बैसाख २१, २०८३ सोमबार May 4, 2026

‘अन्तका समस्या त काशीमा गएर धोऔंला तर स्वयं काशीकै पापचाहिँ कहाँ गएर धुने ?’- घनश्याम भुषाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभामा सांसद प्रदीप गिरिले चक्रव्यूहमापर्नुभयो भनेपछि तपाईंले चक्रव्यूह हो भने मलाई यहाँबाट बाहिर निस्कन रोक्ने जयद्रथछैन भन्दै जवाफ दिनुभयो । तपाईंको जवाफको अर्थ तपाईं अब यो सत्ताको चक्रव्यूहबाट बाहिर निस्कन खोज्दै हुनुहुन्छ भन्ने हो ?

महाभारतको एउटा मेधावी सर्वश्रेष्ठ धनुर्धरलाई षड्यन्त्रपूर्वक मारिएको थियो । यसर्थ षड्यन्त्रपूर्वक तँलाई पनि सरकारमा सक्न लगिएको हो, त्यसमा जानी जानीकन फसिस् भन्ने हिसाबले मैले उहाँको (प्रदीप गिरि) कुरालाई बुझें । वस्तुत: कुरा यस्तो थिएन । धेरै साथीबाट पनि किन गइस् भन्ने कुरा उठेको छ । मेरा बाले समेत राति १२ बजे फोन गरेर ‘तँ त मन्त्री भइस् रे’ भनेर आश्चर्य मान्नुभएको थियो । म मन्त्री हुँदा एक खालको अनौठो आश्चर्य भएको थियो ।

म दुइटा कुराका कारण मन्त्री भएको थिएँ- एउटा, पार्टीमा कार्यविभाजन गरेर पार्टी र सरकारका सम्बन्धहरू राम्रा बन्छन्, पार्टी र सरकार जहाँसुकै रहँदा पनि काम गर्ने सबैलाई राम्रो वातावरण बन्छ भन्ने थियो । दोस्रो, त्यही दिन साँझ प्रधानमन्त्रीले मलाई ‘कृषि धेरै बिग्रेको छ, धेरै समस्या छन्, तपाईंले सम्हाल्नुहोस्’ भन्नुभयो । पार्टी र सरकारबीच राम्रो एउटा समझदारी बन्छ र राम्ररी काम गरेर जानुपर्छ भन्ने मान्यता थियो । तर भनेअनुसार भएन । तर यहाँ आएर मैले राम्ररी बुझें । कृषि बिग्रेकै रहेछ । त्यसमा केही गर्न सकिन्छ भन्ने मलाई लागेको थियो र सकिन्छ भन्नेमा यो बीचमा आश्वस्त भएँ । कृषिका ऐतिहासिक समस्या, राजनीतिक विचारधारात्मक व्यवस्था र समस्या बुझें ।

त्यसो हो भने चक्रव्यूहमा पर्नुभएको होइन ?

त्यस अर्थमा म चक्रव्यूहमा फस्ने अवस्था थिएन । एक त चक्रव्यूह कस्तो हुन्छ भन्ने मलाई थाहा छ । म यही पार्टीभित्र छु । गुटबन्दी, त्यसका प्रभाव तथा हद र गुटबन्दीका लागि अपनाउने तरिका र माध्यमबारे मलाई थाहा छ । म राजनीतिक मान्छे हुँ, राजनीतिक हिसाबले काम गर्छु । राजनीतिक हिसाबले उत्तर दिन्छु । म अराजनीतिक काम गर्दिनँ । त्यसैले मलाई अराजनीतिक हिसाबले कसैले बर्बाद पारिहाल्छ भन्ने लाग्दैन । यहाँ म जुन दिनसम्म सरकारमा छु, इमानदारीपूर्वक स्वाभिमानपूर्वक, दिल, क्षमताका साथ काम गर्छु । म यहाँ जागिर खान आएको होइन, जुन दिन सक्दिनँ, हिँड्छु । जागिर खाने लोभले जनता र पार्टीले विरोध गर्दागर्दै नकाम गरेर यहीँ टाँसिएर बस्न चाहें भने म मर्छु, चक्रव्यूहमा सकिन्छु । समस्यासँग भाग्ने होइन तर समस्यासँग अर्को तरिकाले मात्र लड्न सकिन्छ भन्ने लाग्यो भने मलाई यहाँबाट निक्लन कुनै आइतबार पर्खनु पर्दैन । यही भन्न मैले संसद्मा प्रदीपजीलाई त्यसरी जवाफ दिएको हुँ ।

तपाईं सरकारबाट निस्किने बेला भएको छ कि छैन त ?

खास कुनै कारणले व्यक्तिले ममाथि गाली गर्ने एउटा कुरा होला तर जनताले नै गाली गरे, मन पराएनन् भने मैले बस्नु हुँदैन ।

तपाईंका लागि जनताले मन नपराएको चिन्ने इन्डिकेटर के-के हुन् त ?

४० वर्षभन्दा बढी समयदेखि राजनीतिक पार्टीमा छु । जनताले के सोच्छन् भन्ने कुरा बुझेको छु, थाहा पाउँछु । इन्डिकेटरहरू बढी मनोवैज्ञानिक हुन्छन् ।

अहिले जनताले मन पराइरहेका छन् कि गाली गरिरहेका छन् ?

एक त जनतामा यसले केही पनि गर्न सक्दैन, भासमा गयो, नफसे हुन्थ्यो भन्ने छ । दोस्रो, देश भित्र–बाहिरका विज्ञ, जानकार, सरोकारवाला जसले कृषि बुझेका छन्, उनीहरूले मैले अघि सारेका धारणा र नीतिलाई समर्थन गरेका छन् । कृषि जानेको र समस्याको समाधान यो हो कि होइन भन्ने बुझेका जनताको पंक्तिचाहिँ खुसी देख्छु । त्यसबाहेक मलाई पार्टीले निक्ली भन्नुपर्छ । प्रधानमन्त्रीले जा भन्नुपर्छ । यही तीनवटै अवस्थामा म निस्कन तयार छु ।

यो सरकारले गरेका सबै राम्रा-नराम्रा कामको भागीदार तपाईं हो कि होइन ?

सरकारको एउटा सदस्यको हिसाबले यसको श्रेय र आलोचनाको भागीदार म पनि हुँ । त्यसबाट म भाग्न मिल्दैन । हामी र आम जनताबीचमा राम्रो सञ्चार हुन सकेको छैन, बनाउन सकेका छैनौं । हामीले के गर्नुपर्ने हो भन्ने कुरा पनि हामी आफैलाई थाहा नहुने अनि सरकारले राम्रै गरेको छ भने पनि जनतालाई थाहा नहुने, समस्या यहाँनेर छ ।

तपाईं आफैचाहिँ सरकारको कामको समीक्षा कसरी गर्नुहुन्छ ?

हामीबाट कमीकमजोरी भएका छन्/हुन्छन्, त्यसलाई लुकाउनै हुँदैन । हामीले कुरा लुकाउन खोज्यौं र मान्छेलाई हेप्यौं भने बदनाम हुन्छौं । हामी मन्त्री हौं, सरकार हौं, हामीसंँग पावर छ, सेना, पुलिस ब्युरोक्र्याट छ भनेर आफूलाई ठूलो ठान्यौं र मान्छेलाई हेप्न थाल्यौं भने जनताबाट अलगिन्छौं र त्यसको परिणाम भोग्नुपर्छ । कहिलेकाहीँ हामीले जे बोले पनि हुन्छ भनेर ढाँटिदिन्छौं । हामी यस्ता कमजोरीबाट बच्नुपर्छ । कमसेकम मचाहिँ कसैलाई हेप्नु हुन्न र ढाँट्नु हुन्न भन्नेमा सतर्क छु । बाहिर समग्र सरकार र आम जनताका बीचमा के कस्तो ‘पर्सेप्सन’ छ भन्ने कुरा आम रूपमा जनताले र पार्टीले मूल्यांकन गर्ने हो । सरकारको काम मूल्यांकन गर्ने पार्टीको त्यो ‘प्लेटफर्म’ कमजोर हुँदै गएकाले जनतासंँग हाम्रो सञ्चार कमजोर भएको छ ।

अस्ति संसद्मा तपाईंले संसदीय व्यवस्थामा मन्त्रीमण्डल मण्डल जस्तो हुने तर प्रधानमन्त्रीमात्र हुने, छलफल नै नहुने हुन्छभन्नुभएको थियो । अहिले तपाईं संलग्न भएको मन्त्रिपरिषद्मा चाहिँ मन्त्री कहाँ छन् ? प्रधानमन्त्रीमात्र छन् कि त्यहाँ मन्त्रीको अस्तित्व पनि छ ?

मैले बृहत्तर रूपमा हाम्रो गणतन्त्रभित्रकै समस्याको कुरा गरेको हुँ । हामी गणतन्त्रमा आइसक्यौं तर कतिपय पुराना ब्रिटिसकालीन संसदीय व्यवस्थाका कुरा बोकेर हिँडिरहेका छौं । हामीले त्यसमाथि छलफल गरेनौं । संसद्मा बढी औपचारिक कुरामात्र हुने । औपचारिक भनेको वास्तविक कुरा होइन । औपचारिकताको यस्तो गोलचक्कर भइदिन्छ कि त्यहाँको नियम, कानुन, आदेशले गर्दा सार मरिसक्छ । त्यस्तो संसद्ले बनाएको सरकार र सरकार चल्ने तरिका, कर्मचारीतन्त्रमा लहनतहन धेरै छन् । प्रधानमन्त्री भनेको असाध्य पवित्र, मन्त्रीहरूले प्रश्न गर्नै नहुने रूपमा लिने, मन्त्रीहरूलाई सचिवले असाध्यै पवित्र, बाइबल, कुरान, गीताजस्तो छुन पनि नहुने, प्रश्न गर्न पनि नहुने जस्तो रूपमा लिइदिन्छन् । यस्ता औपचारिक लहनतहन छन् भनेर स्वीकार गरिएन भने हामी गल्ती गरिरहने छौं ।

औपचारिक लहनतहनले तपाईं मन्त्रीहरू पनि प्रधानमन्त्रीलाई प्रश्नै गर्न सक्नु हुन्न हैन ?

हामीले सुधार गरेका छैनौं । गणतन्त्रमा आएपछि सुधार्नुपर्ने थियो ।

तपाईंहरूलाई जनताले करिब दुई तिहाइ मत दिएको यस्तै पुराना कुरा परिवर्तन गर्न भनेर हैन ?

हामी दुनियाँलाई सिंहदरबारबाट हेर्छौं । स्वयं सिंहदरबारलाई बाटोबाट हेर्दा कस्तो देखिँदो रहेछ भन्नेतर्फ नजर जाँदैन । ‘ग्याप’ यहाँ छ । यो ‘ग्याप’ पूरा गरिदिने फोरम भनेको पार्टी हो । अहिले पार्टी र सरकार समन्वयका साथ चलाउन नसक्दा समस्या छ ।

मन्त्री भएर सिंहदरबार बाहिर हेर्दा तपाईंले चाहिँ के पाउनुभयो त ?

हिजो बाहिर छँदा यसलाई परिवर्तन गर्नुपर्छ भन्ने थियो । आज यहाँ आएर परिवर्तन अझै आवश्यकता छ भन्ने देखेको छु । हामी अचेल सरकारमा जाने, कुनै नियुक्ति पाउनेलाई ‘लाभको पदमा जाने’ भन्न थालेका छौं । जिम्मेवारी निर्वाह गर्न जाने भन्ने होइन, कमाउन र शक्ति अभ्यास गर्न जाने भन्ने मान्यताबाट सरकारमा आउने वा पठाउने गरेका छौं । यो मान्यतामा सुधार जरुरी छ । यो सुधार्ने भनेको पार्टीको प्लेटफर्मबाट हो । त्यो प्लेटफर्म राम्ररी चल्न नसक्दा सरकार र जनता, नागरिक समाजबीच ‘ग्याप’ भइरहेको छ । एउटा भनाइ छ, ‘अन्तका समस्या त काशीमा गएर धोऔंला तर स्वयं काशीकै पापचाहिँ कहाँ गएर धुने ?’

राजनीतिक व्यवस्थाका समस्या त गणतन्त्रले समाधान गर्छ तर स्वयं गणतन्त्रका समस्याचाहिँ कसले समाधान गरिदिने ? त्यो समाधान गर्ने भनेको पार्टी हो । तर त्यो पार्टी नै चलायमान भएन भने गुट, स्वार्थ समूहको लुछाचुँडी गर्ने, आफ्ना गुटका मान्छेको व्यवस्था गर्ने समूहमा बदलिन्छ । हामीले पार्टीलाई नै गणतान्त्रिक लाइनमा अझै ल्याउन सकेका छैनौं । हाम्रो पार्टीकै कुरा गर्ने हो भने गएको एक–डेढ वर्षअघि नै सरकारको कामको समीक्षा गर्ने भन्यौं । अहिलेसम्म त्यो गर्न सकेका छैनौं । समस्या सरकारमा छ भन्ने स्विकार्न मलाई गाह्रो छैन । यसको समाधान पार्टीबाट मात्र हुन्छ । हामी त अहिले बैठक नै बस्न नसक्ने पार्टी भएका छौं । दुई तिहाइ बहुमत नजिकको सरकारलाई झन्डै दुई तिहाइ ल्याएको पार्टीका प्लेटफर्मबाट मात्र सुधार्न सकिन्छ ।

अहिले कसका के कमजोरीले पार्टी चल्न नसक्ने भएको हो ?

पार्टीका समस्या दुइटा अध्यक्षले समाधान गर्ने तर दुइटा अध्यक्षका समस्या कसले समाधान गरिदिने ? पार्टीभित्र बैठक नबस्ने, संवाद नहुने ? पार्टीमा सार्थक संवाद हुनुपर्छ । पार्टीमा संगठित विमर्शको प्लेटफर्म र कमिटी प्रणालीलाई सुचारु गर्नुपर्छ । सरकारबाट हेर्दा पार्टी राज्यको विस्तारित अंग हो । जनताबाट हेर्दा यो आफ्नै विस्तारित संगठन हो । यहाँनेर कडी टुट्यो । किनभने निर्णय गर्ने ठाउँमा रहेका हामीले नै म भइनँ, त्यसैले समस्या भएको छ भन्ने सोच्यौं । सरकारमा रहेका र पार्टीमा रहेका, तल्लो तह र माथिल्लो तह, सिनियर मन्त्री, जुनियर मन्त्री भन्नेतर्फ लाग्यौं । एकीकृत दृष्टिकोणको कमी रह्यो । हामीले आफैलाई सर्वेसर्वा ठान्न थाल्यौं । हाम्रो हितलाई मात्र हेर्न थाल्यौं। त्यसले गर्दा समस्या बढे । त्यसरी चल्दैन भन्ने ठूलो आवाज पार्टीमा छ तर त्यो जमात भोकल भएर आउन सकेन । किनभने त्यहाँ पनि गुटबन्दी जोडिएको छ ।

तपाईं पार्टीमा मात्र हुँदा सरकारले केही गरेन भन्नुहुन्थ्यो, अहिले सरकारमा हुँदा पार्टीको भूमिका धेरै हुनुपर्छ भन्नुहुन्छ । तपाईं आफै त कतै विरोधाभासमा हुनुहुन्न ?

आठौं महाधिवेशनदेखि मैले पार्टीमा मुलुक बनाउन कर्ता चाहिन्छ, कर्ता पार्टी हो भनेर निरन्तर भन्दै आएको छु । पार्टी नै बनेन, त्यही भएर मुलुक बनेन भन्ने कुरा थियो त्यतिखेर पनि । मैले अहिले पनि साह्रै फरक कुरा गरेको छु भन्ने लाग्दैन ।

हालै सरकारको नीति तथा कार्यक्रम र बजेट आयो । तपाईंले बनाएको नीति समावेश भएन भन्ने कुरा पनि बाहिर आएको थियो । खास के हो ?

यो सार्वजनिक रूपमा नै बोलेको कुरा हो । लामो समय कृषि हाम्रो राज्य, राजनीति र पार्टीको एजेन्डा भएन । संयुक्त सरकारमा सानो र कमजोर पार्टीको कमजोर नेतालाई ‘एडजस्ट’ गर्ने ठाउँ कृषि मन्त्रालय हो भन्ने हिसाबले लिइयो । बजेटदेखि लिएर वैचारिक हिसाबले पनि कृषि मार्केटले समाधान गर्छ भन्ने हिसाबले किनारा लगाइयो । आज हामी नयाँ ठाउँमा आयौं । कोरोनाले त हामीलाई झन् ठूलो दबाब दियो । संविधानअनुसार मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजाने आधारचाहिँ कृषिलाई बनाउनुपर्छ भनेर धेरै व्याख्या गरी नीतिगत आधार तयार गर्‍यौं र ‘संरक्षित कृषि सुनिश्चित’ भन्यौं ।

आम रूपमा लामो छलफल गरेर हामीले संरक्षित कृषि र सुनिश्चित बचत भनेर नारा तय गर्‍यौं, यसलाई त्यही मर्मका साथ हामीले स्थापित गर्न सकेनौं । खासगरी नीति तथा कार्यक्रम र बजेटमा पनि त्यति गर्न सकिएन । त्यसका तमाम समस्या छन् होला । हामीसँग हाम्रो अर्थतन्त्र संकुचित हुँदै गएकाले बजेट छुट्याउन सकिएन । हामीले नै अहिले बताउन सकेनौं, जसले गर्दा नीति तथा कार्यक्रममा जस्तो आउनुपर्थ्यो त्यस्तो आएन । तर यति भएर पनि हामीले जे गरेका छौं, जतातिर जाँदै छौं, जुन व्यवस्थाका आधार तयार गरेका छौं, त्योचाहिँ धेरै महत्त्वपूर्ण छ ।

तपाईं कृषिमन्त्री, नीति बनाउने तपाईंको मन्त्रालयले अनि नीति तथा कार्यक्रममा चाहिँ किन आएन ?

संसदीय व्यवस्थालाई ब्रिटेनका पुँजीपतिहरूको पार्टी छँदाखेरि माक्र्स, लेनिनले पुँजीपति वर्गको लेखा राख्ने र कर उठाउने संस्था हो, एक थोक भन्ने अर्कै थोक गर्ने संस्था हो भनेर आलोचना गरेका थिए । त्यसका कतिपय प्रभाव अहिले पनि हाम्रो संसदीय अभ्यास, संसदीय राजनीति, सरकार चलाउनेमा छन् । अहिले म जहाँ छु, त्यहाँबाट यति मात्रै भन्न सक्छु ।

भनेपछि नीति तथा कार्यक्रम र बजेट ल्याउँदा तपाईंले पनि पत्तो पाउनुभएन ?

मन्त्रिपरिषद्ले त सामान्यत: अन्तिममा अर्थमन्त्रीले बनाएको बजेटलाई स्वीकृति दिने खालको मात्रै परम्परा रहेछ । यसलाई हामीले सुधार्नुपर्छ । खास करका दरहरूबाहेक अरू सबै मामिलामा हामी खुला भएर नै जानुपर्छ । प्रतिपक्षी पार्टीसँग पनि लुकाउन जरुरी छैन । म त समाजवादी बजेट खेत खलियान, उद्योगधन्दा, कारखानामा बसेर बनाउनुपर्छ भन्छु ।

त्यही भएर तपाईंले केही दिनअघि संसदीय समिति सामाजिक सञ्जालमा लेखेजस्तो काम गर्न सजिलो हुँदैनभन्नुभएको हो ?

त्यो ‘मिस इन्टरप्रिटेसन’ हो । मैले संसदीय समितिमा ‘साथीहरूले बाहिर लेखेको जस्तो मात्रै ठान्नुभएको छ, भित्रचाहिँ मिहिनेतपूर्वक काम भएको छ है’ भन्ने अर्थमा भनेको थिएँ । म अहिले पनि यहाँ गर्न सकिँदो रहेनछ भन्ने ठान्दिनँ । हामीले नै गर्नुपर्छ । झन्डै दुई तिहाइ ल्याएको पार्टीका मन्त्रीहरूले गर्दैनन् भने अरू कसले गर्छ ? हामीले गर्दैनौं भन्नुको अर्थ त हामी मात्रै निराश हुने हैन । यो त राष्ट्रिय लज्जाको कुरा हुन्छ । गर्न समस्या छन् भन्ने त खुला कुरा नै हो ।

तपाईं कोरोना नियन्त्रणसम्बन्धी समितिमा पनि हुनुुहुन्छ । यत्रो ठूलो संकटलाई सरकारले ह्यान्डल गर्न सकेन भन्ने कुरा आएको छ, युवाले आन्दोलन पनि गरे । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

कोरोनाका बारे दुइटा पाटा छन् । एक, लकडाउनको तीन/चार सातापछि जहाँ–जहाँ मान्छे थुनिएका थिए, तिनीहरू बस्न नसक्ने भए । खासगरी अर्काे जिल्लामा गएका, काठमाडौंमा रहेका, बाहिर जान चाहेका, पूर्वका पश्चिम जान खोजेका मजदुरहरूको खानेकुरा सकियो, बस्ने स्थिति रहेन । ती मान्छे जब चलमलाउन थाले, हामीले तिनीहरूलाई छिट्टै व्यवस्था गरिदिनुपथ्र्यो । दुई, हामीले सुरुमा सिमाना बन्द गर्‍यौं । त्यसपछि सीमामा आएकालाई कसरी ल्याउने भन्ने तयारीमा तुरुन्तै लागिहाल्नुपर्थ्यो । यसरी हेर्दा काठमाडौंमा मान्छे चलमलाउन थालेपछिको अवस्थासम्म आउँदा हामीले धेरै राम्रो काम गर्‍यौं । त्यो अरू कुनै मुलुकले गरेको भन्दा हाम्रो काम राम्रो चल्दैथ्यो, यो कुरा बिर्सनु हुँदैन । त्यसपछि हामीले केहीकेही कमी गर्‍यौं, हामी अलमलियौं । यी अलमलिएका कुराको मात्रै कसैले विरोध गरेका हुन् भने त्यसलाई हामीले स्वीकार गर्नुपर्छ ।

युवा बाहिर आए भने हामी राजनीतिक पार्टीहरूले त्यसको जिम्मा लिनुपर्छ । उच्छृंखल, अश्लील नारा लेखेर युवा आए भनेर भन्नुमात्र हुँदैन । लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलन गरेर आएको ७० वर्षको इतिहास भएको राजनीतिमा हाम्रा छोराछोरी किन अश्लील नारा बोकेर बाटोमा निक्लन्छन् भन्ने कुरा हामीले नै सोच्नुपर्छ । फेरि सरकारले १० अर्ब पैसा खायो, माथि बसेकाले खाए भन्ने हल्ला चल्यो । बेठीक हो भनेर कसैले हामीमाथि प्रश्न उठाए भने ठीकै गरे । हामीले हिसाब दियौं, मानिहाले । आन्दोलनबाट पछि हटे । त्यो त हाम्रो कम्युनिकेसनकै कमी थियो होला ।

तर यो बीचमा पुराना स्थायी संयन्त्र नचलाएर नयाँ संयन्त्र बनाउँदा समन्वयमै कमी देखियो नि ?

कर्मचारीको सरुवा र को राखियो राखिएन भन्ने कुरामा अलि बढी राजनीति भयो भन्ने लाग्छ । त्यसलाई पार्टीको आँखाले अलि बढ्ता हेरियो कि । कुन कर्मचारी कता भोट हाल्ने मान्छे थियो भनेर पो हेरियो कि ? कोरोना अचानक राज्यमाथि परेको संकट थियो, त्यसलाई मूलत: स्वास्थ्य मन्त्रालयले सम्बोधन गर्नुपथ्र्याे । स्वास्थ्य मन्त्रालय पनि सुरुमा हडबडियो भने त्यसलाई त हामीले मानिदिनुपर्‍यो नि । व्यवस्थापन गर्नका लागि कसैलाई जिम्मेवारी दिनुपर्‍यो भनेर मन्त्री या कसैले सोच्यो भने त्यत्रो ठूलो इस्यु बनाउनु हुँदैन । कमजोरी रहन सक्छन् तर नियत र दिशा ठीक छ भन्नेसम्म कमसे कम हाम्रो प्रतिबद्धता भयो भने हामी ठीकै ठाउँमा हुन्छौं ।

यही सिलसिलामा नागरिक प्रशासनको काममा प्रश्न उठाएर सैन्य प्रशासनलाई हावी गराउनतिर सरकार लाग्यो भन्ने पनि छ नि ?

यसलाई कति राजनीतिक रूपले हेर्ने, कति अनुभवहीनताका आधारमा हेर्ने, कुरा फरक होला । महामारीको राजनीतिक र सामाजिक पाटो छ । राजनीतिक र सामाजिक पाटोलाई छोडेर केवल प्रशासनिक वा पुलिसले गरिदिने, आर्मीले गरिदिने भनेर सोच्यौं भने गलत हुन्छ । महामारीसँग लड्न आर्मी, पुलिस असाध्यै महत्त्वपूर्ण अंग हुन् तर सबै होइनन् । एउटा बृहत् राजनीतिक, सामाजिक अभियानका अंग हुन् भन्ने हिसाबले हामीले लियौं भने ठीक हुन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार