फागुण ५, २०८१ सोमबार February 17, 2025

आठ दलबीच छुट्टै मोर्चा गठन गर्न बन्यो कार्यदल

अब आउने दिनमा ८ दलीय सहकार्यको वातावरण निर्माण गर्ने, दस्तावेज लेख्ने, आफ्नो आचारसंहिता निर्माण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विभिन्न आठ दलका बीचमा एक छुट्टै मोर्चा निर्माण गर्ने सहमति जुटेको छ । त्यसका लागि ती दलले एक कार्यदल गठन गरेका छन् । सिंहदरबार काठमाडौंमा बिहीबार बसेको आठ दलको बैठकले कार्यदल गठन गरेका हुन् । कार्यदलमा आठै दलबाट एक–एक जना सदस्य रहेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रवक्ता मनीषकुमार सुमनले कार्यदलले मोर्चाको गठन, नामकरणसहितका काम गर्ने बताए । संविधान संशोधन, ऐन संशोधन र सरकारका गतिविधिमा समान धारणा बनाएर प्रस्तुत हुन कार्यदल गठन गरिएको सुमनले जनाएका छन् ।

‘देशमा विकसित राजनीतिक परिस्थिति खास गरेर हामी अहिले संविधान संशोधनको पूर्वसन्ध्यामा छौं, निर्वाचन ऐनहरू पनि बनिरहेका छन्,’ सुमनले भने, ‘हामी समान विचारवाहक पार्टीहरू एक भएर भविष्यमा समान रूपले सँगै जाऊँ भनेर आठवटा पार्टीको एउटा मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण निर्माण गर्ने निर्णय गरेका छौं, आठवटै राजनीतिक दलका एक–एक जना नेता रहनेगरी एउटा कार्यदल गठन गरिएको छ ।’

जसपा नेपालबाट मनीष सुमन, जनता समाजवादी पार्टी (जसपा)बाट महासचिव इस्तियाक राई, जनमत पार्टीबाट प्रवक्ता शरदसिंह यादव, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ब्रजेश सिंह रहेको कार्यदल गठन भएको छ ।

सुमनका अनुसार अब आउने दिनमा ८ दलीय सहकार्यको वातावरण निर्माण गर्ने, दस्तावेज लेख्ने, आफ्नो आचारसंहिता निर्माण गर्ने, आगामी बैठकहरूको संयोजन गर्ने उद्देश्यका साथ कार्यदलले तत्काल काम सुरु गर्नेछ ।

राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाका अनुसार लामो समयको छलफलपश्चात कार्यदल गठन भएको हो । उनले कार्यदलले मोर्चा निर्माणदेखि आवश्यक अन्य काम गर्दै अघि बढ्ने बताए ।

बैठकमा अध्यादेशका बारेमा पनि छलफल भएको छ । सरकारले पछिल्लो समय ल्याएको अध्यादेशमध्ये सबैभन्दा धेरै छलफल र आशंका भूमिसम्बन्धी अध्यादेशमा रहेको नेता सुमनले बताए । भूमिसम्बन्धी अध्यादेशलाई उनले महेन्द्रवादी सोचको संज्ञा दिए । ‘यो महेन्द्रवादी सोचले मधेसी, आदिवासी जनजाति समुदायलाई उसकै भूमिबाट विस्थापित गरी आप्रवासनका नाममा फेरि अर्को एउटा महेन्द्रीय संरचना गठन गर्ने कुत्सीत प्रयास गरेको छ, त्यसप्रति हाम्रो दृष्टिकोण नकारात्मक नै छ, विधेयकप्रति हाम्रो विचार सकारात्मक छैन, हामी यस अध्यादेशलाई स्वीकार गर्दैनौं,’ उनले भने ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, रामकुमार शर्मा र मनीष सुमन, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल र विजय सिंहलगायतको सहभागिता रहेको थियो ।

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को एउटा गठबन्धन रहेको छ । जसले संघीय र प्रदेश सरकार सञ्चालन गरिरहेको छ । अर्कोतर्फ विभिन्न चार कम्युनिस्ट पार्टीको समाजवादी मोर्चा रहेको छ । जसपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेसपा रहेका छन् । समाजवादी मोर्चामा रहेको जसपा भने बाहिरिएको छ ।

अहिले गठन हुन लागेको तेस्रो मोर्चामा तराई मधेस केन्द्रित मधेसवादी दलहरू रहेका छन् । यस मोर्चामा मधेसी, आदिवासी जनजातिलगायतको अधिकारका लागि आवाज उठाउँदै आएका दलहरू रहेका छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया