असार २३, २०८२ सोमबार July 7, 2025

८ खर्ब २२ अर्बको आयात ९८ अर्ब ७९ करोडको निर्यात

चालू खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड रुपैयाँ खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ८ खर्ब २२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ भने ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा वस्तु आयात ७ दशमलव १ प्रतिशतले बढेको छ ।

गत वर्षको यसै अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो । यस्तै, वस्तु निर्यात ३१ दशमलव ८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ । चालू आवको ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा करिब ७५ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।

मन्त्रालयका अनुसार गत वर्ष पुस मसान्तसम्ममा आयात ३ दशमलव १ प्रतिशत र निर्यात ७ दशमलव २ प्रतिशतले ऋणात्मक रहेको थियो । अर्थ मन्त्रालयले पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब ५२ करोड रुपैयाँबराबरको वस्तु आयात भएको जनाएको छ ।

मंसिर मसान्तसम्ममा ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएकामा पुस एकै महिनामा देखिएको वृद्धिले ६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको भनाइ अर्थ मन्त्रालयको छ ।

मंसिरमा करिब १ खर्ब ४९ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो । अर्थ मन्त्रालयका अनुसार चालू आवको पहिलो ६ महिनामा राजस्वमा १२ दशमलव ७ प्रतिशतको वृद्धि भएको छ । गत आवको सोही अवधिमा राजस्व वृद्धि ८ दशमलव २ प्रतिशत मात्र थियो ।

यसका साथै सरकारले चालू आवको पहिलो ६ महिनामा ७ दशमलव ८ प्रतिशत खर्च वृद्धि गरेको जनाएको छ । वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले वृद्धि भएको छ र कर्जा प्रवाहमा ४ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ ।

चालू खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल व्ययको ३६ दशमलव ५ प्रतिशत हो । पूँजीगत खर्चमा १६ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थाका लागि ४३ दशमलव २ प्रतिशत खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको पहिलो ६ महिनामा १ खर्ब ८५ अर्ब ४४ करोड रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ । यो वार्षिक विनियोजनको ४५ दशमलव ४ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार चालू खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । यो कुल व्ययको ३६ दशमलव ५ प्रतिशत हो ।

यसैगरी, कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६ दशमलव २ प्रतिशत खर्च हो ।

पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण भएको छ । यो वार्षिक विनियोजनको तुलनामा ४५ दशमलव ४ प्रतिशतबराबर हस्तान्तरण हो ।

त्यस्तै, राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब रुपैयाँबराबर थियो । यो ३२ दशमलव ५ प्रतिशत हस्तान्तरण हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडलले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । सरकारले अध्यादेशमार्फत विभिन्न ऐनमा गरेको संशोधनले निजी क्षेत्र उत्साहित भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउने अर्थमन्त्री पौडेलको भनाइ छ ।

उनले विगतमा प्रतिकूल देखिएका सूचक अहिले सकारात्मक बन्दै जान थालेको बताए । अर्थमन्त्री पौडेलले अहिले पुँजीगत खर्चमा गुणात्मक सुधार आवश्यक रहेको र बजेट क्यालेन्डर सुधार गरिएको पनि जानकारी दिए ।राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया