असार २५, २०८२ बुधबार July 9, 2025

कानुनका २८ विद्यार्थीको त्रिविले गरेन रजिस्ट्रेसन, परीक्षाबाट वञ्चित हुने

प्रवेश परीक्षा उत्तीर्ण गरी पृथ्वीनारायण र नेपाल ल क्याम्पसमा भर्ना भएका विद्यार्थीको परीक्षा फाराम अस्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः त्रिभुवन विश्वविद्यालयले रजिस्ट्रेसन नम्बर दर्ता नगर्दा कानुन संकायअन्तर्गत तीनवर्षे एलएलबीका २८ विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । नेपाल ल क्याम्पस काठमाडौंका ६ र पृथ्वीनारायण क्याम्पस पोखराका २२ विद्यार्थीको रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम अस्वीकृत हुँदा उनीहरूले परीक्षा दिन नपाउने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र कानुन संकाय डिन कार्यालयले रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम स्वीकृत गर्न अस्वीकार गरेको विद्यार्थीले गुनासो गरे । फाराम अस्वीकृत भए परीक्षामा सामेल हुन पाइँदैन ।

ती विद्यार्थी डिन कार्यालयले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेर भर्ना भएका थिए । ११ हजारभन्दा बढी शुल्क बुझाएर भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम कार्यालयले अस्वीकृत गरेको पृथ्वीनारायण क्याम्पसकी छात्रा सञ्चिता दाहालले बताइन् ।

विद्यार्थीका अनुसार पहिलो वर्षको परीक्षा दिन दोब्बर दस्तुर तिरेर आवेदन फाराम भर्ने म्यादसमेत गत साता सकिएको छ । परीक्षा दिन नपाए शुल्क, समय खेर जाने र भविष्यमाथि समेत खेलबाड हुने विद्यार्थीले बताए । परीक्षा आवेदन फाराम बुझाउने बेला रजिस्ट्रेसन नम्बर प्राप्त भएको छैन भन्दै रोकिएको विद्यार्थी इन्द्र भण्डारीले बताए । ‘त्रिविले रजिस्ट्रेसन दर्ता गरेको रहेनछ । क्याम्पसले डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयलाई रजिस्ट्रेसन दर्ता गर्न आग्रह गरेको बताएको छ । तर परीक्षा दिन पाउने/नपाउने कुनै जवाफ आएको छैन,’ उनले भने ।

स्नातक पूरा गर्नुअघि नै एलएलबीको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको रजिस्ट्रेसन दर्ता रोकेको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको क्याम्पसहरूले जनाएका छन् । एलएलबीमा जुनसुकै विषयमा स्नातक पूरा गरेका विद्यार्थीले प्रवेश परीक्षा पास गरेपछि मेरिटका आधारमा भर्ना पाउने व्यवस्था छ । विद्यार्थीले भने स्नातक तह एलएलबीको भर्नाअघि नै पूरा गरेको तर माइग्रेसन पछिल्लो मितिमा मात्र लिएको दाबी गरेका छन् ।

२०७८ सालको एलएलबीमा २०७९ असार मसान्तसम्म जुन कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी गराउन सकिने व्यवस्था डिन कार्यालयले गरेको थियो । कार्यालयले २०७८ सालको एलएलबी ब्याच सन् २०२१ को भर्ना समूह भएको भन्दै २०२२ र २०२३ मा स्नातक उत्तीर्णलाई रजिस्ट्रेसन गराउन नसकिने जनाएको क्याम्पसका प्रमुखहरूले बताए । विद्यार्थीले भने २०२१ अघि नै स्नातक तह पूरा गरेको तर प्रमाणपत्र मात्रै एलएलबीको भर्नाका बेलामा लिएकाले त्यही बेलाको मिति कायम भएको बताएका छन् । ‘स्नातक तह २०१९ मा नै पूरा गरेको हो । एलएलबीमा भर्ना हुने बेला मूल प्रमाणपत्र मागेपछि त्यति बेला मात्रै लिएको हो,’ भण्डारीले भने ।

रजिस्ट्रेसन दर्ता नहुँदा विद्यार्थीलाई गम्भीर असर परेको जनाउँदै रजिस्ट्रेसन फाराम भर्ने व्यवस्था मिलाइदिन ल क्याम्पसका प्रमुख श्यामबहादुर कार्की र पृथ्वीनारायणका सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले डिन कार्यालयलाई पत्राचार गरेका छन् ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले एलएलबीको प्रवेश परीक्षाभन्दा पछि स्नातक पास गरेको देखिएपछि विद्यार्थीको रजिस्ट्रेसन दर्ता गर्न रोकिएको बताए । ‘डिन कार्यालयबाट पुनः गुनासो आएपछि परीक्षा शाखाले विद्यार्थीको आवेदन फाराम फेरि रुजु गर्दै छ,’ उनले भने, ‘एलएलबीमा भर्ना हुनुभन्दा अघि स्नातक पास गरेको भए रजिस्ट्रेसन दर्ता गर्न मिल्छ । परीक्षा दिन पनि पाउँछन् ।’ डिन कार्यालयसँग समन्वय गरेर विद्यार्थीको समस्या समाधान गरिनेसमेत उनले बताए । प्रवेश परीक्षाभन्दा पछि स्नातक उत्तीर्ण गरेको भए रजिस्ट्रेसन कायम गर्न नसकिने जोशीले बताए ।

कानुन संकायका डिन कृष्णप्रसाद बस्यालले क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयले समस्याको समाधान खोज्नुपर्ने बताए । डिन कार्यालयले पनि विद्यार्थीको समस्या समाधान गर्न क्याम्पस र कार्यालयसँग छलफल गरिराखेको उनले जनाए । ‘प्रवेश परीक्षा पास गरेर भर्ना भएका विद्यार्थीले परीक्षा दिन नपाउने कुरा उपयुक्त हुँदैन । सबै निकाय यो समस्याबारे जानकार छन् । केही निर्णय आउँछ होला,’ उनले भने, ‘तत्कालै निर्णय गरेर निकास निकाल्नुपर्छ ।’ कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार