श्रावण १२, २०८१ शनिबार July 27, 2024

साइबर अपराध न्यूनीकरण – डा. शैलेन्द्र गिरी

राजनीति नेतृत्वले दूरदृष्टि राखी नीति कार्यक्रम अगाडि सारेमा मात्र भौतिक र प्राविधिक रूपमा गाउँ समाजको साइबर स्पेस सुरक्षित गर्न सकिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आजको डिजिटल युगमा धेरै देश जस्तै नेपाल पनि प्रविधि र कनेक्टिभिटीमा द्रुत रूपमा अघि बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय विकास, विस्तारले मानव दैनिक जीवनमा धेरै फाइदा पुर्‍याउनुका साथै तिनीहरूले साइबर अपराधको बढ्दो खतरालाई पनि जन्म दिएका छन् । प्रविधिको प्रयोग गरेर साइबर अपराधीहरूले सूचना प्रविधिका उपरकरण (मोबाइल, कम्प्युटर, डाटा सर्भर आदि) र स्वदेशी र अन्तर्राष्ट्रिय, व्यक्तिहरू, व्यवसायहरू र सरकारी संस्थालाई लक्षित गर्दै साइबर हमला गर्नुका साथै विभिन्न महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा चुनौतीहरू थपेका छन् ।

सामाजिक प्रभाव

साइबर अपराधले नेपाली समाजलाई बहुआयामिक प्रभाव पारेको छ । अहिले विश्वका सबै देशका नागरिक, सरकार र संस्थाहरू अनलाइन ठगीको सिकार भएका छन् । क्रेडिट कार्ड क्लोनिङ, एटिएम कार्ड फ्रड गरेर आफन्त र अन्य चिनजानकालाई फकाइफुलाई पिनकोड लिने र उनीहरूको खातामा रहेको पैसा साइबर अपराधीको खातामा स्थानान्तरण गर्ने कार्य नौलो छैन । मोबाइल बैकिङ प्रणाली वा बैङ्क नै ह्याक गरेर साइबर अपराधीहरूले ठुलो मात्रामा धनराशि आफ्नो खातामा स्थानान्तरण गरेर बैङ्क वा व्यक्तिहरूलाई टाट पल्टाएका कैयौँ उदाहरण छन् । जसका कारण विश्वका अधिकांश देशले ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ । साइबर थ्रेट, डिफेमेसन, मर्फिड., मेलवायेर, साइबरबुलिङ, फिसिङ आक्रमणहरू, साइबर जासुसी, अनलाइन हरेसमेन्ट, रेनसमवायेर, चाइल्ड प्रोनोग्राफी, साइबर आतङ्क, अनलाइन ठगी, बौद्धिक चोरी, सफ्टवेयर पाइरेसी, सामाजिक इन्जिनियरिङ र पहिचान चोरी साइबर अपराधीहरूले प्रयोग गर्ने सामान्य रणनीतिहरू हुन् ।

साइबर अपराधीहरूले व्यक्तिगत डिजिटल उपकरणहरू र अनलाइन खाताहरू ह्याक गरेर, संवेदनशील जानकारी र व्यक्तिगत सूचनाहरू प्रकाशित गरेर र भावनात्मक पीडा दिनुका साथै व्यक्ति वा संस्थाको गोपनीयता भङ्ग गर्ने गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरू साइबर हमलाका कारण विश्व अर्थतन्त्रमा ठुलो असर परेको छ । यसका कारण व्यापार व्यवसाय, उद्योगहरूले साइबर सुरक्षाको चुनौतीहरू सामना गर्नु परेको छ । साइबर अपराधीहरूले अस्पताल, शैक्षिक संस्था, सरकारी डाटा सेन्टरहरू र सार्वजनिक सेवामा रेन्सनमवायेर आक्रमण गरी ठुलो धनराशिको फिरौतीसमेत लिएका छन् । उनीहरूले सामाजिक इन्जिनियरिङ प्रविधिमार्फत व्यक्तिहरू र सङ्घ संस्थाका पहिचान परिवर्तन गरी उनीहरूप्रतिको विश्वास, सामाजिक मान प्रतिष्ठा आँच पु¥याउनुका साथै व्यक्ति र संस्थागत शोषणको भागीदार हुन पुगेका छन् ।

इमेल हरेसमेन्ट, साइबरबुलिङ, अनलाइन उत्पीडन, डिफेमेसन, र साइबर स्टयाक्लिङका कारण पीडितहरूले विभिन्न कष्ट भोग्नु पेरको छ । नेपालमा अहिले सामाजिक सञ्जालबाट व्यक्ति वा संस्थाको मानहानि गर्ने कार्य सामान्य जस्तै भएको छ । आइडी (फेसबुक, टिकटक आदि) ह्याक गरी वा नगरी व्यक्ति वा संस्थाका अनावश्यक फोटो वा भिडियोहरू अपलोड गरिदिएर पारिवारिक विखण्डन, सामाजिक सद्भाव भड्काउने कार्य नेपालमा भइरहेका छन् । व्यक्ति वा संस्थालाई लक्षित गरेर उनीहरूको मानमर्दन हुने गरी गरिएका अवाञ्छित गतिविधिका कारण सोसल मिडिया बदनाम भएको छ । अनजानमा कैयौँ व्यक्तिले यसलाई प्राइभेट मिडिया बनाउँदा अनावश्यक दुःख भोग्नु परेको छ र धेरै कानुनी फन्दामा पर्नुका साथै कति जनाले जेल जीवन बिताउनु परेको छ ।

नेपालमा बौद्धिक सम्पत्ति र सफ्टवेयर चोरी निकै मौलाएको छ । विभिन्न व्यक्ति, संस्था वा सरकारका उत्पादन, बौद्धिक सम्पत्तिको चोरी र देश विदेशका सफ्टवेयर वा फिल्म, गीतहरू रातारात चोरी हुनाले कैयौँ उत्पादन कम्पनी थला परेका छन् । नेपालका डाटा सेन्टरहरूमा कैयौँ पटक डसएट्याक भएको छ, जसका कारण लोकसेवा आयोगदेखि कैयौँ सरकारी कार्यालयका डाटा हराएका छन् । डाटा हराएका कारणले लोकसेवा आयोगको कार्यालयले पुनः परीक्षासमेत गराउनु परेको घटना ताजै छ । झुठा इमेल पठाएर, विभिन्न प्रलोभनमा पारेर युवा वा बालबालिकालाई यौन उत्पीडन गरेका घटनाहरू दिनहुँ सञ्चार माध्यममा आइरहेका हुन्छन् । जसलाई हेरेर आमा, बुवा र आफन्तहरू हैरान भइसकेका छन् । मेलवायेर अर्थात् विभिन्न प्रकारका कम्प्युटर भाइरस हाम्रा लागि त्यत्तिकै हानिकारक छ । यसलाई प्रयोग गरेर कम्प्युटर अपराधीहरूले अनावश्यक रूपमा कम्प्युटरलाई दुःख दिएर हैरान बनाएका छन् । यसबाट व्यक्ति, संस्था र सरकार पीडित नभएको कहीँ छैन ।

साइबर आतङ्कवाद विश्वको चिन्ताको विषय भएको छ । प्रविधिलाई दुरुपयोग गर्नेमा विशेष गरी सोसल मिडिया प्रयोग पहिलो नम्बरमा आउँछ । धर्म वा जातजातिको नाममा समाजमा आतङ्क फैलाउने मुख्य रणभूमि बन्ने हो कि भन्ने चिन्ता बढेको छ नेपालमा । मोबाइल वा कम्प्युटर प्रयोगकर्ताले अनजानमा वा जानाजान स्पाइवेयरको प्रयोग गर्नाले कम्प्युटर वा मोबाइलमा भएका डाटाहरूलाई आफ्नो स्रोतसम्म पु¥याउन मद्दत गर्छन् । स्पाइवेयर जसले कुनै व्यक्ति वा संस्थाको बारेमा जानकारी वा सूचना सङ्कलन गर्ने र प्रयोगकर्तालाई उनीहरूको गोपनीयता उल्लङ्घन गरेर विभिन्न प्रकारले दुःख दिने, तिनीहरूको यन्त्रको सुरक्षालाई खतरामा पारेर, वा अन्य माध्यमबाट हानि पुर्‍याउने गर्छ । विभिन्न आकर्षक नाममा गुगलप्ले स्टोरमा यो एप्लिकेसन उपलब्ध हुने हुनाले सहजै प्रयोगकर्ताले मोबाइल वा कम्प्युटरमा इनिस्टलेसन गर्न पुग्छन् र रमाइलै रमाइलोमा अनेक प्रकारका सास्ती भोग्न बाध्य छन् । यो एक प्रकारको जाजुसी सफ्टवेयर हो भन्ने कतिपय प्रयोगकर्तालाई थाहै छैन । साइबर जाजुसी गर्नु एक प्रकारको साइबर अपराध नै हो ।

पछिल्लो समयमा सूचना प्रविधिको गलत प्रयोग वा दुरुपयोगको कारणले गर्दा हाम्रो समाजमा सामाजिक हिंसामा फैलिएको छ । घरघरमा कलह, सम्बन्ध विच्छेद, परिवारिक द्वन्द्व, परिवारका सदस्यबिच मनमुटाव, यौन हिंसा जस्ता क्रियाकलापमा वृद्धि भएको छ । मोबाइल वा कम्प्युटरमा धेरै समय बिताउने व्यक्तिहरू अनिद्राको कारणले मानसिक रूपमा कमजोर हुने जस्ता समस्याबाट ग्रसित भएका छन् । सामाजिक सञ्जाल र फर्ड इमेलको प्रयोग गरी हनी ट्र्याप गर्ने पेसा नै बनेको छ । बेरोजगारीको फाइदा उठाएर साइबर अपराधीहरूले नेपाली युवालाई विदेशमा बन्दक बनाएका घटनाहरू सेलाएका छैनन् । नेपालको सहरदेखि गाउँ बस्तीसम्म यसको प्रभाव परेको छ । यसबाट हाम्रो समाज, छरछिमेकका आफन्तहरू पीडित भएका छन् । प्रहरीमा अहिले यौन हिंसाका धेरै उजुरी दर्ता हुने गरेका छन् । पैसा असुल्नका लागि मात्र कैयाैँ उजरी पर्ने गरेको प्रहरीको अनुसन्धानले प्रमाणित गरी कतिपयलाई जेल समेत पठाएको छ । प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगको कारण सरकार, व्यवसायी, सङ्घसंस्था र नागरिकले ठुलो पीडा, क्षति बेहोर्नु परेको छ ।

नागरिक जागरण

साइबर संसारका बारेमा अहिलेसम्म भए गरेका गतिविधिहरू आमनागरिकलाई जानकारी गराउनु आवश्यक छ । यसका विविध आयामका बारेमा ज्ञान, सिप प्रदान गर्न र चुनौतीहरू सामना गर्नका लागि पनि आमरूपमा नागरिक साक्षर हुनु अपरिहार्य छ । यसका लागि विद्यालय र विश्वविद्यालयले सानै उमेरदेखि सुरक्षित अनलाइन अभ्यास स्थापित गर्नका लागि साइबर सुरक्षा शिक्षालाई आफ्नो पाठ्यक्रममा समावेश गर्नु पर्छ । सरकारले अनलाइन खतरा र जोखिमहरू र सुरक्षाका उपायबारे नागरिकलाई शिक्षित गर्न राष्ट्रव्यापी अभियान सुरु गर्नु पर्छ । सरकार, व्यवसाय, सामाजिक संस्था र नागरिक समाजबिचको सहकार्यले सचेतनाका कार्यव्रmमलाई विस्तार गर्न सक्छ । साइबर अपराधका बारेमा सरल रिपोर्टिङ संयन्त्र स्थापना गरी पीडितहरूलाई अगाडि आउन प्रोत्साहन गर्नु पर्छ । यसो भएमा मात्र ज्ञानमा आधारित समाज निर्माण गर्ने राज्यको उद्देश्य पूरा हुन सक्छ । साइबर अपराधको रोकथामका लागि प्राथमिक उपकरण भनेकै शिक्षा हो । बालबालिकाहरूले प्रयोग गर्ने स्मार्टफोन, कम्प्युटर र अन्य मोबाइल उपकरणमा अभिभावकले ध्यान दिनु पर्छ ताकि उनीहरू मोबाइल वा कम्प्युटरका गलत सामग्रीको पहुँचमा नपुगून् वा भनौँ नचलाऊन्, नहेरुन् भन्ने नै हो । ज्ञान र चेतना अभिवृद्धि मुख्य सरोकारवालाको संयुक्त प्रयासबाट मात्र हासिल गर्न सकिने कुरा हो । गैरकानुनी इन्टरनेट सामग्री र साइबर अपराधसम्बन्धी बालबालिका, किशोरकिशोरीहरू साथै आमाबाबु र शिक्षकहरूका बिचमा अझ बढी अन्तव्रिर्mया, नागरिक जागरण र ज्ञान स्थानान्तरण गर्नु अत्यावश्यक छ ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानले पनि साइबर अपराधको खतरा र यसको महत्वको बारेमा थप शिक्षाको आवश्यकता औँल्याएको छ । सबै लक्षित समूहहरूका लागि सूचना सुरक्षा, डाटा सुरक्षा र साइबर अपराधको मुद्दालाई सम्बोधन गर्न डिजिटल साक्षरतालाई कार्यान्वयन गर्न जरुरी छ । सूचना सुरक्षा संस्कृतिको सिर्जनातर्फ पहिलो कदम भनेको राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु नै हो । डिजिटल शिक्षाले सबै प्रयोगकर्तामा चेतना जगाउन र दैनिक जीवनमा साइबर सुरक्षा प्रविधिहरू लागु गर्न प्रोत्साहित गर्न महìवपूर्ण भूमिका खल्ने एक अध्ययनको निष्कर्ष रहेको छ ।

पछिल्लो समयमा साइबर अपराध नेपालमा बढ्दो चिन्ताको विषय हुन पुगेको छ । जसको गहिरो सामाजिक, आर्थिक, मानसिक र सुरक्षा प्रभावहरू रहेका छन् । यी मुद्दालाई सम्बोधन गर्नका लागि बलियो साइबर सुरक्षाका उपायहरू, प्रभावकारी नीति, कानुन र व्यापक जनचेतना अभियानहरू सञ्चालन गर्न समग्र दूरदृष्टिकोण आवश्यक छ । सरकार, निजी क्षेत्र र नागरिकहरूले नेपालको साइबर स्पेसको सुरक्षा गर्न र डिजिटल क्षेत्रमा सधैँ विकसित हुने खतराबाट आफ्ना नागरिकहरूलाई जोगाउन सहकार्य गर्नु पर्छ । सङ्घ, प्रदेश र स्थानीय तहहरू बिच सहकार्य र समन्वय आवश्यक छ । यस्ता सामूहिक प्रयासबाट मात्र नेपालमा हुने साइबर अपराधका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै डिजिटल संसारलाई सुरक्षित गर्न सकिन्छ । पब्लिक प्राइभेट पाटनरसिप यसको मोडेल हो । टोलटोल, विद्यालयका कक्षा कोठामा साइबर सुरक्षाका विषयमा शिक्षक र विद्यार्थीबिच अन्तर्क्रिया हुन आवश्यक छ । स्थानीय तहहरूले सामाजिक सङ्घ संस्थामार्फत नागरिक जागरणका कार्यक्रम बनाएर गाउँ टोल बस्तीहरूका नागरिकलाई डिजिटल साक्षरताका विषयमा ज्ञान सिप अभिवृद्धि हुने गरी प्रशिक्षित गर्नु आवश्यक छ । घर परिवारका सदस्यहरू, विद्यालयका शिक्षक प्रशिक्षकहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू, पत्रकार जगत्बाट नागरिक जागरणका विषयमा बहस, छलफल गर्नु आवश्यक छ । साथै राजनीति नेतृत्वले दूरदृष्टि राखी नीति कार्यक्रम अगाडि सारेमा मात्र भौतिक र प्राविधिक रूपमा गाउँ समाजको साइबर स्पेस सुरक्षित गर्न सकिन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार