असार २०, २०८२ शुक्रबार July 4, 2025

दोहोरो दबाबमा देउवाः कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमति कार्यान्वयन हुने कि नहुने शंकाकै अवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चिसिँदै गएको सम्बन्धको दूरी थप बढिरहेको छ ।

अन्तर्राष्ट्रिय र पार्टीभित्रकै नेताहरूका कारण कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेका छन् । अन्तर्राष्ट्रिय शक्तिको निरन्तरको दबाब र पार्टीभित्रैका नेताहरूले सरकारको लगातार आलोचना गर्न थालेपछि देउवा दोहोरो दबाबमा परेका हुन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर निरन्तर विरोध गरिरहेका छन् । तर, सभापति देउवाले उनीहरूलाई रोक्ने अवस्था छैन । हालै बसेको पदाधिकारी बैठकमा देउवाले सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न निर्देशन नै दिनुप¥यो । तर, नेताहरू चुप लागेर बस्ने अवस्था छैन ।

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भई सरकार बनेको ९ महिना पुग्यो । तर, जुन सहमतिका साथ सरकार बनेको हो त्यसमा सरकारले राम्रो काम गर्न नसकेको कांग्रेसकै नेताहरूको भनाइ छ । यसबीचमा चीन भ्रमण गरेका प्रधानमन्त्री ओलीले भारतको समेत भ्रमण हुने आफैंले बताउँदै आएका थिए । त्यसका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणाले पटकपटक नयाँदिल्ली गएर वातावरण बनाउने काम गर्दै आएकी छन् । तर, ओलीको भारत भ्रमण गराउन उनी सफल हुन सकिनन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित अझै भारत भ्रमणबारेमा प्रयासरत नै छन् । तर, भारतले रुचाएको छैन ।

‘अहिले कांग्रेस र एमालेका नेताहरूबीच पहिलाजस्तै सम्बन्ध छैन । दूरी बढ्दै गइरहेको छ, सम्बन्ध चिसिँदै गइरहेको छ । एकले अर्कोमाथि गर्ने विश्वासको वातावरण पहिलाजस्तो छैन, भारतसहित अन्तर्राष्ट्रिय दबाब अर्कै छ । अन्तर्राष्ट्रिय र पार्टीभित्रकै दबाब थेग्न नसक्ने अवस्थामा कांग्रेस सभापति हुनुहुन्छ । कसरी अगाडि बढ्ला अहिले भन्न सकिने अवस्था छैन,’ उच्च स्रोतले भने ।

प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमति कार्यान्वयन हुने कि नहुने शंकाकै अवस्था छ । गभर्नर नियुक्तिमा ओली र देउवाबीचमा सहमति भएको बताइए पनि ढिलाइ भइरहेको छ । ओली र देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत यो विषयमा छलफल गरेका छन् । सत्ता सहकार्यमा एकजुट रहेको सन्देश पनि दिएका छन् । तर, कतिपय कांग्रेस नेताले नै सरकारको आलोचना गर्दै आएका छन् । यही बीचमा कांग्रेसले आउँदै १७ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा नेताहरू कसरी प्रस्तुत हुने सोहीअनुसार देउवा अगाडि बढ्ने अवस्था आउन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।

यस्तै, सरकार बजेट ल्याउने गृहकार्यमा छ । यही बीचमा आइतबार (आज) कांग्रेस सभापति देउवा उपचारका लागि थाइल्यान्डको बैंकक जाँदै छन् । पत्नी एवं पराष्ट्रमन्त्री राणासहित बैंकक जान लागेका देउवा एक साता उतै बस्ने बताइएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निःसर्त कांग्रेसलाई समर्थन गर्ने बताइसकेका छन् । त्यसपछि नै हो कांग्रेस नेताहरूले सरकारको तिखो आलोचना गर्न थालेको र त्यसकारण देउवालाई दबाब परेको छ । तर, देउवाले प्रचण्डको प्रस्तावमा खासै चासो नदिएको पनि नेताहरू बताउँछन् ।

यो बीचमा एमालेले समेत भित्रभित्रै माओवादी केन्द्रसँग सम्बन्ध बनाउन लागेको बताइएको छ । बजेटसम्म कुर्ने, गभर्नर नियुक्तिलाई आफ्नो पोल्टामा पार्ने कांग्रेसको दाउ एमालेले बुझेको छ । ‘देउवा बैंकक गएको बेला एमाले र माओवादीबीच पनि नयाँ सहमति हुन सक्छ । वा दोहोरो दबाबमा रहेका देउवा र प्रचण्ड पनि मिल्न सक्ने अवस्था छ । भित्रभित्र अनेक छलफल र अनेक खेल जारी नै रहेको देखिन्छ,’ एक नेताले भने ।

बिचौलियाको कारण गभर्नर नियुक्तिमा ओली र देउवाबीच टकराब बढ्ने दाबी गरिएको थियो । तर, हालै बालुवाटारमा बसेको दुईदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रले गभर्नरको विषयमा पनि सहमति गरेको बताइन्छ । गभर्नरमा देउवाले अघि सारेका डा. गुणाकर भट्टको नामप्रति ओली पनि सहमत रहको बताइन्छ । भट्टलाई रोक्नका लागि अदालतमा पूरक निवेदन परिसकेको छ । त्यसको सुनुवाइ आइतबार (आज) हुने भनिएको छ ।

कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेको र गठबन्धन नै धर्मराउँदै गइरहेको बेला सरकारका मन्त्रीहरू भने दुई दलका बीचको सम्बन्धमा कुनै समस्या नभएको बताउँछन् । कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार कांग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या नभएको दाबी गरेका छन् । पोखरा पुगेका लेखकले सत्ता साझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’ उनले संविधानविरोधी एवं लोकतन्त्रविरोधी गतिविधि जनताले नरुचाएका बताए । तर, प्रचण्डले निरन्तर सरकारकै कारण संविधान र गणतन्त्रविरोधी गतिविधि बढ्दै गइरहेको टिप्पणी गर्दै आएका छन् ।

यसैबीच शनिबार प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा भेटघाट भएको छ । भेटमा गृहमन्त्री लेखक, एमाले नेता एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको समेत सहभागिता थियो । नेताहरूका बीचमा संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न बैठक बसेको बालुवाटारले जनाएको छ ।

प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार खरेलको सक्रियतामा शान्ति प्रक्रियाको बाँकी रहेको एउटा महत्वपूर्ण पक्ष संक्रमणकालीन न्याय टुंग्याउन पछिल्लोपटक शीर्ष नेताहरूबीचका छलफल बाक्लिएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार