फागुण १८, २०८० शुक्रबार March 1, 2024

हामीलाई बिगारेको कसले ? – युवराज गौतम

बरु निरक्षर जनता सत्य बोल्ने गर्छन् तर शिक्षितहरू केही पाउने लोभमा दलको दास बनेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोमालिया, सोभियत संघ अफगानिस्तान, सुडान, मोजाम्बिक, लाइबेरियालगायतका राष्ट्र सम्हालेर राख्ने सबल नेतृत्व नहुँदा अस्तब्यस्त हुन पुगे। पन्ध्र टुक्रा भएको सोभियत संघमा रसियाबाहेक अरू निम्छरो बनेको पाइन्छ। राष्ट्र बर्बाद हुन धेरै समय लाग्दैन। राष्ट्रका आन्तरिक शक्ति जब शिथिल र भ्रमित हुने गर्छन् तब बाहिरी शक्ति प्रबल बन्छन्।

हामीलाई कमजोर बनाउने मात्रै दोषी होइनन्, दोष हाम्रो पनि छ। विदेशी दातासँग नाता जोडेर हजारौँ गैरसरकारी संघ÷संस्था खोल्दा हामीले राष्ट्र सर्वोपरि हुनुपर्छ भनेनौँ। बरु हामीले नै धनका लागि अनेक सर्त स्वीकार गरिरहेका छौँ।

द्वितीय महायुद्धपछि धेरै अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी राष्ट्र स्वतन्त्र भए। त्यो कागज र हुनेखाने वर्गका लागि मात्रै ठहरिएको छ। भेनेजुयला, निकारागुवा र बेलारुसलाई भ्रष्टाचारको दलदलमा फसाए, त्यहाँका नेताहरूले।

२०४६ पछि प्रधानमन्त्री र मन्त्री भएका सबैको नाम मात्रै लेख भनेर लोकसेवा आयोगको परीक्षामा सोधिएको खण्डमा मुस्किलले दुईजना उत्तीर्ण होलान्। राजनीतिको बाली खाएर धेरैको पेट भरिएको छ तर जनताका लागि त्यो ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भयो।

हजारौँ युवा प्रतिदिन कामदार बनेर विदेश गइरहेका छन्। ‘नजाऊ छोडी यो देश आमालाई रुवाएर’भन्ने गीत लेखेका थिए, कवि मबिबी शाहले। पचपन्न लाख भन्दा धेरैलाई विदेशी भूमिमा श्रम गर्न बाध्य बनाएर त्यो पसिनाको मूल्य अर्थात् रेमिटान्सले हजारौँ नेता पाल्नुपर्ने प्रणालीमा हामी गर्व गरिरहेका छौँ।

‘लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरलाई स्वर्ग छ’ भन्ने गीत लेखे कम्युनिस्ट युवक लव प्रधानले। त्यसबेला ‘जनवादी गीत’ लेख्ने-गाउने रामेशले अन्तर्वार्तामा भन्नुभयो, ‘अहिले कम्युनिस्टसमेत देश लुटिरहेका छन्। जनतालाई चुसिरहेका छन्। बडो दुःख लाग्छ।’

हामीलाई कसले, किन र कसरी पतीत बनायो ? परिवर्तन प्रजातन्त्र, पराक्रम र प्रतिष्ठाका लागि राजनीति गर्नेहरूमध्ये धेरैले बाटो बिराएका छन्, किन ? उनीहरू किन जनताको भावना र मर्मविपरीत हिडेका छन् ? उनीहरूका कारणले राजनीतिमा सक्रिय सीमित सज्जन, शालीन र सदाशयीहरू लज्जित छन्, किन ? जनताले राजनीतिक नेतालाई हेर्ने दृष्टिकोण किन कठोर बन्दैछ ? किन राजनीति र राजनीतिक प्रणाली बिकारको पर्याय भएको छ ?

२००७ अघि र त्यसपछि राजनीतिक क्रियाकलापमा लागेकाहरूमध्ये धेरैलाई इज्जत, कुलधर्म, सामाजिक प्रतिष्ठा र चरित्रको माया थियोे। साउँ अक्षर मात्र चिनेका धेरैले इमानदारीपूर्वक दायित्व लिएर काम गरे। उनीहरू राजा र जनतासँग डराउँथे र आफू विवादमा परिएला भनेर सतर्क बन्थे।

केहीले काम बिगार्दा तुरुन्तै दण्ड पाए। ऐन, नियम, प्रचलनविरुद्ध जाने छूट कसैलाई थिएन। राजा महेन्द्रले आफ्ना कान्छा भाइ वसुन्धरालाई बोलाएर भने, ‘तिमीले दरवारमार्गमा अन्नपूर्ण होटल बनाउने हो भने ४५ फिट भन्दा अग्लो बनाउन मिल्दैन। सुरक्षाको संवेदनशील क्षेत्र भएको कारण राजदरवार वरिपरि कतै पनि अग्लो घर बनाउन मिल्दैन। बनायौ भने मैले भत्काउनेछु।’

अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, विधिको शासन, मानव अधिकार र प्रजातान्त्रिक विश्वका लागि सदैव सक्रिय रहने प्रण गर्दै संयुक्त राष्ट्र संघ स्थापना भयो सन् १९४५ मा। त्यो संस्थाले भ्रष्टाचाररहित शासन, पारदर्शी प्रणाली र समानताको सिद्धान्त सुशासनको निम्ति अनिवार्य हुन्छ भनेको छ। भ्रष्टाचार, बेथिति, बहुमतको निरङ्कुशतन्त्र र बाहिरी हस्तक्षेप ‘सामान्य कुरा’भन्ने सोच विकसित भएको छ। लाखौँ कार्यकर्ता यसमा खुसी छन्। कुनै दलमा नरहेका जनता सीमान्तकृत, अल्पसंख्यक र शक्तिहीन छन्। उनीहरूले उठाउने स्वर “खोलाको गीत” बनेको छ।

राजनीतिको बाली खाएर धेरैको पेट भरिएको छ तर जनताका लागि त्यो ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’भयो।

सन् २०२१ मा हार्वर्ड बिज्नेस रिभ्यु पत्रिकामा पश्चिमी गोलाद्र्धले चीनलाई ठीकसँग नबुझेको विश्लेषण गरिएको छ। प्राध्यापक नोम चोम्स्कीलगायत अमेरिकी प्राज्ञहरूले श्वेत हुनुको अभिमान त्याग्न अमेरिकी शासकलाई सुझाव दिँदै आएका छन्। चोम्स्कीले फ्रान्सबाट स्वतन्त्र भए पनि लेबनानमा गृहयुद्ध चर्काउन पश्चिमा शक्ति नै दोषी छ भन्ने आरोप लगाएका छन्।

आन्तरिक र बाह्य कारणले घर र देशमा कलह बढ्छ। राजा त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मका राजालाई स्वतन्त्र ढंगले काम गर्न नदिने, जलस्रोत, राष्ट्रिय सुरक्षा, परराष्ट्र, वाणिज्य जस्तो विषयमा भागबन्डा खोज्ने र नेपाल, नेपालीलाई आत्मनिर्भर हुन नदिन डेमोक्रेसीको मोहनीजालमा पारियो। नेपालीको भन्दा विदेशीका हितमा काम गर्नेहरूलाई उकासेर अनेक स्वार्थ पूरा गरियो। हामीलाई बिगार्ने, फुटाउने र भत्काउने काम भयो। जातीय, साम्प्रदायिक नारामा अल्मल्याउने काम भयो। हामी “नेपाली” हुँदा खुसी थियौँ, कालान्तरमा टुक्राटुक्रा (पार्ट–पार्ट) भयौँ। राष्ट्रिय एकता चूर्ण भयो। स्वाभिमान गयो। अभिमानको साम्राज्य भयो।

भारत र पाकिस्तान एउटै घरमा थिए। हिन्दु र मुसलमानको भातभान्सा र हुक्कापानी छुट्टाछुट्टै भयो। भनिन्छ, ती दुई राष्ट्र पृथक हुँदा ३८ लाख भन्दा धेरैले ज्यान गुमाएका थिए। पूर्वपाकिस्तान अलग्गै भएर बंगलादेश हुँदा लाखौँको हत्या भयो। पूर्व र पश्चिम जर्मनीको भाषा, साहित्य र संस्कृति फरक छैन तर ४० वर्ष छुट्टाछुट्टै बसे।

उत्तर र दक्षिण कोरिया दुई आँखा जस्ता थिए। दुःखमा एउटा आँखाबाट मात्र आँसु झर्दैन। सपना देख्ने पनि सँगै हो तर लडाइँ गरेर अलग भए। झगडा लाउने अरू नै थिए। छेउमा उभिएर “को तगडा है” भनेर लाप्पा खेलाए, अरूले। भियतनाम दुई टुक्रा पारिदिने अरू नै थिए। कुस्ती खेल्ने मात्रै भियतनामी।

यस्ता घटना, दुर्घटना र इतिहास हाम्रा लागि शिक्षा हुन सक्छ। भनिन्छ, बुद्धिमानले अरूको देखेर सिक्छ। मूर्खले भिरबाट झरेपछि मात्रै चेत्छ। चर्चमा घण्टी बज्छ, कुनै मानिसको मृत्युबारे सूचना दिन। पश्चिमी जगत्मा “घण्टी कसका लागि बज्यो” भन्ने वाक्यांश धेरै प्रचलित छ। त्यसको व्याख्या गर्दै कैयन्ले लेखे, “मृतकले त घण्टी सुन्दैन तर सजीवहरूले बुझ्नुपर्छ, सबैको पालो आउँछ।”

२०४६ पछि प्रधानमन्त्री र मन्त्री भएका सबैको नाम मात्रै लेख भनेर लोकसेवा आयोगको परीक्षामा सोधिएको खण्डमा मुस्किलले दुईजना उत्तीर्ण होलान्।

साहित्य, संगीत र कलालाई मिथक ठान्नु भूल हुनेछ। कुख्यात भ्रष्टाचारीले दण्ड भोग्ला, नभोग्ला तर उसका परिवारले, नातेदार र साथीहरू सबैले पीडा भोगिरहेका हुन्छन्।

कांग्रेसले मन्त्री बनाएका एक नेता करोडौँ सम्पत्तिको स्रोत देखाउन नसकेपछि जेल परे। उनका अवोध छोराले रुँदैरुँदै आमालाई भनेछन्, “मलाई स्कुलमा भ्रष्टाचारीको छोरा भन्छन्। म स्कुल जान्न। जानैपर्छ भने मेरो नामबाट बुबाको जात थर हटाएर हजुरको बुबाको थर राखिदिनुहोस्।”आमा भावुक भइन्, रोइन्। पतिले राष्ट्र लुटेर करोडौँ रूपैयाँ ल्याउँदा उकास्ने ती महिलाका लागि छोराको वचन छुरा सावित भयो।

यस्ता घटना मिडियामा निष्पक्ष र वस्तुपरकरूपमा आउँदैन। हल्ला मात्रै धेरै हुने गर्छ। राष्ट्र लुटपाट गर्नेहरूविरुद्ध मनोवैज्ञानिक युद्ध आवश्यक छ। भ्रष्ट र उनको परिवारलाई बहिष्कार गर्नुपर्नेमा महिमामण्डित गरेर व्याशासनको पण्डित बनाउने समाज पनि दोषी छ। चोर, डाँका, हत्यारा, राष्ट्रघाती र पातकीलाई महान् बनाउने काम जनताबाट भएको छ। भ्रष्टलाई जिताउनेलाई भ्रष्टाचारविरुद्ध बोल्ने साहस कसरी आउँछ ?

निष्पक्ष भएर भन्नुपर्दा नेपाली समाजले धेरै कुरा सिक्न बाँकी छ। जनता मात्रै भएर साहसपूर्वक सही निर्णय गर्ने क्षमता घटिरहेको छ। बरु निरक्षर जनता सत्य बोल्ने गर्छन् तर शिक्षितहरू केही पाउने लोभमा दलको दास बनेका छन्। अहिले देखिएको समस्या यही हो। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते
२०८० फागुण १८, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ
२०८० फागुण १८, शुक्रबार
बलेरो दुर्घटना अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो, दुईजना गम्भीर
२०८० फागुण १८, शुक्रबार
एसियन लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै
२०८० फागुण १८, शुक्रबार
बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी
२०८० फागुण १८, शुक्रबार
अव सगरमाथा चढनेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनुपर्ने
२०८० फागुण १८, शुक्रबार
खाना कुरिरहेका प्यालेस्टाइनी माथी इजरायली बम बर्षा हुँदा १०४ को मृत्यु
२०८० फागुण १८, शुक्रबार