असार २३, २०८२ सोमबार July 7, 2025

किन फुटिरहन्छ मेलम्चीको पाइप?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र बुधबार दिउँसो जलमग्न भयो। यसबाट स्थानीय, सवारीसाधन र बटुवाले हुनसम्मको सास्ती भोगे भने सो क्षेत्र केहीबेर अस्तव्यस्त नै रह्यो। काठमाडौंमा यसअघि पनि पटक पटक मेलम्ची खानेपानीको पाइप फुट्दा समस्या उत्पन्न हुँदै आएको छ।

गत मंसिरमा नयाँ बजार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा यसरी नै जलमग्न भएको थियो। यसबाट सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने तौरतरिका र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ। साथै पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबीच आपसी समन्वय हुन नसकेको विषयमा पनि प्रश्न खडा भएको छ।

साथै सरकारी निकायबाटै आवश्यक अनुगमन भएको देखिन्न। एकले अर्कोलाई दोष देखाएर पन्छिने काम भइरहेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश राईले खानेपानीको पाइप फुट्नमा विभिन्न कारण रहेको बताउँदै सडकमा विद्युत् लाइन भूमिगत गर्ने क्रममा असावधानी अपनाउँदा बुधबार बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेको बताए। ‘पाइपमा पानीको प्रेसर बढी भएर या तेस्रो पक्ष (अर्को सरकारी निकाय)ले भत्काएर पाइप फुट्ने गरेको पाइएको छ। बुधबार तेस्रो पक्षले खानेपानीको पाइप भत्काएर समस्या देखिएको हो,’ उनले भने।

सरकारी निकायहरूले जमिनमुनि पाइप बिछ्याउँदा या तार राख्दा आपसमा समन्वय नगरेर तथा सावधानी नअपनाउँदा यस्तो समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ। ‘जमिनमुनि एकै ठाउँमा सबै पक्षले काम गर्दा आपसमा समन्वय हुनुपर्‍यो र सावधान पनि अपनाउनुपर्‍यो,’ उनले भने।

खानेपानीको पाइप फुट्दा बुधबार बबरमहल क्षेत्र आसपासका सरकारी कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौं र अन्य भवनहरू जलमग्न भएका थिए भने अदालतपरिसर डुबानमा परेपछि मुद्दा सुनुवाइसमेत प्रभावित भएको थियो।

काठमाडौं जिल्ला अदालतको दोस्रो भवनमा पानी पसेकाले भुइँतलामा रहेका २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति पुगेको अदालतले जनाएको छ। सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेसी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि सञ्चालन नहुने भन्दै अदालतले बुधबार साँझ सूचनासमेत जारी गरेको छ।

पाइपमा क्षति भएपछि मेलम्चीको पानी आपूर्ति तत्कालका लागि बन्द गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको ठेकेदार कम्पनी केई आईले जिआइएस म्यापको सही अध्ययन नगरी पाइलट ड्रिलिङपश्चात् रिमिङ गर्ने क्रममा २० इन्चको पाइपलाइनमा क्षति पुर्‍याएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बुधबार विज्ञप्ति निकालेर जनाएको छ। क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न केयुकेएलले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

आयोजना निर्देशनालयका अनुसार विद्युत् लाइन भूमिगत गर्ने, सडक तथा ढल निर्माणजस्ता काम गर्दा मेलम्चीको पाइप लाइनलाई क्षति नपुर्‍याउने गरी समन्वय गर्न सम्बन्धित निकायलाई पटकपटक आग्रह र पत्राचार गरिएको छ। विज्ञहरू भने सरकारी पूर्वाधार क्षेत्रमा कामको गुणस्तर नहुँदा, आवश्यक समन्वय र निगरानी हुन नसक्दा विगतमा पनि यस्ता दुर्घटना हुने गरेको बताउँदै अब पनि सावधानी नअपनाउने हो भने फेरि यस्तै दुर्घटना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

विद्युत् प्राधिकरणको लाइन भूमिगत गर्दा पाइप फुट्यो: खानेपानी मन्त्री

खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन भूमिगत गर्ने क्रममा बबरमहलमा खानेपानीको पाइप फुटेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युत्का लाइन भूमिगत गर्नका लागि होरीजेन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् ।

‘आज दिउँसो नेपाल विद्युत् प्राधिकरणले विद्युत्का लाइन भूमिगत गर्नका लागि होरीजेन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ,’ उनले लेखेका छन्, ’म कार्यक्रमका लागि पोखरामा थिएँ। पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौं आई अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहलमा आएको छु।’

सो क्षेत्रमा अहिले करिब ५० प्रतिशत पानी घटिसकेको पनि उनले बताएका छन्। उनले लेखेका छन्, ‘अहिले करिब ५० प्रतिशत पानी घटिसकेको छ। पानी जमेर त्यहाँ रहेका सवारीसाधन डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई भल्भ बन्द गर्न निर्देशन दिएको छु।’नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार