असार २३, २०८२ सोमबार July 7, 2025

किस्ता नै नभएको गाडी तान्न ‘बाउन्सर’

कर्जा नै नभएको बैंकले कर्जा नतिरेको भनेर बीच बाटोमा गाडी तान्न खोजेपछि मानसिक तनाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैंकमा लोन नै नभएको गाडीको किस्ता नतिरेको भन्दै हिमालय बैंकले गाडी तान्न खोजेको दाबी गर्दै लोक तथा दोहोरी गायक भरत क्षेत्रीले कानुनी उपचार खोज्ने बताउनुभएको छ ।

बैंकिङ प्रणालीमा विश्वास खस्काउने गरी हिमालयन बैंकको लापरबाहीपूर्ण कार्यको आफू शिकार भएको उहाँको गुनासो छ । बैंकको यस्तो कार्यले आफूलाई असुरक्षित बनाएको भन्दै क्षेत्रीले कानुनी उपचारका लागि प्रहरीमा जाहेरी दिइसकेको बताउनुभएको छ ।

क्षेत्रीले बैंकले मानसिक र शारीरिक तनाव दिएको र आफू असुरक्षित भएको भन्दै मंगलबार इलाका प्रहरी कार्यालय देवदहमा जाहेरी दर्ता गराउनुभएको हो । बैंकले गल्ती स्वीकार्दै मिलेर समाधान गर्ने प्रस्ताव राखे पनि आफूलाई निरन्तर असुरक्षित महसुस भएको र केही दिनदेखि निगरानीमा राखिएको भनाइ छ । गायक क्षेत्रीले भन्नुभयो, ‘मलाई बैंकले केही दिनदेखि नै निगरानीमा राखेको रहेछ, म र श्रीमती बुटवल जाने क्रममा देवदहको जंगलमा ओभरटेक गर्दै लोन नै नभएको बैंकको किस्ता किन नतिरेको भन्दै मेरो गाडीको चाबी खोजियो । यो घटनाले मैले असुरक्षित महसुस गरेको छु ।’

बैंकले खटाएका अपरिचित व्यक्तिहरूले क्षेत्रीलाई केही दिनदेखि पछ्याइरहेको र उहाँको गाडीको लिस्टमा समेत नाम रहेको छ । ती अपरिचित व्यक्तिहरूले ‘हामी गाडी लान्छौं, यो गाडी हिमालयन बैंकले तानेको हो’ भनेपछि आफू अचम्ममा परेको र अपहरण गर्न खोजिएको हो कि भन्ने डर पनि लागेको उहाँले बताउनुभयो । क्षेत्रीले भन्नुभयो, ‘म कलाकार जस्तो मान्छे विभिन्न ठाउँका मेला महोत्सवमा हिँडिरहनुपर्छ । म हिँडिरहेको बेला मेरो सुरक्षाको ग्यारेन्टी कहाँ छ ? ।’

कर्जा नै नभएको बैंकले कर्जा नतिरेको भनेर बीच बाटोमा गाडी तान्न खोजेपछि मानसिक तनाव भएको उहाँले गुनासो गर्नुभयो । क्षेत्रीले भन्नुभयोे, ‘मलाई किन बैंकले यसरी मानसिक तथा शारीरिक तनाव दियो, मैले अहिलेसम्म बुझेको छैन तर वास्तविकताचाहिँ मेरो हिमालयन बैंकमा कुनै पनि कर्जा छैन ।’ प्रभु बैंकमा कर्जामा रहेको गाडी हिमालयन बैंकले तान्न खोज्नु नै हिमालयन बैंकको लापरबाही देखिएको छ । क्षेत्रीका अनुसार उक्त गाडी प्रभु बैंकबाट हायर पर्चेज कर्जा रहेको छ तर हिमालयन बैंकका प्रतिनिधिको परिचयसमेत नखुलेका ती व्यक्तिहरूले गाडी नियन्त्रणमा लिन खोजेपछि क्षेत्रीले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी अनुसन्धानअनुसार ती व्यक्तिहरूसँग गाडी तान्न बैंकबाट गरिएको सम्झौतापत्र र तान्नुपर्ने गाडीहरूको सूची थियो । तर, अनुसन्धान गर्दा क्षेत्रीको गाडी हिमालयन बैंकसँग कुनै सम्बन्ध नरहेको पुष्टि भयो ।

हिमालयन बैंकका कर्मचारीसँग बुझ्दा बैंकबाट सामान्य गल्ती भएको स्वीकारेका छन् । घटनापछि हिमालयन बैंकका सूचना अधिकारी सुनिल गोर्खालीले गाडी नम्बर टिप्ने क्रममा गल्ती भएको स्वीकार गर्नुभयो । उहाँले कर्जा असुलीका लागि रामेछापका सन्दिप लामासँग सम्झौता गरिएको र लामा नै उक्त गाडी नियन्त्रणमा लिन गएका थिए । सूचना अधिकारी गोर्खालीले भन्नुभयो, ‘हाम्रा कर्मचारीहरू फिल्डमा जान सक्ने अवस्था नभएपछि ट्राफिक प्रहरीसँग सहयोग माग्यौं तर पाएनौं । त्यसैले यस्तो गर्नुप¥यो ।’ तर, बैंकको गलत सूचीका कारण निर्दोष व्यक्ति पीडित बनेपछि सर्वसाधारणमा बैंकिङ प्रणालीप्रति शंका बढेको छ । इलाका प्रहरी कार्यालय खैरेनीका अनुसार गाडी कब्जा गर्ने प्रयासमा संलग्न व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । साथै, बैंकबाट लिइएको सम्झौतापत्रसमेत संकलन गरिएको छ । हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया