फागुण १४, २०८० सोमबार February 26, 2024

ओझेलमा परेका सहिदलाई सम्झौँ – बुद्धिनारायण श्रेष्ठ

सहिद दिवस मनाउँदै गर्दा राष्ट्रका लागि आत्मबलिदान दिने ओझेलमा परेका सहिदलाई पनि हामीले सम्झनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देशमा प्रजातन्त्र ल्याउन सहिदहरूको ठूलो योगदान छ । नेपालमा अक्सर चार सहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीको नाम लिइन्छ । उनीहरूबाहेक ओझेलमा परेका अन्य सहिदको नाम स्कुल कलेजका विद्यार्थी तथा सामान्य जनलाई कमै मात्रामा थाहा छ । यस्ता ओझेलमा परेका लखन थापा मगर, चिनियाँलाल सिंह, भीमदत्त पन्त, दुर्गानन्द झा तथा अन्य थुप्रै सहिद छन् । जिउँदो सहिदका रूपमा चिनिने टंकप्रसाद आचार्य र रामहरि शर्मा हुन् ।

उहाँहरूसँगै राणाशासनविरोधी अभियोगमा परेका चिनियाँलाल सिंह, गोविन्दप्रसाद उपाध्याय, चूडाप्रसाद शर्मा, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, पुष्करनाथ उप्रेती, फत्तेबहादुर सिंह, बलबहादुर पाण्डे, पण्डित मुरलीधरलगायतलाई जन्मकैदसहित सर्वस्वहरणको सजाय भएको थियो । जनमानसमा जानकारी नपु¥याइएकाले यिनको चर्चा ओझेलमा परेको छ । यस्ता ओझेलमा परेका सहिदमध्ये चिनियाँलाल सिंहको नाम अग्रभागमै आउँछ । लखन थापा मगर पहिलो सहिदका रूपमा चिनिन्छन् । उनीहरूको योगदानलाई पनि स्मरण गर्नु र प्रकाश पार्नु आवश्यक हुन्छ ।

चार सहिद :  नेपालको प्रजातान्त्रिक इतिहासमा चार अमर सहिदले जहानियाँ राणाशासनको अत्याचारविरुद्ध आवाज उठाएका थिए । राणाशासनको विरोध गरेको अभियोगमा शुक्रराज शास्त्रीलाई १९९५ मंसिर १३ गते पक्राउ गरी १९९७ माघ १० गते टेकु पचलीस्थित खरीको बोटमा झुन्ड्याएर मारियो । धर्मभक्त माथेमालाई १९९७ कात्तिक २ मा पक्राउ गरी माघ १२ गते सिफलमा बकाइनाको रुखमा झुन्ड्याइयो ।

दशरथ चन्द र गंगालाल श्रेष्ठलाई पनि त्यसै दिन पक्राउ गरी नरशमशेर राणाले दुवैलाई शोभा भगवतीको दुई लठ्ठामा बाँधी गोली हानेर माघ १४ गते मृत्युदण्ड दिइयो । शुक्रराज, दशरथ चन्द र धर्मभक्तलाई राजद्रोहको अभियोगमा र गंगालाललाई टुँडीखेलको खरिबोट खुलामञ्चमा राणाशासन मुर्दावाद भनी भाषण गरेको अभियोगमा पक्राउ गरी मारिएको थियो । यी चारै सहिदको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताहका समयमा उनीहरूलाई जहाँ झुन्ड्याइएको र गोली हानिएको थियो, त्यसै स्थानमा काठमाडौं महानगरपालिकाले कार्यक्रम गर्ने गरेको छ ।

पहिलो सहिद लखन थापा मगर :  नेपालका प्रथम सहिद लखन थापा मगरको जन्म संवत् १८९१ मा हालको गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भन्ज्याङमा भएको थियो । आफ्नो देशको राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रतालाई जोगाउने र तिनको संरक्षण तथा संवद्र्धन गर्ने लखनको उत्कट इच्छा थियो ।

मातृभूमिप्रति बफादार भई राष्ट्रका लागि मरिमेट्ने अभिलाषा उनको हृदयमा थियो । सामान्य ज्ञानका जानकारदेखि इतिहासकारले सर्वमान्य रूपमा नेपालका प्रथम सहिद लखन थापा मगर हुन् भन्ने गरेका छन् । यिनले राणाशासनको पहिलोचोटि जनस्तरबाट विरोध गरेका थिए, त्यो पनि जंगबहादुरकै पालामा । १९३३ फागुन २ गते जंगबहादुरको आदेशमा त्रूmरतापूर्वक मनकामना मन्दिरअगाडिको रुखमा उनलाई झुन्ड्याइएको थियो । उनले नेपालको राजनीतिक इतिहासमा पहिलो जनविद्रोहीको स्थान ओगटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही १ माघको माघी पर्वका अवसरमा मगर समुदायले काठमाडौं टुँडीखेलमा आयोजना गरेको चाडपर्व समारोहलाई सम्बोधन गर्दैे भनेका छन्, ‘निरंकुशताविरुद्ध गरेको संघर्षका लागि सहिद लखन थापालाई राष्ट्रिय वीर घोषणा गर्ने पहल गर्न सरकार सकारात्मक छ । यसबाट निरंकुशता तथा अधिनायकवादविरुद्ध लड्ने र नेपालमा लोकतन्त्र ल्याउन जीवन बलिदान दिने सबै सहिदलाई मात्र नभई देशका क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धालाई पनि सम्मान पुग्नेछ ।’ सहिद लखन थापाको सम्झनामा लखन थापा स्मृति प्रतिष्ठानले वेलाबखत कार्यक्रम गर्ने गरेको छ ।

शिक्षा प्रचारक चिनियाँलाल सिंह : १९९७ कात्तिक २ गते चिनियाँलाल सिंहलाई पनि गंगालाल तथा दशरथ चन्दका साथमा पक्राउ गरिएको थियो । सिंहलाई सिंहदरबार क्याम्पमा यातना दिएर थुनियो । चिनियाँलाल सिंहलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय दिइयो । उनलाई भद्रगोल जेलमा थुनियो ।

सहिद चिनियाँलाल सिंहलाई जेलको अस्वस्थकर वातावरणका कारण रोग लाग्यो, टाउको असाध्यै दुख्ने, आँखा राताराता हुने, ज्वरो आउने समस्या भयो । डाक्टरले जाँच गर्दा उनलाई विषम ज्वरो (टाइफाइड) भएको शंका गरे । औषधिमूलो गर्न दिइएन । रोगले झन्झन् च्याप्यो । बाहिर रहेका परिवारका नाता तथा अन्य व्यक्तिहरूको पहलमा राणाहरूले २००१ असार २६ गते बल्लतल्ल जेलबाहिर लैजाने इजाजत दिए । तर, सिंह अन्तिम अवस्थामा पुगिसकेका रहेछन् । उपचार गर्ने कुरै रहेन । त्यसैले जेलबाट सीधै कालमोचन घाटतर्फ लगियो । घाटे वैद्यले बचाउन सकेनन् । ४–५ घन्टापछि ३८ वर्षको अल्पायुमै सिंहको निधन भयो । उनको जन्म १९६३ असार १७ गते बांगेमुढा खिउँल टोलमा भएको थियो।

सिंहले संवत् १९९३ को महाशिवरात्रिका दिन बांगेमुढाको आफ्नै घरमा महावीर इन्स्टिच्युट शैक्षिक विद्यालयका रूपमा विधिवत् स्थापना गरेका थिए । सरकारीस्तरको दरबार स्कुलपछि निजी क्षेत्रको देशको दोस्रो विद्यालयका रूपमा यो संस्था स्थापना गरिएको थियो । सुरुमा सहिद चिनियाँलाल सिंहले टोलका चिनेजानेका छरछिमेकका इष्टमित्र १० जना केटालाई घरमा जम्मा गरेर पढाउने गर्थे ।

यस संस्थाको उद्देश्य नेपालमा शिक्षाको ज्योति जगाउने, नेपाली जनतालाई जागरुक बनाउने, जनताको हकअधिकारबारे जनचेतना जगाउने तथा सामन्ती व्यवस्थामा जकडिएको समाजलाई उद्धार गर्ने र निरंकुशतालाई समाप्त पार्ने रहेको थियो । इन्स्टिच्युटका शिक्षकमध्ये सहिद गंगालाल, धर्मभक्त माथेमा, पूर्णबहादुर एम्ए, चन्द्रप्रसाद प्रधान, हरिभक्त श्रेष्ठ, बद्रीप्रसाद उपाध्याय, मधुसुदन देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, खड्गमान मल्ल, बुद्धिप्रसाद शर्मा आदि थिए ।

विद्यार्थीमध्ये पुष्पलाल श्रेष्ठ, माणिकलाल श्रेष्ठ, प्रयागराज जोशी, ईश्वरीमान श्रेष्ठ, प्रभुनरसिंह राणा, जानकीप्रसाद प्रधान, जीवनलाल सत्याल, भुवनलाल जोशी, चितरञ्जन नेपाली, ईश्वरलाल श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, गोपालप्रसाद उपाध्याय आदि थिए ।
सिंहका सन्तति डा. मवि सिंहको संरक्षकत्वमा ‘चिनियाँलाल सिंह उषा सिंह स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । प्रतिष्ठानका तर्फबाट वर्षमा पाँच कार्यक्रम गर्ने गरिएको छ । केही महिनाअघि नेपालका अमर सहिदहरू समेटी ६० लेखकद्वारा लिखित चार सय पृष्ठको ‘सहिद स्मृति ग्रन्थ’ नामक पुस्तिका प्रकाशित गरिएको छ ।

जिउँदो सहिद : टंकप्रसाद आचार्य र रामहरि शर्मा जिउँदो सहिदका रूपमा चिनिन्छन् । राणाशासनविरोधी अभियोगमा पक्राउ परेका चार सहिद हत्या गरिएको वेला उहाँहरूसँगै टंकप्रसाद आचार्य र रामहरि शर्मालाई ब्राह्मण भएकाले चारपाटा मुडेर जातच्युत गरी सर्वस्वहरणसहित मृत्युदण्डसमानको जन्मकैदको सजाय दिइएको थियो । नेपालमा प्रजातन्त्र आई राणाशासन फालिएपछि उनीहरू जेलबाट छुटेका थिए । यसरी मृत्युदण्डबाट जोगिएका हुनाले उनीहरूलाई ज्युँदो सहिद भनिएको थियो ।

आचार्यको जन्म १९६९ मंसिर १७ गते भएको र मृत्यु २०४९ वैशाख ११ मा भएको थियोे । उनी प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवं नेपालका पूर्वप्रधानमन्त्री हुन् । प्रत्येक माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह र माघ १६ लाई सहिद दिवस मनाउने क्रम उनकै प्रधानमन्त्रीकालमा सुरु भएको थियो । उनकी छोरी डा. मीना आचार्यको संरक्षकत्वमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान सञ्चालन गरिएको छ ।

प्रतिष्ठानका तर्फबाट वेलाबखत राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डतासम्बन्धी कार्यक्रम गर्ने गरिएको छ । रामहरि शर्मा १९७३ कात्तिकमा ललितपुरको टौखेल गाउँमा जन्मिएका थिए । ‘हाम्रो देशमा विद्यमान राणाहरूको मनपरीतन्त्र सितिमिती हट्ला जस्तो छैन । यसलाई हटाउन सकियो भने यस ठाउँमा प्रजातान्त्रिक परिपाटीको स्थापना गरेर कानुनद्वारा नै यी सबै तहका सामन्तहरूको अन्त्य गर्न सकिन्छ’ भन्ने उनको अवधारणा थियो । शर्माको मृत्यु २०७४ असोज २४ मा भएको थियो ।

किसान समर्थक भीमदत्त पन्त : भीमदत्त पन्तको जन्म १९८३ मंसिर १० गते डडेल्धुराको अमरगढी नगरपालिका–१० मा भएको थियो । डडेल्धुराको साबिक आलिताल र डोटीको छतिवन गापाको सिमाना गल्लेखमा खाना खाइरहेका वेला नेपाल र भारतका सेनाले घेरा हालेर गोली हानी २०१० साउन १७ गते उनी मारिएका थिए ।

नेपालमा गरिब, दलित, जनजाति तथा किसानलाई संगठित गरी राणाविरोधी आन्दोलनमा समेत भीमदत्तको ठूलो भूमिका थियो । उनको नारा नै थियो– ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ तथा ‘जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन गरौँ’ जस्ता नारा घन्काउँदै सशक्त रूपमा किसान आन्दोलन गर्ने विद्रोही भीमदत्तले किसानको हकहितमा आवाज उठाएका थिए ।

सहिद भीमदत्त पन्तबारे अन्यत्रको कुरा छोडौँ, उहाँको कर्मथलोका पनि धेरै मानिसलाई थाहा छैन । अहिले कञ्चनपुर महेन्द्रनगर भीमदत्त नगरपालिका–१८ को सालिकमा उनी सीमित छन् । सहिद दिवस मनाउँदै गर्दा राष्ट्रका लागि गहन योगदान दिने ओझेलमा परेका सहिदहरूलाई पनि हामीले सम्झनुपर्छ ।

अत्यमा, तत्कालीन एकतन्त्रीय क्रूर जहानियाँ राणाशासनविरुद्ध सहिदहरूले आफ्नो जिउज्यानको बलिदान नदिएको भए नेपाल अहिलेको अवस्थामा आइपुग्ने थिएन । हामीले बोल्ने, लेख्ने, मनमा लागेको कुरा सुनाउन पाउने थिएनौँ होला । त्यसैले हामीले उनीहरूको बलिदान र योगदानको कदर गर्दै आफूले उनीहरूबारे जानेबुझेका कुरा कत्ति पनि कन्जुस्याइँ नगरी नयाँ पिँढीसमक्ष जानकारी गराउँदै जानुपर्छ ।

राष्ट्रमा प्रजातन्त्र ल्याउन, शिक्षाको ज्योति बाल्न आफ्नो जिउज्यानको पर्वाह नगर्ने प्रकाशमा आएका तथा ओझेलमा परेका र गुमनाम रहेका समस्त अमर सहिदबारे पनि सोधीखोजी गर्दै अध्ययन अनुसन्धान गर्दै गराउँदै उनीहरूको योगदान उजागर गर्नुपर्छ । सरकारले ओझेलमा परेका सहिदहरूकोे पनि कदर गर्दै उनीहरूको योगदान प्रकाशमा ल्याउनुपर्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्द्रेणीका सञ्चाल कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा
२०८० फागुण १४, सोमबार
संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो
२०८० फागुण १४, सोमबार
इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव
२०८० फागुण १४, सोमबार
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने
२०८० फागुण १४, सोमबार
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको गृहमन्त्रीको दाबी
२०८० फागुण १४, सोमबार
राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
२०८० फागुण १४, सोमबार
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
२०८० फागुण १४, सोमबार