असार २०, २०८२ शुक्रबार July 4, 2025

ईपीजी प्रतिवेदन बुझ्नै चाहँदैन भारत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल र भारतबीच भएका सन्धि-सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार गरेको दुई वर्ष बितिसक्दा पनि भारतीय पक्षले त्यसलाई बुझ्न आलटाल गरिरहेको छ । कहिले प्रधानमन्त्रीको व्यस्तता त कहिले चुनावको बहाना बनाउँदै भारतले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको हो ।

प्रतिवेदन टुंगो लागेको केही दिनमै कान्तिपुरसँग ईपीजीको भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले विदेश मन्त्रालयसँग छलफल चलिरहेको र चाँडै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिवेदन बुझाइने बताएका थिए । कोशियारीले त्यति बेला प्रतिवेदन टुंगिएको कुरा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराइसकेको र प्रधानमन्त्री मोदी अफ्रिकाबाट फर्केलगत्तै प्रतिवेदन बुझाउनका लागि समय मिलाउन पहल भइरहेको जानकारी पनि दिएका थिए । प्रतिवेदन बुझाउन आधा घण्टा समय पर्याप्त हुने उनको भनाइ थियो ।

ईपीजीको दुईवर्षे समयावधि २०७५ असार २० मै सकिएको हो । काठमाडौंमा बसेको ईपीजी अन्तिम (नवौं) बैठकमा दुवै पक्षका सदस्यले संयुक्त प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । अन्तिम बैठकमा दुवै मुलुकका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गर्ने तालिका तय भएको थियो । साथै पहिले भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने समझदारी थियो । तर भारतीय पक्षको अनिच्छाका कारण ईपीजी प्रतिवेदन ‘औचित्यहीन’ बन्न लागेको छ ।

प्रधानमन्त्री तहमा भएको सहमतिअनुसार नेपाल–भारतका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो । यसबीचमा ईपीजीका भारतीय पक्षका एक सदस्य बीसी उप्रेतीको निधन भइसकेको छ । भारतीय पक्षका संयोजक कोशियारी महाराष्ट्र राज्यको गभर्नर बनेका छन् । नेपाली पक्षका ईपीजी सदस्यमध्ये नीलाम्बर आचार्य भारतका लागि नेपालका राजदूत छन् भने अर्का सदस्य राजन भट्टराई प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार छन् ।

प्रतिवेदन बुझ्न ढिलाइ हुनुमा केही सुझावप्रति भारतीय सुरक्षा निकाय र विदेश मन्त्रालयको असहमतिलाई प्रमुख कारण मानिएको छ । विशेष गरी सीमा नियमनका लागि ‘परिचयपत्र’ लागू गर्ने र सन् १९५० को सन्धिमा भएको सुरक्षासम्बन्धी व्यवस्थाबारे सुझावलाई लिएर भारतीय पक्षको असहमति रहेको स्रोतको दाबी छ । सीमा नियमनका विषयमा भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको समेत विशेष चासो रहेको स्रोतको भनाइ छ । विशेषगरी बिहार र उत्तरप्रदेशको चुनावी परिणाममा सीमा नियमनले असर पार्ने बुझाइ उनीहरूको छ । तर, संयोजक कोशियारीले नै कान्तिपुरसँग युरोपका अधिकांश मुलुकमा सामान्य परिचय पत्रको व्यवस्था रहेकाले यसले दुई देशबीचको सम्बन्धमा समस्या नपर्ने जिकिर गरेका थिए ।

केही साताअघि एउटा भिडियो छलफलमा नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले ईपीजी प्रतिवेदनजस्ता दर्जनौं दस्तावेज थन्किएर रहेको बताएका थिए, जसले पनि भारतीय पक्षको बेवास्ता झल्काउँछ । सुदले भारतले अन्य मुलुकहरूसँग पनि ईपीजी गठन गरेको र त्यस्ता थुप्रै प्रतिवेदन विदेश मन्त्रालयमा रहेको खुलासा गरेका थिए । अर्का सदस्य प्राध्यापक महेन्द्र पी लामा भने भारतको विदेश मन्त्रालयमा रहेको यही मानसिकताले दुई देशबीचको सम्बन्ध बिगार्ने गरेको दाबी गर्छन् । ‘देश ठूलो र सानो हुँदैमा सार्वभौमिकता पनि ठूलो र सानो हुन्छ भन्ने सोच नै गलत छ । अमेरिका र चीनले त्यस्तै व्यवहार गरे भने भारतलाई कस्तो लाग्छ त ? अरूले आफूलाई पेल्दा चित्त दुख्छ भने आफूले पनि अरूलाई पेल्नु भएन,’ उनले भने ।

‘अहिलेको तनावका कारण दिल्ली ओली सरकारसाग तत्काल संवादका लागि इच्छुक देखिादैन, त्यसमाथि बिहारको चुनाव पनि अर्को बहाना बनेको छ ।’

केही विश्लेषक र कूटनीतिज्ञले रिपोर्ट प्रधानमन्त्री तहमा बुझाउने निर्णयले समस्या निम्त्याएको जिकिर गर्दै आएका छन् । तर लामा त्यसलाई अस्वीकार गर्छन् । उनले दुई प्रधानमन्त्रीबीच भएको सहमतिपछि ईपीजी गठन भएकाले रिपोर्ट पनि दुई जनालाई नै बुझाउने निर्णय भएको बताए । ईपीजीको सदस्यमा नियुक्तिको चिठीसमेत प्रधानमन्त्री कार्यालयबाट दिइएको उनले खुलाए । भारत सरकारले ईपीजीका भारतीय सदस्यहरूसँग छलफलसमेत गरेको छैन । ‘अरू कामको सिलसिलामा विदेश मन्त्रालयका अधिकारीहरूसँग भेटघाट भइरहन्छ तर ईपीजीको रिपोर्टबारे पछिल्ला दुई वर्षमा कुनै कुराकानी भएको छैन । यसले पनि भारत तत्काल रिपोर्ट बुझ्न र त्यसलाई कार्यान्वयनमा लैजान इच्छुक नरहेको प्रस्ट हुन्छ,’ लामाले भने ।

भारतको विदेश मन्त्रालयका पूर्वप्रवक्ता रविश कुमारले त प्रतिवेदन दुवै देशका सरकारलाई नबुझाइएकाले मोदीले बुझेनन् भन्नुको कुनै अर्थ नरहेको अनौठो धारणा राखेका थिए । तर भारतीय पक्षकै सदस्य प्राध्यापक लामा विदेश मन्त्रालयले रिपोर्ट नै बुझाइएको छैन भन्नु गलत भएको बताउँछन् । ‘हामीले रिपोर्ट तयार भयो भनेर दुई वर्षअघि नै सार्वजनिक रूपमै भन्दै आएका छौं । विदेश मन्त्रालयलाई बुझाउने निर्णय नै भएको छैन कसरी बुझाउने ? प्रतिवेदन बुझाउने नै प्रधानमन्त्रीलाई हो,’ लामाले भने ।

भारतीय प्रधानमन्त्रीलाई ईपीजीको रिपोर्ट बुझाउनका लागि पहल नगरेकामा नेपाली पक्षका सदस्य तथा हाल भारतका लागि नेपाली राजदूत आचार्यको समेत आलोचना हुँदै आएको छ । तर, राजदूत आचार्यले आफूले आफ्नो ठाउँबाट प्रयास गरिरहेको तर भारतीय प्रधानमन्त्रीसँग समय लिने जिम्मेवारी भारतीय पक्षका सदस्यहरूको रहेको बताए । ‘हाम्रा प्रधानमन्त्रीसँग समय लिने जिम्मेवारी हाम्रो हो । अहिले आफू बेग्लै भूमिकामा भएकाले दुवै पक्षका अध्यक्षहरूले त्यसका लागि समन्वय गर्नुपर्छ,’ उनले भने । ढिलो भयो भन्दैमा प्रतिवेदन नै नबुझिएला भन्ने निष्कर्षमा भने पुग्न नहुने आचार्यको भनाइ छ ।

दुईपक्षीय मामिलाका जानकारहरू नेपाल र भारतबीच पछिल्लो समय देखिएको अविश्वास र तनावका पछाडि भारतले ईपीजी प्रतिवेदन नबुझ्नु पनि एउटा प्रमुख कारण रहेको जिकिर गर्छन् । भारतीय पक्षका सदस्य लामा स्वयं पनि उक्त भनाइसँग सहमत देखिन्छन् । उनले ईपीजीको प्रतिवेदन कार्यान्वयनमा गएको भए दुई देशबीच अहिलेको जस्तो तनावको सम्भावना नै नरहेको दाबी गरे । ‘ईपीजी बुझेर सार्वजनिक भएको भए त्यसले दुई देशबीच बेग्लै विश्वास र न्यानोपन ल्याउँथ्यो,’ उनले भने ।

लामाको भनाइसँग नेपाल पक्षका संयोजक भेखबहादुर थापाको पनि मतैक्य छ । ‘ईपीजी कार्यान्वयन भएको भए अहिलेको अवस्था नै आउँदैनथ्यो । समस्या तत्काल नसुल्झिए पनि हामीले सम्बोधनका लागि विस्तृत खाका प्रस्तुत गरेका थियौं, सम्बन्धको स्वरूप नै बेग्लै हुन्थ्यो,’ उनले भने । तर अब भारतले नचाहेसम्म आफूहरूसँग पर्खनुको विकल्प नरहेको उनको भनाइ छ ।

भारतको विदेश मन्त्रालयअन्तर्गतको थिंक ट्यांक आईडीएसएका फेलो निहार नायकले दुई देशबीचको पछिल्लो तनाव र आगामी बिहार चुनावका कारण पनि भारतीय पक्ष त्यसका लागि इच्छुक नरहेको बताए । ‘अहिलेको तनावका कारण दिल्ली ओली सरकारसँग तत्काल संवादका लागि इच्छुक देखिँदैन, त्यसमाथि बिहारको चुनाव पनि अर्को बहाना बनेको छ । त्यसैले रिपोर्ट चाँडै बुझ्ने सम्भावना देखिँदैन,’ नायकले भने ।

नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनीलगायतका विज्ञले ईपीजीको गठन दुवै देशबीच रहेका असमझदारी र मुद्दालाई सुल्झाउनभन्दा पनि देखाउनका लागि गरिएकाले प्रतिवेदनले यस्तो नियति भोग्नु स्वाभाविक रहेको तर्क गर्छन् । ‘केही विषयमा भारतलाई अप्ठ्यारो छ, केहीमा नेपाललाई अप्ठयारो छ । त्यसैले बाहिर जे भने पनि यसको कार्यान्वयन दुवै पक्ष चाहँदैनन्, सम्बन्धमा अलि चिसोपन आएका बेला ईपीजी देखाएर थामथुम पारियो, अब अहिले ओली र मोदीलाई किन चाहियो,’ मुनीले कान्तिपुरसँग भनेका थिए । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार