बैसाख १७, २०८३ बिहिबार April 30, 2026

मार्गनिर्देशक नेता मदन- शङ्कर पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आजको दिनमा मदन भण्डारीलाई सम्झिँदा उहाँको जीवनका तीन कालखण्डलाई आधार बनाएर विश्लेषण गर्दा सान्दर्भिक होला । पहिलो, उहाँ नेपालको राजनीतिभित्र अध्ययनशील, तीव्र वैचारिक सङ्घर्षमा अग्रसर कार्यकर्ताका रूपमा हुनहुन्थ्यो । पुष्पलाल समूहभित्रको एउटा गतिशील पङ्तिको उदीयमान कार्यकर्ताको पहिचान बनाउनुभयो । मुक्ति मोर्चामार्फत उहाँले विद्रोह र झापा आन्दोलनसँग जोडिनुभयो । त्यहाँ रहेको उग्रवामपन्थविरुद्धको सङ्घर्ष गरी सही धार निर्माण गर्नेक्रममा वैचारिक र सही पहलकदमी लिनुभयो । पञ्चायतविरोधी आन्दोलनका आधार तयार गर्ने काम पनि गर्नुभयो । त्यतिबेला उहाँको भूमिका मूलतः वैचारिक पक्षमा बढी केन्द्रित रह्यो । दोस्रो-पार्टीको महासचिवको जिम्मेवारीमा आइसकेपछि संयुक्त जनआन्दोलनको आधार निर्माण गर्ने काम गर्नुभयो । पुरानो पुस्ता र नयाँ पुस्ताको आन्दोलनका बीचमा फ्युजन (संयोजन) गर्ने काम गर्नुभयो । विश्व कम्युनिस्टमा देखिएको उतारचढावको विश्लेषण गरी नेपालको कम्युनिस्ट आन्दोलनको माध्यमबाट विश्व कम्युनिस्ट धार निर्माण गर्ने काम गर्नुभयो ।

पार्टीकै कामका सिलसिलामा रहेका बेला २०५० जेठ ३ गते उहाँको रहस्यमय जिप दुर्घटनापछि निधन हुन पुग्यो । त्यसपछि अझ गहिराइका साथ मान्छेले उहाँको योगदानलाई आत्मसात् गरे । उहाँले अगाडि सारेका मान्यताहरू नेपालको राजनीतिभित्र बढी ग्रहणीय बन्न पुने । कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) उहाँले प्रस्तुत गर्नुभयो । पछि त्यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरियो । वास्तवमा उहाँ समकालीन नेपाली राजनीतिका अत्यन्त अग्लो व्यक्तित्व, शिखर पुरुष हुनुहुन्थ्यो । बक्तृत्वकला, अध्ययनशीलता र उहाँको उच्च व्यक्तित्वजस्ता कुराले पनि काम गरेको थियो । निधन भएपछि नेपाली समाजले उहाँको अभावलाई गहिरो गरी बोध ग¥यो ।

२१औँ शताब्दीको आरम्भमा बीबीसी नेपाली सेवाले गरेको अध्ययनका आधारमा नेपालको सयवर्षे राजनीतिक इतिहासमा सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व ‘मदन भण्डारी’ रहनुभयो । छोटो समयमा जुन उचाइ उहाँले हासिल गर्नुभयो, विरलै व्यक्तिले प्राप्त गर्न सक्छन् । आज नेपालको राजनीति मदन भण्डारीका सोचबाट निर्देशित भइरहेको छ । शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न सकिन्छ भन्ने उहाँको सोच थियो ।

पुँजीवादी बुर्जुवा शक्तिलाई प्रतिस्पर्धाबाटै पराजित गरेर नेतृत्व हासिल गर्न सकिन्छ भन्ने जुन आत्मविश्वासको मान्यता उहाँले बोक्नुभयो, २१औँ शताब्दीको कम्युनिस्ट पार्टीलाई कस्तो बनाउने भन्ने कुरालाई नेपालको कम्युनिस्ट आन्दोलनले प्रमाणित गरेको म ठान्छु । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) यी दुई पार्टीको एकता पछाडि भएको निर्वाचनबाट झन्डै दुईतिहाइ मत ल्याउने जग नै मदन भण्डारीको वैचारिक मान्यता थियो । त्यो वैचारिक मान्यता स्थापित नभएको भए सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सम्भव हुँदैनथ्यो ।

तेस्रो, संविधानसभाबाट ऐतिहासिक नयाँ संविधान निर्माण गर्नेक्रममा प्रजातान्त्रिक र वामपन्थी शक्तिबीच जुन सफल सहकार्यसाथ सकारात्मक परिवेश निर्माण भयो, त्यसको आधार पनि मदन भण्डारीकै वैचारिक सफलता थियो । नेपालको राजनीतिभित्र यो मान्यतालाई सफल ढङ्गबाट स्थापित गर्ने काम उहाँकै वैचारिक सफलता मान्न सकिन्छ । त्यस अर्थमा अहिलेको राजनीतिक जुन दिशा छ, उहाँ नै आज केन्द्रीय भागमा हुनुहुन्छ । उहाँको मान्यताबाट पृथक रूपमा नेपाली राजनीतिलाई अगाडि बढाउन सम्भव छैन । त्यसैले, उहाँको विचारको सान्दर्भिकता अहिले पनि यथावतै छ । अर्को, दुई दलको एकतापछि मदन भण्डारीलाई कसरी ग्रहण गर्ने भन्ने विषय महत्वसाथ उठेको थियो ।

दासढुङ्गा घटना भएकै दिनमा पार्टी एकताको शुभारम्भ भएसँगै पार्टीले उहाँलाई उच्च सम्मान दिएको अर्थ लाग्छ । यसै वर्ष जेठ ३ मा दुवैजना अध्यक्षले संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तिमा मदन भण्डारीको योगदानको उच्च मूल्याङ्कन गरिएको छ । ‘एकीकृत पार्टीका लागि पनि उहाँ मार्गनिर्देशक व्यक्तित्वका रूपमा रहनुभएको छ’ भन्ने देखिन्छ । नेपालको संविधान निर्माणको सन्दर्भमा हामीले जुन सैद्धान्तिक मान्यतालाई आत्मसात् गर्यौ, त्यो उहाँकै सैद्धान्तिक मान्यता हो । हामीले मदन भण्डारीलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक नेता, सिद्धान्तकारका रूपमा ग्रहण गरेका छौँ ।

हाम्रो संविधानका केही अलग विशेषता छन् । शान्तिपूर्ण, वैधानिक बाटोबाट समाजवाद निर्माणका आधार तर्जुमा गर्नेखालको काम संविधानले गरेको छ । अर्कोतर्फ हाम्रो संविधानले लोकतन्त्रका आधारभूत मान्यतालाई महत्वसाथ स्थापित गरेको छ ।

जनताको बहुदलीय जनवाद (जबज) ले जनवादका १४ विशेषता भनेर जे कुरालाई अगाडि सारेको छ, त्यसका आधारभूत विषयलाई संविधानले आत्मसात् गरेको छ । संविधानले स्वतन्त्रता, सामाजिक न्यायको पक्ष र जनजीविकाको पक्षलाई त्यत्तिकै महŒव दिएको छ । मदन भण्डारीले अगाडि सारेका मान्यतासँग त्यो मेल खान्छ । संविधानभित्र राज्यका मार्गनिर्देशक सिद्धान्तका रूपमा आर्थिक विकासको बाटो– निजी, सहकारी र सार्वजनिक क्षेत्रलाई सँगसँगै लिएर जाने मान्यता पनि मदन भण्डारीद्वारा निर्देशित मान्यता हुन् । त्यो हिसाबले हेर्दा पनि संविधानले भविष्यको नेपालको परिकल्पनाको आधारका रूपमा पनि निर्देशन प्राप्त गरेको छ ।

स्वरूप र ‘सार’ को कुरा गर्दा माक्र्सवादी शक्तिले सारलाई मान्यता दिन्छ । मदन भण्डारीका सोच र मान्यता सारमा केन्द्रित थिए । कम्युनिस्ट आन्दोलनको विशेषताका रूपमा मदन भण्डारीले बहुदलीयतालाई जोड दिनुभयो । नेकपाले अगाडि सारेको विधान, प्रतिवेदनले पनि जबजलाई आत्मसात् गरेको छ । विचारधारात्मक प्रश्नमा महाधिवेशनका समयमा आवश्यक छलफल गरेर निचोडमा पुग्ने कुरा भएको छ । त्यतिबेला यी विषयमा जीवन्त छलफल होला नै । नेपालको कम्युनिस्ट आन्दोलनले जुन खालको विशेषता आर्जन गरेको छ, त्यसलाई संश्लेषण गर्ने काम एकीकृत पार्टीबाट हुन सकेको छैन । माक्र्सवाद लेनिनवादलाई नेपाली भूमिमा प्रयोग गर्ने सन्दर्भमा आर्जन गरेका विशिष्ट अनुभवहरू नै हाम्रा मार्गदर्शक हुन् ।

आजको दुनियाँमा माक्र्सवाद लेनिनवादमात्र भनेर कम्युनिस्ट आन्दोलनलाई जीवन्त ढङ्गले अगाडि बढाउन सम्भव छैन । त्यसको जगमा अगाडि निर्देशन गर्ने मान्यता के हुन् भन्ने निचोड निकाल्न बाँकी नै छ, एकताको महाधिवशेनमा टुङ्गो लगाउनेमा हामी सहमत छौँ । कुनै पनि चीजका लागि त स्थिति परिपक्व हुनुपर्छ । हामी दुई आन्दोलनबाट आएका शक्तिलाई एक ठाउँमा रूपान्तरण गर्न समय लाग्छ । अहिलेसम्म जे-जति प्रगति भएका छन्, सकारात्मक छन् ।

माओवादी आन्दोलन पनि २१औँ शताब्दीको जनवादको रूपान्तरणकै प्रक्रियामा थियो । पछिल्लो समय माओवादी केन्द्र हिँडिरहेको बाटो र नेकपा (एमाले) हिँड्ने बाटो एउटै भएर एकता सम्भव भयो । मदन भण्डारीले अघि सार्नुभएको मूल्य-मान्यताकै बाटोमा अब अगाडि बढ्नुपर्छ । यो हरकोहीलाई बोध भएकै कुरा हो । पार्टी जति ठूलो हुन्छ, समस्याको दायरा बढ्दै जान्छ । जिम्मेवारीको अभिभारा पनि बढ्दै जान्छ ।

अहिले पनि पुराना सोच र शैलीले काम गरिरहेको देखिन्छ । ठसठस कन्दै इतिहासका भारी बोकेर अगाडि बढ्दा हाम्रो यात्रा अवरुद्ध हुन्छ । इतिहासप्रति हेक्का राख्नुपर्छ तर हामीले वर्तमानमा उभिएर भविष्यतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । यसो गर्दा मतभेद सजिलै हल हुन्छन् । इतिहासका प्रश्नमा अल्झिने हो भने मतभेदले हामीलाई खाइदिन्छ । एकीकृत पार्टीका सन्दर्भमा पनि हामीले यो विषयमा ध्यान दिनुपर्छ ।

सानो पार्टीबाट राष्ट्रिय दायित्व वहन हुन सक्दैन । हामी एकताको प्रक्रियामा अघि बढिसकेकाले यसलाई सफल पार्नुको विकल्प हामीसँग छैन । बलियो शक्तिले नै मुलुकमा समाजवाद ल्याउन सक्छ । हामी एक त भयौँ तर मन जोडिन बाँकी छ । पार्टी एक भयो तर सङ्गठन जोड्न बाँकी नै छ । अहिलेकै अवस्था रहिरहनु उचित होइन । पार्टी बनिसकेपछि विचार, सङ्गठन र उद्देश्यका हिसाबले एकै गन्तव्य र लक्ष्यतिर निर्देशित हुनैपर्छ । अहिले पनि पुराना सोच र शैलीले काम गरिरहेको देखिन्छ । ठसठस कन्दै इतिहासका भारी बोकेर अगाडि बढ्दा हाम्रो यात्रा अवरुद्ध हुन्छ । इतिहासप्रति हेक्का राख्नुपर्छ तर हामीले वर्तमानमा उभिएर भविष्यतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । यसो गर्दा मतभेद सजिलै हल हुन्छन् । इतिहासका प्रश्नमा अल्झिने हो भने मतभेदले हामीलाई खाइदिन्छ । एकीकृत पार्टीका सन्दर्भमा पनि हामीले यो विषयमा ध्यान दिनुपर्छ ।

मदनले जहिल्यै भन्नुहुन्थ्यो, “नयाँ सन्दर्भहरू र नयाँ विषयहरूप्रति सही प्रकारका निष्कर्ष निकाल्नुपर्छ ।” उहाँ पुराना प्रश्नमा धेरै अल्मलिनुभएन । नयाँ प्रश्न सुल्झाउनमा ध्यान दिनुभयो, त्यसैले उहाँ सफल देखिनुभयो । यद्यपि, उहाँले पनि इतिहासको सही समीक्षा गर्नुपर्छ भन्नुहुन्थ्यो । तर, त्यसमै अल्मलिनुपर्छ भन्ने उहाँको जोड थिएन । आजको सन्दर्भमा पनि हामीले सोच्ने तरिका त्यही हो । समस्या नयाँ हुने तर समाधानको तरिका पुरानो भएर हुँदैन, नयाँ नै हुनुपर्छ । नयाँ समस्याको पुरानो समाधानले कहिलेकाहीँ मात्र सफलता प्राप्त हुन्छ । ‘सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ’ उहाँले भन्नुहुन्थ्यो । सिद्धान्तले जीवनलाई पछ्याउनुपर्छ । ‘जीवनसँग नजोडिएको सिद्धान्तको कुनै अर्थ हुँदैन’ उहाँको मान्यता थियो । हामीकहाँ सिद्धान्तवादको ठुल्ठूला बहस भए तर त्यसले समाजलाई डोर्याउन सकेन ।

‘हामीले निर्माण गर्ने सिद्धान्तले जनताको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ’ भन्ने मान्यताको पैरवी मदनले गर्नुभयो । साँघुरो दायरामा रहेको कम्युनिस्ट आन्दोलनमार्फत विशाल जनताको पङ्तिलाई विजयमा पु¥याउन सफल हुनुभयो । उहाँकै वैचारिक मार्गदर्शनमै पहिलो निर्वाचित कम्युनिस्ट सरकार निर्माण गर्न सफल भयौं । अगाडिको बाटो के भन्ने उहाँले दिशानिर्देश गर्नुभएको छ । आज पनि समस्या धेरै छन् तर समाधानका उपाय छन्, खोज्न सक्नुपर्छ । विगतमा हामी कुन बाटोबाट हिँड्यौँ भन्ने बहसमा अल्झिन थाल्यौँ भने हुँदैन । आजको प्रश्न र भविष्यको प्रश्नमा केन्द्रित भयौँ भने समस्या सामधान हुन्छ । अहिले नेकपाको एकताको आधार पनि यही हो । यही ढङ्गले अगाडि बढ्न सक्नुपर्छ ।

कम्युनिस्ट आन्दोलनभित्रको आधारभूत एकता सम्पन्न भइसकेको छ । केही हाँगाबिँगा जोडिन बाँकी छन् । मूल आन्दोलनका बीचमा एकता भइसकेपछि हाँगाबिँगाले खासै फरक पार्दैनन् । तर, जोड्न सके राम्रो हुन्छ । अब हामी यसैलाई आत्मसात् गरेर अघि बढ्न सक्यौँ भने सफल हुन्छौँ । गोरखापत्र दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार