बैसाख १३, २०८२ शनिबार April 26, 2025

सत्ता साझेदार शीर्ष नेता एकमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताले दुई दलबिच भएको सहमति अनुसारै सरकार अघि बढ्ने प्रस्ट पार्नुभएको छ । सत्ता गठबन्धन परिवर्तन हुने र सरकार बदलिने चर्चा भइरहँदा कांग्रेस र एमालेका नेताले २०८१ असार १७ गतेको सातबुँदे सहमति अनुरूप सरकार अघि बढ्ने बताउनुभएको हो ।

विशेषतः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलिने अभिव्यक्ति दोहोर्‍याइरहँदा सत्ता साझेदार दलका शीर्ष नेताले सत्ता गठबन्धनमा बाहिर प्रचार भए जस्तो खटपट नरहेको प्रस्टोक्ति दिनुभएको छ । शुक्रबार संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग सङ्क्षिप्त संवाद गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, “अब १४ महिनापछि म राजीनामा गर्छु । शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।”

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि थाइल्यान्डमा स्वास्थ्योपचारपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संवाद गर्दै सत्ता साझेदार दलबिच कुनै समस्या नरहेको प्रस्ट पार्नुभयो । उहाँले ‘सत्ता गठबन्धनमा खटपट सुरु भएको हो’ भन्ने प्रश्नमा जवाफ दिँदै भन्नुभयो, “सब ठिक छ । केही भएको छैन । सहमति अनुसारै हुन्छ ।”

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दुई दलबिच समस्या भए संवाद गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले सत्ता गठबन्धनमा खटपट छैन । केही पनि हुँदैन । जे हाम्रो सहमति छ, त्यही अनुरूप अघि बढ्छ भन्नुभएपछि मैले केही भनिरहनु परेन ।”

सरकार परिवर्तन हल्ला मात्रै

परराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभयो । थाइल्यान्डमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुन सक्छ ।”

कांग्रेस सभापति देउवा बैङ्कक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, “सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैङ्कक जानुभएको हो ।” डा. राणाले आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै बिहीबार मात्रै पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीसँग फोनमा कुराकानी गर्नुभएको जानकारी दिनुभयो ।

मन्त्री डा. राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गरी शुक्रबार स्वदेश फर्किनुभएको हो । यसै सिलसिलामा उहाँले अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रहरूको विशेष बैठकको पनि अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा उहाँले यी राष्ट्रको साझा चासोका विषयका बारेमा नेपालका तर्फबाट धारणा राख्नुभएको थियो ।

उहाँले नेपालका तर्फबाट राखिएको धारणाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्धन गर्न सघाउ पुगेको महसुस भएको बताउनुभयो ।

मन्त्री डा. राणाले यस कार्यक्रमको ‘साइडलाइन’ मा युएनस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिनुभयो ।

उक्त भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको जानकारी उहाँले दिनुभयो । साथै यस भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादका बारेमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्घ सङ्गठन एवं नागरिक समाजका प्रतिनिधिलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि मन्त्री डा. राणाले दिनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार
ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ
२०८२ बैसाख १३, शनिबार
चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक
२०८२ बैसाख १३, शनिबार
‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’ – मुख्यमन्त्री आचार्य
२०८२ बैसाख १३, शनिबार
नेपाल सुपर लिग : ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुँदै
२०८२ बैसाख १३, शनिबार
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
२०८२ बैसाख १३, शनिबार