असार २३, २०८२ सोमबार July 7, 2025

उद्योगको उत्पादन गिरावटले राजश्व लक्ष्यमा चोट

उद्योगको उत्पादनमा आएको गिरावटले कच्चा पदार्थको आयात घट्दा त्यसको चोट भन्सारको राजश्व लक्ष्यमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज । उद्योगको उत्पादनमा आएको गिरावटले मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व लक्ष्यमा चोट पुगेको पाइएको छ । सुख्खा बन्दरगाह भन्सारको राजश्व लक्ष्य पूरा गर्ने मुख्य मालबस्तुमा उद्योगका कच्चा पदार्थ आयातको महत्वपूर्ण योगदान हुने गरेको छ । तर उद्योगको उत्पादनमा आएको गिरावटले कच्चा पदार्थको आयात घट्दा त्यसको चोट भन्सारको राजश्व लक्ष्यमा परेको हो ।

पछिल्लो समय उद्योगको उत्पादनमा खस्किएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ताले बताए । कुल उत्पादन क्षमताको ३० देखि ४० प्रतिशत मात्र पनि अहिले उद्योगहरुको उत्पादन नभएको उनको दावी छ । यसको प्रत्यक्ष असर मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्वमा पनि देखिएको पाइएको हो ।

ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) को लक्ष्यमा असर पर्दा नेपाल सरकारको ढुकुटीमा जम्मा हुने श्रोतको केही अंश पनि खुम्चिन पुग्ने हुन्छ । त्यसैले सरकार राजश्व संकलनको लक्ष्यमा मापदण्ड नै बनाई युद्धस्तरमा उत्रिने गर्दछ । यो मापदण्ड अनुसार चालु आर्थिक वर्षको ६ महिना ( श्रावनदेखि पुससम्म) को लागि वीरगन्जस्थित मुलुककै पहिलो सुख्खा बन्दरगाहलाई कुल २९ अर्ब ७ करोड २२ लाख ७१ हजार राजश्व लक्ष्य तोकिएको थियो ।

तर राजश्व लक्ष्य पूरा गर्ने उद्योगको कच्चा पदार्थ लगायतका मालबस्तुको आयातमा आएको कमीले सुख्खा बन्दरगाह भन्सार कार्यालयको चालु आर्थिक बर्ष (आब) को ६ महिनामा लक्ष्यको ८० दशमलब २९ प्रतिशत मात्र राजश्व संकलन भएको पाइएको हो । यो भनेको कुल २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार मात्र हो । गत वर्षको संकलित राजश्वको योगदानभन्दा पनि चालु वर्ष ५ प्रतिशतले संकलनमा कमी आइको सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याँकले देखाएको छ ।

गत बर्ष यो भन्सार कार्यालयले समिक्षा अवधिमा कुल २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको योगदान पूरा गरेको थियो । तर गत वर्षभन्दा पनि यो वर्ष उद्योगका कच्चा पदार्थ लगायत तेस्रो मुलुकबाट आउने सामानमा गिरावट आउँदा राजश्व पनि अझ खस्केको भन्सार कार्यालयले जनाएको छ ।

बार्षिक लक्ष्यमा ३९ प्रतिशत प्रगति

चालु आर्थिक वर्षको १२ महिनाकै लागि भने सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई कुलु ६० अर्ब ०४ करोड ८७ लाख ९७ हजारको लक्ष्य तोकिएको छ । यसमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजारको योगदान गरिसकेको छ । यो भनेको बार्षिक कुल राजश्व लक्ष्यको ३८ दशमलब ८७ प्रतिशत पूरा भइसकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धन बहादुर बरुवालले राजधानी दैनिकलाई बताए । अब आगामी ६ महिनामा ३६ अर्ब ७० करोड ५४ लाख ७९ हजारको योगदान अझै यो भन्सारले गर्न पर्ने लक्ष्यले निर्धारण गरेको छ उनको भनाइ छ ।

यसरी राजश्वको लक्ष्यमा केही कमी आउनुमा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको उद्योगहरुको कच्चा पदार्थ आयातमा आएको गिरावट प्रमुख कारण रहेको भन्सारका प्रमुख बरुवालले तर्क गरे । त्यसै गरी राजश्वमा अलि योगदान गर्ने तयारी अवस्थाको विदेशी मदिरा, तोरी, दाल, रोल कपडा लगायतका मालबस्तुको पनि आयातमा कमी आएको उनको भनाइ छ ।

फलामजन्य उद्योगले गर्छन बढी कच्चा पदार्थ आयात

वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा मात्र हुलास स्टिल, जगदम्बा स्टिल, हामा आइरन, नारायणी रोलिङ मिल्स जस्ता ६–७ वटा ठूला फलामजन्य उद्योग छन् । यी र यस्ता बढि कच्चा पदार्थ खपत र आयात गर्ने उद्योगको उत्पादन अहिले ३० देखि ४० प्रतिशत मात्र रहेको वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए ।

यो कोरिडोर क्षेत्रमा अपवाद वाहेक अधिकांश उद्योगको उत्पादन ५० प्रतिशतभन्दा बढि नभएको उनको तर्क छ । औषधीका केही उद्योगहरु भने अलि फूल फेजमा चलेको उनको भनाइ छ । अन्य उद्योगको भने अवस्था राम्रो नभएको उनले दावी गरे । यसो हुनुमा सरकार र नीजि क्षेत्रका बीच अझै समन्वयमा कमी रहेको उनको तर्क छ ।

नेपाल सरकारले उद्योगहरुलाई प्रवद्र्धन गर्ने नीति र खुल्ला सीमाबाट हुने चोरी पैठारीमा लगाम लगाउन पर्ने अझै प्रयास गर्ने बढाउनु उनको सुझाव । उद्योगको उत्पादन बढे स्वतः कच्चा पदार्थ आयात पनि बढ्ने र राजश्वमा पनि योगदान पुग्ने अनि चोरै पैठारी न्यूनिकरण भए त्यहाँबाट पनि राजश्वमा योगदान पुग्ने उनको सुझाव छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया