वैशाख २०, २०८१ बिहिबार May 2, 2024

प्राण–प्रतिष्ठामा नेपाली आचार्य – गौरीबहादुर कार्की

राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले विशेष पूजाका लागि नेपाली पुजारी आचार्य दुर्गाप्रसाद गौतमलाई निम्ता गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आउँदो माघ ८ मा भव्य समारोहबीच प्राण–प्रतिष्ठा हुँदैछ। करिब ५०० वर्षको मुसलमान र हिन्दु धार्मिक सम्प्रदायबीचको विवादमा अदालती फैसलाले मन्दिर बन्न सम्भव भएको हो।

सन् १५२८ मा मुसलमान सम्राट बाबरको आदेशमा उनका सेनानायक मिरबाकीबाट सैनिक शक्तिको बलमा अयोध्याको राममन्दिर भत्काइयो। भत्काएकै राम मन्दिरको भग्नावशेषमा मस्जिद बनाइयो। जसलाई बाबरी मस्जिद भनिन थाल्यो। अकबरको शासनकाल सन् १५५६–१६०५ मा विवादित ढाँचाअगाडि सानो राममन्दिर बनाइ मूर्ति स्थापना गरेर पूजा गर्न सुरु गरियो।

सन् १९४९ डिसेम्बर २२ र २३ को रातमा गुपचूपरूपमा मुख्य गुम्बजभित्र मूर्ति स्थापना गरेर पूजा सुरु गरियो। प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको पालामा मूर्ति हटाउन आदेश दिइयो। तर संवेदनशील विषय भनेर स्थानीय प्रशासनले हटाउन मानेन।

सन् १९५० मा अदालतले पूजा यथावत् गर्न दिनू भनी अन्तरकालीन आदेश जारी गर्न पुग्यो।

बाबरी मस्जिदमा मुसलमानहरू नमाज पाठ गर्न जाँदैनथे। हिन्दू भने नित्य पूजा गरिरहन्थे। नमाज पढ्न नभई हिन्दुहरूको भावना मार्न र मुसलमानको आधिपत्य स्थापना गराउन हिन्दुहरूको मन्दिर भत्काइ काशीमा ज्ञानवापी मस्जिद, मथुराको श्रीकृष्ण जन्मस्थानको इर्दगाह मस्जिद, मध्यप्रदेशमा धारको भोजशाला मस्जिद, दिल्लीको कुतुबमिनार नजिकको कुब्बतुल इस्लाम मस्जिद जस्तै अयोध्यामा राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको थियो।

बाबरी मस्जिदको एकतले बनोटमा  

६ डिसेम्बर १९९२ मा हिन्दु स्वयम्सेवकहरूले नभत्काउन्जेल ४६४ वर्षसम्म कुनै फेरबदल र थपथाप गरिएको थिएन। सो मस्जिदभित्र बाबरले १५२८ मा बनाएको भनी शायरीमा लेखेको शीलापत्र फेला परेको छ।

राम मन्दिरको विवाद विभिन्न तहका अदालतमा ७० वर्षसम्म चलेको थियो। विरोध आन्दोलन चल्दा हजारौँले बलिदान दिएका थिए। सरकारले मन्दिरको ढोका बन्द गरी पूजामा रोक लगाएपछि राम मन्दिरको ढाँचामा बाबरी मस्जिद बल प्रयोग गरेर खडा गरेको तथ्यलाई इलाहावाद हाइकोर्टको ३० सेप्टेम्बर २०१० मा ८१८९ पृष्ठको फैसलाले राम मन्दिर पुष्टि गरेको थियो।

तीन न्यायाधीशको विशेष पीठमा न्यायाधीश सिगबतुल्ला खान, धर्मवीर शर्मा र सुधीर अग्रवाल थिए। न्यायाधीश खान मुसलमान थिए। खानको भनाइ थियो कि यो १५०० वर्गगजको सानो जमिन हो। जहाँ भगवान पनि आउन डराउँछन्। मानौँ, यो भित्र असंख्य बारुदी सुरुङले भरिएको छ। हामीले यो बारुदी सुरुङको धराप हटाउनुपरेको छ। इलाहावाद अदालतले फैसला गर्दै विवादित २.७७ एकड जमिन हिन्दु, मुस्लिम र निर्मोही अखडालाई बराबर बाँड्न आदेश दिएको थियो। त्यसमा असन्तुष्ट हुँदै हिन्दु र मुस्लिम समुदायको भारतीय सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो।

सर्वोच्चको फैसलामा हिन्दुहरूको सात पवित्रस्थलमध्ये रामसँग सम्बन्धित अयोध्या सहर पनि एक हो भनी यसरी उल्लेख गरिएको पाइन्छ:

अयोध्या मथुरा माया कासी काँची ह्यवन्तिका।

पुरी द्वारावती चैव सप्तैता मोक्षदायिकाः।

सर्वोच्च अदालतले २०७६ कात्तिक २३ मा अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउन दिने फैसला गरेको थियो। अदालतले मस्जिद निर्माणका लागि पाँच एकड क्षेत्रफलको वैकल्पिक जमिन दिन आदेश दिएको थियो। प्रधानन्यायाधीश गोगोइ नेतृत्वको पाँच सदस्यीय इजलासमा न्यायाधीशहरू एसएबोबडे, डिवाइ चन्द्रचुड, अशोक भूषण र एस अब्दुल नजिर थिए। मन्दिर निर्माणका लागि छुट्टै कोष व्यवस्था गर्न आदेश दिएको थियो।

फैसलामा भारतीय पुरातत्त्व सर्वेक्षण प्रतिवेदनलाई आधार मानिएको छ। अयोध्या विवादमा सुनुवाइका क्रममा मुस्लिम पक्षले मस्जिद खाली ठाउँमा बनाएको र यहाँ मन्दिर नभएको दाबी गर्दै आएको थियो। अदालतले उत्खननबाट भेटिएका प्रमाणलाई बेवास्ता गर्न नसकिने स्पष्ट पारेको छ। पुरातत्त्वले मस्जिद मुन्तिर भव्य भौतिक संरचना भेटिएको र यो १२औँ शताब्दीमा बनेको मन्दिर भएको पुष्टि गरेको थियो। त्यहाँ पाइएका कलाकृति पनि इस्लामिक ढाँचामा नभएको बताइएको थियो। यो फैसलाले ५०० वर्ष लामो मस्जिद मन्दिर विवादको अन्त भएको छ।

त्यही फैसलाले राम जन्मभूमिमा काम गर्न ट्रस्ट गठनको आदेश पनि दिएको थियो। आदेशपछि गठित ट्रस्टले राम मन्दिर निर्माण कार्य र सम्पूर्ण संरक्षणको जिम्मेवारी पाएको छ। ट्रस्टबाट राम मन्दिर निर्माण सुरु भयो। भव्य विशाल मन्दिर तयार भयो। मन्दिर र परिसरको लागत भारु १४०० देखि १८०० करोड लाग्ने अनुमान गरिएको पाइन्छ।

राम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजाको नेतृत्व नेपाली पुजारीले गर्ने भएका छन्। राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले विशेष पूजाका लागि नेपाली पुजारी आचार्य दुर्गाप्रसाद गौतमलाई निम्ता गरेको बताए।

को हुन गौतम ?

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्। आचार्य गौतमले प्रधानमन्त्री मोदीलाई वैदिक मन्त्रोच्चारणसहित प्राणप्रतिष्ठा र परिसरको उद्घाटन गराउने कार्यक्रम रहेको बताइन्छ।

आचार्य गौतमले श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजाका लागि आफूलाई निम्तो बताएका छन्। उनले विशेष निम्तो पाउनु गौरवको विषय भएको बताए। ‘भारतका प्रधानमन्त्रीलाई पूजाको विधिबाट शिलान्यास गराउनु मेरा लागि सौभाग्यको कुरा हो,’ उनले भनेका छन्। यसखालको निम्तो देशकै लागि गौरवको विषय भएको उनको भनाइ छ।

गौतम राम मन्दिरका मुख्य आचार्य हुन्। मन्दिरमा रामको मूर्ति प्राण–प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधान सम्पन्न गराउनु उनको मुख्य काम हुनेछ। ३५ वर्षीय गौतम सन् २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन्। मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन्। उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन्। तर मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आएका छन्।

प्रधानमन्त्री मोदीले २०२० अगस्ट ५ मा मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास गरेका थिए। त्यसको विधिविधान र पूजापाठमा गौतमको सक्रिय सहभागिता थियो। भूमि पूजापछि पनि मन्दिर निर्माणका क्रममा धेरै पूजापाठ हुँदै आएका छन्। मन्दिरमा ढोका राख्दा होस् वा नवशिलाको प्रयोगपूर्वको प्रायः सबैजसो पूजा गौतमले गराउँदै आएका छन्।

‘२०२० को १८ अप्रिलदेखि मन्दिरमा भइरहेका हरेक यज्ञ, हवन र अनुष्ठानहरूको म साक्षी छु’, गौतमले भने, ‘मेरा लागि धेरै गर्वको विषय हो, नेपालबाट आएर यहाँ प्रभु रामको सेवा गर्ने मौका पाएको छु।’ मन्दिरमा मूर्ति प्राण–प्रतिष्ठा र त्यससँग जोडिएका पूजा, हवन र यज्ञको तयारीमा आफू प्रत्यक्षरूपले जोडिन पाउँदा खुसी मिलेको उनले बताए।

गौतम सन् २००६ देखि अयोध्यामा छन्। उनले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन्। उनले हाल त्यहीँ विद्यावारिधि पनि गरिरहेका छन्। अयोध्यास्थित श्रीराम वेद विद्यालयमा विज्ञापन निस्केपछि उनी त्यसमा प्रतिस्पर्धा गरेर अयोध्याको यात्रा थालेका थिए।

वेद विद्यालयमा आचार्य रहेका उनलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले मन्दिरको जिम्मेवारीमा पनि जोडेको हो। ट्रस्टले मन्दिरमा संस्कृत र वेदका ज्ञातालाई राख्नुपर्ने आवश्यकता महसुस गरेर त्यही विद्यालयमा अध्यापनसमेत गराइरहेका झापाका गौतमलाई मन्दिरको मुख्य आचार्यको जिम्मेवारीमा ल्याएको हो।

‘ट्रस्टले मलाई विश्वास गरेर जिम्मेवारी दिएदेखि हरेक दिन म मन्दिर पुगेको छु। आफ्नो ज्ञानले भ्याएसम्म आवश्यक सबै अनुष्ठान गराउँदै आएको छु, अहिले पनि विश्वभरका सम्पूर्ण हिन्दुले प्रतीक्षा गरिरहेको राम मन्दिरमा मूर्ति प्राणप्रतिष्ठाको तयारीमा लागेको छु,’ गौतम भन्छन्।

अहिले राममन्दिरमा भइरहेको रामचरित्र मानस र चारवटै वेदको मन्त्रोचारण तथा होमादी पनि उनकै नेतृत्वमा भइरहेको छ। मूर्ति निर्माणका लागि गत वर्ष कालीगण्डकीबाट ल्याइएको शिलाको पूजा पनि उनैले गरेका थिए। मूर्ति निर्माणमा नेपालबाट ल्याइएको शिलाको भने प्रयोग भएन। मूर्ति प्राण–प्रतिष्ठाको तिथि र समयको तय भने कासीका ख्यातिप्राप्त विद्वान् गणेश्वर शास्त्रीले गरेका हुन्। प्राण–प्रतिष्ठाको पूजाको नेतृत्व काशीकै लक्ष्मीकान्त दीक्षितको नेतृत्वमा हुँदैछ।

राम मन्दिरको प्राण–प्रतिष्ठालगायत पूजा सम्पन्न गराउन मुख्य आचार्यको गहन अभिभारा नेपाली गौतमले पाउनु गौरवको विषय हो। तत्कालीन नेपाल मण्डलका राजा जयस्थिति मल्लको पालामा दक्षिण भारतबाट भगवान पशुपतिनाथको पुजारीमा ल्याइएका भट्टहरूका सम्बन्धमा नेपालमा भारतीय भनेर विवाद ल्याइयो।

नेपालमा पनि यस्तै कार्यक्रम हुन लागेकामा कुनै भारतीय विद्वान्लाई यस्तै जिम्मा दिइएको भए कति विरोध हुन्थ्यो होला? तर ‘विद्वान् सर्वत्र पूज्यते’ भनेजस्तै नेपाली आचार्यको नियुक्तिले नेपालीको गौरव बढाएको छ। अर्को कुरा, रामको ससुराली नेपालको जनकपुरस्थित जानकी मन्दिरबाट पनि ११०० ढक्की उपहार पठाइएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया