काठमाण्डाैंः नेपालमा कोरोना संक्रमण र लकडाउन सुरु भएपछि अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या ५० प्रतिशत भन्दा कम भएको राजधानीका ठूला अस्पतालहरूको तथ्यांकले औंल्याएका छन् । कतिपय अस्पतालमा त ७५ प्रतिशत भन्दा कम छन् ।
राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।
विवरण अनुसार यस अघि लकडाउन अघि टिचिङ अस्पताल महाराजगंजमा दैनिक एक सय ५० जना आकस्मिक कक्षमा विरामी आउँथे । अहिले यो आकस्मिक कक्षमा दैनिक ५० जना मात्र आउँछन् ।
परोपकार प्रसुति गृह अस्पतालमा पनि पहिलेको तुनलामा प्रसुति हुन आउनेको संख्या घटेको छ । अस्पतालमा फागुन महिनामा दुई हजार जना प्रसुति हुन आएका थिए भने जेठ महिनामा १५ सय ५० भित्र झरेका छन् । अस्पतालको अन्य सेवामा पनि विरामीको चाप घटेको अस्पालकी निर्देशक डा. संगिता मिश्रले बताइन् । कोभिड १९ पछि अस्पतालले स्त्रीरोगका अन्य सेवा बन्द गरेको र अहिले पुन संचालन सुरु भएको उनले जानकारी दिइन् ।
नेपाल मेडिकल कलेज जोरपार्टीमा पनि लकडाउनसंगै आकस्मिक कक्षमा विरामीसंख्या ५० प्रतिशत भन्दा कम पुगेको छ । अस्पतालका निर्देशक डा.रुपेश श्रेष्ठका अनुसार लकडाउन अघि बहिरंग विभागमा दैनिक आठ देखि दुई हजार जना आउँथे भने अहिले दुई सय ५० जना औसत आउने गरेका छन् । यसरी आउनेमा पनि मिर्गौला,मुटु र नियमित खोप लगाउनु पर्ने बाध्यताका शिशु र गर्भवती हुन् ।
कोभिड १९ पछि नेपालमा मात्र नभएर विकसित राष्ट्रका अस्पतालहरूमा समेत विरामी जान नचाहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । हालै प्रकाशित न्युयोर्क टाइम्सको लेख अनुसार अहिले पनि कोभिड १९ को डरको कारण अस्पताल नजाने सोंचका विरामी धेरैको संख्यामा छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया