श्रावण २५, २०८३ सोमबार August 10, 2026

एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार

म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट आठ हजार जनालाई सेवा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती शिविरबाट १७ हजार बढी पशुलाई उपचार सेवा प्रदान गरेको छ । गाउँपालिकाले गत असोज ६ गतेदेखि कात्तिक १२ गतेसम्म सातवटै वडामा गरेको शिविरबाट १७ हजार एक सय ९४ पशुलाई उपचार सेवा प्रदान गरेको हो ।

शिविरबाट पशुलाई परजीवीको उपचार र नियमित रूपमा खुवाउनुपर्ने जुका, माटेको औषधि खुवाइएको पशु सेवा शाखाका पशु चिकित्सक डा विनय शाहले जानकारी दिए । शिविरमा कुकुर, बिरालोलाई रेबिज विरुद्धको खोपसमेत लगाइएको थियो भने गोबर परीक्षण, बन्ध्याकरण सेवा प्रदान गरिएको शाहले बताए । शाहका अनुसार शिविरमा एक हजार तीन सय ३३ कृषक लाभान्वित भएका छन् ।

शिविरमा तीन सय ७७ गाइगोरु, छ सय ३३ भैँसी, पाँच हजार छ सय ८० बाख्रा, पाँच सय १८ सुङ्गुर/बङ्गुर, नौ हजार आठ सय २६ कुखुरा, एक सय ४१ कुकुर बिरालो र १९ हाँसलाई उपचार गरिएको शाहले बताए ।

शिविरमा ५१ कुकुर र दुई बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ भने ७८ पशुको गोबर परीक्षण र एक सय २० पशुको बन्ध्याकरण गरिएको डा. शाहले बताए ।

डा. शाहले भने, “पशुको उपचारका लागि कृषकले गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने अवस्था थियो । गाउँपालिकाले प्रत्येक वडामै पुगेर कृषकलाई सेवा दिँदा उहाँहरुलाई सहज भएको छ ।”

आठ हजारलाई सेवा

म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट आठ हजार जनालाई सेवा प्रदान गरिएको छ । वडास्तरमै पुगेर एकीकृत सेवा दिने उद्देश्यसहित आयोजित शिविरमा सातवटै वडाका गरी आठ हजार बढीलाई सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गत असोज ६ गतेदेखि सुरु भएको शिविर कात्तिक १२ गते सकिएको छ ।

सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले घरदैलोमा पुगेर सेवा दिएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पञ्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व संकलनलगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरू सहज तरिकाले जनतासामु पुर्‍याउने उद्देश्य अनुसार एकीकृत घुम्ती शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “जनतालाई पालिकासम्म आउन नपरोस् भनेर वडास्तरमै पुगेर सेवा दियौँ । एकीकृत घुम्ती शिविर सफल भएको छ ।”

शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण भिडियो एक्सरेसहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कृषितर्फ उन्नत जात बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग संकलन, पशु सेवातर्फ बिरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधि वितरण, गोवर परीक्षण, कुकुर बिरालोहरूलाई रेबिज विरुद्धको खोप सेवा प्रदान गरिएको छ ।

पञ्जिकरण सेवातर्फ जन्म दर्ता, बसाइसराइ, विवाह दर्ता, मृत्यु दर्ता, सामाजिक सुरक्षालगायत विभिन्न सिफारिसहरू, उद्योगतर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलब्ध गराइएको अधिकारीले उल्लेख गरे ।

वडा नम्बरको १ को बाख्रे, बच्र्याङ, गुणादी, वडा नम्बर २ को गुन्जरा र पार्टीचौर, वडा नम्बर ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नम्बर ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश मावि, वडा नम्बर ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटार, वडा नम्बर ६ को सर्वलाङ, रत्न मावि, तिलाहार, गाउँस्वारा र अकला सामुदायिक भवन र वडा नम्बर ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा शिविर सञ्चालन गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण २५, सोमबार
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
२०८३ श्रावण २५, सोमबार
प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय
२०८३ श्रावण २५, सोमबार