वैशाख १५, २०८१ शनिबार April 27, 2024

राष्ट्रसेवक कुटिने क्रमभंगता कहिले हुन्छ सरकार ! : श्यामप्रसाद मैनाली

मुखमा नीलडाम लिएर उपचार गराएर प्रजिअ उनको सरुवा भएको स्थानमा हाजिर हुन पुगेको घटनाबारे सरोकारवाला कोही बोलेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रारम्भ

मुलुक सधैं दण्डहीनताबाट आक्रान्त छ । सरकारी सेवामा लामो समयको अनुभव आर्जन गर्दा दण्डहीनताको अवस्था अत्यन्त नाजुक बन्दै गएको अनुभूति भएको छ । यो क्रम लोकतान्त्रिक कालदेखि गणतन्त्र कालसम्म आइपुग्दा अझै समस्याग्रस्त बन्दै गएको अवस्था छ । यस सन्दर्भमा पञ्चायती कालका केही स्मरण गर्नु उपयुक्त हुन्छ । द्वितीय श्रेणीमा पदोन्नति भएपश्चात मेरो पदस्थापन गृह मन्त्रालयमा भयो । त्यस समय पञ्चायती कालका खुँखार मण्डलेको पहिचान बनाएका व्यक्ति गृहमन्त्री थिए । हामी हुनेवाला र भइराखेका प्रमुख जिल्ला अधिकारीहरू सामुन्ने उनको धुवादार अभिव्यक्ति आइराखेको थियो । उनी भन्दै थिए यस मुलुकमा एक जना रापंस (राष्ट्रिय पञ्चायत सदस्य), एक जना दरबारको उच्चपदस्थ व्यक्तिको समर्थन र सद्भाव प्राप्त गर्नुहोस् । तपाईंलाई सात खत माफ हुन्छ । बलात्कार गर्नुहोस्, पुरस्कृत हुनुहुन्छ । ज्यान मार्नुहोस् विभूषित हुनुहुनेछ । गृहमन्त्रीको कुर्सीमा बसेर यस प्रकारको गलत र आपराधिक अभिव्यक्ति उनले दिँदा मानौं प्रजिअलाई निर्देशन दिइराखेको अनुभूति भइराखेको थियो । आफैंलाई कस्तो मन्त्रीको मातहतमा काम गर्न आइएछ ? भन्दै आत्मग्लानी भएको थियो । यस दृष्टान्तबाट पञ्चायती कालको अपराधको अवस्था स्पष्ट हुन्छ । यो क्रम आज त झन् बढ्दै गएको छ ।

प्रतिनिधि घटनाहरू

त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि प्रहरीले शारीरिक आक्रमण गर्दा अध्यागमन अधिकृतले पनि प्रहरीमाथि लात्ती प्रहार गरेछन् । अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ताण्डव नृत्यले अन्तर्राष्ट्रिय समुदायमा नेपालको नयाँ पहिचान कस्तो होला ? सोचनीय छ । यो अवस्था एकाएक विकास भएको होइन, धेरै लामो समयदेखि अपराधीहरूलाई दिइएको अभयदानको परिणाम हो । यस्ता घटनाका अपराधीहरूलाई जनतालाई छकाएर उन्मुक्ति दिन सरकार तल्लीन छ । केही घटनाक्रमले यही यथार्थतालाई पुष्टि गरेको छ । पञ्चायती कालमा एक कर्मचारीका दुई छोरीको लास पोखरामा फेला परेको थियो । नमिता र सुनिता नाम भएका यी दुई बालिकाहरूको बलात्कारपश्चात हत्या गरिएको आशंका त्यस समय भएको थियो । हालसम्म पनि अपराधीहरू भेटिएका छैनन् । जनस्तरमा अपराधी चिनिइसकेको दाबी गरिँदै छ । राजतन्त्रको दवदवा भएको समयमा मदिरा सेवन गरेर अन्धाधुन्द गाडी चलाउँदा एक गुरुङ थर भएका व्यक्तिलाई मृत्यु वरण गर्न बाध्य पारिएको थियो ।

त्यो गाडीको चालक पनि नेपालीहरूले पहिचान गरेका छन् । २०४६ सालपश्चात् पनि यो क्रम रोकिएन । जनताले केही आशा गरेका तत्कालीन नेता मदन भण्डारी चढेको गाडी त्रिशूली नदीमा खस्यो । उनी मृत अवस्थामा भेटिए । चालक सकुशल रहेको यस घटना घटेको धेरै वर्षपश्चात चालकलाई दिन दहाडै लखेटीलखेटी मारियो । एमालेका शीर्षस्थ नेतृत्वमा रहनेहरूबाट मदन भण्डारीको हत्यारा पहिचान भएको आफ्नो दल सत्तामा पुगेपछि कारबाही गरिने स्पष्ट उद्घोष पनि नभएको होइन । दल मात्र सत्तामा पुगेको होइन, उनै कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्ने नेता नै यस मुलुकको प्रधानमन्त्री बने । मदनकी धर्मपत्नी नै यस मुलुकको राष्ट्रपति भइन् । यस घटनाका दोषीहरूमाथि कारबाही गर्ने प्रयाससम्म पनि भएन । आफ्नै पतिको हत्यारा पहिचान गर्न समय खर्चिनेतर्फ पत्नी राष्ट्रपति हुँदासम्म पनि प्राथमिकतामा पर्नसकेन । निर्मला हत्या प्रकरण नेपालीहरूको मानसपटलमा ताजै छ । ठुलै पदाधिकारीको सन्तति यस अपराधमा संलग्न रहेको आशंका नेपाली जनताले गरिराखेका छन् । नयाँ राजनीतिक दलले पनि यसलाई जनतामा जाने एजेन्डा दिई सस्तो लोकप्रियता आर्जन गर्ने प्रयास भयो, तर अपराधीको पहिचान हुनसकेको छैन ।

नेपालका राजाको वंश नै विनाश गरियो । राजा सेनाको घेराभित्रै मारिए । तत्कालीन सेनापतिले दरबारको सुरक्षा गर्ने जिम्मेवारी सेनाको नभएको टिप्पणी निर्लज्ज तरिकाले गरे । आजसम्म यति ठूला अति विशिष्ट व्यक्तित्वको हत्याको रहस्य गर्भमै छ । कर्मकाण्डी प्रतिवेदन दिन लगाई यस घटनालाई थामथुम गरियो । स्व. राजा वीरेन्द्रका सन्ततिहरूको मात्र विनाश गरी केही सन्देश प्रवाह गर्न खोजिएको अनुभूति हुन्छ । यस प्रकारको बीभत्स हत्यामा गम्भीरतापूर्वक अनुसन्धान नै गरिएन । यसबाट धेरै प्रकारका आशंकाहरू जनतामा उजागर भएका छन् । घटनास्थल सुरक्षित राख्ने कामसम्म पनि भएन, यसको विपरीत प्रमाण लोप गराउने कार्यसमेत भएको सूचना प्राप्त हुन आएको छ ।

ट्रेड युनियनहरूलाई बेवास्ता गर्न नसक्ने गृहमन्त्रीमा प्रहरीलाई पनि ठीक दूरीमा राख्ने क्षमता र हैसियत देखिँदैन

अब चर्चा गरौं, कर्मचारीहरू असुरक्षित रहेको तर्फ । स्तम्भकार गृह मन्त्रालयमा पोस्टिङ भएपश्चात मेरो पदस्थापन कपिलवस्तु जिल्लामा भएको थियो । मैले अफिस सम्हाल्नु केही समयपूर्व त्यस जिल्लामा एक घटना घटेको रहेछ । जनसम्पर्क अधिकारी डीएसपीले कामु प्रजिअलाई अस्पताल भर्ना हुनुपर्ने परिस्थति बनाई शारीरिक आक्रमण गरेका रहेछन् । केही समय अस्पताल बसेर कामु प्रजिअले आफ्नो काम थालेछन् । सुरक्षासम्बन्धी कार्यमा आफैंलाई रामधुलाइ गर्ने जनसम्पर्क अधिकारीसँगै सहकार्य गर्नुपर्ने स्थिति रहेछ । गृह मन्त्रालयले यस’boutमा चासो नै लिएको पाइएन । सम्पूर्ण जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएर बसेको अधिकारी आफैं असुरक्षित बनेर बस्दा त्यस्ता प्रजिअबाट नागरिकले के आशा गर्ने होला ? नागरिकहरू नै असुरक्षित रहेको अवस्था त्यस समय सहजै त्यस जिल्लामा अनुभूति गर्न सकिने अवस्था थियो । प्रजिअलाई जिल्ला विकास समितिका सभापतिले शारीरिक आक्रमण गरेको घटना पनि छ ।

मुखमा नीलडाम लिएर प्रजिअ उपचार गराएर उनको सरुवा भएको स्थानमा हाजिर हुनपुगे । सभापतिमाथि राजनीतिक दलले पनि केही कारबाही गरेन । सरकार पनि मौन रह्यो । कुटाइ पाउने प्रजिअ नै दण्डित भए । उनलाई सरुवा गरेर मनोवल गिराउने कार्य भयो । किनकि, सभापतिकै दल सरकारमा थियो । एक राज्यमन्त्रीबाट पर्सा जिल्लाका प्रजिअ कुटिए । रामो अवस्थाको महँगो गाडीबाट उनको सवारी चलाउने व्यवस्था मिलाई प्रजिअ आफैं अघि–पछि लागेर नहिँडेको भन्दै उनलाई हातपात गरिएको थियो । सत्ताको भागबन्डा र संसद्मा रहेको गणितीय हिसाबका आधारमा ती मन्त्रीलाई स्पष्टीकरण सोधनी गर्ने कार्यसम्म पनि सरकारले गरेन । किनकि, सत्ता नै धरापमा पर्नसक्ने अवस्था देखियो । यसबाट तथाकथित जनप्रतिनिधिको आवरणमा रहनेहरूको मनोवल बढ्दै गयो । यस अवस्थामा सुधार ल्याउन सरकारले तदारुकता कहिल्यै पनि देखाएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको घटनाको अन्तर्य

हाम्रो मुलुक कसरी चलिरहेको छ ? बुझ्न विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रजिअका रूपमा काम गर्नुपर्ने हुन्छ । चाल्र्स शोभराजले हातीसमेत सहजै छिराउनसक्ने चुनौती दिएको विमानस्थल हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । कुनै समय गृहमन्त्रीकै संलग्नतामा प्रहरीसमेतको मिलिभगतमा तस्करी हुने नाकाका रूपमा विभिन्न सञ्चारमाध्यममा पढ्न पाइएको विमानस्थल पनि हो, यो । अल्प अवधिमा धनाढ्य बन्ने सपना पालेर राष्ट्रसेवक कर्मचारीहरू यस स्थानमा पुगेका हुन्छन् । अर्थ आर्जन गर्ने अस्वस्थ प्रतिस्पर्धामा लिप्त हुन प्रायः कुनै पनि सेवाका कर्मचारी पछि पर्दैनन् । कर्मचारीहरूबीच सौहाद्र्धताका साथ आआफ्नो कर्तव्य निर्वाह गर्न सकिने अवस्था सहजै निर्माण गर्न सकिन्छ । यो अवस्था यस नाकामा किन बन्न सकेन ? यसैबाट त्यस घटनाको कारण पहिचान गर्नुपर्ने हुन्छ । प्रहरीको काम सुरक्षा चेकजाँच गर्नु हो । कार्यालयका काम कारबाहीलाई व्यवधान खडा गर्नु होइन । निजामती कर्मचारीहरूले प्रहरीलाई मित्रशक्तिका रूपमा ग्रहण गर्दा कुनै समस्या पर्दैन । सामान्यतया सबैले आआफ्नो कर्तव्यको पालन गर्दा समस्या आउँदैन । जब एकले अर्काको काम कारबाहीमा हस्तक्षेप गर्ने, व्यवधान खडा गर्ने कार्य प्रारम्भ हुन्छ, समस्या त्यहीँबाट प्रारम्भ हुन्छ । अध्यागमनका कर्मचारीहरू र प्रहरीबीचको सम्बन्ध पनि यही हो । यसमा धेरै सन्देह गरिरहनुपर्ने अवस्था रहँदैन ।

हालको यस घटनामा आरोप प्रत्यारोपको शृंखला प्रारम्भ भएको छ । प्रहरीले कार्यरत अध्यागमनका कर्मचारीलाई पटकपटक बिनाकारण चेक गरी कामकाजमा अवरोध गर्दै अध्यागमनका कर्मचारीहरूको तेजोवध गर्नथालेको थियो । एक स्थानबाट अर्को स्थानमा अथवा एक कोठाबाट अर्को कोठामा प्रवेश गर्दासमेत चेक गरिराखेको थियो । एक प्रकारले आफ्नो अधिकारको दुरुपयोग प्रहरीले हदैसम्म गरेको थियो । चेकजाँजका नाममा प्रहरीले आवश्यकताभन्दा ज्यादा गरी अपराधीसरहको व्यवहार भइराखेको थियो । यो अध्यागमनका कर्मचारीहरूको आरोप हो । प्रहरीको भनाइ भिन्न छ । भिजिट भिसामा घोटाला गर्दै मानव तस्करीमा अध्यागमनका कर्मचारीहरू संलग्न भएका थिए । उनीहरूको क्रियाकलाप शंकास्पद थियो । यस अपराधलाई नियन्त्रण गर्नुपर्ने उनीहरूको कर्तव्य हो, त्यसैले चेकजाँच गरेको हो । जब चेक गर्न अध्यागमनका कर्मचारीहरूबाट आनाकानी हुनथाल्यो, समस्या त्यहीँबाट प्रारम्भ भएको हो । चेक गर्न लाग्दा उनीहरूले प्रहरीलाई अनुमति नदिई जबर्जस्ती गर्दा प्रहरीले चेक गर्न खोजेको हो, त्यसैमा दुवै पक्षबीच हात हालाहालसम्मको अवस्था आइपरेको हो । अध्यागमनका कर्मचारीहरूको समूह नै प्रहरीमाथि जाइलागेको हो । त्यसको प्रतिकारसम्म प्रहरीले गरेको हो । दुवै पक्षका दावी केही हदसम्म सत्य हुनसक्छन् । प्रहरीले अध्यागमनका कर्मचारीमाथि अनुसन्धान गरिराखेको अवस्था थियो । केही अधिकृतमाथि मुद्दा चलाउने तयारी भइराखेको र केहीलाई वारेन्टसमेत जारी भइराखेको स्थिति छ । कर्मचारीहरू फरार बनेको अवस्था पनि छ ।

मुखमा नीलडाम लिएर उपचार गराएर प्रजिअ उनको सरुवा भएको स्थानमा हाजिर हुन पुगेको घटनाबारे सरोकारवाला कोही बोलेनन्

सीसीटिभी फुटेज हेर्दा दुवै पक्ष अमर्यादित तवरले प्रस्तुत भएकामा सन्देह रहँदैन । सामान्य अवस्थामा यो हदसम्म कर्मचारीहरू बेअनुशासित हुनुपर्ने अवस्था रहँदैन । दुवै पक्षबीच स्वार्थको द्वन्द्वको परिणति हो । त्यस स्थानमा दैनिक भइराखेका आर्थिकलगायतका अपराध सतहमा आउनु भनेको स्वार्थ बाझिएको अवस्था हो । अपराध कर्मबाट प्राप्त हुने प्रतिफलमा दुवै पक्ष सन्तुष्ट हुन नसक्नु हो । त्यही विमानस्थलबाट क्विन्टल सुन निर्वाध रूपमा तस्करी भइराखेको छ । तस्करीको केन्द्रका रूपमा विमानस्थलले आफ्नो पहिचान बनाएको छ । किर्ते डकुमेन्ट बनाई थुप्रै अपराधीले यो विमानस्थल प्रयोग गरिराखेका छन् । यसको जानकारी कहिल्यै पनि सतहमा आउँदैन । ठूलाठूला तस्कर र माफियाहरूका लागि स्वर्ग बनेको यस विमानस्थलमा सर्वसाधारण नागरिकहरू प्रताडित बन्नुपरिराखेका उदाहरणहरू प्रशस्त छन् । पूर्वगृहमन्त्रीको विवाहमा त्यहाँको ड्युटी फ्री सप नै खाली हुनेगरी प्रहरी महानिर्देशककै आदेशमा मादकपदार्थ बाहिर गएको उदाहरण पनि त्यस समयको सञ्चारमाध्यमले उजागर गरेकै हो । समग्रमा यो विमानस्थलमा अपवादबाहेक अपराध कर्ममा संलग्न हुने उद्देश्यसहितका मानिसहरूको जमघट हुने हो । अपराधीहरूका बीचको द्वन्द्वको उत्कर्ष रूप उजागर हुन पुगेको हो ।

निस्कर्ष

अब यस घटनाको छानबिन चलिराखेको छ । निजामती कर्मचारी र प्रहरीहरूको संयुक्त टोलीले छानबिन गरिराखेका छन् । ट्रेड युनियनहरूले यसको निष्पक्ष छानबिन गरेर दोषी प्रहरीहरूमाथि कारबाही नगरे मुलुकभरका अध्यागमन कार्यालयहरू बन्द गराउने धम्की गृहमन्त्रीलाई दिइरहेका छन् । यता, गृहमन्त्री भने प्रहरी र निजमती दुवै पक्षका कर्मचारीलाई उनीहरू अनुसारको जवाफ दिइराखेका छन् । प्रहरीले अध्यागमनका कर्मचारीउपरको छानबिनलाई तीव्रता दिइराखेको छ । प्रमाणका आधारमा केही कर्मचारीमाथि मुद्दा चल्ने निश्चित छ । यसमा प्रहरी केही हदसम्म पूर्वाग्रही बन्ने नै छ । किनकि, यो मानवीय स्वभाव हो । ट्रेड युनियनहरूलाई बेवास्ता गर्दै गृहमन्त्री अघिबढन सक्दैनन् । प्रहरीलाई ठिक दूरीमा राख्ने क्षमता र हैसियत गृहमन्त्रीमा देखिँदैन ।

दोषीमाथि अनुसन्धान गर्नुपर्छ । यो प्रहरीको कर्तव्य हो । प्रहरीलाई सघाउनु सबै असल नागरिकको कर्तव्य पनि हो । तर, यहाँ प्रहरीहरू बढी नै आक्रामक बनेको, अध्यागमनका कर्मचारीहरू पनि आफ्नो गलत धन्दामा प्रहरी बाधक बनेकामा आक्रोशित हुन पुगेको आशंका भइराखेको छ । अवस्था जेजस्तो भए पनि शारीरिक आक्रमणमा उत्रिने हर्कत अपराध कर्मकै रूपमा कानुनत लिनुपर्छ । फुटेजले अवस्था स्पष्ट गरेकै छ । आआफ्ना कर्मचारीलाई बचावट गर्न र उनीहरूको मनोवल गिर्न नदिने काममा दुवै पक्ष लाग्ने नै छन् र लागि राखेका पनि छन् । गृहसचिव र गृहमन्त्री प्रहरी र निजामती दुवै कर्मचारीका साझा हुन्छन् ।

गल्ती गर्ने दुवै पक्षमाथि कडा कारबाही गर्न उनीहरू चुक्नुहुँदैन । कानुन हातमा लिने सन्दर्भ अत्यन्त ठूलो अपराध हो । त्यसमा पनि कानुन कार्यान्वयन गर्ने पात्रहरूबाटै यो गलत कर्म हुन पुगेकाले दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ । अन्यथा यो प्रवृत्ति बढ्नेछ । हालसम्मको अवस्था हेर्दा यस विषयको कारबाही पनि कर्मकाण्डी नै हुनेछ । यसमा संलग्न कर्मचारीलाई सरुवा गरिनेछ । छानबिन समितिको प्रतिवेदन भएपश्चात सामान्य स्पष्टीकरण सोधेर कारबाही गरिएको देखाइनेछ । गलत प्रवृत्तिले प्रश्रय पाउने अवस्था यथावत रहनेछ । सरकारलाई जिम्मेवार भएको देख्न पनि यस प्रवृत्तिमा क्रमभंग गर्न सरकारी तदारुकता जरुरी देखिएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया