असार ५, २०८१ बुधबार June 19, 2024

कमजोरीको जिम्मेवारी लिन्छौं र जुन गति बढाएर जाने संकल्प गरेका छौं, त्यसको पनि नेतृत्व गर्छौं : महामन्त्री, विश्वप्रकाश शर्मा (अन्तवार्ता)

‘कांग्रेस हाइवेमा आइपुग्यो, गति बढाउन नेतृत्व गर्छौं’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डेढ सातासम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा धेरै छलफल भएको विषयमध्ये एक थियो, नक्कली भुटानी शरणार्थी प्रकरण । धेरै नेताहरुले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गरेर राज्यले अन्याय गर्‍यो भन्नुभयो, कतिपयले निलम्बन गर्नुपर्छ भनेर माग राख्नुभयो । तर कांग्रेसले सरकारले थालेको कारबाहीलाई समर्थन पनि गर्‍यो, केन्द्रीय सदस्य खाँणलाई निलम्बन पनि गरेन । यो अलमल किन ?

अलमल होइन, क्लियर छ । पहिलो, अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ कांग्रेसको एकल सरकारले बनाएको हो । भ्रष्टाचार निवारण ऐन–२०५९ बन्दै गर्दा त्यसको पछिल्तिर त कांग्रेस थियो । पुरानो मुलुकी ऐनलाई परिमार्जन गरेर मुलुकी अपराध संहिता २०७४ निर्माण गर्ने कांग्रेस नै हो । हाम्रा पर्छन् भनेर कांग्रेसले कानुन नबनाउने सोच राखेन । त्यसैले भ्रष्टचार विरुद्ध चालिएका कदमहरुको कांग्रेसले स्वामित्व लिन्छ । किनकि राज्यलाई सशक्तिकरण गर्ने, बन्दोबस्ती गर्ने कार्य कांग्रेसले गरेको छ ।

दोस्रो, भ्रष्टाचार विरुद्धको कार्य कसले कार्यान्वयन गर्दैछ ? कांग्रेसको सहभागिता साथ बनेको सरकारले । पार्टीको बैठकमा कसले के बोल्यो भन्दा पनि साझा रुपमा कांग्रेस नक्कली भुटानी शरणार्थीको छानबिनलाई अझ गहिरो बनाएर लैजानुपर्नेमा विश्वस्त छ । कांग्रेस ललितानिवास प्रकरणमा भएको अनुसन्धानलाई गहिराइसम्म पुगेर निष्कर्षमा पुर्‍याउनुपर्दछ भन्दछ । भ्रष्टाचारमा संलग्न व्यक्तिको दल, जात, वर्ग, केही हुन्छ भन्ने कांग्रेस मान्दैन, सरकार दृढतापूर्वक अघि बढ भनेर क्लियरसँग भनेको छ । निर्णयमा कहीं कतै जोगाउने कुरा छैन ।

कागजमा प्रष्ट छ, व्यवहारमा चाहिं पुर्पक्षका लागि थुनामा पुगेका नेतालाई निलम्बन गरिएन नि त ? 

पार्टीको डकुमेन्टमा के छ, त्यो मुख्य कुरा होइन । राज्यको अनुसन्धान सघाउँछ कि सघाउँदैन भन्ने हो । यो प्रकरणमा दुइटा फरक पार्टीको परे । एउटाले के गर्‍यो ? दराजमा राखिने माइन्युटमा उनलाई निलम्बन भनिदियो ।  संसदमा उभिएर चाहिं तिमीले निर्दोषलाई फसाउँदैछौ भन्यो । त्यो पनि सम्बन्धित पार्टीको अध्यक्ष स्वयंले ।

कांग्रेसले रोष्ट्रमबाट अनुसन्धानलाई बल पुर्‍याएको छ, फाइल मात्रै होइन फायर खोल्नुपर्छ भनी संसदमा म आफैं बोलेको छु । पार्टीमा  माइन्युट गरिएको एक–एक अक्षरले अनुसन्धानलाई कसिलो बनाएर जाउ भनेको छ ।

यद्यपि, बाहिर उठेका कुराहरु जस्तै भएको भए हुन्थ्यो भन्ने मत नभएको होइन । बैठकमा क–कसले के बोल्यो भन्ने बाहिर आएका छन्, अर्का महामन्त्रीले लिखित रुपमा पनि राख्नुभएको छ । र, संस्थागत रुपमा कांग्रेस अनुसन्धानलाई गहिरोमा गएर निष्कर्षमा पुर्‍याएर कठोरतापूर्वक जानुपर्दछ भन्ने निर्णयमा उभिएको छ ।

तर हिजो खुमबहादुर खड्काको विषयमा होस् वा खाँणको विषयमार, देखिएको अलमलले सुशासनको मुद्दालाई कांग्रेसले बोक्न सक्छ भन्ने प्रश्न त उठ्यो नि ?

कांग्रेसलाई बुझ्ने भनेको व्यक्ति विश्वप्रकाशले के बोल्यो ? देउवा, गगन, महेन्द्र यादव, भीष्म आङ्देम्बेले के बोल्यो भन्ने आधारमा पनि होइन, डकुमेन्टले के बोल्यो भन्ने हो । र, कांग्रेस निर्णय प्रष्ट छ, दृढ पनि छ । अझै, व्याख्या गरेर पनि छ । अनुसन्धानलाई अलिकति पनि असर गर्ने कुरा छैन, बल पुर्‍याउने कुरा छ ।

बल पुर्‍याउने कुराको पनि तीन पाटो छ । कानुनी पाटोमा संसदमा हामीले काम गरेका छौं । प्रशासनिक पाटोमा अख्तियारलाई राजनीतिक मुक्त बनाउन सकेका छैनौं । त्यहाँका व्यक्तिहरुको छनोट ठीक ढंगले भएन भन्ने प्रश्न उठेकै छ । तेस्रो, राजनीतिक र सामाजिक रुपमा उभिने । त्यसका लागि ब्याकअपमा राजनीतिक दल उभिनुपर्दछ । भ्रष्टाचार विरुद्धको अभियानलाई कांग्रेसको निर्णयले बल पुर्‍याएकै छ । त्यसैले सुशासनका लागि कांग्रेसले साथै दिएको छैन भन्न मिल्दैन ।

अर्को चाहिं, पछिल्लो एक/डेढ वर्षदेखि कांग्रेस दिशाहीन गतिहीन जस्तो देखिएको थियो । कांग्रेसजनमा आशा भन्दा पनि निराशा बढेको देखिन्थ्यो । यो बैठकले उनीहरुलाई कति सम्बोधन गर्न सक्यो जस्तो लाग्छ ?

समग्र राजनीतिप्रति एक किसिमको वितृष्णा छ । हिजो भोगिरहेको समाजभन्दा बाटोघाटो यो यो फरक भयो भन्ने विश्वप्रकाशले देखेको छ । तर विश्वप्रकाशको छोरीले हिजोको अव्यवस्था देखेकी थिइनन्, उनलाई केही भइरहेको छैन भन्ने लाग्न सक्छ । मैले हिंसा देखें, मेरो लागि उपलब्धि शान्ति हो । छोरीले हिंसा देखिनन्, उनलाई शान्ति मात्रले उपलब्धि पुग्दैन । परिवर्तन खोजिरहेको बेलामा बिहानको कुराले साँझलाई पुग्दैन, आजको कुराले भोलि बिहानलाई पुग्दैन । एक खालको वितृष्णा हुन्छ ।

कांग्रेसमा पनि प्राप्ति भएको कुरालाई केन्द्रमा नराखेर उपनिर्वाचनमा ‘ला, हारियो’ भन्ने मनोविज्ञान छ । पुस १० गते सरकार जाँदा सबै सकिएछ कि भनी निराशा आयो । राष्ट्रपति लिएर सरकारमा फर्कियौं, सबै आएछ कि क्या हो भन्ने भयो । उपचुनाव हारियो, फेरि सबै गएछ कि जस्तो लाग्न थाल्यो । पार्टी पङ्तिले यसलाई मिश्रित रुपमा हेर्नुपर्दछ ।

कांग्रेस ठीक ढंगले चलेको छ ? निश्चय पनि छैन । सभापतिको गतिविधि चित्तबुझ्दो छ ? छैन । महामन्त्रीहरुले गर्न सके ? छैन । तर २०७४ र अहिलेमा फरक छैन त ? छ । २०७४ सालमा दोस्रो दल भएको कांग्रेस अहिले पहिलो दल छ । ३२९ वटा पालिकाको प्रमुख कांग्रेसले जितेको छ । ४ वटा प्रदेशमा कांग्रेसका मुख्यमन्त्री छन्, सातै वटा प्रदेश सरकारमा सहभागी छ । संघीय सरकारमा पनि कांग्रेस छ । त्यसैले भएको उपलब्धिलाई पनि हेर्नुपर्दछ । गुमेको र क्षति भएकोलाई पनि हेर्नुपर्दछ । आशाका संकेत बढेका छन्, त्यसलाई पनि हेर्नुपर्दछ । वितृष्णा छन्, त्यसलाई पनि हेर्नुपर्दछ ।

कांग्रेसजनले अरु दलको भन्दा भिन्न र परिपक्व हेर्ने हो । कतिपय दलले मिसन–८४ भनिरहेका छन् । कांग्रेस ८४ मा चुनाव नलड्ने हो र ? लड्छ । तर कांग्रेसले संयमका साथ भनिरहेको छ, हामी अहिले मिसन ८४ को कुरा गर्दैनौं । २०८४ मा २००७ सालको जस्तो प्रजातन्त्र आउने हो र ? कि २०४६ को जस्तो परिवर्तन हुने हो ? हिंसाबाट शान्तिमा जाने पनि होइन । नेपालको नयाँ संविधान थिएन, अब बन्ने हो र ? होइन । २०८४ मा चुनाव हुने हो, अनि त्यो चुनावको चिन्ता अहिले किन गर्ने ?

हामीले पनि एउटा चुनावदेखि अर्को चुनावसम्म चिन्ता गर्ने हो भने देशको चिन्ता कहिले गर्ने ? त्यसैले कांग्रेसले संयमित र जिम्मेवार ढंगले काम गर्नुपर्छ । जसरी चलेको छ, राम्रोसँग चलेको छैन । व्यवस्थापन राम्रो भएको छैन । हामीले राम्रोसँग काम गर्न सकेका छैनौं, सक्नुपर्‍यो, गर्नुपर्‍यो । स्थानीय तह, प्रदेश र संघमा जसले जहाँ जिम्मेवारी पाएका छन्, त्यहाँ काम गर्नुपर्‍यो ।

भर्खरै केन्द्रीय कार्यसमिति बैठक सकियो, अब साउन–भदौमा राष्ट्रव्यापी अभियान गर्छौं । मंसिरमा नीति अधिवेशनले सम्पादन गर्ने भनेको काम गर्ने गरी महासमिति बैठक हुन्छ । यसले कांग्रेसमा विस्तारै उर्जा ल्याउँछ । त्यसैले यो कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला हो ।

पदाधिकारीहरुसँग परामर्श गरेर महामन्त्रीद्वयले जुन एकवर्षे कार्यक्रम ल्याउनुभयो, जसले झोक्राएको कांग्रेसलाई उर्जा दिन्छ भन्ने विश्वास हो ?

हामीले प्रस्तुत गरेको विषय केवल कांग्रेसको जीवनसँग मात्र सम्बन्धित छैनन् । जस्तो, समुदायमा कांग्रेस भन्ने अभियान । यसको विस्तृत खाका त सार्वजनिक गरिएको छैन । तर यस क्रममा विभिन्न टिम बन्छ, सुन्न हेर्न कांग्रेस गाउँ तहसम्म पुग्छ । यसले कांग्रेसको सदस्यलाई मात्र उर्जा भर्ने होइन, देशमै सकारात्मक सन्देश सम्प्रेषण गर्ने हो । वितृष्णालाई चिर्न अगुवाइ गर्ने हो ।

१४औं महाधिवेशनबाट महामन्त्री भएपछि यो नगरौं भन्ने त थिएन होला । डेढ वर्ष खास केही भएन । हिजो सभापतिले नदिएको कि आफैंले गर्न नसकेको हो ? किनकि अहिले तपाईंहरुले प्रस्ताव ल्याउनुभयो, सभापतिले पनि सहजै मान्नुभयो, केन्द्रीय कार्यसमितिले पास पनि गर्‍यो ।

एक सवा वर्ष जेजे कमजोरी भए, त्यसको सबै दोष सभापतिलाई दिएर महामन्त्रीका रुपमा म वा अर्को महामन्त्री हामी पन्छिदैनौं । तर एक वर्षको बीचमा भएका जे उपलब्धिहरु छन्, त्यसको पनि सभापति वा महामन्त्री मात्र होइन, समग्र पार्टी पङ्तिले श्रेय लिन्छ । सम्झिउँ न, पुसको पहिलो साता महामन्त्री निर्वाचित भएको हुँ म । माघ र फागुन दुई महिनापछि त हामी स्थानीय तहको उम्मेदवार बनाउने क्रममा गयौं ।

त्यो बेला हामी टिकट वितरण तल्लो तहमै टुंग्याउने वा क्रियाशील वा क्षेत्रीय प्रतिनिधिबाट टुंग्याउनु उचित हुन्छ भन्ने हाम्रो दृष्टिकोणलाई निर्णयमा पुर्‍याएर कार्यान्वयन गर्न भ्याउँथ्यौं ? भ्याउँदैनथ्यौं  । हामी त महाधिवेशनबाट नेतृत्वमा आउनासाथ एकाएक निर्वाचनमा गयौं । हो, महाधिवेशन ढिला गर्नु हाम्रो कमजोरी थियो । तसर्थ संगठनमा संरचनागत सुधार गर्ने समय हामीसँग थिएन । जे स्थिति आउँछ, त्यही भिडेर जानुपर्ने स्थिति थियो । स्थानीय चुनावपछि राष्ट्रिय निर्वाचन । त्यसपछि हाम्रो बैठक बस्नुपर्थ्यो । तर १० पुसमा हातबाट सबै गयो, त्यसलाई फिर्ता ल्याउन लाग्दा बैठक अलि पछाडि गयो । त्यसपछि फेरि उपचुनाव आयो ।

त्यसैले केन्द्रीय कार्यसमितिको बैठक समयमै बस्नुपर्थ्यो , बस्न नसक्नुमा सभापति एक्लै वा महामन्त्रीहरु भन्ने होइन, समग्र करणहरु जिम्मेवार छन् । त्यसलाई राम्रोसँग ह्याण्डल गर्न सकेनौं, अब चाहिं हामी हाइवेमा आइपुगेका छौं ।  यसबीचका कमजोरीको जिम्मेवारी लिन्छौं र जुन गति बढाएर जाने संकल्प गरेका छौं, त्यसको पनि नेतृत्व गर्छौं ।

महामन्त्रीका रुपमा चाहिं तपाईंहरुप्रति देखिएको आक्रोश र असन्तुष्टि सम्बोधन गर्न सक्यौं भन्ने लाग्छ ?

महामन्त्रीहरु आलोचनाबाट पर हुन्छन् र ? आलोचनालाई ग्रहण गर्ने क्षमता राखेन भने नेतृत्व खारिएर अघि बढ्छ र ? हामीले पनि बैठकमा साथीहरुले उठाएका प्रत्येक कुराहरुलाई आत्मसात् गर्छौं, गरेका छौं । ‘सबै आलोचना मेरो सम्पत्ति हो’ भनिन्छ । हामीले पनि आलोचनालाई त्यसरी नै ग्रहण गर्‍यौं । हामी जवाफका लागि जवाफमा गएनौं । कतिपय सन्दर्भमा बुझाउनुपर्ने विषय पनि बुझायौं । मैले नै प्रश्न गरें, ‘आदरणीय सभापतिज्यू, अनुयायी भनेको छायाँ जस्तो हुन्छ, छायाँ त सधैं सत्य बोल्दैन नि ! अलिक अँध्यारो भयो टाप दिइहाल्छ । ऐना हुनका लागि अलग अस्तित्व हुनुपर्दछ । त्यसैले ऐना भएर सल्लाह सुझाव दिन सक्दैनौं भनेर साथीहरु सोध्नुस् ।’

महामन्त्रीले ल्याएको कार्ययोजना कार्यान्वयन हुन सक्दैन कि भन्ने कसैलाई लाग्यो होला । तर, निर्णय के गरियो ? कार्यान्वयन गर्छौं भनेर गर्‍यौं नि ! केन्द्रीय समितिको बैठक दुई महिनामा बस्ने, नीति महाधिवेशनले गर्ने भनिएका कार्य सम्पादन गर्ने गरी महासमिति बैठक बस्ने, विभाग बन्ने विषयहरु बैठकका निर्णयका अंशहरुका रुपमा आए ।

त्यसैले बोल्दा कसैले कडा बोल्यो होला, कसले नरम बोल्यो । कसैले खुलेर बोल्यो, कसले डिप्लोम्याटिक तरिकाले बोल्यो । तर निर्णयमा हामी एक ठाउँमा आइपुग्यौं । त्यसैले आक्रोश थियो, त्यो मत्थर भयो पनि म भन्दिनँ । साथीहरुले उठाएका कुराहरु सभापति र महामन्त्री हुँ भनेर हार्दिकतापूर्वक लिनुपर्दछ ।

कार्ययोजनाको पहिलो परीक्षा चाहिं भदौमै हुने भयो होइन ? किनकि विभागहरु गठनदेखि भ्रातृ संगठनहरुको पुनर्गठन र पूर्णता भदौ १५भित्र गर्ने भनिएको छ । र, पछिल्ला वर्षहरुका गतिविधिहरुलाई हेर्दा यो काम भन्न जति सजिलो छ, भागबण्डा मिलाएर टुंग्याउन चाहिं त्यति नै गाह्रो छ, होइन ?

कुनै पनि संस्थाले आफ्नो कार्यतालिकाको कार्यान्वयन के हुन्छ भनेर आशंकाबाट सुरु गर्‍यो भने लक्ष्य प्राप्ति हुँदैन । अठोटबाट सुरु गर्‍यो भने गति प्राप्त हुन्छ । फेरि कुनै महाभारतको कुरा गर्न लागेको पनि होइन, संगठनको संरचनागत व्यवस्थापनको कुरा हो । नसकिने भन्ने छैन, गर्ने इच्छाशक्तिको कुरा हो । आलोचित भइरहेका थिए महामन्त्रीहरु, तर सबै मिलेर महामन्त्रीहरुबाट आएको प्रस्तावमा एकमत बनाएर गयौं । यो गर्ने भन्ने संकल्प हो । आज बिहान मात्र पनि हामी दुई महामन्त्रीले सभापतिसँग छलफल गरेका छौं र, हामी कामलाई व्यवस्थित गरेर जान्छौं ।

हाइवेमा हिंड्ने तपाईंहरुको गतिले कांग्रेसको १५औं महाधिवेशन २०८२ कात्तिक/मंसिरमा गराउँछ कि अर्को वर्षतिर लैजान्छ ?

महाधिवेशनको निर्धारित जे विधानको व्यवस्था छ, त्यसलाई सम्पादन गर्ने कर्तव्य सिंगो कार्यसमितिको हो । सबभन्दा बढी त्यसप्रतिको जवाफदेहिता पार्टी सभापतिको हो, त्यसपछि महामन्त्रीहरुको हो । पार्टी सभापति दोस्रो कार्यकाल नेतृत्वमा हुनुहुन्छ, मलाई लाग्दैन कि पहिलो कार्यकालमा जस्तै समय थप्दै थप्दै गएको आलोचना सुन्ने र स्वीकार गर्ने मानसिकतामा हुनुहुन्छ ।

पहिलो कार्यकालमा जे जटिलता थियो, त्यो यो कार्यकालमा हुनेवाला छैन । जस्तो, कांग्रेसको क्रियाशील सदस्यता वितरण समिति नै महाधिवेशनको मिति घोषणा भएपछि बन्थ्यो । अहिले बनेर काम सुरु भइसक्यो । चार वर्षमा क्रियाशील सदस्यता दिने परम्परालाई तोडेर हरेक वर्ष २५ प्रतिशत थप्न थालिसकेका छौं । अर्थात् क्रियाशील सदस्यताका कारण महाधिवेशनको समय तालिकामा जे असर पर्थ्यो, त्यो पर्दैन ।

नेपाली कांग्रेसले २०८२ मा महाधिवेशन गरेर जानु भनेको तीता नमिठा प्रतिस्पर्धा, जितहारलाई २०८२ चैतमा तिलाञ्जली दिएर २०८३ सालभर राष्ट्रिय निर्वाचनको तयारीमा जान सक्छौं । अनि कतिपयले भने जस्तो मिसन २०८४ घोषणा गर्न सजिलो हुन्छ । त्यसैले यसलाई आशंका गरेर समस्यामा जानुभन्दा सम्पादन गर्नुपर्ने कर्तव्य/जिम्मेवारी हो भनेर सोचेर जानुपर्छ ।

तर सत्ता गठबन्धन जोगाउने तपाईंहरुको पहिलो निर्णय छ र, त्यो गठबन्धनमा भएको भागबण्डा अनुसार कांग्रेसको भागमा प्रधानमन्त्री अन्तिम डेढ वर्ष पर्छ । आफू प्रधानमन्त्री हुनकै लागि पनि सभापति देउवाले २०८२ मा महाधिवेशन गर्दैनन् भन्ने आशंका पार्टीकै नेताहरुमा देखिन्छ नि ?

तपाईंले गरे जस्तो कोणबाट कसैले विश्लेषण गरिरहेको हुनसक्छ, सोचिरहेको हुनसक्छ । हुन्छ नै यही भन्ने लागिरहेको पनि हुनसक्छ । तर मैले अहिले त्यस्तो नै होला भनेर सोच्नुहुन्न । मैले अहिले गर्ने के हो ? गर्नुपर्ने के हो ? कांग्रेसको हित केमा छ ? पार्टी नेतृत्वको प्रतिष्ठा केमा बढ्छ ? भन्ने केन्द्रमा राखेर सोच्नुपर्छ ।

किनकि बच्चा जन्मिएपछि निमोनियाको खतरा हुन्छ, चोटपटक लाग्नसक्छ, बाल मृत्युदरको आँकडा हेर्दा बच्चा नजन्माऔं भन्ने पनि हुनसक्छ । यसो भनेर सृष्टिको नयाँ सम्भावनालाई रोक्न हुँदैन । अनि कांग्रेसमा महाधिवेशन भनेको त संगठनको जीवनसँग सम्बन्धित विषय हो । र, एउटा जिम्मेवार साथीले सोच्ने के हो भने २०८४ को चुनाव लड्न २०८३ आन्तरिक प्रतिस्पर्धाको वर्ष बन्नुहुन्न ।

केन्द्रीय कार्यसमितिमा सभापति पक्षको करिब ८० प्रतिशतको बहुमत छ । अनि १४औं महाधिवेशनमा सभापतिमा उहाँसँग प्रतिस्पर्धा गरेका सबैजसो नेताहरु उहाँकै नजिक देखिन थालिएको छ । पार्टीभित्रको प्रतिपक्ष कमजोर हुँदा त सभापतिले चाहेको जस्तो  गर्न झन् सहज होला नि ? 

यो त संगठनलाई अवसर पनि हो । किनभने नेपाली कांग्रेसमा हामीले सभापतिमा प्रतिस्पर्धा गरेको मान्छेले सघाउने वा सभापतिले साथमा लिएर जाने संस्कृति विकास गर्नुपर्छ । यो सभापतिको प्रतिस्पर्धी फलानो हुनुहुन्छ, भोट नहाल्नुहोला भनेर चिट बाँड्ने पार्टी त होइन नि ! सभापतिको प्रतिस्पर्धीलाई काममा फर्काउने कि नफर्काउने भनेर बहस गर्ने पार्टी पनि होइन ।

त्यसकारण सभापतिको प्रतिस्पर्धीहरुले जहिल्यै टसल गर्नुपर्छ भनेर किन परिकल्पना गर्ने ? मिलेर काम गर्ने हो । फेरि सभापतिको प्रतिस्पर्धीहरुले फरक विचार राख्नुभएकै छैन भन्ने पनि होइन । डा. शेखर कोइरालाले कतिपय कुरामा राख्नुभएको सुनिन्छ, मात्रात्मक रुपमा घटी–बढीको कुरा मात्र हो ।

मिलेनन् भने सभापतिका प्रतिस्पर्धीहरु झगडा गरे भन्ने, मिल्दा नियत के हो भन्ने हाम्रो राजनीतिमा चलन छ । तर मिलिरहँदा संगठनलाई फाइदा गर्छ ।

हामी अब आउने सम्भावित नेतृत्वलाई पनि फाइदा गर्छ । पाका भनिएको सबै एकातिर, युवा एकातिर भएर कुनै रेस्लिङको परिकल्पना त हामी गरिरहेका छैनौं । तर विस्तारै रुपान्तरणलाई घनीभूत बनाएर जान चाहनेहरुतर्फ इंगित हुँदै गयो भने राम्रै हुन्छ । त्यसैले आउँदो महाधिवेशनमा पाकाहरु खडा नहुनुहोला, त्यो म भन्दिनँ । युवाहरु मात्र सबै आउनुहोला, त्यो पनि म भन्दिनँ । मेरो मस्तिष्कमा केही पूर्वानुमान छन्, परको चित्र देखिरहेको छु, सोचिरहेको छु । तर अहिले भन्ने यति हो, जे हुन्छ, कांग्रेसको महाधिवेशन उदाउँदै गरेको नेतृत्वका लागि सुन्दर हाइवे बन्छ ।

फेरि सोधें, महाधिवेशन चाहिं २०८२ मै हुन्छ ?

२०८२ लाई साढे २०८१ मै ल्याउँ भन्ने पनि होला, २०८२ को मध्यमा पनि पुग्ला । यो विषय अहिले हामीले गर्दै जाने कामहरुमा निर्भर हुन्छ । र, अधिवेशन समयमै हुँदै गर्दा मेरो राजनीतिक जीवनलाई असर गर्छ भनेर कसैले सोच्नुहुन्छ भन्ने मलाई लाग्दै लाग्दैन । किनभने अधिवेशन ढिलो हुँदा हाम्रो विचार समूहलाई फाइदा हुन्छ भनेर कसैले सोच्यो भने संगठनको फाइदा सोचेन । अधिवेशन हुँदा मेरो पद जाला भनेर कसैले सोच्यो भने जिम्मेवार सोच हुन्न । यस्तो सोच कांग्रेसमा कसैले पनि राख्नुहुन्न, आशंका नगरौं। अख

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया