असार २३, २०८२ सोमबार July 7, 2025

सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी

हिउँदे अधिवेशन तत्काल बोलाएर कानुन निर्माणमा लाग्नुका साथै जनसरोकारका विषयमा छलफल गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारबाहिर रहेका राजनीतिक दलहरूले संसद्को हिउँदे अधिवेशन सरकारले तत्काल नबोलाए सडक संघर्ष गर्ने उद्घोष गरेका छन् ।

उनीहरूले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदमको विरोध पनि गरेका छन् । संसद्मा भएका ६ विपक्षी दल र समाजवादी मोर्चाको बुधबार सिहंदबारमा छुट्टाछुट्टै बैठक भएको थियो । माओवादीको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले सरकार अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ । दुई दलीय शासन ल्याउन सरकारले कानुन नै संशोधन गर्न खोजेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

प्रमुख प्रतिपक्ष माओवादीको संयोजनमा भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संसद्लाई कमजोर बनाउन अध्यादेशको बाटोमा अघि बढेको टिप्पणी गरेका थिए । सरकार आफ्नै कारणले संकटमा पर्दै आएको उनीहरूको दाबी थियो । विपक्षी दलको बैठकमा माओवादी, एकीकृत समाजवादीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका नेता सहभागी थिए ।

विपक्षी दलको बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले शासन चलाउने रबैया देखाएका कारण ६ दल एकै ठाउँमा आइपुगेका छौं ।’ उनका अनुसार बैठकले हिउँदे अधिवेशन तत्काल बोलाएर कानुन निर्माणमा लाग्नुका साथै जनसरोकारका विषयमा छलफल गर्नुपर्नेमा जोड दिएको छ ।

महँगी र भ्रष्टाचार अनियन्त्रित बन्दै गएको पनि विपक्षी दलको निष्कर्ष छ । ‘दुई पार्टी कांग्रेस र एमाले मिलेर गणितीय हिसाबले सहज स्थितिमा रहेका बेला जनताका आवाज र भावनाविरुद्ध काम हुँदै गएका छन् । यसलाई खबरदारी गर्न र जनताका सरोकारका विषय संसद्मा छलफल गर्न जरुरी छ,’ माओवादी उपमहासचिव पुनले भने । जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले काम गरिरहे प्रतिपक्षी दलहरूले विशेष अधिवेशन आह्वानको माग राख्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

समाजवादी मोर्चाको बुधबार अपराह्न बसेको बैठकले सरकारको कदमविरुद्ध माघ १६ मा राजधानीमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संसद्मा नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको अध्यक्षतामा मोर्चाका बैठक बसेको हो । सहिद दिवसका अवसरमा काठमाडौंमा हुने विरोध प्रदर्शनमा मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।

विपक्षी दल र समाजवादी मोर्चाको दुवै बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले संसद्मा रहेका र नरहेका विपक्षीबीच मोर्चाबन्दी गरेर सरकारका गलत कार्यको प्रतिवाद गर्ने निर्णय भएको बताए । ‘संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्नु लोकतान्त्रिक पद्धति होइन ।

समानुपातिकतर्फ थ्रेसहोल्ड ५ प्रतिशत राख्ने गरी विधेयकको मस्यौदा तयार गरिएको कुरा छ,’ उनले भने, ‘यसबाट नेपालमा दुई दलीय व्यवस्था ल्याउन खोजेको देखियो । विपक्षी दल सबैले यसको विरोध गर्ने निर्णय भएको छ ।’ कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया