कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

पर्यटकलाई मोहित बनाउने शिरीषको फूल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ ।

झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् ।

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो ।

शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् । “शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु”, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्छन्, “पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।” अरुभन्दा शनिबार भीड उर्लिने गरेको उनले बताए ।

एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्किएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आउनुभएकी उहाँले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताइन् ।

“चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन”, उनले भनिन्, “वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू । साह्रै राम्रो ठाउँ रहेछ ।”

sirish_ko ful21686063730.jpg

उनले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताइन् । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उहाँले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो सुनाइन् ।

भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताए । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडियो खिचेको उनले बताइन् ।

“फूल त एउटा सिजनमा मात्र फुल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ”, उनले भनिन् । गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उनको भनाइ छ ।

के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन् । इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरूको आग्रहमा भाइरल शिरीषको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहेका भेटिए । “छोरीहरूले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ”, इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उनले बताए ।

भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताउनुभयो । चन्द्रगढीको वीरेन्द्र नमूना क्याम्पसको शिक्षा सङ्कायको स्नातक  प्रथम वर्षमा अध्ययनरत उहाँले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताए ।

झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउाछन् । “यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरूले घेरिएको कारण धेरै मानिसहरूको रोजाइ बनेको हो”, उनी भन्छन्, “फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौँ स्थलहरू हाम्रै वरपर छन् ।” सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्वीर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उनको ठम्याइ छ ।

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभर लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी, एकै दिन १२ जिल्लामा प्रहरीको एक्सन
२०८३ कार्तिक १७, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३ कार्तिक १७, मंगलबार
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउँदै
२०८३ कार्तिक १७, मंगलबार
आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक, सापकोटा प्रकरणले पाउन सक्छ प्राथमिकता
२०८३ कार्तिक १७, मंगलबार
सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, मंगलबार
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार