माघ २८, २०८१ सोमबार February 10, 2025

सरकारले ल्याएको अध्यादेशका प्रावधानले लगानीलाई आकर्षित गर्न सक्छ  : डा. प्रकाशशरण महत (अन्तवार्ता)

विदेशी सहयोग दीर्घकालीन नहुने भएकाले आत्मनिर्भरता बढाउन निजी क्षेत्रलाई आकर्षित गर्ने बाटोमा जानु उपयुक्त हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्लो अमेरिकी नीतिले हाम्रो विकास निर्माणमा कस्तो प्रभाव पार्ला ?

अहिले नै यस्तै हुन्छ भन्न त कठिन छ । केही न केही प्रभाव देखिन सक्छ । तर, पछिल्लो समयमा सरकारले ल्याएको अध्यादेशका प्रावधानले लगानीलाई आकर्षित गर्न सक्छ । यसले केही सहज गराउँछ । लगानीकर्ताले जहाँ सहज हुन्छ, लगानी त्यतै लैजान्छ । त्यसैले, कानुनकै आधारमा मात्र सबथोक हुन्छ भन्न मिल्दैन । तर, बनेको कानुन सहज रूपमा कार्यान्वयन गर्न सकियो भने पनि यसको प्रभाव सकारात्मक देखिन सक्छ ।

यस्तो अवस्थाबाट जोगिन हाम्रो तयारी कस्तो छ ?

हाम्रो अर्थतन्त्रको आकार त्यस्तो ठुलो छैन । त्यसैले, हामी संकटमै पर्ने अवस्थाचाहिँ छैन । पछिल्लो समयमा आइटीमा राम्रो ‘स्कोप’ देखिएको छ । ठुला पूर्वाधार विकास या उद्योगमा जस्तो आइटीमा ठुलो लगानीको खाँचो पर्दैन । यसबाट राम्रो रोजगारी सिर्जना हुन सक्छ । युवा पलायन रोक्न सहयोग पुग्छ । स्वदेशमै बसेर राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने विश्वास आइटी सेक्टरले बढाएको छ । भविष्यमा हाम्रो निर्यातको ‘मेजर सेक्टर’ नै आइटी बन्न सक्छ । त्यसैले, हामीले त्यसका सहजीकरण गरिदिनुपर्छ ।

भविष्यमा हाम्रो विकास निर्माणलाई प्रभावित हुन नदिन के गर्नुपर्ला ?

यसका लागि स्वदेशी तथा विदेशी लगानी बढाउनु जरुरी छ । एनआरएनएको लगानीलाई पनि यसमा जोड्न सकिन्छ । यस्तो लगानीले देशमा उद्योगधन्दा फस्टाउँछन् । त्यसबाट रोजगारी बढ्छ । सरकारको राजस्व वृद्धि हुन्छ । यसबाट विकास निर्माणमा विदेशी अनुदान या ऋणमा भर पर्नुपर्ने अवस्थामा सुधार आउँछ । विदेशी सहयोग दीर्घकालीन नहुने भएकाले आत्मनिर्भरता बढाउन निजी क्षेत्रलाई आकर्षित गर्ने बाटोमा जानु उपयुक्त हुन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया