वैशाख ११, २०८१ मंगलबार April 23, 2024

पपुलिस्ट पार्टी वा नेतासँग समस्याको फेहरिस्त हुन्छ, समाधानको सूत्र हुँदैन : गेजा शर्मा वाग्ले (अन्तवार्ता)

संसारभर पपुलस्टि पार्टीहहरूको धार भनेको पपुलिज्म र दक्षिणपन्थ हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सामाजिक सञ्जालबाट तपाईंले नै कांग्रेस सकिने कि सच्चिने भन्ने बहस छेड्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनावमा लोभलाग्दो मत ल्याएपछि तपाईंले यो कुरा उठाउनुभयो र अहिले कांग्रेसभित्र पनि यो बहसले प्रवेश पाएको छ । रास्वपासँग कांग्रेस यति धेरै किन तर्सिएको ?

उपचुनावपछि कांग्रेसको भविष्यबारे सच्चिने कि सकिने भन्ने बहस चलिरहेको छ । उपचुनावको परिणाम सार्वजनिक भएपछि मैले ट्वीटमार्फत भनेको थिएँ– कांग्रेस सकिने कि सच्चिने ? गत वर्ष मंसिरको चुनाव र वैशाखको उपचुनावपछि कांग्रेसको राजनीतिक र सांगठनिक दुवै दृष्टिले क्षति भएको देखिन्छ भने कार्यकर्तामा व्यापक निराशा र अन्योल देखिन्छ । यद्यपि  कांग्रेस संघीय संसदमा ठूलो दल छ । अनि, सरकारको प्रमुख सत्ता साझेदार पनि हो । तीनवटा प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बाँकी तीन प्रदेशमा सरकारको प्रमुख साझेदार दल हो । यसैगरी, ३ सय २९ वटा स्थानीय तहमा पनि कांग्रेसको सरकार छ । त्यसैले यो आयाममा विश्लेषण गरी कांग्रेस अहिले पनि निर्णायक र प्रमुख राजनीतिक शक्ति भएको दाबी गर्न सकिन्छ र कांग्रेसका नेताहरूले गरिरहेका छन् । तर, चुनाव र उपचुनावको परिणामका आधारमा विश्लेषण गर्दा यदि अब रुपान्तरण, शुद्धीकरण र सुधार नभए कांग्रेसको भविष्यमाथि गम्भीर प्रश्न खडा हुन सक्छ । यो कठोर वास्तविकतालाई कांग्रेसजनहरूले गम्भीरतापूर्वक आत्मसात् गर्नु जरुरी छ ।

लोकतन्त्र अझ उदार लोकतन्त्रमा विश्वास गर्ने कांग्रेस वैचारिक र सैद्धान्तिक दृष्टिकोणले मध्यमार्गी पार्टी हो । नेपालमा मध्यम वर्गीय जनसंख्या करिब २५ प्रतिशत छ भने निम्न मध्यमवर्गीय जनसंख्या करिब १५ प्रतिशन रहेको छ । करिब ४० प्रतिशत मध्यम र निम्न मध्यम भएको देशमा उदार लोकतन्त्र र मध्यमार्गमा विश्वास गर्ने पार्टीको भविष्य हुन्छ । साथै, हालसम्म कांग्रेसलाई बौद्धिक तथा व्यावसायिक समूहको बलियो समर्थन छ । क्रियाशील नागरिक समाज र आलोचनात्मक समूहको संख्या पनि उल्लेख्य छ । नेपाली जनता स्वतन्त्रता, लोकतान्त्रिक र राजनीतिक अधिकारको हिसाबले सचेत छन् । त्यसैले सैद्धान्तिक, वैचारिक र वर्गीय दृष्टिले कांग्रेसको आधार कमजोर छैन ।

अहिलेको शीर्ष नेतृत्व अलोकप्रिय भए पनि युवा, लोकप्रिय र जनता तथा कार्यकर्ताले विश्वास गरेको नेतृत्व पंक्ति पार्टीमा भएकाले समकालीन अरु पार्टीहरूभन्दा कांग्रेसमा रुपान्तरणको सम्भावना पनि बढी छ । त्यसैले कांग्रेस सच्चिने दिशामा अघि बढ्ने सम्भावना प्रवल छ ।

रास्वपाको उदयपछि कांग्रेसको भविष्यका बारेमा व्यापक छलफल र चर्चा भइरहेको छ । मंसिरको चुनाव हेर्दा रास्वपालाई विदेशमा रहेका नेपाली समुदाय, युवा र शहरकेन्द्रित जनसमुदायको समर्थन बढी देखिएको थियो । वैशाखको उपचुनावमा स्वर्णिम वाग्लेजी रास्वपाबाट चुनाव जितेपछि अब बौद्धिक र व्यावसायिक समुदायले पनि रास्वपालाई समर्थन गर्ने सम्भावना केही हदसम्म बढ्ने संकेत देखिन्छ । यदि कांग्रेसमा सुधार र रुपान्तरण भएन भने रास्वपालाई विकल्पको रूपमा हेर्न सकिन्छ भन्ने भाष्य अहिले बनिरहेको छ । त्यस आयामबाट विश्लेषण गर्दा रास्वपाको उदय कांग्रेसलाई चुनौती हो ।

तर, दार्शनिक, सैद्धान्तिक र वैचारिक दृष्टिले रास्वपा स्पष्ट छैन । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, अर्थनीति, विदेश नीतिलगायतका प्रमुख राजनीतिक तथा आर्थिक मुद्दाका बारेमा रास्वपाको दृष्टिकोण स्पष्ट नभएको मात्रै होइन, अन्तर्विरोधपूर्णसमेत छ । त्यसैले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक विषयमा रास्वपाको दृष्टिकोण स्पष्ट नभइसकेकाले कांग्रेसको विकल्प हो कि होइन र कांग्रेसको विकल्प हुन्छ कि हुँदैन भनेर अहिल्यै नै भविष्यवाणी वा प्रक्षेपण गर्न हतार हुन्छ । तर, हालसम्म रास्वपा र रास्वपाका नेताहरूबाट सार्वजनिक भएका अपूर्ण, अस्पष्ट र अमूर्त दृष्टिकोणका आधारमा विश्लेषण गर्दा कांग्रेसको विकल्प बन्ने सम्भावना कम देखिन्छ ।

अर्कातिर रास्वपा स्थापनादेखि नै सुशासन र  सेवाप्रवाहजस्ता लोकप्रिय नाराको सहारामा अघि बढिरहेको देखिन्छ र यस्तै, लोकप्रियतावादी मुद्दामा केन्द्रित भएको देखिन्छ । रास्वपाले वाद, सिद्धान्त र विचारधाराले देश बन्दैन, अब सुशासन र सेवाप्रवाह चाहियो भनेर वाद, सिद्धान्त र विचारधारालाई नकारात्मक चित्रण गरेको देखिन्छ । रास्वपाले नेतृत्व विशेष गरी सभापति रवि लामिछानेलाई देवत्वकरण गर्ने र लामिछानेको देवत्वकरण र लोकप्रियताका आधारमा पार्टी स्थापना गर्ने रणनीति अख्तियार गरेको देखिन्छ, तत्कालका लागि यो रणनीतिले आंशिक सफलता हासिल गरे पनि पार्टी निर्माण तथा पार्टीको संस्थागत विकासका दृष्टिले यो रणनीति अन्तत: आत्मघाती हुनेछ ।

रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले आफूसँग असहमत पार्टी, विचार, पक्ष र नेतालाई सार्वजनिक अभिव्यक्तिदेखि सामाजिक सञ्जालसम्म जसरी असहिष्णु टिप्पणी गर्दैछन्, त्यसका आधारमा विश्लेषण गर्दा रास्वपा लोकतान्त्रिक, उदारवादी, समावेशी र सहिष्णु पार्टीको रूपमा स्थापना हुने सम्भावना कमजोर देखिन्छ र लोकप्रियतावादी, अनुदारवादी तथा दक्षिणपन्थी धारतर्फ उन्मुख हुन सक्ने सम्भावना अधिक देखिन्छ ।

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदैगर्दा ‘कांग्रेसभित्र क्रान्ति, गगन विश्व महामन्त्री’ नारा लागेको थियो । तपाईंको विश्लेषण र चुनावी परिणामले त्यो नारा सार्थक नभएको देखिन्छ । तथापि अहिले महामन्त्री थापा देश दौडाहमा जाने तयारीमा छन् । यो आवश्यक थियो ?

अत्यन्त सान्दर्भिक प्रश्न गर्नुभयो । वास्तवमा त्यतिबेलाको भाष्य नै थियो, ‘कांग्रेसभित्र क्रान्ति, गगन—विश्व महामन्त्री ।’ त्यसबेला कांग्रेसजन मात्रै होइन, आमनेपाली जनतामा अब कांग्रेसमा सुधार र रुपान्तरण हुने भयो भन्ने आशाको सञ्चार भएको थियो । महामन्त्री गगन र विश्वले पार्टीभित्र सार्थक हस्तक्षेप गरेर कांग्रेसलाई रुपान्तरण गर्न निर्णयक भूमिका खेल्छन् भन्ने अपेक्षा र विश्वास दुवै थियो । किनभने गगनजी र विश्वजी दुवै जनाले नै कांग्रेस रुपान्तरण, सुधार र सुदृढीकरणलाई प्रमुख चुनावी एजेन्डा बनाउनुभएको थियो ।

तर, डेढ वर्षको समीक्षा गर्दा उहाँहरूले जति पार्टीभित्र सार्थक हस्तक्षेप गरेर रुपान्तरण गर्नुपर्ने थियो, त्यति गर्न सक्नुभएन । गगन–विश्व महामन्त्री हुँदा पनि रुपान्तरण र सुधार भएन भने अब कांग्रेसमा सुधार र रुपान्तरणको सम्भावना कति छ र भन्ने आशंकापूर्ण प्रश्नहरू उठेका छन् । महामन्त्रीका रूपमा गगन–विश्वको भूमिका र नेतृत्व क्षमताका दृष्टिले जनता र कार्यकर्ता दुवैले प्रश्न उठाएका छन् ।

निर्वाचन तथा उपनिर्वाचनपछिका विचार र अभिव्यक्तिका आधारमा विश्लेषण गर्दा उहाँहरूले आफ्नो विगतको भूमिकाबारेमा आत्मसमीक्षा गरेजस्तो देखिन्छ । पार्टीलाई सुधार, रुपान्तरण र शुद्धीकरण गर्न अब निर्णायक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ भन्ने महसुस गरेर सार्वजनिक अभिव्यक्ति दिनुभएको जस्तो लाग्छ ।

हालसम्म उहाँहरूले महामन्त्रीको हैसियतले सभापति शेरबहादुर देउवालाई सहयोग गरी देउवालाई समेत सहमत गराई पार्टीलाई सुधार र रुपान्तरण गर्ने रणनीति अख्तियार गर्नुभएको थियो । तर, सो रणनीतिले हालसम्म परिणाम आएन । अब आफूहरूले महामन्त्रीको चुनाव लड्दा उठाएका एजेन्डासहित जनतासमक्ष जाने र जनता तथा कार्यकर्ताबाट दबाब सिर्जना गरेर पार्टी रुपान्तरण गर्ने रणनीति अख्तियार गर्नु खोजेको देखिन्छ । त्यसैले जनता र पार्टीका सदस्यसँग संवाद गर्ने उदेश्यले गगनजीले देश दौडाहामा जान खोजेको देखिन्छ ।

जतिजति बेला देश र पार्टीलाई समस्या पर्थ्यो, त्यतित्यति बेला बीपी कोइराला पनि जनतासँग जानुहुन्थ्यो र जनतासँग संवाद गर्नुहुन्थ्यो । अहिले गगनजी पनि जनतासँग संवाद गर्ने र जनताको कुरा सुन्ने उद्देश्यका साथ जनतासँग जाँदै हुनुहुन्छ, जुन उपयुक्त निर्णय हो ।

विगत लामो समयदेखि कांग्रेस जनतामुखीभन्दा पनि सत्तामुखी हुँदै आएको छ, जनतामैत्रीभन्दा शक्तिकेन्द्रमैत्री हुँदै आएको छ । त्यसैले कांग्रेसको जनतासँगको संवाद र सम्बन्ध टुटेको छ । पार्टीलाई जनतासँग जोड्ने उद्देश्यका साथ जनतासँग संवाद गर्ने अठोट सकारात्मक मात्रै होइन, अति आवश्यक छ । महामन्त्रीहरूले पार्टीमा असहमति मात्र राखेर, नोट अफ डिसेन्ट मात्र लेखेर, शीर्ष नेतृत्वको विरोध मात्र गरेर हुँदैन ।

अब उहाँहरूले रुपान्तरण गर्न खोजेको कांग्रेसको मार्गचित्र कस्तो हो ? गगन–विश्वप्रकाशले बनाउन खोजेको कांग्रेस कस्तो हो ? त्यसको विचार, सिद्धान्त र नेतृत्व कस्तो हुन्छ ? रुपान्तरित भएको, सुधार भएको कांग्रेस सत्तामा गएपछि कसरी राज्य सञ्चालन गर्छ ? कांग्रेसले बनाउने नेपाल कस्तो हो ? समुन्नत नेपालको मार्गचित्र के हो ? हालसम्म उहाँहरूको तर्फबाट पनि ठोस मार्गचित्र आइसकेको छैन । त्यो मार्गचित्र लिएर जनतामाझ जाने र त्यसबाट आएका सुझावलाई आत्मसात् गरेर भविष्यको मार्गचित्र तय गर्नु श्रेयष्कर हुनेछ । कांग्रेलाई रुपान्तरण गर्न यसले सकारात्मक भूमिका खेल्नेछ ।

महामन्त्रीद्वयले काम गर्न नसक्नुभएको हो कि पार्टीले महामन्त्रीलाई अस्वीकार गरेको अवस्था हो ?

यसका तीनवटा आयाम छन् । पहिलो, गगन–विश्वप्रकाश कांग्रेसका महामन्त्री हुन् । कार्यकर्ता र पार्टीका शुभेच्छुकको अपेक्षा गगन–विश्वप्रकाशले सभापतिको भूमिका निर्वाह गरिदियोस् भन्ने अपेक्षा छ । अपेक्षा सभापतिको छ, तर भूमिका महामन्त्रीको छ ।

दोस्रो, कांग्रेसमा बहुपदीय प्रणालीमा भए पनि वास्तविक अर्थमा सभापतीय प्रणाली नै हो । महामन्त्रीलाई कार्यकारी भूमिकाको रूपमा व्याख्या गरिए पनि विधानले सीमित अधिकार मात्रै दिएको छ । मलाई के लाग्छ भने हालसम्म गगनजी र विश्वजीले विधानमार्फत पाएको अधिकार पनि पूर्ण प्रयोग गरिसक्नुभएको छैन । सभापतिजीले महामन्त्रीहरूलाई भूमिका दिएर पार्टीमा उहाँहरूको भिजन, ऊर्जा र लोकप्रियतालाई प्रयोग गर्नुपर्ने थियो, त्यो गरेको देखिएन । सभापतिले भूमिका नदिँदा विधानले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी सक्रिय र प्रभावकारी महामन्त्रीको भूमिका उहाँहरूले निर्वाह गर्न सक्नुभएको छैन ।

तेस्रो, गगनजी र विश्वजी महामन्त्री त हुनुभयो । तर, समग्र पार्टी प्रणाली र नेतृत्व पंक्तिले उहाँहरूलाई महामन्त्रीमा स्वीकार गर्न नसकेको कारणले पनि महामन्त्रीले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो भूमिका निर्वाह गर्न नसकेको जस्तो देखिन्छ ।

तत्कालीन अवस्थामा पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा गठबन्धन गर्ने वा चुनावपछिको सरकार बनाउने विषयमा महामन्त्रीकाे भूमिका थिएन । पोखराबाट उहाँहरूले समाचारबाट कुरा थाहा पाएको बताउनुभएको थियो । पार्टीलाई प्रभाव पार्ने कुराहरूमा महामन्त्रीहरू बाहिरै रहनुभएको देखियो नि ?

गगनजी र विश्वजी महामन्त्री भइसकेपछि पदीय हैसियतले पार्टीमा लैजाने प्रस्तावहरू निरन्तर लगेकै देखिन्छ । सुरुमा पार्टी सञ्चालन प्रणालीका बारेमा सभापतिजीलाई सुझाव दिनुभएको थियो । त्यसको आधारमा पार्टीका बैठकहरू बालुवाटारमा नबसेर पार्टी कार्यालयमा बस्न थाले । सुरुसुरुमा गगनजीलाई केही भूमिका सभापतिजीले दिन खोजेजस्तो देखिन्थ्यो । गठबन्धनको बैठकमा पार्टीको तर्फबाट गगनजीको सहभागिता थियो । एमसीसी र एसपीपीजस्ता राष्ट्रका पेचिला मुद्दाहरूमा कांग्रेसले महामन्त्रीको सहभागिता र भूमिका दिएको थियो । चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने प्रस्ताव पार्टीको बैठकमा महामन्त्रीहरूले राख्नुभयो । त्यो प्रस्ताव पार्टीले स्वीकार गरेन ।

महामन्त्रीका हैसियतले उहाँहरूले पार्टीमा प्रस्ताव लानु भयो । तर, उहाँहरूका प्रस्ताव पार्टीका निर्णय हुन सकेनन् । किनभने सभापतिजीको प्रचण्ड बहुमत छ । केन्द्रीय समिति, कार्य सम्पादन समिति वा ससदीय दलको निर्णयप्रति असहमत हुँदा नोट अफ डिसेन्ट पनि लेख्नुभयो । उमेरका हिसाबले बाबुसरहको सभापतिसँग संसदीय दलमा गगनजी चुनाव लड्नुभयो । विश्वजीले समर्थन गर्नुभयो । जब देउवाको कार्यशैलीप्रति गगनजी–विश्वजीले असहमति राख्नुभयो, संसदीय दलमा देउवासँग गगनजी चुनाव लड्नुभयो, तब सभापतिले महामन्त्रीहरूलाई किनारा लगाउने रणनीति अख्तियार गर्नुभयो ।

गगनजी–विश्वजीले प्रयास नै नगरेको होइन । तर, उहाँहरूका प्रयास र पहलहरू सार्थक र परिणाममुखी हुन् सकेनन् । तर, अहिले जनता र कार्यकर्ताको मनोविज्ञान कस्तो छ भने उहाँहरूले गरेका प्रयास र पहलहरूका फेहरिस्त होइन, जनता र कार्यकर्तालाई परिणाम चाहिएको छ । त्यो अपेक्षाअनुसारको भूमिका निर्वाह गर्न नसकेको कारणले उहाँहरूप्रति पनि जनता र कार्यकर्ताको गुनासो देखिन्छ । तर, जनता र कार्यकर्ताले गगनजी–विश्वजीको विकल्प सोचेका छैनन्, खोजेका छैनन् । जनता र कार्यकर्ताले कांग्रेसको विकल्प पनि खोजेका छैनन् । अहिले जनता र कार्यकर्ताले कांग्रेसलाई रुपान्तरण, सुधार र शुद्धीकरण गर्न सचेत र खबरदारी गरेका हुन् ।

यदि कांग्रेसलाई रुपान्तरण, सुधार र शुद्धीकरण गर्न उहाँहरू सफल हुनुभयो भने उहाँहरूसँगको आशा र आकर्षण फर्किनेछ । होइन भने कांग्रेस र उहाँहरूको भविष्यमाथि समेत गम्भीर प्रश्नचिह्न खडा हुनेछ । त्यसैले यो गगनजी र विश्वजीका लागि पनि अग्निपरीक्षाको घडी हो ।

कांग्रेसको पुनर्संरचना वा रुपान्तरण गर्नुपर्छ भनिन्छ । कांग्रेस रुपान्तरणचाहिँ विचारमा हुने हो कि संगठनमा हुने या नेतृत्वमा हुने ?

यो पनि अत्यन्त सान्दर्भिक प्रश्न हो । कांग्रेस रुपान्तरणको सन्दर्भमा सांगठनिक रुपान्तरणको मात्र बहस, छलफल र चर्चा गरिन्छ । तर, कांग्रेसलाई केवल सांगठनिक दृष्टिले मात्रै होइन, सैद्धान्तिक तथा वैचारिक दृष्टिले समेत रुपान्तरण गर्नु अपरिहार्य छ । सिद्धान्त र आदर्शका दृष्टिले कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्छ । कांग्रेसका सिद्धान्त, आदर्श ठीक छन् । तर, २१औँ शताब्दीका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक चुनौतीहरू अत्यन्त जटिल छन् । हामीले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान अनुसरण गरेका छौँ । त्यसका आधारमा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मुद्दाहरू सम्बोधन गर्न कांग्रेसले केही सिद्धान्तहरूलाई परिभाषित गर्न जरुरी छ । केही विचार र सिद्धान्तहरूलाई पुर्नपरिभाषित गर्नुपर्छ र केही नयाँ विचार, सिद्धान्त र नीति अनुसरण गर्नुपर्ने आवश्यकता देखिएको छ । यिनै नयाँ विचार, सिद्धान्त र नीतिका आधारमा संघीयता, समावेशिता, सामाजिक न्यायलगायतका मुद्दाहरू सम्बोधन गर्नुपर्नेछ ।

दोस्रो, २०४६ सालमा लोकतन्त्र स्थापना भएपछि कांग्रेसले अबलम्बन गरेको अर्थ नीतिको कारणले आर्थिक विकासका दृष्टिकोणले सकारात्मक दिशातर्फ उन्मुख भयो । तथापि नेपाली जनताले अपेक्षा गरेअनुसार विकासको फड्को मार्न सकेन । कांग्रेसले अनुसरण गरेको विकास र आर्थिक नीतिको समीक्षा गरेर जनभावना तथा समयसापेक्ष ठोस नीति अनुसरण गर्नुपर्ने आवश्यकता सिर्जना भएको छ । यस्तो अर्थनीति, जुन नीतिले गरिब, किसान, मजदुर, विपन्न, सीमान्तकृत समुदायको समेत विकास र उत्थान गरी समन्यायिक र समतामूलक समाज विकास गर्न सक्षम हुनुपर्‍यो । २१औँ शताब्दीमा विकासको तीव्र छ, त्यसको सापेक्षमा नेपालको सुस्त छ । कांग्रेसले आर्थिक कूटनीतिमार्फत वैदेशिक लगानी भित्र्याएर नेपाललाई तीव्र गतिमा विकास गर्ने जनता र कार्यकर्ताको भावनालाई समेत सम्बोधन गरेर समुन्नत नेपाल निर्माण गर्ने ठोस नीति तय गर्नुपर्ने आवश्यकता छ ।

तेस्रो, सांगठनिक रूपमा कांग्रेसको विशाल र भद्दा संरचना छ । तर, कार्यमूलक भएन । पार्टीका ९ लाख क्रियाशील सदस्य छन्, केन्द्रदेखि स्थानीय तहसम्म आठ तहको संरचना छ । तर लोकतान्त्रिक प्रणाली, विचार र सिद्धान्तअनुसार संगठन परिचालित हुन सकेन । त्यस कारण यो पार्टी प्रणालीलाई पनि मौलिक रूपमा पुनर्संरचना गर्नुपर्ने देखिन्छ ।

पार्टी लोकतन्त्रवादी भए पनि पार्टी प्रणाली र सदस्यता प्रणाली लोकतान्त्रिक छैन । कांग्रेसको सदस्यता प्रणाली नै विवादित, अनुदार र अलोकतान्त्रिक छ । नेपाली नागरिकले चाहेर पनि कांग्रेसको सदस्यता लिन सक्दैनन् । त्यसैले कांग्रेस सुधारका लागि सबैभन्दा पहिले सदस्यता प्रणाली परिवर्तन गरी पार्टीप्रति नेपाली नागरिकले सहज रूपमा सदस्यता प्राप्त गर्न सक्ने उदार र लोकतान्त्रिक वातावरण सिर्जना गर्नुपर्छ र क्रियाशील र साधारण गरी दुई सदस्यीय प्रणालीको अन्त्य गरी एउटै सदस्य प्रणाली बनाउनुपर्छ ।

पार्टी नेतृत्व विकासको पद्धति, प्रक्रिया र प्रणाली पनि अत्यन्तै संकीर्ण छ । बौद्धिक, व्यावसायिक र आफ्नो क्षेत्रमा विशिष्ट ज्ञान, अनुभव र क्षमता भएका व्यक्तित्वहरू कांग्रेसमा आए भने साधारण सदस्यदेखि क्रियाशील सदस्य हुँदै पार्टी प्रणालीबाटै आउनुपर्ने हुन्छ । तर, उक्त क्राइटेरियाका व्यक्तित्वहरूका लागि छड्के प्रवेश (ल्याटरल इन्ट्री) दिइनुपर्छ । यदि त्यसो नगरे अरु क्षयीकरण भई कांग्रेस थप कमजोर हुन्छ । कांग्रेस भनेको केवल कांग्रेसजनहरूको मात्रै होइन, समग्र लोकतन्त्रवादीहरूको पार्टी बनाउनुपर्छ ।

अर्कातिर टिकट वितरण प्रणालीमा ठूलो समस्या, जटिलता र नेतामुखी प्रवृत्ति हाबी छ । पार्टीका नेता र संसदीय समितिले टिकट वितरण गर्ने अभ्यासलाई परिवर्तन गरेर पार्टीभित्र प्रारम्भिक चुनाव गरेर टिकट दिइनुपर्छ । यदि यसो गरियो भने हुँदा लोकतान्त्रिक अभ्यास हुन्छ, जनता र कार्यकर्ताको भावनाअनुसार टिकट वितरण गरिन्छ र पार्टीप्रति पनि जनताको आकर्षण बढ्छ ।

अर्कोतिर कांग्रेस विधि र विधानअनुरूप सञ्चालित छैन, निर्णय प्रक्रिया पादरर्शी छैन, आन्तरिक लोकतन्त्र कमजोर छ । नेतृत्वको कार्यशैली सामन्तवादी, हचुवा, तदर्थवादी र अनुत्तरदायी छ । जो सभापति छ, उसैले पार्टी कब्जा गर्ने दुर्भाग्यपूर्ण प्रवृत्ति छ । पार्टीमा गुट मात्रै होइन, गिरोहतन्त्र हाबी छ । यस्तो दुर्भाग्यपूर्ण अवस्थाको अन्त्य गर्नु अपरिहार्य छ । यी समग्र आयामहरूका समीक्षा गरेर पार्टीले नीति महाधिवेशनमार्फत वैचारिक, सैद्धान्तिक र सांगठिनक दृष्टिले पार्टीलाई रुपान्तरण गर्न आवश्यक छ । यसरी पार्टीलाई रुपान्तरण गरेपछि भिजनरी, लोकप्रिय, युवा र जनतासँग प्रत्यक्ष संवाद गर्ने नेतृत्व स्थापित गर्नुपर्छ । यदि उक्त वास्तविकतालाई कांग्रेसको नेतृत्व पंक्ति, पार्टीभित्रको रुपान्तरणकारी समूह र कांग्रेसजनले आत्मसात गरे भने कांग्रेसलाई रुपान्तरण गरी प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापना गर्न सकिने सम्भावना कायमै छ ।

यसको सैद्धान्तिक–वैचारिक र वर्गीय आधार भए पनि अलोकप्रिय र पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेको नेतृत्वप्रति जनताको असन्तुष्टि, आक्रोश र वितृष्णा छ । आजको आवश्यकता कांग्रेसको विकल्प होइन, असफल र जनताले विश्वास गर्न नसकेको अलोकप्रिय नेतृत्वको विकल्पको खोजी हो । प्रगतिशील सिद्धान्त, गतिशील संगठन र ‘भिजनरी’ नेतृत्व नै कांग्रेस रुपान्तरण र पुनर्जीवनका पूर्वसर्त हुन् ।

कांग्रेसले विगतमा गरेका गल्तीको विवेचना गर्दा खण्डकाव्य नै तयार हुन सक्छ । तर, कांग्रेसको विकल्प खोज्ने नाममा अर्को दक्षिणपन्थी, पपुलिस्ट वा अर्को अतिवादी पार्टीको पासोमा पर्ने सम्भावनाप्रति बौद्धिक समुदाय र मध्यम वर्ग उत्तिकै सचेत रहनुपर्छ ।

रुपान्तरणको कार्यविधि कस्तो हुनपर्छ । यसको रोडम्याप कस्तो बनाउनुपर्छ ?

नेतृत्व परिवर्तनका लागि विधानसम्मत प्रक्रियाबाट जानुपर्‍यो । पटकपटक अवसर पाएको तर डेलिभरी गर्न नसकेको कारणले जनतामा अलोकप्रिय नेतृत्वको कारणले गर्दा पार्टीलाई यो स्तरको क्षति भइसकेपछि पार्टीको भविष्यका लागि सभापतिले राजीनामा दिएर नयाँ नेतृत्वको लागि मार्गप्रशस्त गर्नु श्रेष्ठ विकल्प हो ।

पश्चिमा लोकतान्त्रिक देशहरूको अभ्यास हेर्दा एउटा नेताको नेतृत्वमा पार्टी चुनावमा जान्छ । निर्वाचित भएर आयो भने उसकै नेतृत्वमा सरकार बन्छ । तर, यदि निर्वाचनमा पराजित भयो भने उक्त देशको नेतृत्वले ‘जनताबाट अस्वीकृत भएँ, जनताले विश्वास गरेनन् त्यसकारण राजीनामा गर्छु’ भनेर राजीनामा गरी नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्छ । अनि, पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ ।

नयाँ नेतृत्वले नयाँ नीति र कार्यक्रम लिएर जनता समक्ष जान्छ । यदि जनताबाट अनुमोदित भए राज्य सञ्चालन गर्छ, नभए राजीनामा दिएर मार्गप्रशस्त गर्दिन्छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्समा यस्तै लोकतान्त्रिक, जनउत्तरदायी र सुसंस्कृत अभ्यास छ । लोकतान्त्रिक प्रणाली र जनताप्रति उत्तरदायी नेतृत्व भनेकै यही हो । हामीले पनि अब यस्तै प्रणाली, संस्कार र संस्कृतिको विकास गर्नु जरुरी छ ।

तर, नेपालमा नेतृत्वमा पुगिसकेपछि आर्यघाट नपुगुन्जेल नेतृत्व नछोड्ने, जतिपटक जनताबाट अस्वीकृत भए पनि नैतिक जिम्मेवारी नलिने र नेतृत्व नछोड्ने अलोकतान्त्रिक र अनुत्तरदायी संस्कार भएका कारणले कांग्रेसलगायतका दलहरूमा स्वाभाविक रूपमा नेतृत्वको विकासको वातावरण नै छैन । अहिले विशेष महाधिवेशन वा नीति महाधिवेशन बोलाएर नीति र नेतृत्वको छलफल, बहस र विमर्श गरी भविष्यको मार्गचित्र तय गर्नु सबैभन्दा वैधानिक, लोकतान्त्रिक, कम विवादित प्रक्रिया हुन्थ्यो ।

तर, कांग्रेसको अहिलेसम्मको अभ्यास र सभापतिको मनोविज्ञानको मीमांसा गर्दा उक्त सम्भावना क्षीण देखिन्छ । त्यसैले नीति महाधिवेशनबाट सैद्धान्तिक, वैचारिक र सांगठानिक रुपान्तरण गर्ने त्यसपछि ‘अर्लि महाधिवेशन’ गरेर नयाँ नेतृत्व छनोट गर्ने प्रक्रिया नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, स्वाभाविक र अपेक्षित प्रक्रिया हो ।

पार्टीभित्रको वैचारिक तथा रुपान्तरणकारी समूहको सहयोग र समर्थन लिएर कांग्रेसलाई नवजीवन दिएर लोकप्रिय लोकतान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने गगनजी, विश्वजीहरूको रणनीति देखिन्छ । तर, उहाँहरूले पनि हालसम्म त्यस्तो शसक्त, प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुभएकाे छैन । त्यसले कांग्रेसको रुपान्तरण चुनौतीपूर्ण भएको छ ।

यदि कांग्रेसमा रुपान्तरण, सुधार र शुद्धीकरण भएन भने कांग्रेसको भविष्यमाथि नै गम्भीर प्रश्न खडा हुन्छ । यो वास्तविकतालाई समेत आत्मसात् गर्दै गगनजी, विश्वजीलगायत पार्टीभित्रको परिवर्तनकारी तथा रुपान्तरणकारी समूहले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपरिहार्य छ । यदि इतिहासले निर्दिष्ट गरेको भूमिका निर्वाह गर्न असफल हुनुभयो भने केवल कांग्रेसको मात्रै होइन, गगनजी, विश्वजीहरूको भविष्यमाथि समेत गम्भीर प्रश्न चिह्न खडा हुनेछ । त्यसैले यो कांग्रेस र कांग्रेसजनहरूका लागि नै ‘डु अर डाइ’ को अवस्था सिर्जना भएको छ ।

कांग्रेसले खासमा भुईं छोडेको २०५२ देखि नै हो । कांग्रेस हिजोदेखि नै न भुईंमान्छेको पार्टी थियो न मध्यमवर्गको विश्वासिलो बनेको थियो । मध्यमवर्ग संसारभर नै अवसरवादी चरित्रको हुन्छ । त्यो चरित्रमा सामान्य फेरबदल आएको हो र त्यसले रवि लामिछानेमा भविष्य देख्न थालेको हो ?

कांग्रेस सम्पूर्ण नेपाली जनताको पार्टी भए पनि यसको प्रमुख वर्गीय आधार मध्यम वर्ग, निम्न मध्यम वर्ग, बौद्धिक समुदाय र युवा नै हो । हो, मध्यम वर्गको वर्गीय चरित्र अवसरवादी हुन्छ । तर, यो वर्गले मध्यमार्गमा विश्वास गर्ने उदार लोकतन्त्रवादी वा लोकतन्त्रवादी पार्टी, विचार वा समूहलाई सहयोग र समर्थन गर्छ । नेपालको सन्दर्भमा मध्यमार्गी, लोकतन्त्रवादी वा उदार लोकतन्त्रवादी पार्टी भनेकै कांग्रेस हो । त्यसैले मध्यम वर्गको प्रतिनिधित्व गर्ने पार्टी कांग्रेस नै हो । कांग्रेसले पनि सो वर्गको लागि योगदान गरेको छ ।

स्वर्णिम वाग्लेजी रास्वपा प्रवेश गरेपछि केही हदसम्म मध्यम वर्ग र निम्न मध्यम वर्गका साथै बौद्धिक वर्गको आकर्षण बढेको देखिन्छ, केही हदसम्म समर्थन पनि बढेको देखिन्छ । यो आयामबाट कांग्रेसलाई चुनौती बढेको छ । तर, मध्यम वर्गले आफ्नो स्वार्थका लागि नै कांग्रेसलाई समर्थन गर्दै आएको हो र भविष्यमा पनि गर्नेछ । कांग्रेसले आफूलाई उदारवादी, मध्यमवर्ग र निम्न मध्यम वर्गको पार्टीको रूपमा स्थापित गर्नको निम्ति अहिले भन्दा पनि उदार, लोकतान्त्रिक र प्रगतिशील पार्टीको रूपमा विकसित गर्नुपर्छ ।

यद्यपि कांग्रेसले केवल मध्यम वर्ग, निम्न मध्यम वर्ग र बौद्धिक वर्गको मात्रै होइन, गरिब, किसान, मजदुर,  उत्पीडित, अल्पसंख्यक, दलित, वञ्चितीकरणमा परेका समाजका निम्न वर्गको समेत विकास र उत्थान गरी समन्यायिक र समतामूलक समाजको स्थापना गर्ने नीतिलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा स्थापित गर्नुपर्छ । यसले वर्गीय आधार पनि कायम रहन्छ र पार्टी उदारवादी र प्रगतिशील पनि हुन्छ । यदि कांग्रेस कन्जरभेटिभ दिशातर्फ उन्मुख भयो भने सैद्धान्तिक र वर्गीय आधार कमजोर हुन्छ । प्रगतिशील र उदारवादी नीति अनुसरण गरियो भने यसको वैचारिक आधार र सांगठनिक आधार बलियो हुन्छ ।

नेतृत्वप्रतिको अविश्वास र महामन्त्रीद्वयसँग पनि गुनासो बढ्न थालेपछि स्वर्णिम वाग्लेको बहिर्गमन भयो । उपचुनावमा जनताबाट अनुमोदनसँगै संसद प्रवेशपछि कांग्रेसमा धाँजा फाट्ने सम्भावना कति छ ?

स्वर्णिम वाग्लेजी व्यक्तिगत रूपमा उदार लोकतन्त्रमा विश्वास गर्ने बहुलवादी समाजमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ । तर, रास्वपाको वैचारिक र सैद्धान्तिक धरातल स्पष्ट छैन । चुनावको समयमा उसले ल्याएको वाचापत्रका सैद्धान्तिक, वैचारिक र दार्शनिक दृष्टिकोण र प्रस्तावहरू नै अन्तरविरोधपूर्ण छन् । यो पार्टीका नेताहरूको कुराहरू पनि अन्तरविरोधपूर्ण छन् । यी मुद्दाहरूमा स्पष्ट नभईकन स्वर्णिमजीको रास्वपा प्रवेशले मात्र पार्टीको मौलिक कुराहरूमा असर पर्दैन । त्यसैले अहिले नै कांग्रेसमा धाँजा फाट्ने निष्कर्षमा पुग्नु तर्कसंगत छैन ।

हाम्रो संविधान संघीय लोकतान्त्रिक गणतान्त्रिक हो । तर, रास्वपाले प्रदेशसभा निर्वाचन नै बहिष्कार गर्‍याे । रास्वपाको संविधानप्रतिको दृष्टिकोण के भयो र निष्ठा के हो ? संवैधानिक समाजवाद रास्वपाको मार्गनिर्देशक सिद्धान्त भनिएको छ तर संवैधानिक समाजवाद राजनीतिशास्त्रमा स्थापित वाद र विचारधारा नै होइन । अस्तित्वमा नै नभएको वादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा उल्लेख गरेर रास्वपाले कस्तो सैद्धान्तिक–वैचारिक अज्ञानता देखाएको हो ? त्यसका आधारमा हेर्दा रास्वपामा गम्भीर रूपमा सैद्धान्तिक अन्योलता र विचलन छ । त्यसैले पार्टीको सिद्धान्त, विचार र नीति प्रस्ट नहुन्जेल त्यति धेरै आकर्षण हुन्छ भन्ने मलाई लाग्दैन ।

कांग्रेसको विकल्प रास्वपा बनाउन आन्तरिक शक्तिहरूको ध्रुवीकरण हुने सम्भावना कतिको छ ?

शक्तिकेन्द्रको चाहना हुनसक्छ । कांग्रेसलाई कमजोर बनाउन रास्वपालाई प्रयोग गर्ने रणनीति प्रतिस्पर्धी पार्टीहरूको पनि हुन सक्छ । तर कुनै शक्तिकेन्द्रको चाहना वा कामना हुँदैमा रास्वपा कांग्रेसको विकल्प हुन्छ जस्तो लाग्दैन । अर्कोतिर रास्वपाको नेतृत्वको विश्वसनीय र भरोसायोग्य छैन । खासगरी रास्वपा सभापति लामिछानेजीकै बारेमा सबैभन्दा बढी प्रश्नहरू छन् । उहाँका राजनीतिक, वैचारिक, नैतिक विषयमा जटिल र संवेदनशील प्रश्नहरू छन् । अन्य पार्टीका नेताहरूबारे जति प्रश्नहरू छन्, त्योभन्दा बढी प्रश्न रवि लामिछानेप्रति लक्षित छन् । मूलधारका पार्टीहरूले अपेक्षित डेलिभरी गर्न नसकेपछि नकारात्मक र प्रतिक्रियात्मक मत हासिल गर्न रास्वपा सफल भयो । तर, पार्टीकै रूपमा कसरी स्थापित हुन्छ ? सिद्धान्त के हुन्छ ? पार्टीको रूपमा डेलिभरी कसरी गर्छ ? पार्टीका नेताहरूको सार्वजनिक छवि के छ भन्ने अनन्त प्रश्नहरू अरु पार्टीका नेताहरूमा भन्दा बढी सो पार्टी र नेताहरूप्रति छ ।

नेपाललाई भूराजनीतिक जटिलता छ भनिन्छ । कांग्रेसको विकल्प खोज्न भूराजनीतिक प्रभाव कतिको पर्ला ?

अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पनि चाहना हुन सक्छ । त्यो चाहना पञ्चायत कालमा पनि थियो । २०४६ मा लोकतन्त्र पुनर्स्थापना भएपछि पनि भयो । २०६२–६३ सालको आन्दोलनपछि पनि भयो । अहिले पनि होला । तर राष्ट्रिय–अन्तर्राष्ट्रिय, दृश्य–अदृश्य, घोषित–अघोषित शक्तिकेन्द्रको चाहना वा कामना मात्रै कांग्रेस कमजोर र कुनै पार्टी बलियो हुने सम्भावना देख्दिनँ । कांग्रेसको नियति आफ्नै नीति र नेतृत्वमा निर्भर छ, कुनै शक्ति केन्द्रको समर्थन वा विरोध तथा आशीर्वाद वा षड्यन्त्रमा होइन ।

कांग्रेस सभापतिले विधानले गनुपर्ने कामहरू टार्दै आउनुभएको छ । त्यसका पछाडि के–के कारण देख्नुहुन्छ ?

लामो समयदेखि कांग्रेसको पार्टी सञ्चालन प्रणाली लोकतान्त्रिक छैन, विधि र विधानअनुसार पार्टी सञ्चालन भएको छैन । सभापतिको अनुकूलता, तदर्थवाद, लहड र आदेशका आधारमा पार्टी सञ्चालन हुँदै आएको देखिन्छ । यदि कांग्रेस विधान र संस्थागत रूपमा सञ्चालन मात्र भइदिएको भए र निर्णय प्रक्रिया सहभागितामूलक र पारदर्शिता भइदिएको भए पनि यो खालको संकट सिर्जना हुने थिएन ।

१० महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन । विधानमा हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने, ६ महिनाभित्र विभागहरू गठन गर्ने, ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनेर समय तालिका उल्लेख छ । तर, ती केही पनि भएनन् । सभापतिको तदर्थवादी कार्यशैली, आफ्नो गुटको संरक्षण गर्ने र इतरसमूहलाई पार्टीमा भूमिका नदिने, दिए पनि न्यून दिने र विलम्ब गरेर दिने कार्यशैली लोकतान्त्रिक पार्टीको सिद्धान्त र आचरण अनुकूल छैन । त्यसैले सभापतिजीको पार्टी सञ्चालन प्रणालीबारे व्यापक आलोचना, टीका–टिप्पणी र बहस हुँदै आएको छ ।

राजनीतिक जीवनको उत्तरार्द्धमा हुनुभएका सभापतिजीले लोकतान्त्रिक प्रणाली अनुसरण गरी विधिसम्मतरूपमा मात्रै पार्टी सञ्चालन गरे पनि कांग्रेसको भविष्यका लागि ठूलो योगदान हुने थियो । सभापतिका रूपमा अन्तिम कार्यकाल भएका देउवाले पार्टीमा सबैलाई समेटेर पार्टीलाई नयाँ जीवन दिएर आफ्नो लिगेशी छोडेर जान्छु भन्ने सभापतिजीको सोच भए नयाँ परिवेश सिर्जना हुने थियो । यदि त्यसो गरेको भए देउवाको राजनीतिक भविष्य मात्रै अक्षुण्ण हुने थिएन कि उहाँको इतिहासलाई समेत न्याय हुनेथियो । तर, त्यो हुन सकेन । त्यसैले लोकतन्त्र र कांग्रेसको भविष्यका लागि सम्पूर्ण कांग्रेसजनहरूले साहसिक र जनताले अपेक्षा गरेको निर्णय गर्नुपर्ने घडी आएको छ ।

संसारमा शासन व्यवस्थाभन्दा पनि शासनशैलीमा प्रश्न उठाउने लोकप्रियतावाद हाबी हुन थालेको छ । रवि र स्वर्णिम वाग्लेको त्यही प्रयोग देखिन्छ । लोकप्रियतावादकै कारण डेमोक्रेसी इन डिक्लाइनको चरणमा छ । त्यो हावाको प्रवाह नेपालमा आइपुग्नु अस्वाभाविक होइन ?

अन्तर्राष्ट्रिय रूपमा सन् २०१० बाट लोकप्रियतावादको उदय भएको देखिन्छ । त्यसका कारण भारतमा नरेन्द्र मोदी, अमेरिकामा डोनाल्ड ट्रम्प, बेलायतमा बोरिस जोनसन, ब्रजिलमा बोल्सोनारो, टर्कीमा यर्दोगानलगायतका नेताहरू सत्तामा पुग्न सफल भए । लोकप्रियतावाद, दक्षिणपन्थ र राष्ट्रवादको लहर नेपालमा पनि आयो । त्यसको लहरबाट २०७० सालको चुनावमा राप्रपा पनि लाभान्वित भएको थियो । त्यसपछि नयाँ शक्ति, विवेकशील, साझा पार्टीलगायतका नयाँ पार्टीहरू पपुलिस्ट नाराबाट आफूलाई स्थापित गर्ने प्रयास गरेका थिए । ती सबै पार्टीहरू असफल भए किनभने पलुपिज्म समाधान होइन, समस्या हो । पपुलिस्ट पार्टी वा नेतासँग समस्याको फेहरिस्त हुन्छ, समाधानको सूत्र हुँदैन ।

तर, आकस्मिक रूपमा उदाएको रास्वपाले गत मंसिरमा अप्रत्याशित रूपमा उल्लेखनीय मत हासिल गर्न सफल भएपछि पपुलिस्ट एजेन्डाका आधारमा आफूलाई स्थापित गर्छ कि भन्ने बहस चल्दै आएको छ । यसको अन्तर्राष्ट्रिय लहरको प्रभाव पनि छ । कांग्रेस, एमाले, माओवादीले सुशासन र डेलिभरी दिन सकेनन् । तीन दलको कुशासनबाट फ्रस्टेड, निराश र आक्रोशित भएको देखिन्छ । त्यसैले यिनको विकल्पमा नयाँ पार्टीलाई हेर्नुपर्छ भन्ने न्यारेटिभको शंकाको सुविधा रास्वपाले पाएको छ ।

तर, रास्वपा पपुलिस्ट दिशातर्फ उन्मुख हुने सम्भावना बढी छ किनभने रास्वपाले विचार, सिद्धान्त र आदर्शलाई भन्दा सुशासन र डेलिभरीको नारा लगाएको छ । संसारभर पपुलिस्ट पार्टीहरू सुशासन र डेलिभरीको नारामा उदाए । त्यसैले रास्वपा र उनीहरूबीच समानता देखिन्छ । केही महिनाअगाडि रवि लामिछानेलाई तपाईंंको पार्टीको वैचारिक धार के हुन्छ भन्दा ‘सेन्टर राइट’ भनेर भन्नुभएको थियो । उहाँले भन्न खोज्नुभएको मध्य दक्षिणपन्थी होला । तर, मध्य दक्षिणपन्थी भन्दा पनि पपुलिस्ट दक्षिणपन्थी धारतर्फ उन्मुख हुन सक्छ । संसारभर पपुलस्टि पार्टीहहरूको धार भनेको पपुलिज्म र दक्षिणपन्थ हो ।

सन् २०१० देखि २०२० सम्म पपुलिस्ट पार्टीहरूको लहर थियो । तर पपुलिस्ट नेताहरू ट्रम्प, बोल्सोनारो निर्वाचनमा पराजित भए, जोनसनले पनि असफल भएपछि राजीनामा दिए । उनीहरूको जसरी आकस्मिक रूपमा उदय भएको थियो, त्यसरी नै अवसान भएको छ । त्यसैले नेपालमा पनि पपुलिस्ट पार्टी र नेताको भविष्य छैन । मूलधारका पार्टी र नेतालाई गाली गरेर अहिले केही जनमत हासिल गर्न सफल भए । तर, यो अल्पकालीन, क्षणिक र प्रतिक्रियात्मक मात्रै हो । किनभने मूलधारका पार्टीका असफलताबाट निराश र फ्रस्टेड भएका जनताको जनआक्रोश र जनउत्तेजनाको मनोवैज्ञानिक शोषण गरी सत्ताको खेती गर्न त सहज छ तर समाधान पनि त दिनुपर्‍याे, डेलिभरी पनि त गर्नुपर्‍याे । आफ्नो अनुहार पनि त हेर्नुपर्‍याे ।

लोकतान्त्रिक प्रणाली भनेको चमत्कार र ‘हिरोइज्म’ होइन। तर, हाम्रो समस्या के छ भने हामीलाई चमत्कार चाहिन्छ, हामी हिरोइज्ममा विश्वास गर्छौँ । तर लोकतान्त्रिक प्रणाली भनेको न चमत्कार हो, न हिरोइज्म हो । यो त प्रणाली हो, प्रक्रिया हो र जवाफदेहिता हो । प्रणाली, प्रक्रिया र जवाफदेहिता हो । आइफोनको नयाँ मोडेल त राम्रो हुन्छ । तर, नयाँ पार्टी हुँदैमा राम्रो हुन्छ भन्ने ग्यारेन्टी छैन । रास्वपा झन् पपुलिस्ट, दक्षिणपन्थी, अनुदारवादी र असहिष्णु देखिएको छ । रास्वपा पार्टीगत रूपमा प्रोपोगाण्डा र नेतृत्वमा भाइरल हुने प्रवृत्तिले ग्रसित भएको देखिन्छ ।

अहिले  शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरू पनि पक्राउ परे । यसले कांग्रेसलाई कस्तो प्रभाव पर्ला ?

शरणार्थी प्रकरणले तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले असर पर्छ । तर, पार्टी भ्रष्ट हुँदैन, पार्टीमा आबद्ध कोही नेता तथा व्यक्ति भ्रष्ट होलान् । हुन सक्लान् । यो प्रकरणले कांग्रेस र एमाले पार्टी र पार्टीका नेताहरूमा गम्भीर प्रश्न उठेका छन् । एमाले सचिव पक्राउ परेका छन्, अरु नेतामाथि पनि प्रश्न उठेका छन् । कांग्रेसको हालत पनि त्यस्तै छ । त्यसैले कांग्रेस, एमाले दुवै पार्टीलाई क्षति भएको छ ।

भ्रष्ट र आपराधिक क्रियाकलापबाट पार्टीलाई अलग राख्ने र शुद्धिकरण गर्ने कांग्रेसलाई अवसर थियो, तर गरेन । पार्टीका कोही नेता–कार्यकर्ता भ्रष्टाचार र अपराधमा संलग्न हुन सक्छन् । तर, पार्टीले संरक्षण गर्न हुँदैन । यदि कोही नेता–कार्यकर्ता भ्रष्टाचार र अपराधमा संलग्न भएको आरोपमा गिरफ्तार भएपछि पार्टीले तत्काल निलम्बन गरी स्वतन्त्र अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ । यो विधिशास्त्र र विधिको शासनको आधारभूत र अनिवार्य प्रक्रिया हो । यदि कसैका लागि पार्टी नै सती जाने अवस्था सिर्जना भयो भने पार्टीलाई गम्भीर क्षति गर्छ ।

पार्टीका तेस्रो पुस्ताका नेताहरू रुपान्तरण अभियान लिएर देश दौडाहामा छन् । यसलाई कुन रूपमा हेर्नुभएको छ ?

कांग्रेसमा शुद्धीकरण र रुपान्तरणको आवश्यकता छ । जो नेता/कार्यकर्ताले रुपान्तरणकारी, शुद्धीकरणको अभियान चलाउँछ, त्यो प्रभावकारी हुन्छ । १४औँ महाधिवेशनमा शेखर र गगन समूह र विश्वजीहरू रुपान्तरण र सुधारको एजेन्डासहित महाधिवेशनमा जानुभएको थियो । पार्टीका रुपान्तरणकारी तथा शुद्धीकरणवादी पक्षधरहरू एक भएर पार्टीमा रुपान्तरण, शुद्धीकरण र सुधारको अभियान गर्नु उपयुक्त हुन्छ । गुरु घिमिरे, मधु आचार्यलगायतका नेताहरूले अभियान लिएर जनता र कार्यकर्ता जानुभएको छ । त्यसले कांग्रेस रुपान्तरणमा सकारात्मक प्रभाव पार्छ । तर, सबैसँग छलफल र सहकार्य गरेर एकीकृत रूपमा जनतासमक्ष गएको अवस्थामा थप प्रभावकारी अभियान हुनेछ । यदि रुपान्तरणकारी शक्ति र समूहमा विभाजन भयो भने त्यसको फाइदा संस्थापन पक्षलाई हुन सक्छ । शिलापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया