जेठ ६, २०८१ आइतबार May 19, 2024

महाधिवेशन प्रभावित पार्न विभाग गठन गरेर सभापति देउवाले तमासा देखाए – गुरुराज घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईहरू द्वन्द्व, विवादमा फस्नुभयो, पार्टी सभापति शेरबहादुर देउवाको विरुद्धमा किन लाग्नुभयो ? किन उहाँको आलोचना गरिरहनुभएको छ ?

यो विल्कुलै आलोचना होइन । पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको छ । हामीले आउने २०७७ फागुन ७ गते महाधिवेशन आयोजना गर्ने भनेर निर्णय गरिसकेका छौँ । हामीलाई विधानले दिएको कुराबाट काम गर्न कुनैपनि बाधा थिएन । तर हामीले समयमा नै गर्नसक्ने कामहरू गर्न सकेनौँ । पदाधिकारी बनाउन सकेनौँ । समयमा नै हामीले भातृ संस्थाहरूको अधिवेशन गर्न सकेनौँ । जब पार्टी सम्पूर्ण रूपमा महाधिवेशनमा होमिईसक्यो, तब हामी पार्टीका विभागहरू, पार्टीका अन्य कामहरू अहिले सम्पन्न गर्न लागेका छौँ । त्यसैले यो अलिकति समय पनि मिलेन । यसले महाधिवेशनको समयतालिका प्रभावित हुने, समयमा नै सम्पन्न गर्न नसकिने र कार्यकर्ताहरूमा ठुलो विभाजन आउने हुन्छ ।

विभागहरू गठन गर्नु त सभापतिको विशेष अधिकार हो, नैसर्गिक अधिकार हो । त्यसमा तपाईहरूले किन आपत्ति प्रकट गरिरहने ?

त्यसमा आपत्ति प्रकट गरिएको थिएन । विभागहरू बनाउने पार्टी सभापतिको नै काम हो । यसमा बाधा र अवरोध उहाँलाई कहिले पनि उत्पन्न गरिएन । उहाँले समयमा नै किन गर्न सक्नुभएन ? यो जवाफ उहाँले नै दिने कुरा हो ।

उहाँले त सहमतिको लागि विभागहरू गठन गर्नुभएन । रामचन्द्र पौडेललाई बारम्बार आग्रह गरिरहनुभयो, दिनुस् नामहरू भनेर । उहाँले नाम नदिने अनि अहिले आएर पार्टीमा विभाग गठन गर्दा तपाईहरू जहिल्यैपनि विरोध गरिराख्ने ?

हामीले विधान बनाएको किन ? पार्टीको विधान त पालना गर्नका लागि हो । पार्टीको विधान हाम्रा लागि मार्गदर्शक दस्तावेज हो । त्यसका आधारमा हामीले पार्टी चलाउने हो । पार्टीको विधान त देखाउनको लागि मात्र होइन । पार्टीमा व्यवस्थित विधानहरूलाई जब हामी हुबहु पालना गर्दैनौँ, त्यो विधानको औचित्य समाप्त हुन्छ । कागजको खोस्टोमा परिणत हुन्छ । मुलुकको संविधान पालना गर्नका लागि हो । पार्टीको विधानलाई सिध्याउने काम हामी एकपछि अर्को गरेर गरिरहेका छौँ । किनभने लोकतान्त्रिक राजनीतिक दल भनेको विधि, प्रक्रियाले चल्छ । जब हामीले विधिको पालना गर्दैनौँ भने हामीले पुस्तालाई कस्तो सन्देश दिईरहेका छौँ । तर पार्टीमा हामीले एकपछि अर्को गर्दै कमजोरीहरू प्रदर्शन गर्दै गइरहेका छौँ ।

पार्टी सभापतिले अहिले जसरी कदमहरू चालिरहनुभएको छ, त्यसमा तपाईहरूको असहमति, असन्तुष्टि हो ?

यो काम पहिल्यै किन भएन ? अहिले महाधिवेशनको मुखमा किन हुँदैछ ? पार्टीका नेताहरूबीचमा समझदारी भएर किन हुँदै छैन ? सँगै जेल गएका नेताहरूबीचमा झगडा किन हुँदैछ ? कतिपय समयमा नेताहरूबीचमा भएको समझदारीलाई नै हामीले विधान मान्दै आएका हौ । पार्टीको निर्णयलाई हामीले स्वीकार गर्दै आएका हौं । महाधिवेशनको मुखमा, विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा नेताहरू प्रवेश गरेको समयमा किन गर्र्दैछौँ ? यो हामीले पार्टीको आन्तरिक जीवनमा जुन तमाशा देखाइरहेका छौँ, जुन हामीले पार्टीभित्र विग्रह बढाइरहेका छौँ, यसले राम्रो सन्देश दिँदैन । अहिले कोरोना, बाढी/पहिरोको संकट भएको बेलामा नेताहरूबीच एकताबद्ध समन्वय किन हुन सक्दैन ? शेरबहादुर देउवा र रामचन्द्र दाई त एउटै जेनेरेशनको पुरानो नेता हो, २ जनाले नै कुराहरू राखेर दुई/तीन दिनमा निष्कर्ष किन निकाल्न सक्नुहुन्न ?

उसो भए अहिले सभापतिले चालेको कदम पार्टी विपरीत छ ?

यो पार्टीले तोकेको समय सीमाभित्र काम नगरीकन थाँती रहेको कामलाई अहिले पार्टी महाधिवेशनको मुखमा सम्पन्न गर्न खोज्दैछौँ । यसले अहिले कार्यकर्ताहरूमा ठुलो विभाजन ल्याएको छ । विभाग गठन गर्ने/नगर्ने भन्नेमा कार्यकर्तामा ठुलो विभाजन आएको छ । उहाँले विभाग गठन गर्ने समय पनि छैन वास्तवमा । सबै साथीहरू महाधिवेशनको प्रक्रियामा सामेल हुने कि विभागमा बैठक राखेर विभागमा आफ्नो क्षेत्रमा काम गर्ने ?

तपाईहरुले गोविन्दराज जोशी र पुष्पराज ओझालाई कारबाही गर्नु गलत छ भनेर तपाईहरूले भन्नुभएको छ । सुनिलबहादुर थापालाई पार्टीमा भित्र्याएर सहमहामन्त्री बनाउँदा तपाईहरूलाई किन आपत्ति ?

नयाँ पार्टी नयाँ साथीहरूको प्रवेश, अरू पार्टी छोडेर जुन साथीहरू आउनुभएको छ, त्यसमा आपत्ति कसैले जनाएकै छैन । त्यसलाई हामीले हार्दिकतापूर्वक स्वागत गरेका छौँ ।

तर तपाईहरूले पद दिएको कुरामा असहयोग, विरोध गर्नुभएको छ नि ?

त्यो सरसल्लाह नभई भयो भन्ने कुरा आएको छ । यो विषय पनि पार्टी जिम्मेवारीपूर्ण भएकोले नेताहरूको बीचमा सरसल्लाह त हुनुपर्छ । सरसल्लाहबाट नै एउटा निक्र्यौलमा पुगेर उहाँहरूलाई एउटा पदले सुशोभित गराएको भए भइहाल्थ्यो । सरसल्लाह भएन भन्ने गुनासो होला । त्यो तहको छलफलमा हामी सरिक पनि छैनौँ । कसरी भएको हो भन्ने हामीलाई जानकारी पनि छैन । नयाँ पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका साथीहरूलाई त हामीले स्वागत गरेकै छौँ ।

त्यसो भए सहमहामन्त्री बनाएकोमा मात्रै असन्तुष्टि हो ?

यो राजनीतिक निर्णयबाट भएको कुरा हो । अब सूर्यबहादुर थापाको बेलाको राजनीतिको बेग्लै पहिचान भएको व्यक्ति, उहाँसँग जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र उहाँकै छोरोलगायतका नेताहरू आउँदा खुशीलाग्दो कुरा छ । त्यसमा हाम्रो संगठनात्मक अभिवृद्धि गर्छ नै । अब पद दिँदाखेरि नेताहरूको बीचमा समझदारी भएन भन्ने कुरा उहाँहरूको अभिव्यक्तिबाट बाहिर हामीले थाहा पायौँ ।

गोविन्दराज जोशीलाई कारबाही गर्न हुने थिएन भन्ने हो तपाईहरूको भनाई ?

गोविन्दराज जोशी र पुष्पराज ओझा नेपाली कांग्रेसमा लामो समयसम्म काम गर्ने नेताहरू हुनुहुन्छ । अनुशासन समितिको सर्वसम्मतिले कारबाही गरेको छ । एउटै बाटो छ, पुनरावलोकन गर्ने, केन्द्रिय समितिले छलफल गर्ने एउटा बाटो छ । यो पार्टीले गरेको सर्वसम्मति निर्णय हो । अर्को व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने मलाई पनि उहाँहरूलाई कारबाही भएकोमा एकदमै दुःख लागेको छ । सकेसम्म पार्टीमा लामो योगदान गरेको नेताहरूलाई उहाँहरूलाई कारबाही गरेर उहाँहरूको राजनीतिक जीवन समाप्त गर्दाखेरि यसले धेरै राम्रो सन्देश जाँदैन । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया