नयाँदिल्ली, वैशाख २२ गते । भारतको राजनीतिमा नयाँ मोड ल्याउने सङ्केतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा)ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो समयदेखिको विपक्षी गढ तोड्ने स्थितिमा पुगेको छ । प्रारम्भिक मत परिणामहरूले राज्यको सत्ता समीकरणमा ठुलो परिवर्तन आउने सम्भावना देखाएका छन् ।
भारतको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको आंशिक नतिजा अनुसार २९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपा कम्तीमा १२४ सिट जित्न सफल भएको छ भने थप ८३ सिटमा अग्रस्थानमा रहेको देखिएको छ । यसले राज्यमा पहिलोपटक भाजपा सरकार गठनको बाटो खुल्न सक्ने सङ्केत दिएको छ ।
पश्चिम बङ्गालमा अहिलेसम्म शासन गर्न नसकेको भाजपाले वर्षौंदेखि मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस सरकारलाई विस्थापित गर्ने प्रयास गर्दै आएको थियो । सन् २०११ देखि निरन्तर सत्तामा रहँदै आउनुभएकी बनर्जी मोदीका प्रमुख आलोचकका रूपमा चिनिनुहुन्छ, र उहाँको राजनीतिक प्रभाव राज्यमा बलियो मानिन्थ्यो ।
तर यसपटकको निर्वाचन प्रक्रियामाथि विवाद पनि उब्जिएको छ । निर्वाचन आयोगले लाखौँ मतदातालाई मतदाता सूचीबाट हटाएको आरोप लगाउँदै विपक्षी दलहरूले चुनावको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । यसले राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ ।
यसैबिच, अन्य दुई राज्यमा पनि सत्तारूढ सरकारहरू परिवर्तन भएका छन् भने अप्रिलमा सम्पन्न अर्को राज्यीय चुनावमा भने भाजपाले आफ्नो सत्ता जोगाउन सफल भएको थियो । एक अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्या भएको भारतमा २८ राज्य र आठ सङ्घीय क्षेत्रहरूमा नियमित रूपमा विभिन्न तहका चुनावहरू भइरहन्छन्, जसले देशको राजनीतिक गतिशीलता निरन्तर परिवर्तनशील बनाइरहेको छ ।
विशेषतः आफ्नो तेस्रो कार्यकालको मध्य चरणमा पश्चिम बङ्गालको नतिजाले मोदीको राष्ट्रिय राजनीतिक प्रभाव अझ सुदृढ हुने अनुमान गरिएको छ । सन् २०२४ को आम निर्वाचनपछि केन्द्रमा सरकार गठनका लागि क्षेत्रीय दलहरूको सहयोग लिनुपरेको अवस्थालाई ध्यानमा राख्दा यो सफलता उहाँका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । आगामी सन् २०२९ मा चौथो कार्यकालका लागि चुनाव लड्ने अपेक्षा पनि गरिएको छ ।
नयाँदिल्लीस्थित पार्टी मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै मोदीले पश्चिम बङ्गालको नतिजालाई ऐतिहासिक उपलब्धि बताउनुभयो । उहाँले राज्यमा पार्टीको बढ्दो जनआकर्षणलाई उजागर गर्दै ‘बङ्गालको भाग्यमा नयाँ अध्याय थपिएको छ’ भन्नुभयो ।
विपक्षी पक्ष भने अझै पनि राष्ट्रिय स्तरमा एकीकृत चुनौती प्रस्तुत गर्न सङ्घर्षरत देखिएको छ । विशेषतः क्षेत्रीय दलहरूलाई एकजुट गर्दै भाजपाविरुद्ध मोर्चा बनाउने प्रयासमा अग्रसर रहनुभएकी बनर्जीको सम्भावित हारले विपक्षी गठबन्धनभित्रको शक्ति सन्तुलनलाई कमजोर पार्न सक्ने आँकलन गरिएको छ ।
दक्षिण भारतमा पनि रोचक राजनीतिक परिवर्तन देखिएको छ । तमिलनाडुमा चलचित्र क्षेत्रका लोकप्रिय कलाकार जोसेफ विजयले स्थापना गर्नुभएको तमिलगा वेट्ट्री कजगम पार्टीले सत्तारूढ डिएमकेलाई पराजित गर्दै सत्ता हात पार्ने स्थिति बनाएको छ । तमिलनाडुमा चलचित्र व्यक्तित्वहरू राजनीतिमा सफल हुने परम्परा यसपटक पनि दोहोरिएको छ ।
त्यस्तै, केरलामा भारतीय राष्ट्रिय काङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सत्तारूढ कम्युनिस्ट सरकारलाई पराजित गर्दै वामपन्थी शासनको अन्त्य गरेको छ । यो परिणामलाई त्यहाँको दीर्घकालीन राजनीतिक समीकरणमा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ ।
उत्तरपूर्वी राज्य असममा भने भाजपाले निरन्तर तेस्रो कार्यकालका लागि सत्ता कायम राख्न सफल भएको छ, जसले पार्टीको क्षेत्रीय प्रभाव अझ बिस्तार भइरहेको सङ्केत गर्दछ । रासस/एपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया