भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

पश्चिमसँग सम्बन्ध तोड्दाको लागत दुई अर्ब १० करोड डलर : रुसी अन्तरिक्ष एजेन्सी

अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को। युक्रेनमा रुसको आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडिएपछि झण्डै एक खर्ब ८० अर्ब रुबल (दुई अर्ब १० करोड डलर) नोक्सान भएको रुसको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।

रूसको अभियान सुरु भएपछि मस्को विरुद्ध प्रतिबन्धको एक भागका रूपमा पश्चिमी देशहरूले अन्तरिक्ष क्षेत्रमा रोस्कोसमोससँग साझेदारी तोडेका थिए ।  रोस्कोसमोस रूसमा अन्तरिक्ष गतिविधिहरूका लागि समन्वय गर्ने केन्द्र हो ।

इन्टरफ्याक्स समाचार एजेन्सीले रोस्कोसमोस एजेन्सीका उपप्रमुख आन्द्रेई येल्चानिनोभलाई उद्धृत गर्दै भनेको छ, “अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च भएको छ ।”

रोकिएको सहयोगमध्ये एक युरोपेली अन्तरिक्ष एजेन्सीसँग मङ्गल ग्रह अन्वेषणका लागि एक योजनाबद्ध संयुक्त अभियानमा सहयोग थियो ।

रोसकोसमोसले फ्रेन्च गुयानाको कोउरो अन्तरिक्ष बन्दरगाहबाट आफ्नो सोयुज रकेटको प्रक्षेपणलाई पनि स्थगित गरेको छ ।

येल्चानिनोभले एजेन्सीले एसिया, अफ्रिका र मध्यपूर्वका देशहरूसँग थप व्यापार गरेर गुमेको राजस्वको पूर्ति गर्ने योजना बनाएको बताउनुभयो ।

रुसको अन्तरिक्ष क्षेत्रले वित्तीय समस्या, भ्रष्टाचार घोटाला र सन् २०२३ अगस्टमा लुना–२५ चन्द्र मोड्युलको नोक्सानी जस्ता असफलताहरूसँग सङ्घर्ष गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया