वैशाख १५, २०८१ शनिबार April 27, 2024

बिकसित राजनीति, युवाहरुको भावना र भूराजनीति अनुसार नेताहरु परिमर्जित हुनुपर्छ : माओवादी केन्द्रीय सदस्य, कृष्णप्रसाद अधिकारी (अन्तर्वार्ता)

‘एउटै गठबन्धन चलिरहनुपर्छ भन्ने पनि छैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माओवादी केन्द्रको चौथो पूर्ण बैठकबाट केही प्रस्तावहरु परित गर्नुभयो । ती प्रस्तावहरुले पार्टीको आन्तरिक जीवनमा के कस्तो परिवर्तन भएको छ ?

माओवादी केन्द्रको आठौं महाधिवेशन पछाडिको चौथो पूर्ण बैठक भर्खरै सम्पन्न भएको छ । बैठकपछि अहिले हामीले विधान सम्मेलन पनि गरेका छौँ । विधान सम्मेलनपछि पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्रिय समिति चयन गर्ने निर्णय गरेको छ । त्यसरि निर्वाचित भएर आएको समितिले पार्टी पदाधिकारी चयन गर्नेछ । अर्को, संविधानमा पनि हामीले समाजवादउन्मुख संविधान भनेर लेखेका छौँ । अहिले हामी नेपालमा वैज्ञानिक समाजवादको अभ्यास गर्नका निम्ति पनि अहिले लागिपरेका छौँ । यी यावत विषयमा छलफल गरेका थियौं । निर्णयहरुले राम्रै प्रभाव पारिरहेको अनुभुति भएको छ ।

पार्टीले प्रदेश इन्चार्जहरु तोक्ने निर्णय गरेको थियो तर अझै तोक्न सकेको छैन, नेताहरुका मत बाझिएर ढिलाई भएको हो भन्ने कुरा पनि बाहिर आएका छन् । के शीर्ष नेताहरुमा मतभिन्नता देखिएकै कारण प्रदेश इन्चार्ज तोक्न नसकिएको हो?

त्यस्तो होइन, हाम्रो पार्टीको विधान सम्मेलन सकिसकेपछि कार्यविभाजनको कुरा आएको हो । यो कार्यविभाजनको जिम्मा केन्द्रीय कमिटिले स्थायी समितिलाई दिएको छ । स्थायी कमिटिको बैठक भोलि (फागुन १५ गते) बस्दैछ । अहिलेको जुन पेचिलो परिस्थिति छ । प्रधानमन्त्रीको अलि व्यस्तता छ । त्यसकारण स्थायी कमिटिको बैठक बस्न सकिरहेको छैन । अब आशा गरौं भोलि बस्ने बैठकले कार्यविभाजन गर्नेछ । पक्कैपनि कार्यविभाजनका क्रममा रस्साकस्सी भै नै हाल्छ । यो पार्टी जीवनमा हुन्छ । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । रस्साकस्सी भएनभने त एकलौटी भैहाल्यो नि?

माओवादी केन्द्रले एक महिने अभियानका क्रममा उत्कृष्ट काम गर्ने नेतालाई सम्मान र काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । यो प्रक्रिया कहाँ पुग्यो? नाम किन सार्वजनिक भएन् ?

यो चाहिँ पार्टी सुदृढिकरणका लागि पार्टीले थालेको अभियानका क्रममा हो । हामीले माओवादी विशेष रुपान्तरण अभियान भनेर भदौ १५ देखि पुस १५ सम्म अभियान चलाएका थियौं । अभियानका क्रममा राम्रो काम गर्ने साथीहरुलाई पुरस्कृत गर्ने, नराम्रो अर्थात् कार्यक्षेत्रमा नखट्ने साथीहरुलाई दण्डित गर्ने निर्णय गरेका थियौं । विश्वस्त हुनुहोस् यो कार्यन्वयनमा जान्छ ।

सबै राजनीतिक दलभित्र गुट उपगुटहरु छन् नै । जनयुद्ध र त्यसपछि जोडिन आएका नेताहरुबीच मत भिन्नता तपाईंको पार्टी भित्र पनि देखियो नि?

आइडोलोजी र अर्गनाइजेसनमा मत भिन्नता छैन । अलिअलि मत भिन्नता देखिएको कार्यशैलीमा हो । यो कार्यशैली रुपान्तरण गर्न सकिन्छ । रुपान्तरण हुनुपर्छ । अध्यक्ष काम्रेडले सबैलाई मिलाएर लगिरहनुभएको छ । त्यसैले अहिले आएर कार्यशैलीमा त्यस्तो मतभेद छैन । रुपान्तरण भएर गएको अवस्था छ ।

रुपान्तरण अभियानमा खटिएका तथा पार्टीलाई उचाईमा पुर्याउन सहयोग गरेका नेताहरु त असन्तुष्ट छन् नि, यो विषयमा केही बहस भैरहेको छ ?

यसलाई स्वभाविक रुपमा लिनुपर्छ । जसले जिम्मवारीपूर्वक काम गर्नुभएको छ । अर्को जिम्मेवारी माग्नुपर्छ । पार्टीसँगै आफू पनि अगाडि बढ्नुपर्छ । हामीलाई विश्वास छ कि अध्यक्षले राम्रो र नराम्रोको सही मूल्यांकन गरेर दण्ड र पुरस्कारको राम्ररी कार्यान्वयन गर्नुहुनेछ । हामी ढुक्क छौं ।

चार महिने रुपान्तरण अभियान गर्नुभयो । यसको प्रभाव कस्तो रह्यो? ग्राउण्डमा पुग्दा आम जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

हामीले चार महिने पार्टी रुपान्तरण अभियान पश्चात वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा गम्भीर समीक्षा गर्यौं । अभियान मूलतः सफल रहयो भन्नेमा तल्लो तहदेखि माथिल्लो तहसम्ममा एकरुपता छ । तर कुरा कहाँ रह्यो भन्दा चार महिने रुपान्तरण कार्यक्रममा जानुपूर्व हामी आफैं रुपान्तरण हुनुपर्ने थियो । पार्टीका शीर्ष नेता तथा सदस्यहरु रुपान्तरण गर्न नै हामी जनतासामु गएका हौं । हामी फिल्डमा निस्कनुको दुईवटा कारण थिए । एउटा पार्टीमा के समस्या छ ? अर्को जनताका समस्या के हुन् ? यो दुई कुरा थाहा पाउनकै लागि जनतामा गएका हौं । पार्टीको अन्तरविरोध के छ ? जनताले नयाँ के खोजिरहेका छन् । वुद्धिजिवीहरुको भनाइ के छ ? अन्य पार्टीले के भन्छन् । यो बुझेर अध्ययन गरेर निष्कर्षमा पुग्नुथियो । सक्ने जति हामीले गर्यौं, नसकेको उपल्लो कमिटिमा पठायौं । कमिटिले केही काम गरेको छ केही गर्दै जाला । पार्टीलाई सृद्धढ बनाउनका लागि पनि यो कार्यविभाजन हो जस्तो लाग्छ मलाई ।

यी नितान्त तपाईंको पार्टीका आन्तरिक कुराहरु भए । अब अलि फरक प्रसंगमा जाउँ, सरकार संचालनको अवस्था, कार्यशैली र कार्यसम्पादनलाई कसरी हेर्नुभएको छ ?

यस्तो छ, सरकारले गरेका कार्यसम्पादनका कुरामा हामी बिस्वस्त नै छौं। जस्तो, सराकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरालाई मुलमन्त्रका रुपमा हाम्रो पार्टी प्रधानमन्त्रीले लिनुभएको छ । हामीले पनि यसलाई व्यवस्थित ढङ्गले लैजानुपर्नेमा जोड दिएका थियौँ, जुन सुशासनकोे कुरा छ, समृद्धिको कुरा छ, अव समृद्धिसँग जोडिएर कुरा गर्दा तपाईंहरुले देख्नु भएको छ, प्रि बजेट आइसकेको छ, पहिला जेठमा आउने थियो हामीले फागुनमा तानेका छौँ। पहिलाको भन्दा थप व्यवस्थित ढङ्गले बजेट ल्याउँदैछौं । पहिला योजना आयोगले सिलिङ तोकिदिन्थ्यो अहिले मन्त्रालयले नै सिलिङ तोक्ने र त्यो अनुसार बजेट ल्याउने हाम्रो तयारी छ । त्यस्तै भ्रष्टाचारसँग जोडिएको कुरा ललिता निवास जग्गा प्रकरण, गिरिबन्धु टी स्टेड, सुन काण्ड, नक्कली भुटानी शरणार्थी हेर्न सक्नुहुन्छ । कार्य सम्पादनका हिसाबले सन्तोषजनक रुपमा लिएका छौँ, केहि कमजोरी भएका छन् । जुन् सच्याएर जानुपर्छ भन्ने हाम्रो बुझाई हो ।

भ्रष्टाचारको कुरा गरिहाल्नुभयो, तर अदालतको फैसला र सरकारको कार्यशैली हेर्दा विभिन्न घटनामा माथिल्लो तहका व्यक्तिहरु पनि मुछिएका छन् तर कर्मचारीहरुलाई मात्रै कारबाहि गरिएको देखियो । यो कस्तो विडम्बना हो? ठूलालाई काबाही गर्न नसकिएकै हो ?

कारबाहीमा कर्मचारीहरु र प्रहरी मात्रै पर्नुभएको छैन, राजनीतिक दलका नेताहरु पनि छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पनि केही समय जेलमै बस्नुभयो । एमाले नेता टोपबहादुर रायमाझी अहिले जेलमै हुनुहुन्छ । उहाँहरु पनि त उच्च स्तरकै नेताहरु हुन् । राजनीति बृत्तमै आइपुगेको छ कतिपय कुरामा कमजोरी भएका छन् यो हाम्रो बाध्यता हो । तर यसमा हामी चुकेका छौँ । यो जनताको माग बिपरित भएको छ । ढोकामा पुगेर पनि हामी फर्किनुपरेको छ । हामी फर्किनुहुन्न थियो, हामी हाम्रो कमजोरी सच्याउँछौं । कसैलाई छोड्न हुन्न ।

पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता बाक्लिदै गयो नि ? अहिले भइरहेको बाक्लो सम्बादले कतै गठबन्धन भित्रको समीकरण फेरबदल हुने खेल सुरु भएको त होइन ?

राजनीतिमा स्थायी शत्रु भन्ने हुँदैन तर भेटवार्ता भएको कुरालाई यही हो भन्ने कुरा रहेन । प्रधानमन्त्रीले अन्य दलका नेताहरुसँग भेटवार्ता गर्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । एउटा यो नयाँ संस्कारको सुरुवात पनि हो । यही गठबन्धन सधै रहिरहन्छ भन्ने पनि छैन तर अहिलेको भेटवार्ता गठबन्धन नै फेर्ने उदेश्यले भएको भने होइन ।

उपनिर्वाचन पूर्व नै गठबन्धन फेरबदल हुने सम्भावना देख्नुहुन्छ ?

अहिले समीकरण बदलिने कुरा मैंले कतैबाट देखेको छैन । तर सँधै यहिँ गठबन्धन रहिरहन्न भन्ने कुरा चाँहि हामीले स्वीकार्नुपर्छ । हाम्रो चाहना सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्छ भन्ने चाँहि हो । हामी कम्युनिष्टहरु किन अलग अलग बस्नुपर्यो ? बिश्व समुदायलाई बामपन्थी शक्तिहरु एक भएर नयाँ सन्देश दिनुपर्छ भन्ने हाम्रो चाहाना हो । सबै एक भएर सुशासन, सामाजिक न्याय र समृद्धिलाईलाई अगाडी बढाउनुपर्छ ।

माओवादीले अध्यक्ष कहिले फेर्ने ? सधैँ अध्यक्षमा प्रचण्डलाई कहिँलेसम्म स्वीकार्ने ? माओवादी भित्र लोकतान्त्रिक प्रक्रिया र सिद्धान्त बोलिमा मात्रै सीमित भएको हो ? कार्यकर्ताको चाहना एकातिर नेतृत्व अर्कोतिर भएको हो कि ?

यो प्रश्न उठिरहेको छ । प्रचण्ड निरन्तर २०४५ साल देखि अध्यक्ष हुनुहुन्छ, यसका दुई कारणहरु छन् । एउटा पार्टी भित्र बैकल्पिक नेतृत्व गर्ने तयारी नै भएन । अर्को परिस्थिति पनि छ । २०४५ देखि २०५२ सालसम्म तयारी, त्यसपछि २०५२ देखि जनयुद्ध, त्यसपछि शान्ति प्रक्रिया जुन अहिलेसम्म पनि टुंगिएको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोगका बिषयमा रोकिएको छ । त्यसकारण एउटा कोर्स पूरा गरुञ्जेल त उहाँ अध्यक्ष पदमा बस्ने कुरा स्वभाविक नै हो । तर अब यसपाली हाम्रो बिधान सम्मेलन छ यसले लोकतान्त्रिक बिधि अर्थात् उच्च जनबादको अभ्यासको महसुश गराएको छ । यसले केन्द्रिय समिति प्रत्यक्ष महाधिवेशनमा उपस्थित प्रतिनिधिबाट छान्ने छ । हामीले ढोका खोलिसकेका छौं ।

यसको सम्भावना कति ? कार्यान्वयन हुन्छ त ? नेतृत्व परिवर्तन हुन्छ त अब ?

यसमा म बिश्वस्त छु, नेतृत्वले पनि यसलाई जिम्मेवार ढङ्गले स्वीकार गरेर कार्यान्वयनको पक्षमा सबै अगाडी बढ्नेछौँ । अध्यक्ष स्वम्ले पनि स्वीकार गर्नुहुन्छ ।

मन्त्रिपरिषद् भित्रकै सदस्यहरुले पनि सहयोग नगरेको प्रधानमन्त्री स्वयंमले गुनासो गरेको सुनिन्छ नि, यसमा तपाईंलाई के लाग्छ ?

उहाँको आसय छ, सहयोग हुनुपर्ने जति पक्कै पनि भएको छैन । तर हाम्रो एकल सरकार छैन । गठबन्धनको सरकार छ, उहाँहरुको माग र मर्म पनि बुझ्नुपर्ने छ । गर्नुपर्ने एकातिर छ त्यसकारण हामीले स्वीकानुपर्ने बाध्यता छ ।

तत्काल मन्त्रीहरु हेरफेर हुने सम्भावना छ ?

यो प्रधानमन्त्रीसँग जोडिएको बिषय हो, उहाँले नै निर्णय गर्ने कुरा हो । चर्चा भने चलेको छ, तर फेरबदल नै हुन्छन् भनेर भन्ने स्थिति छैन ।

तपाईलाई अबको माओवादी कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

अहिले मैले चाहेको माओवादी भनेको यसले कार्यदिशा स्पष्ट गर्नुपर्छ । त्यो भनेको बैज्ञानिक समाजवादी कार्यदिशा बनाउनुपर्छ । जनबादी केन्द्रियताका अधारमा चल्नुपर्छ । बिकसित राजनीति, युवाहरुको भावना र भूराजनीति अनुसार नेताहरु परिमर्जित हुनुपर्छ । अर्को भनेको सामाजिक न्याय सुशासन र समृद्धिको निम्ति चाहे ती पार्टी बाहिरको हुन् वा पार्टी भित्रैकै हुन् गलत गर्नेहरुलाई गलत नै भन्नुपर्छ । उनीहरुलाई छोड्नुहुन्न भन्ने मेरो मान्यता हो । यस्तै पार्टी हुनुपर्छ भन्ने मलाई लाग्छ ।
जनयुद्धमा सँगै लड्नेहरु जतिपनि थिए, अहिले उनीहरु फरक फरक पार्टी खोलेर पार्टी टुक्र्राटुक्रा भएको छ । अबको

माओवादी कसरी अगाडी बढ्छ सबै संगठित हुने सम्भावना छ की छैन ?

अबको माओवादी फरक ढङ्गले अगाडी बढ्नुपर्छ । पार्टी अध्यक्षले जनयुद्धको अवसरमा सबैलाई अपिल गरिसक्नु भएको छ । सबै पूर्वमाओबादीहरु हामी एक ठाउँमा उभिन्छौँ । जनयुद्धका घाइतेहरुलाई सरकारले सम्मान गर्नुपर्छ । राज्यका निमित्त लडेका उनिहरुलाई राज्यले उपदान दिनुपर्छ, अहिले बढ्दो बिदेश पलायन रोक्नका लागि उद्योग कलकारखाना खोल्नुपर्छ । अर्थव्यवस्थालाई कसरी सुदृद गर्ने कसरी स्वदेशमै रोजगारी सिर्जना गर्ने भन्ने कुरामा माओवादी केन्द्र सक्षम छ, हामी गम्भीर छौँ, यसको सुरुवात हामीबाटै गछौँ ।

तपाईंको पार्टी अध्यक्ष कार्यकर्ताको जनभावना बिपरित चलेको, तपाईंहरुको सुझावहरुलाई ग्रहण नगरेको भन्ने आरोप पनि उहाँ माथि लाग्छ, पार्टी कार्यकर्ताहरुमा बितृष्णा छाउँदै गएको हो ? तपाईंलाई यस्तो लाग्दैन ?

कार्यकर्ताहरुमा वितृष्णा छ । यसमा त उहाँ पनि सच्चिनुपर्छ यदि उहाँ सच्निु भएन भने त उहाँलाई पनि त असहज होला नि । हामीले लोक्तान्त्रिक बिधिबाट जाने भनेका छौँ । उच्च जनबादी प्रक्रिया अवलम्वन गर्ने भनेका छौँ, यसले सबैलाई रुपान्तरण गर्छ भन्ने हो । उहाँले सबैलाई मिलाएर लिनुपर्छ । लोकपथबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया