श्रावण ३, २०८२ शनिबार July 19, 2025

श्रीलङ्काको टि–२० टोलीका मालिक भ्रष्टाचारको आरोपमा पक्राउ

दोषी ठहर भएकाहरूले सम्भावित ठूलो जरिवाना र १० वर्षसम्मको कारागार सजायको सामना गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलङ्काको प्रिमियर लिग (एलपिएल) मा एक टि–२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि मुलुकको मुख्य विमानस्थलमा रोकिएको प्रहरीले बतायो ।

प्रहरी र अध्यागमन अधिकारीहरूका अनुसार उनलाई म्याच फिक्सिङको आशङ्कामा हिरासतमा राख्न अदालतको आदेशपछि पक्राउ गरिएको थियो । रहमानलाई थप अनुसन्धानका लागि मे ३१ सम्म हिरासतमा राखिएको छ ।

म्याच फिक्सिङ र सट्टेबाजी गर्ने प्रयाससँग सम्बन्धित खेलकुद ऐनको दुई प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको थियो । खेलकुदमा भएको भ्रष्टाचार नियन्त्रण गर्ने विशेष प्रहरी एकाइले चार वर्षअघि सुरु भएको एलपिएल प्रतियोगिताका कुनै अधिकारीलाई पहिलो पटक पक्राउ गरेको हो ।

खेलकुद ऐनअन्तर्गत दोषी ठहर भएकाहरूले सम्भावित ठूलो जरिवाना र १० वर्षसम्मको कारागार सजायको सामना गर्न सक्छन् ।

मङ्गलबार रहमानको दाम्बुला टिमले २४ खेलाडी किन्नका लागि चार लाख ५० हजार डलर खर्च गरेको थियो । यसमा विदेशी खेलाडी अफगानिस्तानका अलराउन्डर करिम जनात पनि थिए । उनको मूल्य ८० हजार डलर थियो ।

पाँच टिम संलग्न एलपिएल प्रतियोगिता जुलाई १ देखि सुरु हुनेछ र जुलाई २१ मा फाइनल खेल हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया