असार २४, २०८२ मंगलबार July 8, 2025

प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि बहस नै स्थगित

बिनाकारण आफूलाई प्रतिवादी बनाइएपछि ८० वर्षीय ज्येष्ठ नागरिक कृष्णबहादुरले आँसु झार्दै आफू निर्दोष रहेको बिलौना गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । कास्की जिल्ला अदालत इजलासमा मंगलबार थुनछेक बहस चल्दै गर्दा प्रतिवादी एक्कासि रुन थालेपछि कार्यालय समयअगावै बहस स्थगित गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा हिरासतमा रहेका ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङले आफू ‘यहीँ मर्न सक्ने’ अभिव्यक्ति दिए । सोक्रममा उनकी छोरी पूर्वसांसद मीना गुरुङसमेत रुन थालिन् । वातावरणमा सन्नाटा छायो र बहस स्थगित भयो ।

पोखरा महानगरपालिका–१२ रानीपौवा निवासी कृष्णबहादुर बेलायती पूर्वसैनिक हुन् । कृष्णबहादुर र मीना गुरुङ दुवैलाई सहकारी ठगी अभियोगमा प्रतिवादी बनाइएपछि उनीहरू कास्की प्रहरी हिरासतमा छन् ।

हाल हिरासतमा रहेका सात जना प्रतिवादीमध्ये सूर्यदर्शन सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको मात्र बयान बाँकी रहेकामा मंगलबार उनको बयान लिइएको थियो । दिउँसो २ बजेसम्म उनको बयान सकिएपछि खाजापछि थुनछेक बहस सुरु भयो ।

यत्तिकैमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले प्रतिवादीहरूको नाम लिनेक्रममा कृष्णबहादुर गुरुङको पनि नाम आयो । बिनाकारण आफूलाई प्रतिवादी बनाइएपछि ८० वर्षीय ज्येष्ठ नागरिक कृष्णबहादुरले आँसु झार्दै आफू निर्दोष रहेको बिलौना गरे । उनले आफू इजलासमै मर्न सक्ने बताए । बाबु–छोरी एक्कासि रुवावासी गर्न थालेपछि कार्यालय समय नसकिँदै प्रतिवादीहरूका तर्फबाट थुनछेक बहस स्थगित गरिएको थियो ।

मुटुका बिरामी कृष्णबहादुर अस्पतालमा उपचाररत छन् । उनकी छोरी ६३ वर्षीया मीना गुरुङ २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसद हुन् । भूपू गोर्खाको परिवारमा हुर्के बढेकी वरिष्ठ सौन्दर्यकर्मीसमेत रहेकी मीना सहकारीकी पूर्वउपाध्यक्ष हुन् । उनलाई गत ९ पुसमा कास्की प्रहरीले उनकै निवास पोखरा महानगरपालिका–१२ रानीपौवाबाट नियन्त्रणमा लिएको थियो । हालै मात्रै बेलायतबाट पोखरा आएका उनका बाबु त्यसअघि नै पक्राउ परिसकेका थिए ।

२०६५ सालमा पोखरामा सूर्यदर्शन सहकारी खोल्दा ज्ञानबहादुर बमजनलगायतको अनुरोधमा तदर्थ समितिमा रहेकी मीना पछि उपाध्यक्षको भूमिकामा थिइन् । सो सहकारीमा पछि जोडिएका गीतेन्द्रबाबु (जीबी) राईलगायतका व्यक्तिहरूले रकम खाने पचाउने नियत राखेपछि उनले तत्कालै सहकारी रजिस्ट्रार कार्यालयमा राजीनामा बुझाएर बाहिरिएकी थिइन् ।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रतिवादी बनाइएका उनीसहित ज्ञानबहादुर बमजन, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, लीलाबहादुर गुरुङ, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र रीतु गुरुङको प्रहरी अनुसन्धानमा ५३ लाख ७६ हजार रुपैयाँ दायित्व कायम हुने देखाइएको छ ।

त्यसो त, सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा हालसम्म कुल ६३ प्रतिवादी कायम गरिएको छ । तीनवटै मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने गत २ कात्तिक र गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी गत ६ असोजमा पक्राउ परेका हुन् ।

रवि, जीबीसमेत गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङ गरी सात जना प्रतिवादीको बयान मंगलबार सकिएपछि थुनछेक बहस सुरु भएको छ ।

अब यही शुक्रबारसम्म थुनछेक बहस सक्ने कास्की जिल्ला अदालतको तयारी छ । यससँगै प्रतिवादीहरूलाई तीनमध्ये एक आदेश हुनेछ । न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश दिनेछ ।

गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दायर भएको थियो ।

कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको छ । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी कायम गरिएको छ । आजको राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया