बैसाख २१, २०८३ सोमबार May 4, 2026

एनआरएन इन्भेस्टमेण्ट कम्पनीले जलविद्युत् बाहेकका क्षेत्रमा लगानी विस्तार गर्दैछ- महेशकुमार श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एनआरएन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले जलविद्युत्को सेयरमा आकर्षण नदेखिएको समयमा शुक्रबारबाट आइपिओ जारी गरेको छ । किन ?

हामीले यो कम्पनी सन् २०१२ तिर स्थापना गरेका हौँ । विदेशमा रहेका नेपालीहरूको सामूहिक रूपमा ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्ने यसको उद्देश्य हो । नेपालको समृद्धिमा सघाउने उद्देश्यले स्थापना भएको यो कम्पनीले सो समय मुलुकमा जलविद्युत् आवश्यकता बढी देखेकाले यही क्षेत्रमा हामीले धेरै लगानी गरेका हौँ । यही कारण धेरैले यसलाई जलविद्युत् कम्पनी भन्ठानेका हुन सक्छन् । तर, यो लगानी कम्पनी हो । लगानी कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न नपाउने नियम रहेकाले हामीले कम्पनीको नाम नै परिवर्तन गरेका हौँ ।

अहिले यस कम्पनीले २७ मेगावाटको दोर्दी खोला, ७३ मेगावाटको मध्य तमोर, २८.१ मेगावाटको तल्लो लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुन जलविद्युत् आयोजनामा लगानी गरेको छ । कम्पनीसँग अहिलेसम्म कुनै पनि कर्जा दायित्व छैन । अहिले जारी गर्न लागेको ३३ करोड ९८ लाख रुपैयाँबराबरको सेयरबाट उठेको रकम कम्पनीले थप लगानी गर्ने सोच हो । हामी जलविद्युत्मा मात्रै सीमित हुँदैनौँ, अन्य क्षेत्रमा समेत जान्छौँ ।

भनेपछि कम्पनीले अहिले सेयर जारी गरे पनि तत्कालै लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्था छैन ? 

हो, लगानीकर्ताले प्रतिफल पाउन कम्तीमा एक–दुई वर्ष कुर्नुपर्ने हुन्छ । हामीले लगानी गरेको दोर्दी खोला जलविद्युत् आयोजना लगभग एक वर्षमा सम्पन्न हुन्छ । त्यसपछि प्रतिफल आउन सुरु हुन्छ । त्यस्तै, अन्य आयोजनाहरू पनि आगामी दुई वर्षमा सम्पन्न हुन्छन् ।

हामीले यस कम्पनीमा ७ वर्षअगाडि लगानी गरेका हौँ । अहिले लगानी गर्नेले सय रुपैयाँ मूल्यमा नै सेयर पाउँछन् । उनीहरूले यत्तिको समय पर्खनु त परेन । अहिले कम्पनीमा जीवनाथ लामिछाने, शेष घले, मलगायत धेरै गैरआवासीय नेपालीहरू सञ्चालक समितिमा छौँ । अहिले यो कम्पनीमा ८ सय ९५ जनाको लगानी छ । हामीले जारी गर्न लागेको सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बिक्री गरिसकेका छौँ । सेयरमा कोषहरूबाट अधिक आवेदन पर्यो । उहाँहरू भनेको व्यावसायिक संस्था हो, राम्रो छ भन्ने नै यसको सन्देश पनि हो ।

अहिलेसम्म तपाईंहरूको लगानी जलविद्युत् क्षेत्रमा मात्रै देखिन्छ । सेयर बजारमा यस क्षेत्रको साख पनि गुमेको अवस्था छ, भविष्यमा आयोजना के हुने भन्ने द्विविधासमेत छ । लगानीकर्तालाई कसरी आश्वस्त पार्नुहुन्छ ? 

हामी जलविद्युत् कम्पनीमा मात्रै लगानी गर्दैनौँ । अर्को कुरा, अहिले पनि बजारमा राम्रा जलविद्युत् कम्पनीको मूल्यमा खासै ठूलो गिरावट आएको छैन । अयोजनाको सञ्चालन अवधि सकिएपछि के हुन्छ भन्ने कुरा धेरै पछिको कुरा हो । हाम्रा आयोजनाहरूको अवधि ३० वर्षको छ । हामीले केही वर्षपछि नै ती आयोजनाबाट वार्षिक १८–२० प्रतिशत प्रतिफल पाउने अवस्था आउनेछ र ३० वर्षको अवधिसम्म फाइदा लिइसकेका हुनेछौँ । तर, सो अवधिपछि पनि सरकार आफैँले मुलुकभरका सबै आयोजनाको व्यवस्थापन गर्न पक्कै पनि सक्दैन । त्यो समय मूल्य केही घट्न सक्छ । तर, सरकारले सम्बन्धितलाई ती आयोजना दिनुको विकल्प छैन । त्यसैले घाटामा जाने अवस्था नआउनेमा हामी विश्वस्त छौँ ।

एनआरएनबाट मुलुकमा खासै लगानी नभएका कुरा उठ्ने गर्छन् । अहिले फेरि पनि मुलुकभित्रकै सर्वसाधारणबाट सेयरमा लगानी गरेर पुँजी वृद्धि हुन लाग्यो भन्ने छ नि ? 

गैरआवासीय नेपालीहरूबाट मुलुकमा लगानी नै नभएको होइन । उपेन्द्र महतोले अस्पतालमा राम्रै लगानी गर्नुभएको छ, शेष घलेले होटेल क्षेत्रमा लगानी गर्नुभएको छ, जीवा लामिछाने, भुवन भट्टलगायतले लगानी गरिरहनुभएको छ । अहिले नै पनि सानिमा बैंक गैरआवासीय नेपालीहरूले प्रवद्र्धित गरेको बैंक हो । सानिमा माई हाइड्रो पनि यसकै उदाहरण हो ।

यस कम्पनीमा हामीले ७९ करोड २८ लाख लगानी गरेका छौँ । अहिले हाम्रो अधिकृत पुँजी ५ अर्ब छ । यो सेयर जारीपछि १ अर्ब १३ करोड रुपैयाँ पुग्छ । हामी अधिकृत पुँजी १० अर्ब बनाउने योजनासाथ अगाडि बढेका छौँ । अहिले सेयरमा नेपालबाहिर रहेकाहरू धेरैले समावेश हुन पाउनुभएको छैन । सेयरको डिम्याट खाता अनिवार्य रहेको र नेपाली बैंकमा खाता अनिवार्य गरिएको छ । केही जाने–बुझेकाहरूले भने नेपालबाट आफैँ र आफन्तमार्फत पनि सेयरमा लगानी गर्न सक्ने अवस्था छ । देशबाहिर रहेका धेरैलाई भने समेट्न गाह्रो छ । तर, हामी निकट भविष्यमा स्मार्ट एनआरएनजस्ता एप्लिकेसन बनाउँदै छौँ । यसले खाडी मुलुकमा रहेका साना–साना पुँजीलाई पनि कम्पनीमा भित्र्याउन सहयोग पुग्नेछ । डिम्याट एकाउन्ट, अनलाइन बैंकिङका सुविधासमेत यसमा हुनेछन् । हामी पछि पनि पुँजी वृद्धि गर्छौँ नै, सो वेला अहिले सहभागी हुन नसक्नुभएका, विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीलाई समेट्नेछौँ ।

कम्पनीले पछि पनि पुँजी बढाउने कुरा गर्दा उपलब्ध पुँजी लगानीका लागि योजना बनाउनुभएको छ ? 

हामी नाफा छ भन्दैमा मदिराजस्ता उद्योगहरूमा लगानी गर्नेछैनौँ । तर, अन्य लाभका क्षेत्रहरूमा लगानी गर्छौँ । भोलिका दिनमा कोभिडको अन्त्यसँगै नेपालमा फेरि पनि पर्यटन क्षेत्रमा ढोका खुल्नेछ । हामी होटेललगायतमा लगानी गर्न सक्छौँ । ठूला–ठूला आयोजना, राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत लगानी गर्ने ठूलो कम्पनी बन्ने सोच हो ।

हामीलाई अहिले नै पनि मुलुकभित्रका कतिपय क्षेत्रबाट लगानीका लागि प्रस्ताव आउने गरेका छन् । उपयुक्त र प्रतिफलसमेत हुने क्षेत्र भेटिएमा लगानी गर्छौँ । भौतिक पूर्वाधार मात्र होइन, विदेशमा रहेका नेपालीले सुरु गर्ने स्टार्ट अप व्यवसायहरूमा पनि लगानी गर्न सक्छौँ । अहिले मुलुकभित्र कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्नेजस्ता सोच पनि कम्पनीको छ । कोभिड–१९ का कारण मुलुकभित्र समस्यामा परेका र सम्भावना भएका क्षेत्रबाट पनि लगानीका प्रस्ताव आइरहेका छन् । उचित मूल्यमा पाइए र प्रतिफलसमेत हुने देखिएमा त्यस्ता क्षेत्रमा पनि लगानी गर्छौँ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार