मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायल–हमास प्रारम्भिक आदानप्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, माघ १ गते । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।

मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो ।

वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदानप्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।

यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजापट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।

टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ ।

वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदानप्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ ।

“ पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागु भएको १६ औँ दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ”, रिपोर्टमा भनिएको छ, “यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।”

गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको सङ्केत गरेको थियो ।

इजरायली मिडियाले मङ्गलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।

“इजरायली सेनाले सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ”, वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र यो उहाँले मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताउनुभयो ।

“इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव.. अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ”, बाइडेनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भन्नुभयो । वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति छ ।

अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ र त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गर्नुभएको छ ।

वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार