जेठ ७, २०८१ सोमबार May 20, 2024

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो, १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालको जनसङ्ख्या शुक्रबारदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या शुक्रबार तीन करोड ६ सय ३४ पुगेको हो ।

राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यो सङ्ख्या गत ११औँ राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसारको तथ्याङ्क रहेको उनले बताए । गत जनगणनाको तथ्याङ्क विश्लेषण अनुसार २० वर्ष अर्थात् वि।सं। २०८८ सम्मको जनसङ्ख्याको अनुमान गरिएको निर्देशक लामिछानेले बताए ।

राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका समेत स्वीकृत गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको   बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालीम, जनगणनाको सामग्री जिल्ला-जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया