वैशाख २४, २०८१ सोमबार May 6, 2024

‘नेपाल दक्षिण एसियाकै कला राजधानी बन्न सक्छ’ : बंगलादेशका राजदूत, सलाहुद्दिन नोमान चौधरी (अन्तवार्ता)

अन्य मुलुकको तुलनामा नेपालको पत्रकारिताको गुणस्तर राम्रो छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं पहिलो पटक नेपाल आउँदाको अनुभव कस्तो रह्यो ? र, बंगलादेश र नेपालको भूगोलबीच के–कस्तो फरक पाउनुभयो ?

म पहिलो पटक सन् २०१४ मा नेपाल आएको हुँ । मेरो पोस्टिङ नयाँदिल्लीमा गरिएको थियो । तर, काठमाडौं हुँदै गएँ । त्यस बेला नेपालका पोखरा, चितवन, ठमेललगायतका धेरै ठाउँ घुमेँ । मसँग परिवार पनि थिए । हामी सबैलाई नेपाल अत्यन्तै सुन्दर लाग्यो । म जुन ठाउँबाट आएको थिएँ त्यो पूरै समथर भूभाग हो । त्यसैले पनि हिमाल हेर्दा धेरै उत्साहित हुन्छु । पूरै परिवारलाई नेपालको भूगोल देख्दा अनौठो लागेको थियो । जता हेर्‍यो त्यतै लोभलाग्दा दृश्य । नेपालसँग नभएको एउटा मात्र कुरा भनेको समुद्र हो । त्यसबाहेक प्रकृतिले नेपाललाई सबै कुरा दिएको छ ।

दैनिक कामकाजका सिलसिलामा धेरै मानिससँग भेटवार्ता गर्नुभयो । नेपालीहरू कस्तो पाउनुभयो त ?

बंगलादेशीलाई नेपालमा पोस्टिङ हुन पाउनु निकै आनन्ददायी क्षण हो । नेपालीहरू मिलनसार, मिजासिलो पाएँ । बंगलादेशीहरूलाई पनि निकै राम्रो व्यवहार गर्ने । अरू देशमा यी सबै कुराहरू पाउन सकिन्न । बंगलादेशीको आँखाबाट हेर्दा मैले कहिल्यै पनि नेपालमा एक विदेशी हुँ भन्ने अनुभव गरेको छैन । यो नै नेपाली जनताको सम्पत्ति हो । र, मैले बुझेसम्म उनीहरूले आफ्नो धर्म, संस्कृति, पहिचान र परम्परामा धेरै महत्त्व दिन्छन् । मैले थाहा पाएसम्म नेपालीहरू सांस्कृति रूपमा पनि उदार छन् । अरूको संस्कृतिलाई पनि सम्मान गर्छन् । जुन कुरा मैले पनि सिक्न पाएको छु । नेपालीहरू आफ्नो पहिचानका बारेमा गर्व गर्छन् । उदाहरणका लागि मैले दक्षिण एसियामा स्थानीय पात्रो पछ्याउने अन्य कुनै पनि देश देखेको छैन । तर नेपालमा यहाँका हरेक नागरिकलाई स्थानीय पात्रोअनुसारको मिति थाहा छ । त्यो मेरा लागि अचम्मको कुरा हो । अर्को मलाई धेरै मन परेको कुरा, नेपालीहरू अरुप्रति सहयोगी र सहानुभूति राख्छन् । साथै, नेपालका मान्छेहरूले जनावरप्रति देखाएको प्रेमबाट पनि म प्रभावित छु । उदाहरणका लागि मेरो कुकुरले यहाँ सबैबाट धेरै माया पाएको छ ।

नेपालको हावापानी नि ?

नेपालको मौसमलाई लिएर कुनै पनि गुनासो गर्ने ठाउँ छैन । किनकि नेपालको मौसम उत्कृष्ट छ । डिसेम्बर र जनवरीको दुई महिनालाई छाड्ने हो भने, २४ घण्टै खुला ‘एअर कन्डिसन’ मा बसेजस्तो । बंगलादेशबाट आएको भएर पनि होला, हामीलाई यी दुई महिनामा भने अलि बढी जाडो महसुस हुन्छ । त्यसबाहेक नेपालको मौसम गज्जबको छ ।

तपाईंलाई मन पर्ने नेपाली खाना ?

सबैजसो नेपाली खानाहरू मन पर्छ । काठमाडौंबाट बाहिर घुम्न निस्कँदा स्थानीय परिकारहरूको स्वाद लिनकै लागि लामो यात्रा गर्ने गरेको छु । त्रिशूली नदी किनारको बाटो हुँदै यात्रा गर्दा बीच–बीचमा रोकिएर कहीँ तारेको मान्छा खान्छु भने कहीँ थकाली खाना । त्यसपछि अर्को ठाउँ पुगेर चियाको स्वाद लिन्छु । त्यसरी नै मेरो यात्रा चल्छ । र, नेपालमा धेरैजसो सडकबाटै यात्रा गर्ने गरेको छु । नेपाली परिकारहरूमध्ये सबैभन्दा मन पर्नेचाहिँ थकाली खाना हो । त्यसमा पनि साग र दालचाहिँ निकै मन पर्छ ।

नेपाल घुम्ने क्रममा यहाँको पहिरन र भेषभूषा कस्तो पाउनुभयो ?

नेपालमा संस्कृतिक विविधता छ । नेपालमा सयौं चाडहरू मनाइन्छ । सुरुमा त निकै अचम्म लागेको थियो । विभिन्न समुदायहरूले आ–आफ्नो चाडहरू मनाइरहेको देख्न पाउँदा निकै खुसी लाग्छ । अर्को मलाई अचम्मित पार्ने कुरा भनेको एक समुदायले अर्को समुदायको संस्कृति, चाड र पहिरनलाई सम्मान गर्छ । नेपालमा मलाई मनपरेको अर्को पक्ष भनेको एउटै मन्दिरमा फरक समुदाय र धर्मका मान्छे जान्छन् । उदाहरणका लागि मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीहरू गएको देखेको छु । अरूलाई सम्मान गर्ने परम्परा असाध्यै मनपर्छ । यहाँ खादा लगाएर स्वागत गरिन्छ ।

तपाईंले पनि नेपालका चाडपर्व मनाउनुहुन्छ ? सबैभन्दा बढी मन पर्ने नेपाली चाड कुन हो ?

नेपालमा तिहार र दसैं मनाइन्छ । बंगलादेशमा दुर्गा पूजा हुन्छ । बंगलादेश र यहाँ पूजा गर्ने तरिका फरक हुन्छ । तर चाड उस्तै हुन्छन् । मलाई नेपालमा सबैभन्दा बढी मन परेको चाड भनेको इन्द्रजात्रा हो । जात्राको दौरानमा औपचारिक रूपमै भाग लिँदै आएको छु । निकै रमाइलो लाग्छ । बंगलादेशको जनघनत्व निकै बढी छ । कसैलाई भीडभाड मन नपर्न सक्छ, तर बंगलादेशबाट आएको हुनाले मलाई चाहिँ धेरै मान्छे जम्मा भएको र भीड निकै मन पर्छ । त्यही भएर पनि इन्द्रजात्रा बढी मन पर्छ ।

तपाईं नेपाली भाषा बोल्नुहुन्छ ?

बोल्न त सक्दिनँ तर बुझ्छु । हाम्रो बंगला र नेपाली भाषाको उद्गम संस्कृत भएकाले पनि होला । तीन वर्षभन्दा बढीको बसाइमा नेपाली भाषा बुझ्नेचाहिँ भएको छु । तर बोल्नचाहिँ अप्ठ्यारो लाग्छ । र, यसमा म के थप्न चाहन्छु भने हामी बंगलादेशीहरू भाषालाई लिएर धेरै संवेदनशील छौं । एउटा अन्तर्राष्ट्रिय मातृभाषा दिन पनि छ, त्यो विषयलाई बंगलादेशले अघि बढाएको हो । अहिले विश्वमा साना भाषाहरू हराउन थालेका छन् । त्यसको संरक्षण गर्नुपर्छ । अहिले नेपालमा पनि अन्तर्राष्ट्रिय भाषा दिवस मनाइन्छ । नेपालले पनि धेरै भाषाहरूलाई महत्त्व दिएको देखिन्छ । यो नै विविधतालाई व्यवस्थापन गर्ने तरिका पनि हो, यसबाट हामीले पनि शिक्षा लिन सक्छौं ।

नेपाली गीत–संगीत कत्तिको सुन्नुहुन्छ ? तपाईंलाई मनपर्ने

कुनै गीत ?

म बाँसबारीमा बस्छु । मेरो घरसँगै किन्डरगार्टेन स्कुल छ । विद्यार्थीहरूले दिनको सुरुआत नेपालको राष्ट्रिय गानबाट गर्छन् । विशेषगरी उनीहरूको आइतबार संगीत मनाउने दिन रहेछ । त्यो दिन हाम्रो कार्यालय बिदा हुन्छ । म सधैं नेपाली गीतहरू सुन्दै आनन्दित हुन्छु ।

तपाईंलाई मन पर्ने साहित्यिक कृति ?

मलाई नेपालको साहित्यबारेमा धेरै थाहा छैन । मसँग अहिले ‘कर्णाली ब्लुज’ किताब छ, जुन मैले अझै पढ्न बाँकी छ । तर मेरो चासो भनेको इतिहास हो । मैले नेपालको इतिहास र राजनीतिबारेमा पढेको छु । नेपालको शाह वंश, राणा शासन, प्रजातन्त्रलगायत विषयमा थाहा छ । साहित्यका बारेमा अझै पढ्न बाँकी छ । पत्रपत्रिकाहरू भने हेर्ने गरेको छु । दक्षिण एसियाका अन्य मुलुकहरूमा बसेको छु । अन्य मुलुकको तुलनामा नेपालको पत्रकारिताको गुणस्तर राम्रो छ ।

नेपाली चलचित्र हेर्नुभएको छ कि छैन ?

अहिलेसम्म चलचित्र हेरेको छैन । सायद फिल्म हेर्ने बानी नभएर पनि होला ।

नेपाल कत्तिको घुम्नुभएको छ ? मन पर्ने गन्तव्यहरू ?

नेपालका धेरै स्थानहरू घुमेको छु– पूर्वदेखि पश्चिमसम्म । सबै प्रदेश पुगेको छु । तीन महिनाअघि मात्र महेन्द्रनगरबाट काठमाडौंसम्म गाडीमा यात्रा गरें । एक दिन बुटवल र चितवनमा बसेर घुम्दै आएँ । मैले यहाँको संस्कृति र परिवेश बुझ्नका लागि घुम्ने गर्छु । पोखरा, लुम्बिनी, चितवनबाहेक मलाई निकै मन परेको ठाउँ इलामको चिया बगान क्षेत्र हो । चिया बगान र त्यहाँको दृश्यले मनै लोभ्यायो । त्यहाँ झरना, चियाको बगैंचा र हिमालय देखिन्छ । त्यहाँ त धेरै पटक पुगिसकेँ । एक पटक त एक जना साथीले लिम्बूको विवाह समारोहमा लगे । वैवाहिक कार्यक्रम निकै रमाइलो लाग्यो ।

कला र संस्कृतिमा नेपाल धनी मानिन्छ । यहाँको कला–संस्कृतिप्रति तपाईंको धारणा ?

मैले नेपालबारेमा सधैं सम्झना आइरहने विषय भनेको यहाँको कला, संस्कृति र त्यसको संरक्षणमा सक्रिय साथीहरूसँगको मित्रता हो । नेपालमा कला, संस्कृतिलाई लिएर ठूलो सम्मान छ । नेपाल विस्तारै दक्षिण एसियाकै कला क्षेत्रको राजधानी बन्ने छ भन्ने मेरो विश्वास छ । किनकि नेपालमा हरेक दिन कुनै न कुनै कलाको प्रदर्शनी भइरहेको हुन्छ । बंगलादेशी कला ‘ल्यान्डस्केप’ शैलीको हुन्छ । नेपाली कलामा मूर्ति, थान्का, धार्मिक मूर्तिलगायतका विषय झल्कन्छन् । नेपालमा हुने कला प्रदर्शनीबाट धेरै सिकेको छु । बिदाको दिन काठमाडौं दरबार क्षेत्रबाट हिँडेर ठमेल निस्कन्छु । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार