चैत्र १३, २०८१ बुधबार March 26, 2025

कुनै पनि व्यक्तिको पदीय हैसियत देखाएर छानबिन प्रभावित पार्ने गर्नुहुँदैन : नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

सरकारको गति हेर्दा यसले लामो समयसम्म प्राण धान्ला भन्ने देखिदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री केपी ओली चीन गएर आउनुभयो, भारत जाने चर्चा सुनिन्छ । नेपालमा प्रधानमन्त्रीले यी दुई देश जाने, अनि सरकार पनि त्यसैको सेरोफेरोमा परिवर्तन हुने हल्ला चलिरहन्छ नि ? 

नेपालको प्रधानमन्त्री बनिसकेपछि, पहिले भारत अनि चीन भ्रमण गर्नैंपर्छ, नगरे प्रधानमन्त्री असफल भयो, छिमेकीले सकारात्मक लिएनन् भन्ने जुन प्रकारको सोच नेपालमा छ, त्यो नै गलत छ ।

हाम्रो आवश्यकताअनुसार छिमेकी वा मित्रराष्ट्रको भ्रमण गर्ने हो। उहाँहरूले पनि निम्ता गर्ने, उहाँहरूलाई पनि निम्ता गर्ने हो । प्रधानमन्त्रीको सफलताको मापदण्ड केलाई मान्ने भन्ने नै अनुचित छ ।

त्यसैले चीन जाने बेलामा प्रधानमन्त्रीलाई हामीले शुभकामना दियौं। भारतमा पनि भ्रमण गर्ने रुचि छ भने उहाँ गएर सद्भाव बढाउने, केही गुणात्मक रूपमा सार्थक बनाउने काम गर्नुहोस् । यसमा बढाइचढाइ आवश्यक छैन ।

तपाईंको पार्टी अध्यक्ष प्रचण्डले हिजोआज प्रधानमन्त्री ओलीबाट चिनियाँ कार्ड खेलियो, अब कोर्स परिवर्तन भन्दै हुनुहुन्छ, त्यसको साइनो छ ? 

चाइना कार्ड एउटा मिडिया अन्तवार्ता क्रममा बोलिएको भनेर आयो। हामीले पनि यसमा कुराकानी गर्यौं । पार्टीमा अध्यक्षले दिनुभएको जानकारीअनुसार त्यसो भन्न खोजिएको होइन ।

छिमेकी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध राख्नुपर्छ । मैले नेपालले स्वतन्त्र राष्ट्रका रूपमा विदेश नीति कसरी चलाउनुपर्छ, कसरी आफ्नै बुतामा उभिनुपर्छ भनेर नीतिगत कुरा गरेको हुँ, मैले त्यसो भन्न खोजेको होइन भन्नुभयो ।

अनि कोर्स परिवर्तनको कुरा चाहिँ ? 

मैले यो कुरा आफैंले सुनेको त छैन। तर, सरकारको मात्रै नभई युगान्तकारी परिवर्तनपछि राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् । त्यसैले कोर्स परिवर्तनबाट आमजनतालाई त्यसको लाभ दिऊँ भन्ने हो। अरू कुरा त मैले बुझेको छैन ।

माओवादी यस अघि एमाले र कांग्रेससँग पालैपालो सहकार्यमा थियो। अब कोर्स परिवर्तनको कुन नयाँ फर्मूला ल्याउँदैछ ? 

२०७९ को चुनावका बेला नै पार्टीभित्र छलफल भएको थियो-प्रतिगमन मुर्दावाद मात्रै भनेर पुग्दैन । हामी परम्परागत लोकतन्त्रमा फस्ने खतरा छ । यस्तो अवस्थाको वास्तविक कारण पहिचान गरौं।

जनताले ऐतिहासिक परिवर्तनबाट खोजेको आर्थिक, सामाजिक उपलब्धि नपाउँदा अराजकता र आक्रोशमा पुग्ने खतरा पनि छ । व्यवस्था जोगाउने पनि जनताले नै हो । उनीहरूमा नै निराशा बढ्यो भने अराजकतावादीले फाइदा उठाउछन् ।

आर्थिक विकास तीव्र पार्ने बित्तिकै जनतामा आशा जाग्छ । अहिले सन्तोषजनक काम भएको छैन, त्यसलाई सन्तोषजनक बनाउँ । नेपाल जस्तो देशमा समृद्धि प्रक्रिया तीव्र पार्न भ्रष्टाचार प्रभावकारी रूपमा नियन्त्रण गर्ने, राज्य लुट्ने वर्गलाई कारवाही गर्ने हो ।

त्यसैले सुशासन पहिलो शर्त भयो, नेपालको विकासमा । उत्पादक शक्तिको विकास, स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने काम दलाल पूँजीवादबाट हुँदैन । अरू देशमा  जस्तो भ्रष्टाचार विरुद्ध बोले जस्तो सामान्य सुशासनको कुरा होइन, नयाँ दलाल नोकरशाही पूँजीवादमाथिको आक्रमण तेज गर्ने बित्तिकै सुशासनको अभियान अघि बढ्छ ।

उच्च तहका नेता, कर्मचारी, ठूला दलाल र धनाढ्यले सजिलो उपायबाट पैसा कमाउने, राज्य लुट्ने गरे । लगानी उत्पादन बढाउन, रोजगारी वृद्धि हुनेमा गरेकै छैनन् । त्यसैले नेपालको विकास गर्न राष्ट्रिय पूँजीको विकास गर्ने, अनि दलाल नोकरशाही पूँजीवादमाथि आक्रमण गर्ने यो अभियानलाई कोर्स परिवर्तन भनेको हो ।

तपाई प्रचण्ड सरकारको गृहमन्त्री छँदा सहकारी ठगीमा तथ्य-प्रमाण जुटाएर कारबाही गरौं भन्नुभयो, तर तपाईंको मन्त्रालय नै बदलियो । अहिले संसदीय समितिको प्रतिवेदनले पनि त्यही निष्कर्ष निकाल्दा किन तपाईंको पार्टी अध्यक्षले बेग्लै टिप्पणी गर्न थाल्नु भएको हो ? 

यसमा बेग्लै टिप्पणी भन्दा पनि हाम्रो पाटी र मेरो स्पष्ट दृष्टिकोण छ । कुनै पनि व्यक्तिको पदीय हैसियत देखाएर छानबिन प्रभावित पार्ने गर्नुहुँदैन । सम्बन्धित जसको पनि छानबिन हुनुपर्छ । कुन निष्कर्ष निकाल्छ, प्रतिवेदनको त्यो सत्य समाएर कारबाही वा सफाइको स्थिति हुनुपर्छ ।

तर, अनुसन्धानै गर्न मिल्दैन, वा गरे पनि पहिल्यै निष्कर्ष निकाल्ने गर्नुहुँदैन । राजनीतिक भेदभाव पो अलिक भयो कि ? किनभने कांग्रेस र एमालेका ठूला मान्छे जो ठगीमा संलग्न छन्, सरकार उनीहरूलाई कारबाही गर्नतिर गएन ।

रविलाई नगर भनेको होइन, अरूलाई भेदभाव किन गर्यो भनेको हो । स्वच्छ तरिकाले अनुसन्धान गरे हुन्छ । राति लैजाने किन ? भोलिपल्ट लगे भइहाल्थ्यो । जोसुकैलाई अनुसन्धान गर, तर स्वच्छता राख ।

तपाईंहरूले थालेका कारबाही त अहिले पनि निरन्तर नै छन् होइन ?

सबै छैनन् । मिडियाले खबरदारी गरेपछि केही कारबाही, लोकलाजका लागि भएका छन् । भ्रष्टाचारी खोज्दा आफ्ना समेत व्यक्ति पर्लान् भनेर शतर्क भएको पनि देखिन्छ । मूलभूत रूपमा हाम्रो सुशासन अभियानलाई यो सरकारले निरन्तरता दिएन ।

बालकृष्ण खाँण, टोपबहादुर रायमाझी जस्ता ठूला नेता नै पर्दा त कांग्रेस- एमालेको विरोध आएको थिएन, तर बेचन झा वा अर्को व्यक्ति देखाएर किन सत्तापलट कै आरोप लगाउनुभयो ? 

बेचन झा सानो कि ठूलो भन्नुभन्दा घटनाका श्रृंखला र उनको कनेक्सन हेर्नुपर्छ । बेचन झालाई कारबाही चलाउने निर्णय म गृहमन्त्री हुँदा उनी कहाँ छन् ‘भनेर लोकेट गर्यौं  । ल्याउन प्रयास गयौं, तर ल्याउने सक्ने अवस्था बनेन ।

किन बनेन ? 

किनभने ल्याउन दिइएन भनौ न । परस्पर समझदारी छ, आफूले पक्राउ पर्नुपर्ने भनेर मुद्दा लगाएका अभियुक्तबारे दुई देशले सुपुर्दगी सन्धि भए पनि आपसी समझदारीका आधारमा काम गर्ने गरिएको छ। तर, त्यो भएन। अर्को भूमिमा भएका व्यक्ति सरकारले ल्याउन सकेन । तर, सहयोग प्राप्त भएन ।

भारतीय पक्षबाट ? 

यसरी मनौ- नेपाल भूमिमा उनी थिएनन्। उनी अर्को देशमा थिए, तर त्यहाँबाट नेपाल ल्याउन सहयोग प्राप्त भएन । त्यसैले यो मुद्दामा बेचन सानो कि ठूलो भन्ने भएन । त्यस्तै अर्को सरोकार धितोपत्र बोर्डको पनि थियो। त्यहाँ पनि हामीले सफा नियत देखेनौं । अहिले मीनबहादुर गुरुङजीको कुरा चलेको छ ।

उहाँ व्यक्तिगत रूपमा सज्जन जस्तो देखिनुहुन्छ । तर, सरकारले मित्रता रं माया प्रेमका आधारमा काम गर्न सक्दैन । उहाँलाई हामीले ललिता निवास प्रकरणको मूल योजनाकारका रूपमा सीआईबीले देखाएको व्यक्ति भनेर चिनेका छौं। विशेष अदालतले दुई वर्ष कैद र विगो तोक्यो ।

त्यसपछि उहाँहरू सर्वोच्च अदालत जानुभयो, त्यो विचाराधीन थियो। हामीले चलाएको अर्को मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सम्माननीय प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले गरिखाने मान्छेलाई गर्न दिएन भन्नुभयो ।

प्रधानमन्त्रीले यसो भन्न मिल्दैन । दान भनेर एक अर्ब पर्ने जग्गा लिनुभयो । कोशीको प्रदेश सरकार मन्त्रीको विषयः रोजगारी नपाएका युवालाई लगिदिन्छु भनेर पैसा टिकट दुवै लिने काम गर्नुभयो । जापान सरकारले सन्देहास्पद भनिसकेपछि पनि क्लिनचिट दिइयो ।

तर, अदालत नै संलग्न भएर त्यसमा आदेश गरिदियो होइन ? 

कुरा अदालतको होइन, मीनबहादुरको हो ।

अदालतले दान लिए फरक पर्दैन भन्ने आशयमा बोल्यो त ? 

यो अदालतले भन्नुपर्ने विषय होइन । राजनीतिक नैतिकतासँग जोडियो । संसद्मा ठूलो छलफलको विषय हो, यो । सामान्यतया संसदमा समेत अदालतको विषयमा बोल्न पाइन्न । तर, यहाँ दोषी ठहरिएर दुई वर्ष कैद ठहरेको व्यक्तिलाई प्रधानमन्त्रीले संसद्मा बोलेर सफाइ दिनुभयो । प्रवृत्ति सुशासन अभियानलाई निरन्तरता दिने होइन, रोक्ने देखियो ।

प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने, अरूलाई पनि गर्न नदिने भन्नुभएको छ, कसैलाई लिनु वा दिनु नपर्ने भन्नुभएको छ ? 

उहाँले भनेर हुने भए त ग्याँसका पाइप, पानीजहाज, रेलको टिकट भन्नुभयो । शब्दमा होइन, आचरणमा देखिनुपयो नि ! हामीले व्यवहार हेरेर विश्लेषण गरेका छौं।

तपाईंलाई विगतमा वाम एकताको एक सूत्रधार भनेर चिनिन्थ्यो ! अब तपाईं नि एकताको आश मार्दैं हो ?

नेपालमा वामपन्थी जनमतको बाहुल्यछ । नेपालका पछिल्ला परिवर्तनमा वामपन्थी जनमत नै निर्णायक थिए।

यो संविधान कार्यान्वयन गरेर समाजवाद उन्मुख सामाजिक, आर्थिक रूपान्तरण गर्ने काममा हिजो पनि लाग्यौं, आज र भोलि पनि लाग्छौं । वाम एकताको ढोका खुला छ, तर तत्काल व्यावहारिक रूपमा मैले सम्भव देखेको छैन । कतिपय वाम शक्तिसँग चाहि कुरा हुन्छ फेरि ।

वाम मतलब विगतमा भएको एमाले माओवादी एकता वा सहकार्य अब के हुन्छ ?

भन्नाले वाम नाम राखेर काम गरेकालाई पनि बुझौं न । पहिले पनि सोचेका हौं। एमालेसँग चाहि व्यावहारिक प्रश्न अझै छ ।

एमालेसँग सत्ता सहकार्य चाहिं कतिको सम्भव छ ?

अहिले त्यो पनि मैले देखेको छैन । त्यतातर्फ माओवादीले सोचेको छैन ।

कांग्रेस र एमालेको सहकार्य कति लामो जाला ?

हेर्दै जाऊँ । हामी सरकारबारे त्यति सोचिराखेका छैनौं । पार्टी निर्माणको काम केन्द्रमा राखेर घनीभूत गर्ने भन्ने छ । जनतामा जाने, देशको परिस्थिति बारे सूचित गर्ने, जागृत गर्ने, मुद्दा उठाएर सशक्त अघि बढ्ने हाम्रो प्राथमिकता हो । सहकार्य कतिसम्म जाला भन्ने त उहाँहरूको व्यवहार हेरौं न !

तर, प्रधानमन्त्री ओली चीनबाट फर्केपछि नेतृत्वको बारेमा अनेक कोणबाट छलफल सुरु भइरहेको बारे तपाईं बेखबर त हुनुहुन्न नि ?

मैले अब… त्यस्तो नजिकबाट हेरेको छैन । हामी त सरकारका बारेमा नसोचौ है भनेर त्यति धेरै हेरेका छैनौं। उहाँहरूको अवस्था बारे भन्ने र गर्ने अवस्थामा हामी छैनौ ।

तर, तपाईंको पार्टी अध्यक्ष प्रचण्डले बीचमा म्याजिक नम्बर भन्न बिर्सनु भएको थियो, फेरि भन्न थाल्नु भएको छ होइन ?

त्यो त अध्यक्षसँगै सोध्नुपर्छ कुन सन्दर्भमा भन्नु भएको हो भनेर । तर, हामी चाहिं सरकार कसरी ढाल्ने, कसरी सरकारमा जाने भन्नेमा छैनौं । हाम्रो प्राथमिकता अर्कै छ ।

तर, पार्टी अध्यक्षको सोच र अभिव्यक्तिको शृंखला यसैको वरिपरि छ त आजकाल ?

यो सरकारले देश चलाउन सकेन, देशले सरकार धान्न सकेन, हाम्रो पार्टीले सरकारमा गएर सुशासन, समृद्धि, सामाजिक न्याय बारे जो महसुस गरेको छ, यो गति मन्द भयो भन्ने छ । भोलि आवश्यकता भयो भने त्यस्तो प्राथमिकता कार्यान्वयन कसरी गर्न सकिएला भनेर सोच्न सकिन्छ । अहिले सोचिएको छैन ।

ओली र देउवा चुनावसम्म सँगै जाने सम्भावना देख्नुहुन्छ ?

सरकारको गति हेर्दा यसले लामो समयसम्म प्राण धान्ला भन्ने देखिदैन । जनताले प्रश्न गरिरहेका छन् । हामी चुनावसम्म सँगै लैजाउन् भन्नेमै हो, हामी प्रमुख प्रतिपक्षी बन्ने भन्नेमै हो ।  राष्ट्रवाणीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया