काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू आर्थिक वर्षमा १५ लाख विद्यार्थीलाई ७ अर्ब रुपियाँ छात्रवृत्ति वितरण गर्ने भएको छ। यो छात्रवृत्ति आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षाअन्तर्गत चिकित्सा शिक्षासमेत समावेश गरेको छ।
चालू आर्थिक वर्षमा १५ लाख ७१ हजार ७ जना विद्यार्थीका लागि ७ अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपियाँ खर्च हुनेछ। तथ्यांकअनुसार विद्यालय शिक्षा छात्रवृत्तिअन्तर्गत आवासीय छात्रवृत्ति कार्यक्रममा १२ हजार ६५ विद्यार्थी लाभान्वित हुनेछन्। ती विद्यार्थीले ६० करोड ३२ लाख ५० हजार रुपियाँ छात्रवृत्ति पाउनेछन्।
आवासीय छात्रवृत्तिअन्तर्गत अपाङ्गता भएका ८ हजार १ सय ६२, मुक्त कमलरी ३ सय ३, फिडर छात्रावासमा अध्ययनरत ४ सय, सार्वजनिक निजी साझेदारीमा सञ्चालित नमुना विद्यालयमा अध्ययनरत ५ सय ३० लाई प्रति विद्यार्थी ५० हजार, हिमाली आवासीय, अति सिमान्तकृत समुदाय, सडक बालबालिका तथा बालश्रमिकका र एचआइभी प्रभावित र वादी समुदायका १२ हजार ६५ विद्यार्थीले वार्षिक ५० हजारका दरले ६० करोड ३२ लाख ५० हजार रुपियाँ छात्रवृत्ति पाउनेछन्।
कक्षा १–१२ मा अध्ययनरत गैरआवासीय छात्रवृत्तिअन्तर्गत १५ लाख ४० हजार १ सय ३ जना विद्यार्थीले ६२ करोड ७० लाख ४७ हजार रुपियाँ बराबर छात्रवृत्ति पाउनेछन्। गैरआवासीय छात्रवृत्तिअन्तर्गत कर्णाली प्याकेजसमेत गरी मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका १ देखि ५ कक्षासम्म अध्ययनरत छात्राका लागि वार्षिक १ हजार र अन्य जिल्लाका लागि प्रतिविद्यार्थी ४ सयका दरले ९ लाख ३५ हजार १ सय ३३ विद्यार्थीले ३८ करोड ८८ लाख रुपियाँ छात्रवृत्ति पाउनेछन्।
दलित विद्यार्थी छात्रवृत्तिअन्तर्गत कक्षा १–५ का ५ लाख ५२ हजार ७ सय ९१ विद्यार्थीले २१ करोड रुपियाँ आवासीय शिक्षा छात्रवृत्ति पाउनेछन् । गैरआवासीयअन्तर्गत मुक्त कमलरी छात्रवृत्तिमा २ सय ९० विद्यार्थी लाभान्वित हुनेछन् । मुक्त कमलरी छात्रवृत्तिअन्तर्गत आधारभूत तहका लागि १ हजार ५ सय र मावि तहअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई १ हजार ८ सय र कक्षा ११ र १२ मा अध्ययन गर्नेले ५ हजार रुपियाँ छात्रवृत्ति पाउनेछन्।
विपन्न लक्षित छात्रवृत्तिअन्तर्गत कक्षा ११ र १२ मा विज्ञान विषय र प्राविधिक धारमा अध्ययनरत विद्यार्थीलाई वार्षिक २४ हजार, कक्षा ११ र १२ मा अन्य विषयमा अध्ययनरतलाई वार्षिक १८ हजार र कक्षा ६ देखि १० सम्मका छात्रछात्रालाई वार्षिक ६ हजार रुपियाँ छात्रवृत्ति दिने व्यवस्था छ । विपन्न लक्षित छात्रवृत्तिअन्तर्गत ६० करोड रुपियाँ छात्रवृत्तिमा खर्च हुनेछ।
प्राविधिक तथा व्यावसायिक शिक्षा छात्रवृत्तिअन्तर्गत वर्गीकृत निःशुल्क छात्रवृत्ति, जेहेनदार, विशेष छात्रवृत्ति, दलित, मुस्लिम, विपन्न र सिमान्कृत समुदायका प्रशिक्षार्थीका लागि समेत गरी ५ करोड ९४ लाख रुपियाँ छात्रवृत्ति पाउनेछन्। तीमध्ये दलित, मुस्लिम, विपन्न र सिमान्कृत वर्गका लागि कार्यक्रम अवधिभर अध्ययन गर्न पाउने निर्वाह भत्ताबापत प्रति महिना ३ हजार ५ सय यातायात खर्चबापत प्रतिवर्ष १ हजार ५ सय र पोसाक भत्ताबापत प्रतिवर्ष २ हजार ५ सय रुपियाँ पाउनेछन्।
उच्चशिक्षा छात्रवृत्तिअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत सहिद तथा द्वन्द्वपीडित, मुक्त कमलहरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीले वार्षिक २४ हजार पाउनेछन्। आर्थिक रूपले विपन्न र दलित विद्यार्थीका लागि साधारण विषय अध्ययन गर्न वाषर््िाक १५ र प्राविधिक विषयका लागि वार्षिक २१ हजार रुपियाँ छात्रवृत्ति पाउनेछन्।
उक्त शीर्षकको छात्रवृत्तिअन्तर्गत ३९ करोड रुपियाँ छुट्याइएको छ। त्यसै गरी चिकित्सा शिक्षा छात्रवृत्तिअन्तर्गत अध्ययन जारी रहेका र अघिल्लो वर्षका विद्यार्थीसमेत गरी १० हजार ५ सय ९४ विद्यार्थीले ५ अर्ब ११ करोड रुपियाँ बराबरको छात्रवृत्ति पाउनेछन्। नेपाल समाचारपत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया