असार २०, २०८२ शुक्रबार July 4, 2025

भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो ।

लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ ।

पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ ।

मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्ने यात्रुहरूको विवरण राखिएको छैन । जसले गर्दा यात्रुमध्ये कुनै व्यक्तिलाई संक्रमण भइहाले वा संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट टे«सिङ थप जटिल हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले थप चुनौती देखिएको बताए । उनले भने, ‘अब स्वयं व्यक्ति सचेत हुन जरुरी छ । सार्वजनिक सवारीसाधनमा चढेकाहरू सबैको परिचय खुलेको पनि हुँदैन । हिँडडुल गर्दा मास्कको समुचित प्रयोग गर्नैपर्छ । यस्तै, साबुनपानीले हात धुने र हातले मुखनाक आँखा छुनुहुँदैन ।’

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले जोखिम कम गर्न जनस्वास्थ्य मापदण्डअनुसार सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘सार्वजनिक सवारीसाधनमा चढेका यात्रुहरूको रेकर्ड राख्ने प्रणाली छैन । कसैले कसैलाई चिनेको पनि हुँदैन त्यसैले पनि कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिन्छ । जसका कारण जोखिम बढ्न सक्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहोनीका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन, महानगरपालिकामा पाँच जनाका दरले कर्मचारी खटाइएको छ । तर, हालसम्म अधिकांश पालिकामा सो निर्णय कार्यान्वयन गरिएको छैन । हालसम्म संक्रमितको सम्पर्कमा आएकाहरूमध्ये कन्ट्याक्ट ट्रेसिङ भएकाहरूको तथ्यांकसमेत स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।

शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रति १० लाखमा ११ हजार ४ सय ९० जनाको कोरोना परीक्षण हुँदै आएको छ ।

काठमाडौं उपत्यकामा ४०८ संक्रमित

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४ सय ८ पुगेको छ । काठमाडौंमा २ सय ७६, ललितपुरमा ८१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर १८ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । ३ लाख ३५ हजार दुई जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर १९ हजार ४ सय ४४ जना क्वारेन्टिनमा छन् ।

संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८३ पुगेको छ । संक्रमितमध्ये ४४ जनाको मृत्यु भएको छ ।

वीरगन्जमा थप एक संक्रमितको मृत्यु भएको हो । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगन्ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उनी मुटु रोगबाट पीडित थिइन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार