बैसाख २१, २०८३ सोमबार May 4, 2026

महाधिवेशन प्रभावित पार्न विभाग गठन गरेर सभापति देउवाले तमासा देखाए – गुरुराज घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईहरू द्वन्द्व, विवादमा फस्नुभयो, पार्टी सभापति शेरबहादुर देउवाको विरुद्धमा किन लाग्नुभयो ? किन उहाँको आलोचना गरिरहनुभएको छ ?

यो विल्कुलै आलोचना होइन । पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको छ । हामीले आउने २०७७ फागुन ७ गते महाधिवेशन आयोजना गर्ने भनेर निर्णय गरिसकेका छौँ । हामीलाई विधानले दिएको कुराबाट काम गर्न कुनैपनि बाधा थिएन । तर हामीले समयमा नै गर्नसक्ने कामहरू गर्न सकेनौँ । पदाधिकारी बनाउन सकेनौँ । समयमा नै हामीले भातृ संस्थाहरूको अधिवेशन गर्न सकेनौँ । जब पार्टी सम्पूर्ण रूपमा महाधिवेशनमा होमिईसक्यो, तब हामी पार्टीका विभागहरू, पार्टीका अन्य कामहरू अहिले सम्पन्न गर्न लागेका छौँ । त्यसैले यो अलिकति समय पनि मिलेन । यसले महाधिवेशनको समयतालिका प्रभावित हुने, समयमा नै सम्पन्न गर्न नसकिने र कार्यकर्ताहरूमा ठुलो विभाजन आउने हुन्छ ।

विभागहरू गठन गर्नु त सभापतिको विशेष अधिकार हो, नैसर्गिक अधिकार हो । त्यसमा तपाईहरूले किन आपत्ति प्रकट गरिरहने ?

त्यसमा आपत्ति प्रकट गरिएको थिएन । विभागहरू बनाउने पार्टी सभापतिको नै काम हो । यसमा बाधा र अवरोध उहाँलाई कहिले पनि उत्पन्न गरिएन । उहाँले समयमा नै किन गर्न सक्नुभएन ? यो जवाफ उहाँले नै दिने कुरा हो ।

उहाँले त सहमतिको लागि विभागहरू गठन गर्नुभएन । रामचन्द्र पौडेललाई बारम्बार आग्रह गरिरहनुभयो, दिनुस् नामहरू भनेर । उहाँले नाम नदिने अनि अहिले आएर पार्टीमा विभाग गठन गर्दा तपाईहरू जहिल्यैपनि विरोध गरिराख्ने ?

हामीले विधान बनाएको किन ? पार्टीको विधान त पालना गर्नका लागि हो । पार्टीको विधान हाम्रा लागि मार्गदर्शक दस्तावेज हो । त्यसका आधारमा हामीले पार्टी चलाउने हो । पार्टीको विधान त देखाउनको लागि मात्र होइन । पार्टीमा व्यवस्थित विधानहरूलाई जब हामी हुबहु पालना गर्दैनौँ, त्यो विधानको औचित्य समाप्त हुन्छ । कागजको खोस्टोमा परिणत हुन्छ । मुलुकको संविधान पालना गर्नका लागि हो । पार्टीको विधानलाई सिध्याउने काम हामी एकपछि अर्को गरेर गरिरहेका छौँ । किनभने लोकतान्त्रिक राजनीतिक दल भनेको विधि, प्रक्रियाले चल्छ । जब हामीले विधिको पालना गर्दैनौँ भने हामीले पुस्तालाई कस्तो सन्देश दिईरहेका छौँ । तर पार्टीमा हामीले एकपछि अर्को गर्दै कमजोरीहरू प्रदर्शन गर्दै गइरहेका छौँ ।

पार्टी सभापतिले अहिले जसरी कदमहरू चालिरहनुभएको छ, त्यसमा तपाईहरूको असहमति, असन्तुष्टि हो ?

यो काम पहिल्यै किन भएन ? अहिले महाधिवेशनको मुखमा किन हुँदैछ ? पार्टीका नेताहरूबीचमा समझदारी भएर किन हुँदै छैन ? सँगै जेल गएका नेताहरूबीचमा झगडा किन हुँदैछ ? कतिपय समयमा नेताहरूबीचमा भएको समझदारीलाई नै हामीले विधान मान्दै आएका हौ । पार्टीको निर्णयलाई हामीले स्वीकार गर्दै आएका हौं । महाधिवेशनको मुखमा, विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा नेताहरू प्रवेश गरेको समयमा किन गर्र्दैछौँ ? यो हामीले पार्टीको आन्तरिक जीवनमा जुन तमाशा देखाइरहेका छौँ, जुन हामीले पार्टीभित्र विग्रह बढाइरहेका छौँ, यसले राम्रो सन्देश दिँदैन । अहिले कोरोना, बाढी/पहिरोको संकट भएको बेलामा नेताहरूबीच एकताबद्ध समन्वय किन हुन सक्दैन ? शेरबहादुर देउवा र रामचन्द्र दाई त एउटै जेनेरेशनको पुरानो नेता हो, २ जनाले नै कुराहरू राखेर दुई/तीन दिनमा निष्कर्ष किन निकाल्न सक्नुहुन्न ?

उसो भए अहिले सभापतिले चालेको कदम पार्टी विपरीत छ ?

यो पार्टीले तोकेको समय सीमाभित्र काम नगरीकन थाँती रहेको कामलाई अहिले पार्टी महाधिवेशनको मुखमा सम्पन्न गर्न खोज्दैछौँ । यसले अहिले कार्यकर्ताहरूमा ठुलो विभाजन ल्याएको छ । विभाग गठन गर्ने/नगर्ने भन्नेमा कार्यकर्तामा ठुलो विभाजन आएको छ । उहाँले विभाग गठन गर्ने समय पनि छैन वास्तवमा । सबै साथीहरू महाधिवेशनको प्रक्रियामा सामेल हुने कि विभागमा बैठक राखेर विभागमा आफ्नो क्षेत्रमा काम गर्ने ?

तपाईहरुले गोविन्दराज जोशी र पुष्पराज ओझालाई कारबाही गर्नु गलत छ भनेर तपाईहरूले भन्नुभएको छ । सुनिलबहादुर थापालाई पार्टीमा भित्र्याएर सहमहामन्त्री बनाउँदा तपाईहरूलाई किन आपत्ति ?

नयाँ पार्टी नयाँ साथीहरूको प्रवेश, अरू पार्टी छोडेर जुन साथीहरू आउनुभएको छ, त्यसमा आपत्ति कसैले जनाएकै छैन । त्यसलाई हामीले हार्दिकतापूर्वक स्वागत गरेका छौँ ।

तर तपाईहरूले पद दिएको कुरामा असहयोग, विरोध गर्नुभएको छ नि ?

त्यो सरसल्लाह नभई भयो भन्ने कुरा आएको छ । यो विषय पनि पार्टी जिम्मेवारीपूर्ण भएकोले नेताहरूको बीचमा सरसल्लाह त हुनुपर्छ । सरसल्लाहबाट नै एउटा निक्र्यौलमा पुगेर उहाँहरूलाई एउटा पदले सुशोभित गराएको भए भइहाल्थ्यो । सरसल्लाह भएन भन्ने गुनासो होला । त्यो तहको छलफलमा हामी सरिक पनि छैनौँ । कसरी भएको हो भन्ने हामीलाई जानकारी पनि छैन । नयाँ पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका साथीहरूलाई त हामीले स्वागत गरेकै छौँ ।

त्यसो भए सहमहामन्त्री बनाएकोमा मात्रै असन्तुष्टि हो ?

यो राजनीतिक निर्णयबाट भएको कुरा हो । अब सूर्यबहादुर थापाको बेलाको राजनीतिको बेग्लै पहिचान भएको व्यक्ति, उहाँसँग जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र उहाँकै छोरोलगायतका नेताहरू आउँदा खुशीलाग्दो कुरा छ । त्यसमा हाम्रो संगठनात्मक अभिवृद्धि गर्छ नै । अब पद दिँदाखेरि नेताहरूको बीचमा समझदारी भएन भन्ने कुरा उहाँहरूको अभिव्यक्तिबाट बाहिर हामीले थाहा पायौँ ।

गोविन्दराज जोशीलाई कारबाही गर्न हुने थिएन भन्ने हो तपाईहरूको भनाई ?

गोविन्दराज जोशी र पुष्पराज ओझा नेपाली कांग्रेसमा लामो समयसम्म काम गर्ने नेताहरू हुनुहुन्छ । अनुशासन समितिको सर्वसम्मतिले कारबाही गरेको छ । एउटै बाटो छ, पुनरावलोकन गर्ने, केन्द्रिय समितिले छलफल गर्ने एउटा बाटो छ । यो पार्टीले गरेको सर्वसम्मति निर्णय हो । अर्को व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने मलाई पनि उहाँहरूलाई कारबाही भएकोमा एकदमै दुःख लागेको छ । सकेसम्म पार्टीमा लामो योगदान गरेको नेताहरूलाई उहाँहरूलाई कारबाही गरेर उहाँहरूको राजनीतिक जीवन समाप्त गर्दाखेरि यसले धेरै राम्रो सन्देश जाँदैन । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार