श्रावण २५, २०८३ सोमबार August 10, 2026

अस्पतालमा हट्यो पानीको समस्या

पानीको सुविधा राम्रो भएसँगै डायलासिस सेवा लिने बिरामीका लागिसमेत धेरै सुविधा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत (कुस्मा), कात्तिक २० गते । पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको साढे तीन दशकदेखिको पानीको समस्या हटेको छ । कुनै बेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य उपचारमा नै समस्या बेहोर्नु परेको अस्पतालले यतिखेर भने पानीको अभाव झेल्नु परेको छैन ।

खानेपानी योजना सफल भएपछि अस्पताल हाताभित्र रहेको एक लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की भरिएको छ । अस्पतालमा दैनिक खानेपानीको खपत १८ हजारदेखि २० हजार लिटर हुने गरेको छ ।

करिब ५० लाख निर्माण लागतको खानेपानी योजनाको काम थालनी भएको चार महिनामै आधा मात्रै बजेट करिब २५ लाख लगानीमा नै सम्पन्न गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार गत चैतबाट काम सुरु गरी असारमा सम्पन्न भएको खानेपानी योजना केही समय परीक्षणकालमा रहे पनि अहिले भने पानीको प्रवाह नियमित रहेको छ । खानेपानी योजना सम्पन्न गर्नका लागि बजेटको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट भएको थियो । सम्भवतः गण्डकी प्रदेशमै पर्वत जिल्ला अस्पताल पहिलो होला, जसले आफ्नै खानेपानीको योजना सफल बनाएर पानीको आपूर्तिसमेत गरिसकेको छ ।

नियमित पानीको सुविधाकै कारण अस्पतालको सरसफाइसहित स्वास्थ्य सेवा सहज बनेको छ । एक वर्षअगाडिसम्म अस्पतालले ट्याङ्करमार्फत वार्षिक पाँचदेखि छ लाख रकमसम्म पानी खरिदका लागि खर्चिनुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. हेमन्त बाँस्तोला बताउनुहुन्छ । १५  शय्याको जिल्ला अस्पतालले अहिले ५० शय्या राखेर बिरामीलाई स्वास्थ्य सेवा दिइरहेको छ ।

पानीको योजना सफल भएसँगै अस्पतालको दैनिक स्वास्थ्य सेवासमेत प्रभावकारी हुने विश्वास व्यक्त गर्दै डा. बाँस्तोला भन्नुहुन्छ, “अस्पतालमा सरसफाइ महत्वपूर्ण हुन्छ । सरसफाइका लागि नभई नहुने पानीको अभावले अस्पतालमा रोगको सङ्क्रमण फैलने खतरासँगै र स्वास्थ्य सेवासमेत प्रभावित रहेको अवस्था थियो । अहिले पानी आपूर्ति सहज हुँदा धेरै राम्रो छ । पानीको स्रोतका लागि पहल गर्ने अस्पताल सञ्चालक समितिको नेतृत्व, स्थानीय वडाका जनप्रतिनिधिसहित सरोकारवाला सबैको साथले नै योजना समयमा सफल भएको हो ।”

अस्पतालले गत वर्ष ५८ हजार ६२६ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा यस आर्थिक वर्षको साउन, भदौ र असोजमा स्वास्थ्य सेवा लिने बिरामीको सङ्ख्या २० हजार ७४ रहेको छ । पानीको सुविधा राम्रो भएसँगै डायलासिस सेवा लिने बिरामीका लागिसमेत धेरै सुविधा भएको अस्पतालको भनाइ छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको सङ्ख्या अहिले २६ रहेको छ । डायलासिसका लागि चाहिने शुद्ध पानी निकाल्ने रिआरओ प्लान्टका लागि मात्रै दैनिक आठदेखि १० हजार लिटरको आवश्यकता पूरा गरिएको छ ।

कालीगण्डकी किनारभन्दा केहीमाथि गोपाङघाटमा रहेको मूलबाट निस्कने पानीलाई करिब सात हजार लिटर बराबरको ट्याङ्कीमा सङ्कलन गरिएको छ । सङ्कलित पानी आठ सय मिटर लम्बाइको पाइपमार्फत मोटरले तानेर अस्पतालको ट्याङ्कीमा खसालिएको छ ।प्रनिश गिरी/गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण २५, सोमबार
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
२०८३ श्रावण २५, सोमबार
प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय
२०८३ श्रावण २५, सोमबार