काठमाडौंः नेपाल भ्रमण वर्ष २०२० अन्ततः पूर्ण रूपमा स्थगित भएकाे छ ।
यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित गरिएकाे नेपाल भ्रमण वर्षकाे अभियान सरकारले अब भने औपचारिक रुपमा स्थगित गरेको हो ।
मन्त्रिपरिषद्को गत चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत विघटन हुने भएको छ । सचिवालयको नेतृत्व व्यवसायी सुरज वैद्यले गरिरहेका छन् ।
सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बन्यो ।
खासगरी चिनियाँ र भारतीय पर्यटकीय स्रोत बजारलाई प्राथमिकता दिएको सरकारले यी दुई मुलुकबाट मात्र ठूलो संख्यामा पर्यटक भित्राउने योजना समेत बनाएको थियो ।
कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो । तर, कोरोना थामिनुको साटो अझ परिस्थिति जटिल बन्दै गएपछि अहिले आवातजावत बन्द भएको छ । अधिकांश देश लकडाउनमा छन् । एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउण्डेड भएका छन् ।
सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो ।
७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, भ्रमण वर्षको चौथो महिना मै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया