असार २३, २०८२ सोमबार July 7, 2025

जनस्तरबाटै डायलासिस केन्द्रको जमर्को

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल, फागुन ५ गते  । निजी मेडिकल कजेलको चर्को शुल्क तिरेर मिर्गौला डायलासिस गराउने आर्थिक हैसियतमा सबै नागरिक छैनन् । भौतिक संरचना भए पनि सरकारी अस्पतालमा मिर्गौला रोगीले डायलासिस सेवा पाउँदैनन् । आर्थिक रूपमा सम्पन्न नागरिकले भारत गएर भए पनि मिर्गौला प्रत्यारोपण गर्छन् तर विपन्न नागरिक मिर्गौलाको डायलासिसको पालो कुर्दाकुर्दै देहत्याग गर्छन् ।

यही कारुणिक वास्तविकताको अन्त्य गर्न रुपन्देहीका नागरिक स्वतस्फूर्त जुटेका छन् । मिर्गौला रोगबाट पीडित विपन्न नागरिकलाई निःशुल्क डायलासिस सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा केन्द्र स्थापनाको तयारीमा स्थानीयवासीले आर्थिक सङ्कलन अभियान आरम्भ गरेका हुन् ।

निजी स्वास्थ्य संस्थाको महँगो शुल्क र सरकारी अस्पतालमा डायलासिस गर्ने सेवा उपलब्ध नहुँदा पीडा र आहतबाट ग्रस्त मिर्गौलाका बिरामीको हितलाई ध्यानमा राखेरै डायलासिस क्लिनिक स्थापनाको तयारी थालिएको हो ।

सामाजिक अभियन्ता एवं रोटरी क्लब भैरहवाका अध्यक्ष रामप्रसाद पन्थीका अनुसार डायलासिस केन्द्र तथा क्लिनिक सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको छ । उहाँले महायज्ञबाट सङ्कलित रकम र जग्गा प्राप्त भएको र तत्कालै भवन निर्माण कार्य आरम्भ गरिने बताउनुभयो ।

६२ लाख नगद र दुई करोडको जग्गा प्राप्त

अध्यक्ष पन्थीले महायज्ञबाट नगद ६२ लाख रुपियाँ सङ्कलन भएको र दुई करोड बराबरको जग्गा दानमार्फत प्राप्त भएकाले अब आफूहरूको उद्देश्य अनुसार डायलासिस केन्द्र तथा क्लिनिक भवन बनाइने बताउनुभयो । उहाँका अनुसार डायलासिस केन्द्र तथा क्लिनिक बनाउन पाँच करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

उहाँले भन्नुभयो, “रुपन्देहीमा मिर्गौला रोगीको सङ्ख्या बर्सेनि बढ्दो छ तर डायलासिससम्म पनि गराउन समस्या भएकाले ओमसतिया गाउँपालिकामा महायज्ञ गरेरै आर्थिक स्रोत जुटायौँ । अब निर्माण सुरु गर्छौं । एक दिनमा २० जनाको डायलासिस गर्ने गरी भवन निर्माण गर्दै छौँ । पैसा हुनेले डायलासिसको शुल्क दिन सक्ने र विपन्नले निःशुल्क सेवा लिन सक्ने गरी काम अघि बढाएका हौँ ।”

उहाँले सिद्धार्थनगर नगरपालिकामा दुई स्थान र ओमसतिया गाउँपालिकामा जग्गा प्राप्त भएको र तीनमध्ये एक स्थानमा डायलासिस सेवा केन्द्र स्थापना गरिने बताउनुभयो । उहाँका अनुसार रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर महादेव शिव मन्दिरले आयोजना गरेको महायज्ञमा सहभागी महामण्डेश्वर सिद्धयोगी स्वामी बाबा कालीदासले पाँच लाख रुपियाँ प्रदान गर्नुभयो ।

उहाँले डायलासिस केन्द्र स्थापना भएपछि च्यारिटीमार्फत थप रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मस्थल भारतबाट यहाँ आएर आर्थिक सहयोग गर्न पाएँ । नेपालीको सेवा गर्नु मेरो दायित्व हो । त्यसैले थप सहयोग गर्छु । यथाशीघ्र भवन निर्माण गरी सेवा सुरु गर्नुहोस् ।”

मिर्गौला रोगी बढे, पूर्वाधार छैन 

लुम्बिनी प्रदेशमा मिर्गौला रोगी कति छन् भन्ने तथ्याङ्क सरकारसँगै छैन । त्यसमाथि दशकअघिका भौतिक संरचनामै स्वास्थ्य सेवा प्रदान गरिरहनु परेको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत एवं सूचना अधिकारी शैलेन्द्रकुमार पाण्डेका अनुसार डायलासिस सेवा लिने बिरामीको वास्तविक तथ्याङ्क छैन ।

उहाँले भन्नुभयो, “यहाँ सरकारी, निजी अस्पताल र भारत गएर पनि उपचार सेवा लिने गरेको पाइन्छ । मुख्य कुरा त यहाँ डायलासिस सेवा पर्याप्त छैन । भौतिक पूर्वाधार र जनशक्तिको अभावले सेवा थप गर्न नसकिएको हो ।”

उहाँले जनसङ्ख्या तीन गुणा बढ्दा पनि पुरानै भौतिक संरचनामा काम गर्नुपर्दा प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हो, भनेको जस्तो काम गर्न सकिएको छैन । नयाँ भवन बन्दै छन् । भौतिक संरचना थप भएपछि सेवा पनि सोही अनुरूप अघि बढाउने योजना छ ।

लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पताल, गुल्मी अस्पताल, पाल्पाको रामपुर अस्पताल र सङ्घीय सरकार अन्तर्गतको भेरी अस्पतालमा डायलासिस सेवा उपलब्ध छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार