काठमाण्डाैंः बाढी र पहिरोबाट अति प्रभावित बनेको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्याउन नसकिएको हो ।
दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित भएका छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ स्थानीय व्यवसायीहरुले हेलिकप्टर उपलब्ध गराएकोले मात्रै यसअघि पनि राहत पुर्याउन पाइएको उनले बताए ।
पहिरोले क्षति पुर्याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखा र मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न समस्या छ । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १५० भन्दा परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ । पहिरो परी धौलागिरिमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते र चार जना अझै बेपत्ता छन् ।
पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकाहरुलाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयको आपत्कालीन सेल्टरमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरु सेल्टरमै सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् । केही स्थानीय दिनभर किरियापुत्रीको साथमा रहने त केही खेतबारीमा काम गर्ने, वस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न सेल्टरमा आउने गरेका छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया