असार २३, २०८२ सोमबार July 7, 2025

श्रीलङ्का टापुको उत्पादनले भारतीय गोलभेँडा प्रतिस्थापन

टापु क्षेत्रमा गोलभेँडा उत्पादन बढेसँगै पूर्वी नेपालमा दैनिक आयात हुँदै आएको भारतीय गोलभेँडालाई समेत प्रतिस्थापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राहक्षेत्र, फागुन ६ गते  ।डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा अहिले गोलभेँडा धेरै उत्पादन हुन थालेको छ । अहिले श्रीलङ्का टापु क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा पुर्‍याइने गरेको छ ।

टापु क्षेत्रमा गोलभेँडा उत्पादन बढेसँगै पूर्वी नेपालमा दैनिक आयात हुँदै आएको भारतीय गोलभेँडालाई समेत प्रतिस्थापन गरेको धरान कृषि उपज बजार स्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षसम्म धरान कृषि उपज बजार स्थलमा दैनिक पाँचदेखि १० टन भारतीय टमाटर आयात हुँदै आएको थियो । यस पटक श्रीलङ्का टापुका किसानले उत्पादन गरेको गोलभेँडाले भारतीयलाई विस्थापित गरेको छ ।” पहिला भारत र झापाबाट धरान बजारमा गोलभेँडा आउने गरेकोमा यस पटक भने टापुकै गोलभेँडाले बजार लिइरहेको छ ।

कम विषादीको प्रयोग र अर्गानिक रूपमा टमाटर उत्पादन भएकाले पनि बजारमा त्यसको माग बढेको उहाँले बताउनुभयो । धरान कृषि उपज स्थलमा दैनिक गोलभेँडा, फूलकोपी, बन्दाकोपी, भेडेखुर्सानी, अकबरे खुर्सानी, बेसार, साग, काँक्रा, इस्कुस, बोडीलगायतका एक सय टन तरकारीको दैनिक कारोबार हुने गरेको छ । उपज स्थलमा व्यापारीले सङ्कलन गरेको तरकारी पहाड र मधेशका जिल्लामा जाने गरेको धरान उपज केन्द्रले जनाएको छ ।

गहुँ, मकै, कोदो, बदाम, तरकारी, उखु, बेसार लगाएर जीविका चलाउँदै आएका टापुवासी गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रूपमै उन्नत जातको गोलभेँडा खेतीमा लागेको टापुका कृषक अनिल चन्द्रवंशीले बताउनुभयो । एक बिघा क्षेत्रफलमा गोलभेँडा खेती लगाउनुभएका उहाँले १० लाख रुपियाँको बेचेको बताउनुभयो ।

धरान कृषि उपज बजार स्थलबाट आउने व्यापारीले बारीबाटै गोलभेँडा खरिद गरिदिँदा किसानले उत्पादन गरेको गोलभेँडा सहज रूपमा बिक्री हुँदै आएको छ । टापुमा उत्पादन भएको गोलभेँडा अरूभन्दा राम्रो भएकाले उपभोक्ताको रोजाइमा समेत टापुको गोलभेँडापर्ने गरेको धरान कृषि उपज केन्द्रले जनाएको छ । श्रीलङ्का टापु क्षेत्रमा २० बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका छन् ।

गोलभेँडा खेतीमा मल्चिङ प्रविधिसहित बाँस, धागो, मल, विषादी, भिटामिन, जोताइसहित प्रतिबिघा चार लाख रुपियाँ लगानी गरेका कृषकले १५ देखि २० लाखभन्दा बढीको गोलभेँडा बिक्री गर्दै आएको कृषक रोशिक चन्द्रवंशीले बताउनुभयो ।

दैनिक बजार भाउ अनुसार व्यापारीहरू कृषकको खेतमै पुगी मूल्य निर्धारण गरेर खरिद गरिदिँदा किसानले राम्रो भाउ पाएको अर्का कृषक अर्जुन चन्द्रवंशीले बताउनुभयो । कृषक अर्जुनले तीन बिघा, सत्यनारायण चन्द्रवंशीले एक बिघा, रोशिक चन्द्रवंशीले एक बिघा १० कट्ठा, प्रताप चन्द्रवंशी, लक्ष्मी चन्द्रवंशीले एक बिघामा गोलभेँडा खेती लाउने प्रतिनिधि किसान मात्र हुन् ।

किसानले बारीबाटै व्यापारीलाई पहिलो टिपाइमा प्रतिकेजी ८० रुपियाँका दरले गोलभेँडा बिक्री गरेको कृषक रोशिक चन्द्रवंशीले बताउनुभयो । पछिल्लो समय पनि कृषकले प्रतिकेजी २० रुपियाँका दरले व्यापारीलाई बिक्री गर्दै आएका छन् ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वडामा पर्ने श्रीलङ्का टापु उर्वर भूमि भएकाले उब्जनीका लागि राम्रो मानिन्छ । नदीको बिच भागमा रहेको टापु क्षेत्रमा मुख्यतः कृषि र पशुपालन व्यवसाय गर्दै आएका छन् । टापु क्षेत्रको अनुकूल वातावरणका कारण कृषि उपज र पशुपालनका लागि उपयुक्त भएकाले गोलभेँडा खेती फस्टाएको कृषक सत्यनारायण चन्द्रवंशी बताउनुहुन्छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार