काठमाण्डौः फतुवा विजयपुर नगरपालिका–१ गम्हरिया गाउँदेखि पूर्वपट्टि लालबकैया नदी छ ।
नदी आडैमा रहेको सानो झुपडीमा दलित प्राथमिक विद्यालयको बोर्ड झुड्याइएको देखिन्छ । मधेशमा बढ्दो शीतलहर चलिरहँदा तारबारसमेत नगरिएको झुपडी बाहिर भुइँमा कठ्यांग्रिँदै बालबालिका चिच्याएर पढिरहेका छन् ।
२०६४ मा गाउँकै दलित गणेश महराले दान गरेको १० धुर जग्गामा दलित प्राविको झुपडी ठडिएको छ । झुपडी २०७८ मा नगरपालिकाले बाँसको टाटीले घेरा लगाएर बनाइदिएको हो । १७ वर्षदेखि अधिकांश दलित विद्यार्थी गम्हरिया गाउँको यस विद्यालयको आँगनमा बोरा र पाल ओछ्याएर पढ्दै आएका छन् ।
बालबालिकाले घरबाटै बोरा र पाल बोकेर ल्याउँछन् । नल्याउनेले चिसो भुइँमा बस्नुपर्छ । अभिभावकले नयाँ भवन बनाइदिन पटक–पटक नगरपालिकासँग आग्रह गर्दै आएका छन् । तर पालिकाले चासो नदिएपछि बालबालिका कष्ट सहेरै पढ्न बाध्य छन् ।
विद्यालयमा पुग्दा प्रधानाध्यापक हीरालालप्रसाद यादव खुला आकाशमुनि चिसो भुइँमा बसेका बालबालिकालाई पढाइरहेका थिए । ‘हेर्नुस् बालबालिका र विद्यालयको अवस्था । खोइ राज्यले वास्ता गरेको ? स्थानीय सरकारले पनि चासो दिएको छैन,’ उनले भने, ‘बालबालिकाले यस्तो कष्ट भोग्नुपर्दा पनि कतैबाट वास्ता गरिएको छैन । विद्यालयका नाममा नगरपालिकाबाट रकम निकासा भएको सुनेको छु तर त्यो रकम कहाँ गयो, थाहा भएन ।’
विद्यालयमा फर्निचर र भवन नभएकाले बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य भएको उनले बताए । भवनका नाममा दुई स–साना छाप्रा छन् । त्यो पनि चारैतिर खुला छ । ‘लगातार चिसो बढ्दै गएको छ, बालबालिकाले घरबाट बोरा बोकेर आउनुपर्ने बाध्यता छ, अभिभावक पनि चिन्तित छन्,’ प्रधानाध्यापक यादवले भने, ‘विद्यालयमा पूर्वाधारका नाममा भवन, डेस्क, बेन्च, शौचालय केही छैन । हाजिर रजिस्टर र अन्य महत्त्वपूर्ण कागजपत्रसमेत प्लास्टिकको झोलामा राख्नुपरेको छ ।’
२०७४ मा माओवादीबाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले नदी छेउमा विद्यालयको जमिन रहेकाले नगरपालिकाबाट बजेट निकासा गराउन नसकेको बताए । ‘अन्यत्र जग्गा खरिद गर्न नगरपालिकाले वडामार्फत १० लाख बजेट छुट्याएको थियो, तीन पटकसम्म बजेट फ्रिज भएपछि अन्तिम समयमा आएर साढे ३ कट्ठा जग्गा भने खरिद गरिएको छ,’ उनले भने, ‘तर उक्त जग्गा विद्यालयका नाममा नभई तराई–मधेश जनयुद्ध स्मृति प्रतिष्ठानका नाममा पास गरिएको छ ।’
उनले विभिन्न अवरोध र प्राविधिक कारणले प्रतिष्ठानका नाममा जग्गा नामसारी भएको तर्क गरे । ‘विद्यालयका नाममा नामसारी हुन सक्छ तर त्यसका लागि नगरपालिकाले पहल गर्नुपर्छ,’ उनले भने, ‘तत्कालीन नगर प्रमुख गोपाल राय यादवले दलित शब्द हटाउन भनेपछि विवाद हुँदा जग्गा पास हुन नसकेको हो । अझै केही बिग्रिएको छैन, प्रतिष्ठानले पनि जग्गा स्कुलका नाममा पास गर्न तयार रहेको भनेको छ ।’
तर उक्त जग्गामा अहिले प्रतिष्ठानले पाँचकोठे भवन बनाउन पूर्वाधार बनाइरहेको छ । रौतहट ३ का सांसद प्रभु साहको तराई–मधेश स्मृति जनयुद्ध प्रतिष्ठानका नाममा जग्गा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले बताए । ‘विद्यालयका नाममा न जग्गा छ न भवन,’ उनले भने, ‘प्रतिष्ठानको जग्गा र भवनमा लगेर बालबालिकालाई कसरी पढाउने ?’ प्रतिष्ठानको भवन निर्माण अधुरै छ । छत ढलान गरेर छाडिएकाले त्यहाँ बस्न सक्ने अवस्था छैन ।
तत्कालीन नगर प्रमुख यादवको अध्यक्षतामा २०७६ जेठ १९ मा बैठक बसेर दलित प्राविका लागि जग्गा खरिद गर्न १० लाख रुपैयाँ छुट्याइएको कान्तिपुरलाई प्राप्त कागजातबाट देखिन्छ । उक्त बैठकमा नगर उपप्रमुख कान्ति देवीसमेतको हस्ताक्षर छ । तत्कालीन उपप्रमुख कान्ति देवीले नगरपालिकाबाट प्राप्त १० लाख बजेट तीन पटक फ्रिज भएपछि प्रतिष्ठानका नाममा जग्गा खरिद गरिएको बताइन् ।
‘त्यही भवनमा विद्यालय सारेर पठनपाठन गराए भइहाल्यो नि,’ उनले भनिन्, ‘तत्कालीन नगर प्रमुख यादवले पहल गरे भने अहिले पनि प्रतिष्ठान फिर्ता गर्न तयार छ ।’ नगरपालिकाले विद्यालयका लागि भनेर छुट्याएको बजेटबाटै जग्गा खरिद गरिए त्यो विद्यालयका नाममा भने छैन । एक अभिभावक गुनासो गर्छन्, ‘दलित बालबालिका झुपडीको चिसो भुइँमा पढिरहँदा टुलुटुलु हेर्न स्थानीय जनप्रतिनिधि र सांसदलाई लाजसरम छैन ।’
ऐन–नियमविपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले २०७९ असार १२ मा तत्कालीन नगर प्रमुख यादवसहित २१ जनाविरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि यादव निलम्बनमा परेका थिए । पछि नगर प्रमुख यादवबाहेक अरूले सफाइ पाए । हाल उपप्रमुख अमबेया खातुन कार्यवाहक नगर प्रमुख छिन् ।
खातुनले लालबकैया नदी छेउमा विद्यालय भएकाले रकम निकासा गर्न नसकिएको बताइन् । भवनका नाममा गएको रकमबारे भने उनले केही बताउन चाहिनन् । ‘मेरो पालामा एक पैसा पनि दलित प्राविलाई गएको छैन,’ उनले भनिन्, ‘पहिला के–कति रकम निकासा भएको हो, त्यो मलाई थाहा भएन ।’
बर्खाका बेला विद्यालयमा बाढी पसेर बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक यादवले बताए । ‘नदी छेउमा भएकाले सामान्य पानी पर्दा पनि भेल पसेर डुबानमा पर्ने हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने । सांसद एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको अवस्थाबारे चासो नदेखाएको गुनासो पनि उनले गरे ।
५ कक्षासम्म पढाइ हुने विद्यालयमा अहिले १९२ विद्यार्थी छन् । विद्यालयमा बालविकासको समेत गरी ६ शिक्षक–शिक्षिका छन् । शौचालय अभावमा बालबालिका र शिक्षक–शिक्षिका दिसापिसाब गर्न नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ । जग्गादान गर्ने गणेश महरा २०६४ देखि व्यवस्थापन समितिको अध्यक्ष छन् । उनीबाहेक अहिलेसम्म अरूले चासो नदेखाएको प्रधानाध्यापक यादवले सुनाए ।
पूर्वमन्त्री साह भने तत्कालीन नगर प्रमुख गोपाल यादवले विद्यालयका नाममा जग्गा खरिद गर्न नसकेपछि आफूले नै संस्थाको रकमसमेत दिएर उक्त जग्गा विद्यालयकै लागि खरिद गरिदिएको तर्क गर्छन् । साहका अनुसार पालिकाले रकम नदिँदै प्रतिष्ठानकै रकम खर्चिएर जग्गा खरिद प्रक्रिया अघि बढाइएको थियो ।
‘नगरपालिका वा कुनै सरकारी निकायले जग्गा खरिद गर्ने बेग्लै प्रक्रिया हुन्छ, त्यसबेला सबै प्रक्रिया पूरा गर्न नसकेपछि मैले आफैं चेक काटिदिएर जग्गा लिइएको थियो,’ उनले भने, ‘दुई वर्षसम्म पनि पालिकाले सो जग्गा विद्यालयका नाममा ल्याउन नसकेपछि बाँकी रहेको पाँच लाख रुपैयाँ पनि मैले नै दिएर जग्गा प्रतिष्ठानका नाममा ल्याइएको हो ।’
उनका अनुसार जग्गा विद्यालयका नाममा पास नगरी तत्कालीन नगर प्रमुख यादवले नै नगरपालिकाको ठेक्का लगाएर अहिले देखिएको अर्धनिर्मित भवन बनाएका हुन् । उनले फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय यादव र तत्कालीन नगर उपप्रमुख कान्ति देवीले प्रतिष्ठानलाई जग्गा खरिद गर्न रकम दिएको दाबीको भने खण्डन गरे ।
‘नगरपालिकाबाट ग्यास चुलो वितरणका लागि प्रतिष्ठानलाई अनुदान दिइएको हो,’ उनले भने, ‘नगरपालिकाबाट पैसा आउनुअघि नै मैले जग्गा खरिद गर्नका लागि चेक काटिसकेको थिएँ ।’ उनले उक्त भवन बनाउनका लागि कसले कति पैसा कसलाई दिएको थियो भनेर तत्कालीन नगर प्रमुख यादवलाई नै सोध्न आग्रह गरे । ‘प्रतिष्ठानको जग्गामा नगरपालिकाले किन भवन बनाएको हो, भवन बनाउने र पैसा लिनेलाई सोध्नुस्,’ उनले भने । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया