काठमाण्डौः पृथ्वीनारायण क्याम्पस पोखरामा सामान्य विवादका कारण मंगलबार निर्धारित स्ववियु निर्वाचन स्थगित भयो । बुधबार ८ बजेदेखि मतदान हुने गरी निर्वाचन समितिले सूचना जारी गरेको छ ।
मंगलबार बिहान ८ बजे मतदान सुरु हुने भनिए पनि मतपत्रमा एकजना उम्मेदवारको रेजा लगाउने ठाउँ नभएका कारण विवाद भएपछि मतदान सुरु हुन नसकेको हो ।
अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको थियो । उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएपछि बुधबारसम्मका लागि स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जनाए । यस विषयमा निर्वाचन समितिले आत्मालोचना गरेको छ ।
बिहान लामो समयसम्म मतदान प्रारम्भ नभएपछि विद्यार्थीहरुले बगरस्थित क्याम्पस गेटअघि नाराबाजी गरेका थिए । केही समय विद्यार्थी र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।दिउँसो निर्वाचन समितिले स्थगनको सूचना जारी गरेपछि मतदान गर्न आएका विद्यार्थी घण्टौंसम्म लाइन बसेर घर फर्किन बाध्य भए ।
धेरै मतदाता रहेको पीएनमा २२ औं स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन् । २१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुने छन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एकजना उपाध्यक्ष र एकजना सहायक सचिव हुने व्यवस्था छ ।
राष्ट्रियस्तरमै चर्चित नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसलमा भने २०६५ यता स्ववियु चुनाव हुन सकेको छैन । पछिल्लोसमय २०७९ को चुनाव पनि अन्तिममा आएर भाँडिएको थियो ।
यसपालि निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ, संगठन, प्यानल दर्ता भएका थिए । एमालेनिकट अनेरास्ववियुले एकछत्र जित्दै आएको पिएनमा यसपालि प्रत्यक्षतर्फ अनेरास्ववियुबाट विष्णु पोखरेल र नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा छ ।
यस्तै, अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, संयुक्त प्यानलबाट सन्तोष पौडेल छन् । स्वतन्त्रबाट कमल सुवेदी र विप्लवी न्यौपाने अध्यक्षका उम्मेदवार हुन् ।
निर्वाचन समितिका अनुसार समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् ।
पिएनमा ९ हजार २ सय ७० मतदाता छन् ।
बाहिर अनसन, भित्र मतदान
पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा मंगलबार अनौठो दृश्य देखियो । बाहिर विद्यार्थीको अनशन भइरहँदा भित्र भने स्ववियुको मतदान चलिरह्यो ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्तरिक विवादले निर्वाचन समितिले सचिव पद मनोनयनमा नाम समावेश नगरिएको भन्दै एउटा समूह रिले अनशनमा बसेको हो ।
मतदानको अघिल्लो दिन सोमबारदेखि नै क्याम्पसको मूल गेट अगाडि रिले अनशनमा बसेका हुन् । असन्तुष्ट पक्षले बाहिर नाराबाजी गरिरहँदा भित्र विद्यार्थीले मतदान प्रक्रियामा भाग लिए । सुरुआतमा क्याम्पसको भित्रै होस्टेलमा बस्नेहरुले भने मतदान सुरु गरेका थिए । पछि प्रहरीको सहयोगमा विद्यार्थीलाई मतदान प्रक्रियामा सामेल गराइएको थियो ।
यस विषयमा असन्तुष्ट पक्ष नेविसंघ केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि संस्कार कोइरालाले यो चुनाव नाममात्रको चुनाव भएको भन्दै तत्काल स्थगनको माग गरे । उनले भने, ‘क्याम्पस प्रमुख र निर्वाचन समितिले राजीनामा नदिएसम्म यो चुनावमा जाँदैनौं ।’
नेपाली कांग्रेस जिल्ला नेतृत्वले नेविसंघ सचिवबिनै दीपक थापा नेतृत्वको निर्वाचन समितिलाई मतदान गराउन सहमति दिएपछि मतदान सम्भव भएको हो ।
नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचन प्रक्रियामा जान मनोनयन दर्ता गराएका थिए । आफ्नो रोजाइको व्यक्तिले सचिवमा भने टिकट नपाएको भन्दै मनोनयन पत्र च्यातिएको नेविसंघकै अर्को पक्षको आरोप छ । नेविसंघ केन्द्रीय समितिले यो पदमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाउन परिपत्र गरेको थियो । तर, काँग्रेस जिल्ला सभापति किशोरदत्त बरालसमेतले सचिवबिनै चुनावमा जान सकिने भन्दै निर्वाचन समितिलाई काम अघि बढाउन स्वीकृति दिएका थिए ।
क्याम्पसमा २०४१ जना विद्यार्थी मतदाता छन् । दुई वर्षअघि पनि यहाँ नेविसंघकै आन्तरिक कलहले चुनाव रोकिएको थियो । २०७३ सालमा भने अनेरास्ववियु नेतृत्वले चुनाव जितेको थियो ।
त्रिविअन्तर्गत यहाँको पोखरा नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा भने शान्तिपूर्णरुपमा मतदान भयो । रामघाटस्थित नर्सिङमा कुल ३४९ मतदाता रहेकोमा ३४७ मत खसेको कलेजका प्रशासन प्रमुख प्रजापति पराजुलीले जनाए । मंगलबार राति १ सय मत गनिसक्दा अनेरास्ववियु अगाडि छ । यहाँ २०७३ सालमा नेविसंघले चुनाव जितेकोमा २०७९ मा अनेरास्ववियुका उम्मेदवारविरुद्ध नेविसंघ अदालत गएको थियो ।
पोखरा हरियोखर्कस्थित वन क्याम्पसमा कुल ४५० मतदातामध्ये ८५ प्रतिशत मतदान भएको छ । यहाँ २०७३ र ०७९ मा अनेरास्ववियुले बाजी मारेको थियो ।
त्रिविअन्तर्गत जनप्रिय बहुमुखी कलेजमा भने असहज परिस्थितिका कारण चुनाव स्थगन भएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालले त्रिविको सूचनाबमोजिम निर्धारित चुनाव हाललाई स्थगन गरिएको जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत विन्दुवासिनी संस्कृति विद्यापीठ, पोखरामा १० चैतमा निर्वाचन हुने कार्यतालिका छ । राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया