प्रश्नहरूको उत्तर खोजेर नेपाली कांग्रेसले कार्ययोजना बनाउन सकेन भने भोलिका दिन अझ कष्टकर हुनेमा कुनै शंका छैन । नेकपा एमालेको त कुरै गर्न परेन किनकि यो पार्टीले त जताततै तेस्रो दलका रूपमा परिचय स्थापित गर्न सफल भएको छ ।

असल राजनीतिक दलको उचित उम्मेदवारलाई विजयी बनाउने निर्वाचन क्षेत्रका मतदाताहरूलाई राजनीतिक चेतले भरिपूर्ण भएको ठानिन्छ । खराब र असल छान्न सकेनन् भने न त्यस क्षेत्रका मतदाताका बारेमा राम्रा टिप्पणी सुन्न पाइन्छ न त्यो क्षेत्रले समृद्धिको अवसर नै प्राप्त गर्दछ ।

विसं २०५२ मा सुकुम्बासीका नाममा सरकारबाट जग्गा लिएकाले विसं २०६३ साल नआउँदै बालुवाटारको प्रधानमन्त्री निवास खरिद गर्ने सामथ्र्य राखेको जनताबाट छिप्ने कुरै भएन । तिनै व्यक्ति नै ठूलो भनिएको पार्टीको कहिले महासचिव त कहिले उपाध्यक्ष भएको पनि जनताले देखेकै छन् । प्रेस खरिद गर्ने क्रममा भएको वार्तामा मन्त्रीले लागत एक अर्ब बढाई दे न, हामीलाई सत्तरी करोड चाहिन्छ भनेको पनि सत्य होस् वा नहोस् जनताका बीचमा फैलिएकै थियो । यस्ता सयौँ उदाहरणहरू छन् जसले जनतालाई पुराना राजनीतिक दलहरूबाट अलग्याउँदै गरेका थिए । नेपाली कांग्रेसका कतिपय नेताहरू पनि ठ्याक्कै यही नभए पनि यस्तै प्रकृतिका घटनाबाट टाढा रहन नसकेको आमनागरिकले अनुभव गरिरहेका थिए र कांग्रेसको मूल नेतृत्व यस्तै नेताहरूको निकटमा रहन चाहेको पनि देखिइ राखिएको थियो । यस्तै कारणहरूले अहिले कांग्रेस र एमाले ओढ्नेले मुख छोपेर लाज ढाक्न बाध्य भएका छन् ।

नयाँ राजनीतिक दलका नयाँ उम्मेदवारहरूको विजय भएसँगै वैशाख १० गतेको संघीय संसद्का लागि सम्पन्न उपनिर्वाचनले विभिन्न प्रश्न उब्जाएका छन् । लोकतन्त्रमा सर्वाधिकार सम्पन्न जनता हुन्छन् र जनताले मतका माध्यमबाट दिएको अभिमत नै अन्तिम फैसला हुने गर्दछ । त्यसैले निर्वाचनमा आएको परिणामलाई जस्ताको तस्तै स्वीकार गर्नु बाहेकको विकल्प न कुनै राजनीतिक दलसँग हुन्छ न मत परिणामप्रति चित्त बुझाउन नसकेको कुनै नागरिकले नै त्यस विरुद्ध कदम चालेर निर्णय उल्टाउने प्रयत्न नै गर्न सक्दछ । यद्यपि नेपाली मतदाताको विवेक कत्तिको न्यायोचित रहृयो या सही उम्मेदवारलाई मतदाताले न्याय गर्न सकेनन् भन्ने विश्लेषण भने हुने रहेछ ।

अवसर नपाउँदा पनि नेपाली कांग्रेस नै लोकतन्त्रका लागि एकमात्र पार्टी हो भनेर बस्ने गोविन्द भट्टराईभन्दा अवसर पाइञ्जेल कांग्रेस ठीक र मौका नपाएको भोलिपल्टै कांग्रेस गलत भन्ने स्वर्णिम उपयुक्त पात्र हुन् भन्ने त भोलिको समयले देखाउने नै छ तर तनहूँका मतदाताले स्वर्णिमलाई नै सही ठहराए । कुनै पनि विवादमा नपरी एकोहोरो राजनीति गर्दै आएका जीतनारायण चितवनलाई उपयुक्त हुन्थे कि नागरिकतादेखि राहदानीसम्मका विवादै विवादले भरिएका रवि ठीक भन्ने प्रश्नमा चितवनवासीले रविलाई नै भरोसायोग्य देखे तर यसको परिणाम कस्तो हुनेछ भन्ने चाहिँ पाँच वर्षको समयपछि मात्रै जानकारीमा आउने छ । नेकपा एमालेका रामप्रसाद त जतिसुकै सही पात्र भए पनि त्यसै भुँमरीमा परिहाले ।

असल राजनीतिक दल चयन गर्न सक्ने मतदातालाई सचेत मानिन्छ । असल राजनीतिक दलको उचित उम्मेदवारलाई विजयी बनाउने निर्वाचन क्षेत्रका मतदातालाई राजनीतिक चेतले भरिपूर्ण भएको ठानिन्छ । खराब र असल छान्न सकेनन् भने न त्यस क्षेत्रका मतदाताका बारेमा राम्रा टिप्पणी सुन्न पाइन्छ न त्यो क्षेत्रले समृद्धिको अवसर नै प्राप्त गर्दछ । चोर, डाँका, भ्रष्टाचारी जस्तालाई टिकट दिए पनि मेरो पार्टीको उम्मेदवार भन्दै आँखा चिम्लेर छाप लगाउने मतदाताहरूका बारेमा त चर्चा गर्नै परेन तर पनि लोकतन्त्रमा राजनीतिक चेतनाले भरिएका मतदाताहरू भइदिऊन् भन्ने अपेक्षा सर्वत्र गरिएको हुन्छ ।

अहिले उठेको मूल प्रश्न यही नै हो । तनहुँ, चितवन र बाराका उपचुनावमा सहभागी मतदाताहरूले मत दिँदा विवेक पु¥याए कि पु¥याएनन् ? क्षेत्रका लागि उपयुक्त उम्मेदवार चयन गर्न त्यहाँका जनता सफल भए कि आफ्नै खुट्टामा आफैंले बञ्चरो हाने भन्नेमा तर्कवितर्कहरू हुन थालेका छन् । कतिपय विश्लेषकहरूले उपचुनावले बिग्रिने मार्गमा दौडिएका ठूला दलहरूलाई त्यहाँका मतदाताहरूले पाठ पढाएर राम्रै गरेको बताउने गरेका छन् भने कतिपय राजनीतिक विश्लेषकहरूको तर्क यसका विपक्षमा देखिने गरिएको छ ।

गोविन्द असल पात्र थिए तर पार्टी सभापति शेरबहादुर देउवाले गरेका निर्णयहरूभन्दा पर गएर उनले कुनै निर्णय लिन सक्दैनन् भन्ने सबैलाई जगजाहेर नै छ । जितनारायण उपयुक्त उम्मेदवार हुन् तर पार्टीका ठूला नेताहरूले लिने निर्णयको उनी विरोध गर्न सक्दैनन् भन्ने महसुस चितवनवासीले गरे । रामप्रसाद असल उम्मेदवार हुन् तर केपी ओलीले दुई दुई पटक गरेको संसद् विघटनलाई समेत गलत भन्ने हिम्मत उनमा छैन भन्ने ठहर त्यहाँका मतदाताले गरे । यसैकारण उपयुक्त पात्रहरू संसद्को दैलो देख्नै नपाई दलीय राजनीतिमा नै सीमित भएर बस्नुपर्ने अवस्थामा पुगे ।

दलले विगतमा गरेका गल्तीका कारण नै यो उपनिर्वाचनमा यस प्रकारको परिणाम आएको हो भन्ने निष्कर्ष निकाल्न कुनै द्विविधा छैन । बारम्बार सच्चिने प्रतिबद्धता नागरिकका सामु व्यक्त गरिँदै आए पनि सही मार्गमा दौडने त परको कुरा भयो हिँड्ने प्रयास समेत कहिल्यै नगरेका कारण नेपाली कांग्रेस र नेकपा एमालेलाई जनताले कारबाही गरेका हुन् भन्न पनि कसैले अप्ठ्यारो मान्नुपर्दैन । जेलमा थुनेरमात्रै दण्ड दिइँदैन, लोकतन्त्रमा मतद्वारा कसरी दण्ड दिइन्छ भन्ने कुरा उपनिर्वाचनको परिणामले सत्तामा डेरा जमाएर बसेका दलहरूलाई पाठ पढाएको छ । पाठलाई राम्ररी बुझेर तदनुरूपका भावी योजना बनाई कार्यान्वयनमा सक्रिय हुने कि सच्चिनुको सट्टा सक्किने बाटोतर्फ लाग्ने भन्ने चाहिँ अब तिनै दलहरूका नेताका निर्णयमा भर पर्दछ ।

प्रजातन्त्रलाई गौण र सत्तालाई प्रमुख साध्यका रूपमा देख्ने र तदनुरूप कार्य गर्ने प्रवृत्तिको विकास मुख्य भनिएका कांग्रेस र कम्युनिष्ट दलहरूमा विकास हुँदै जाँदा दलहरूले आफ्नो गरिमालाई डुबाउँदै त गए नै अवसरवादीहरूले टाउको उठाउने मौका समेत पाए ।

विसं २०४६ को जनआन्दोलन सफल भएपश्चात् विसं २०६३ सम्म नेपालको राजनीतिमा दुई राजनीतिक दलहरूले तर मार्दै आइरहेका थिए । सत्तामा कहिले नेपाली कांग्रेस रहृयो त कहिले नेकपा एमाले रहृयो । प्रजातन्त्रलाई गौण र सत्तालाई प्रमुख साध्यका रूपमा देख्ने र तदनुरूप कार्य गर्ने प्रवृत्तिको विकास मुख्य भनिएका कांग्रेस र कम्युनिष्ट दलहरूमा विकास हुँदै जाँदा दलहरूले आफ्नो गरिमालाई डुबाउँदै त गए नै अवसरवादीहरूले टाउको उठाउने मौका समेत पाए । फलतः यही बीचमा यिनै दुई पार्टीको कमजोरीका कारण जनताले खेदेका पञ्चहरूको पार्टी राप्रपासमेत छिटपुटरूपमा सत्तामा पुगी नेपाली जनतामाथि शासन गर्न सफल भयो ।

माओवादी सशस्त्र द्वन्द्वपश्चात् नेकपा माओवादीसमेत कहिले कुन नाममा त कहिले कुन परिचयका साथ उदायो र अहिलेसम्म तेस्रो ठूलो दलका रूपमा कायमै छ । यो दलका संघर्षका कारण सत्र हजार नेपालीको अनाहकमा ज्यान गएको थियो, लाखौं जनता विस्थापित भएका थिए, हजारौं नेपालीको अंगभंग भएको थियो र पनि विसं २०६४ मा सम्पन्न आमनिर्वाचनमा माओवादी दल देशको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित हुनपुगेको थियो । त्यसैले नेपाली जनताले केका आधारमा मत दिन्छन् भन्ने यसै ठोकुवा गर्न सकिन्न र पनि जनताले प्रश्न उठाएका सवालहरूमा नेपाली कांग्रेस र नेकपा एमाले सम्वेदनशील हुनै पर्दछ ।

विसं २०८४ मा निर्वाचन लड्ने मनशाय कांग्रेस र एमालेको छ भने अब यी पार्टीका नेताहरू जनमैत्री हुन सिक्नैपर्दछ । नेताहरूमा पलाएको आफूलाई राजा र जनतालाई रैती ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै नेता हूँ भन्ने जतिले आफूलाई जनताको सेवकका रूपमा उपस्थापित गर्नै पर्दछ । कांग्रेस र एमालेले अब जनताको घरदैलो धाउनै पर्दछ नकि भोलिका दिनमा ससाना कामका लागि पनि जनताले नेताको दैलो कुर्न परोस् । बुझ्ने नबुझ्ने नेताहरूकै जिम्मा । ई-हिमालयन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया