काठमाण्डाैंः इलाममा बिहीवार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १८ गते स्वाब लिइएको ४२ जना सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो । साउन १८ गते ४२ जना सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब संकलन गरेर पठाइएको थियो ।
हालसम्म यस गणमा जम्मा ४६ जना सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म दुई जना नेपाली सेना र एक जना नेपाल प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना संक्रमितको संख्या ७६ जना पुगेको छ ।
त्यस्तै साउन १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।
कारोना फोकल पर्सन बरालले हासम्म इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया