काठमाण्डौंः हास्यकलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन् ।
माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् ।
‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलीबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो । पहिलेपहिले चेलीबेटीहरूलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिकालगायत अन्य मुलुकतिर पनि सरेको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लाने, तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौँ ।’
हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन् । ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ । तर, देशको नियतिले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने । साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय छ ।
भिडियो हेर्नुहोस्:
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया