असार २३, २०८२ सोमबार July 7, 2025

सुरक्षा मापदण्ड उपेक्षा गर्दा दोहोरिँदै अप्रिय घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ — राज्यका उच्च पदस्थ व्यक्ति सहभागी सार्वजनिक कार्यक्रममा सुरक्षा मापदण्ड पालना नगर्दा अप्रिय घटना दोहोरिने गरेका छन् । पोखरा भ्रमण वर्ष उद्घाटनमा शनिबार भएको बेलुन विस्फोटको घटना पनि यसकै उदाहरण हो ।

सार्वजनिक ओहदाका उच्च पदस्थ पदाधिकारी सहभागी कार्यक्रममा सुरक्षा निकाय, आयोजक पक्ष र सम्बन्धित व्यक्ति आफैंले पालना गर्नुपर्ने मापदण्ड ख्याल नगर्दा अप्रिय घटना दोहोरिएका छन् ।

सार्वजनिक पदाधिकारीमाथि यसअघि कतै जुत्ता प्रहार त कतै झापड हान्नेसम्मका घटना दोहोरिएका छन् । यस्तै घटनाक्रमलाई लिएर सरकारले ‘विशिष्ट’ व्यक्तिको सुरक्षामा अपनाउनुपर्ने कार्यक्रम स्थल र अंगरक्षकसम्बन्धी मापदण्डमै हेरफेर गरेको थियो ।

पछिल्लो पटक गत मंसिरमा सरकारले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि संशोधन गरी कसलाई कुन रूपमा सुरक्षा प्रदान गर्ने भन्ने व्यवस्था हेरफेर गरेर कार्यान्वयनमा ल्याइसकेको छ । पोखरा घटनाको सत्यतथ्य जाँचबुझ गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा आइतबार ८ सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ ।

सुरक्षा विज्ञहरू शनिबारको कार्यक्रममा पूर्वसावधानी र सुरक्षा मापदण्डलाई उपेक्षा गरेका कारण घटना भएको बताउँछन् । नेपाली सेनाका पूर्वउपरथी बिनोज बस्न्यात राज्यबाट सुरक्षा र अरू सुविधा लिएका विशिष्ट व्यक्तिले आफू सम्मिलित कार्यक्रमलाई राजनीतिक रूपमा मात्र हेर्ने प्रवृत्तिले बेलाबखत अप्रिय घटना हुँदै आएको बताउँछन् ।

‘भीभीआईपी/भीआईपीका रूपमा सुविधा लिएका व्यक्तिले हिजोआज आफू सम्मिलित सार्वजनिक कार्यक्रमलाई सुरक्षाका दृष्टिकोणबाट भन्दा राजनीतिक र वैयक्तिक रूपमा लिने गरेको पाइन्छ, यो सोच नै गलत हो,’ उनी भन्छन्, ‘विशिष्ट व्यक्ति कुनै सार्वजनिक कार्यक्रममा जाने तय भएको छ भने कार्यक्रम तालिका, औचित्य हेरिन्छ । कार्यक्रमको सुरक्षा प्रबन्ध, यसबापत राज्यलाई हुने हित हेरिन्छ, अनि त्यहाँ गएर विशिष्ट व्यक्तिले गर्ने कामको समयबद्ध प्रारूप बन्छ । यही नै हो प्रक्रिया र मान्यता तर अहिले त विशिष्ट व्यक्तिलाई आयोजक पक्षले आफूअनुकूल घुमाउने गरेको देख्छु, पोखरामा मन्त्री नै बेलुन विस्फोटमा परेको घटना पनि यसकै एउटा परिणाम हो ।’

उता, कास्की प्रहरीले ग्यास भरिएका बेलुन बिक्री गर्ने भारत मोतिहारी घर भई पोखरा बस्दै आएका कमलेश कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार कमलेश कुमारले प्रारम्भिक सोधपुछका क्रममा विगत १२ वर्षदेखि आफूले हाइड्रोजन ग्यास भरिएका बेलुन बिक्री गर्दै आएको बयान दिएका गरेका छन् ।

एसपी ओलियाले विस्फोट भएका बेलुनका टुक्रा विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि मात्र कुन ग्यास भरिएको भन्ने यकिन हुने बताए । सम्बन्धित व्यापारीले नै बेलुनमा हाइड्रोजन ग्यास भरिएको स्वीकार गर्नुले अतिप्रज्वलनशील ग्यास भरिएका बेलुन आगोको लप्काले टिप्ने ठाउँमा राख्नु नै घटनाको मूल कारण भएको सुरक्षा निकायको भनाइ छ ।

नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी अतिप्रज्वलनशील पदार्थ भरिएका बेलुनमा आगो सल्कियो भने के हुन्छ भन्ने सामान्य चेतसमेत नभएका कारण घटना हुन पुगेको बताउँछन् ।

‘पोखरा घटना सेफ्टी प्रोटोकलको पालनामा गरिएको लापरबाहीकै नतिजा हो, विस्फोटसँग जोडिएको पृष्ठभूमिलाई नियाल्दा आयोजकले सेफ्टी प्रोटोकलको सामान्य चेतसमेत राखेको देखिएन,’ सुवेदी भन्छन् । यो घटनाबाट पाठ सिकेर आगामी दिनमा ‘सेफ्टी प्रोटोकल’ मा ध्यान पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्य ‘अतिविशिष्ट व्यक्तिहरू (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष) का लागि प्रोटोकल’ बनाएर सुरक्षा व्यवस्था मिलाइने गरेको र बाँकीको हकमा सामान्य सुरक्षा जाँच गर्दै आएको बताउँछन् ।

‘भीभीआईपीका लागि प्रोटोकल बनाएका हुन्छौं, बाँकीका विषयमा कार्यक्रम स्थलमा सामान्य सुरक्षा जाँच हुन्छ, सामान्यतः कार्यक्रम तथा विषयमा आयोजकले नै व्यवस्था गर्ने हुन्,’ उनी भन्छन्, ‘हरेक स्थानमा पुगेर प्रहरीले निगरानी गर्न सम्भव हुँदैन । किनभने धेरै स्थानमा एकैसाथ कार्यक्रम भइरहेका हुन्छन् । प्रहरी प्रत्येक कार्यक्रममा सबै ठाउँमा पुग्न सक्ने अवस्था रहँदैन, त्यसैले कुन स्तरको सुरक्षा गर्ने भन्ने तय हुन्छ, बाँकी कार्यक्रम आयोजक पक्षले नै मिलाउँछन् ।’

मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपातको प्रयास भएको थियो । २०८० मंसिर २८ मा स्वागतमा लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात प्रयास गरेका थिए । त्यसअघि २०७६ फागुन १८ मा राष्ट्रिय सभागृहमा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको थियो ।

सशस्त्र द्वन्द्वमा मारिएका जुम्लाका मोहन तिरुवाका छोरा रतनले उनीमाथि जुत्ता प्रहार गरेका थिए । दाहालले मन्तव्य टुंग्याएर सोफामा फर्कने क्रममा जुत्ता प्रहार भएको थियो । दाहाललाई बागलुङका पदम कुँवरले २०६९ मंसिर १ मा भृकुटीमण्डपमा थप्पड हानेका थिए ।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई २०६७ माघ ८ मा सुनसरीमा आयोजित कार्यक्रममै हलभित्र पसेर देवीप्रसाद रेग्मीले थप्पड हानेका थिए । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालामाथि २०६८ मा कांग्रेस कार्यकर्ता प्रवेश बस्नेतले कपनमा आयोजित कार्यक्रममा आक्रमण प्रयास गरेका थिए ।

कार्यक्रममा कोइरालालाई सम्मानस्वरूप खादा ओढाउँदै गर्दा अगाडिबाट बस्नेतले काठको फ्रेमले हानेका थिए । २०७३ मंसिर २२ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि पोखरामा सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका थिए । रास्वपा सभापति रवि लामिछानेमाथि २०८० पुस ७ मा पोखरामा मकैको खोया प्रहार भएको थियो ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार