श्रावण २५, २०८३ सोमबार August 10, 2026

डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन चिकित्सकको आग्रह

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेंगु सङ्क्रमण बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् ।

अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए ।

‘डेंगु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नुपर्दैन, डेंगुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभाबी औषधि सेवन गर्नु हुँदैन ।’

कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उनको भनाइ छ । डेंगुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने उनले बताए । डेंगु फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए ।

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेंगु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजार बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । डेंगुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहुँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम्म डेंगुको सङ्क्रमण बढी फैलने गर्छ ।

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेंगु तीव्र रूपमा फैलिएको बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनको भनाई छ । डेंगुको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उनले जिकिर गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार