मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल

अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, ७ मङ्सिर : आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो ।

“अबचाहिँ उपचारै नपाएर मरिन्न होला”, महोत्तरीको बर्दिबास–२ की सङ्गीता मुखिया भन्नुहुन्छ, “अस्पतालमा बिरामीले राम्रो वास्ता पाउँछन्, बर्दिबास अस्पतालको उपचार सेवाबारे विश्वास र भरोसा बढेको छ ।”

विसं २०६४ मा स्थापित यो अस्पतालले क्रमशः सेवा विस्तार गर्दै गएपछि सेवा लिने निकै बढेका छन् । एकताका नजिकमै अस्पताल भए पनि उपचार पाउने/नपाउने संशयले बाहिर उपचार गर्न जाने सर्वसाधारण अब यहीँ उपचार लिन थालेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा अस्पतालले २७ हजार ७१ जनालाई उपचार सेवा दिएको अस्पताल सेवा मेडिकल सुपरिटेण्डेण्ट डा सुदीप ठाकुरले बताउनुभयो । जसमा एक हजार पाँच सय ४९ सुत्केरी सेवा लिएका छन् । जसमध्ये चार सय ९६ जनाले शल्यक्रियाका माध्यमबाट सुत्केरी सेवा लिएका डा ठाकुरले स्पष्ट पार्नुभयो । उपचार सेवा लिने सेवाग्राहीमध्ये २३ हजार दुई सय ९८ जनाले ओपिडी सेवा लिएका छन् । खासमा सुत्केरी सेवाको कुशल व्यवस्थापनले अस्पतालको सेवाबारे राम्रो सन्देश प्रवाह भएको बर्दिबासका बारनचौडीका विदुर काफ्ले बताउनुहुन्छ ।

अस्पतालले आर्थिक वर्ष २०८१/८२ का बितेका चार महिना (साउनदेखि कात्तिकसम्म) ११ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने चार सय माथि पुगेका छन् । शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै सङ्ख्या यो चार महिनाको अवधिमा एक सय ८५ छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको बर्दिबास–२ का गायत्री उपाध्याय बताउनुहुन्छ ।

सुरुमा १५ शय्याको यो अस्पतालले सेवा विस्तार गर्दै अहिले ५० शय्याबाट सेवा दिँदैछ । अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा छन् । यसैगरी ओपिडी सेवामा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी (शल्यक्रिया), इण्टरनल मेडिसिन र एमडीजिपी उपचार दिइरहेको डा ठाकुरको भनाइ छ ।

अस्पतालले सामाजिक सुरक्षा सेवा स्थापना गरी यसअन्तर्गत विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिलाई बर्दिबास नगरपालिकाको सिफारिसमा निःशुल्क र विशेष छुटमा उपचार सेवा दिने गरेको छ ।

सेवा विस्तार गरिँदै लगिएपछि अस्पतालमा बर्दिबास नगरक्षेत्रबाहेक जिल्लाकै औरही र भङ्गाहा नगरपालिका छिमेकी जिल्ला धनुषाको मिथिला तथा सर्लाहीको ईश्वरपुरसम्मका बिरामी उपचार लिन आउने गरेका अस्पतालले जनाएको छ । यसबाहेक सिन्धुलीको दुधौली नगरक्षेत्रका बिरामी पनि यहाँ उपचार लिन आउने गरेका छन् । बर्दिबास नगरपालिकाकै जनसङ्ख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ७४ हजार ती सय ६१ जना छ । यो र छिमेकका अन्य स्थानीय तहका गर्दा करिब दुई लाख जनाले यो अस्पतालको सेवा सम्पर्कमा रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ ।

अस्पतालमा हाल पाँच विशेषज्ञसहित १५ जना चिकित्सक, विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी ७५ जना र अन्य प्रशासनिक सेवासहित एक सय १० जना कार्यरत रहेका अध्यक्ष शर्माको भनाइ छ । बर्दिबास नगरपालिकाले नगरसभाबाटै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुँदा अस्पतालको सेवालाई अझ विस्तार गरिँदै गुणस्तरीय भरपर्दो बनाइँदै लगिने नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउनुहुन्छ । उपचार प्रबन्धले यो अस्पतालले मधेसभरिकै नगर अस्पतालमा उत्कृष्ट स्थान पाएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार